भर्खरै :

कराँची विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको बसमा आतङ्कवादी हमला

कराँची २७ अप्रिल । मङ्गलबार पाकिस्तानको कराँची विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्स्टिच्युटको बसमा आतङ्कवादी आक्रमण गरिएको छ । जसबाट तीन चिनियाँ शिक्षकको मृत्यु हुनुका साथै एक चिनियाँ शिक्षक घाइते भएका छन् । त्यसबाहेक, धेरै पाकिस्तानीहरू हताहत भएका छन् ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले २७ अप्रिलमा पत्रकार सम्मेलनमा यस घटनाबारे जवाफ दिनुभएको छ । प्रवक्ताका अनुसार, चीनले यो आतङ्कवादी घटनाको कडा निन्दा र अत्याधिक आक्रोश व्यक्त गरेको छ । साथै मृतकलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइते र मृतकका परिवारलाई समवेदना व्यक्त गरेको छ ।
साथै चिनियाँ परराष्ट्र मन्त्रालय र पाकिस्तानका लागि चिनियाँ दूतावासले आपतकालीन व्यवस्था सुरू गरेको छ । चीनले चीनका लागि पाकिस्तानी राजदूतलाई फोन गरेर पाकिस्तानसँग उक्त घटनाको तुरून्तै जाँच गरेर हत्यारा खोज्न र कडा सजाय दिन अनुरोध गरेको छ । साथै सक्दो कदम चालेर पाकिस्तानमा चिनियाँ नागरिकको सुरक्षा गरेर यस्ता घटना फेरि दोहोरिन नदिन अनुरोध पनि गरेको छ । पाकिस्तानका लागि चिनियाँ दूतावास, कराँचीका लागि चिनियाँ वाणिज्य दूतावासले पाकिस्तानसँग मिलेर सो घटनाको जाँच गरिरहेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले राति चिनियाँ दूतावास गएर उक्त घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले पाकिस्तान सरकारले उक्त घटनाको गहन जाँच गर्ने, उक्त हमलावारलाई कडा सञ्जाय दिने, चिनियाँ नागरिक, परियोजना र संस्थाको सुरक्षा कार्यलाई चौतर्फीरूपमा सबल पार्ने बताउनुभएको छ । पाकिस्तान र चीनको मित्रतामाथि क्षति पुर्याउने कुनै पनि शक्ति स्वीकार्य नभएको बताउनुभयो । हाल, सिन्ध प्रान्त र कराँची सरकारले जाँच–अनुसन्धान र गिरफ्तार कार्य सुरू गरिसकेका छन् ।
चिनियाँ परराष्ट्र मन्त्रालय र पाकिस्तानका लागि चिनियाँ दूतावासले पाकिस्तानका सम्बन्धित विभागहरूसँग घटनापछिको कार्य तथा घाइतेको उद्धार कार्य राम्ररी गर्न र आतङ्कवादी सङ्गठनमाथि दृढताका साथ प्रहार गर्न निरन्तर ताकिता गरिरहेको छ । यो घटनापछाडिको कालो हातले चिनियाँ जनताको रगतका लागि जवाफ दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *