भर्खरै :

साना दलका उम्मेदवार हराउन ठूला दलको गठबन्धन !

देशका शासक दल या ठूला दलहरूले स–साना दलहरूलाई दबाउन, माथि उठ्न नदिन या निर्वाचनमा हराउन दुईदलीय तानाशाही व्यवस्था ल्याउने अनेक जाल बुनेका थिए । उनीहरूले पालैपालो शासन गरेर बहुमत जनतामाथि रजाइँ गर्दै आएका थिए । कहिले मतसीमाको अवधारणा ल्याएर त कहिले प्राप्त मतको आधारमा ‘राष्ट्रिय’ मान्यता प्राप्त दल मान्ने विचार ल्याएर ठूला या सत्तासीन दलले तानाशाही व्यवस्था लाडेका थिए । साना दलविरुद्ध ठूला दलहरू मिलेर या गठबन्धन गरेर साना दललाई हराउने प्रयास अहिले हुन गइरहेको स्थानीय तहको निर्वाचनमा देखिएको छ । यो निर्वाचनमा एमाले हराउन नेकाको नेतृत्वमा पाँचदलीय गठबन्धन र सत्तारुढ गठबन्धनका उम्मेदवार हराउन एमालेले राजावादी दल राप्रपासँग मिलेर अर्काे गठबन्धन ग¥यो । त्यस्तै देश र जनताको निम्ति लड्ने, देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति लड्ने साना दलका उम्मेदवार हराउन कहीँ नेका र एमाले त कहीँ माओवादी केन्द्र र एकीकृत समाजवादीसमेत मिलेको या गठबन्धन गरेको देखियो । के यो सच्चा राजनीतिको पाइला हो ?
यो निर्वाचनमा दुई ठूला दलहरूको नेतृत्वबीच मात्र गठबन्धन होइन ती गठबन्धनमा रहेका दलले अर्काे दललाई हराउन अर्काे गठबन्धन पनि गरे । साना दलका उम्मेदवारलाई हराउन ठूला दलहरूको गठबन्धन कति न्यायोचित हो, कति लायकको हो ? दलको सिद्धान्त र विचारमा कुल्चेर राजनीतिक चरित्रलाई बन्धक राखेर भइरहेको गठबन्धनबारे के नेपाली जनताले टुलुटुलु हेरेरमात्र बस्ने ? साना दलका उम्मेदवार हराउन ठूला दलहरूको गठबन्धन । वाह ! कस्तो राजनीति ! यी सबै गतिविधिहरू दुईदलीय तानाशाहीकै सङ्केतका हुन् ।
नेकाले कम्युनिस्टलाई, कम्युनिस्टले नेकालाई मात्र होइन राजावादीले एमालेलाई, एमालेले राजावादीलाई पनि मतदान गर्नुपर्ने प्रसङ्गको चर्चा गरिएको छ । यही कारण यो निर्वाचनमा बागी उम्मेदवारहरू देखिए । कतिले दल नै त्यागे, कतिले स्वतन्त्र उम्मेदवार दिए । कतिले आफ्नै दलविरुद्ध बोले । ठूला र सत्तासीन दलभित्र देखिएको यो दृश्यले ती दलका नेताहरू सिद्धान्तनिष्ठ र कर्तव्यनिष्ठ नभएको सङ्केत गर्छ । राजनीतिक दलका नेता र कार्यकर्ताहरूको यो के चरित्र हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *