भर्खरै :

क्रान्ति वा विघटन ?

कार्ल माक्र्स एक जना महान् चिन्तक थिए । उनी उन्नाइसौँ शताब्दीका मात्र महान् चिन्तक थिएनन् । बरू, आजको हाम्रो समय बुझ्ने सन्दर्भमा पनि उनको चिन्तन बृहत् छ । समाज बुझ्न माक्र्सको चिन्तन जतिको उपयुक्त अरू कुनै प्रयास भएका छैनन् । ‘माक्र्सवादी’ हरू माक्र्सले आफ्नो समयको सापेक्षमा लेखेका कुराको मात्र रटान लगाइरहने ‘माक्र्सोलोजी’ भन्दा धेरैअघि बढेका हुन्छन् । उनीहरूले इतिहासको नयाँ विकासअनुसार आफ्नो नवीन तरिका अवलम्बन गरेका हुन्छन् । माक्र्स स्वयंले आफ्नो जीवनकालमा आफ्नो विचारलाई निरन्तर विकास र पुनरावलोकन गरेका थिए ।
माक्र्सले पुँजीवादी व्यवस्थालाई उत्पादनको नयाँ चरणको रूपमा मात्र बुझेका थिएनन् । मूल्यको नियमले पुँजीवादी धनसञ्चयलाई मात्र नियमन गर्ने होइन बरू आधुनिक सभ्यताका सबै पक्षमाथि नियन्त्रण गर्ने कुरा बुझेर उनले आधुनिक पुँजीवादी समाजका सबै आयामको अध्ययन गरे । यस्तो मौलिक दृष्टिकोणकै कारण माक्र्स सामाजिक सम्बन्धलाई मानवशास्त्रको फराकिलो परिधिसँग जोडेर पहिलो वैज्ञानिक सिद्धान्त दिन सक्षम भएका थिए । त्यसै सिद्धान्तमा उभिएर उनले आफ्नो विश्लेषणमा आजभोलि ‘पर्यावरण’ भनिने विषय प्रतिपादन गरेका थिए । पर्यावरणको विषय माक्र्सको निधनको एक शताब्दीपश्चात् पुनः आविष्कार गरिएको हो । माक्र्सको यो प्रारम्भिक अध्ययन सारबारे अरू कसैलाई भन्दा जोन बेलामी फोस्टरलाई राम्रो थाहा छ ।
मैले माक्र्सको अर्को अध्ययन सारलाई बढी जोड दिएको छु । मैले जोड दिएको ज्ञान भूमण्डलीकरणको भविष्यसँग सम्बन्धित छ । सन् १९५७ मा सकाएको पीएचडीको मेरो शोधदेखि मेरो पछिल्लो पुस्तकसम्ममा सञ्चयको नियमको विश्वव्यापी विस्तारले निम्त्याउने असमान विकासबारे अध्ययन गर्न मिहिनेत गरेको छ । यही अध्ययनबाट मैले समाजवादको नाममा परिधि (पेरिफेरि) बाट सुरू भएर विश्व प्रणालीको रूपमा विकास हुने क्रान्तिहरूको व्याख्या गरेको छु । मेरो प्रयासमा अतिरिक्त (नाफा) को अवधारणाको परिभाषा दिन मिहिनेत गर्ने पाउल बारन र पाउल स्वीजीको प्रयासको बलियो प्रभाव छ ।
माक्र्सको अर्को अध्ययनसारको पनि यहाँ चर्चा गर्न चाहन्छु । उनले यो अध्ययन सारलाई सन् १८४८ को प्रारम्भिककालदेखि आफ्नो अन्तिम लेखनसम्ममा विकास गरेका छन् । यो अध्ययन सारअनुसार इतिहासमा पुँजीवादी व्यवस्थाको आधार तयार गरेको अवधि छोटो हो । पुँजीवाद भनेको एउटा छोटो समयावधि (एक शताब्दी) मा रचना भएको ऐतिहासिक चरण हो । यो चरणले सभ्यताको उच्चतम चरणको रूपमा बुझिएको साम्यवादतर्फ जाने परिस्थिति बनाइदिएको हुन्छ ।
सन् १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्रमा माक्र्सले वर्गसङ्घर्ष सधैँ ‘या त बृहत्रूपमा समाजको क्रान्तिकारी रूपान्तरणमा नभए शासक वर्गको सार्वजनिक अवसानमा’ टुङ्गिने गर्दछ भनेका छन् । लामो समयसम्म यो वाक्य मेरो चिन्तनको अग्रभागमा रहिरह्यो ।
त्यही भएर म ‘क्रान्ति वा विघटन ?’ शीर्षकमा मेरो विचार यहाँ प्रस्तुत गर्दै छु । माक्र्सको द्विशतवार्षिकीको अवसरमा प्रकाशनको तरखरमा रहेको मेरो पुस्तकको यो अन्तिम अध्याय हो ।
१.
विकसित पुँजीवादी देशहरूमा हुने क्रान्तिहरूको श्रृङ्खलासम्बन्धी अवधारणाबाट मजदुर र समाजवादी आन्दोलन अघि बढ्न सकेको छैन । जर्मन सामाजिक प्रजातन्त्रको कार्यक्रममाथि माक्र्स र फ्रेडरिक एङ्गेल्सले गरेका आलोचनादेखि रूसी क्रान्तिको अनुभवबाट वोल्शेविकवादले निकालेको निष्कर्षसम्ममा संसारभरि समाजवादतर्फ सङ्क्रमणका लागि मजदुर तथा समाजवादी आन्दोलनबाहेक अरू कुनै बाटो देखेको थिएन ।
तथापि बितेका ७५ वर्षमा संसारमा समाज रूपान्तरणले अर्को बाटो लिइसकेको छ । विकसित पश्चिमा देशबाट क्रान्तिको अवधारणा बेपत्ता भइसकेको छ भने समाजवादी क्रान्ति विश्व प्रणालीको परिधि (पेरिफेरी) मा सीमित भइसकेको छ । यो नयाँ परिस्थितिलाई पुँजीवादी बन्दोबस्तको विश्वव्यापी विस्तारको रूपमा मात्र हेर्ने कतिपय मानिसका लागि यो अवस्था ठूलै अन्योलको विषय बनेको छ । असमान विकाससम्बन्धी अवधारणामा आधारित भएर विश्लेषण गर्दा यसको फरक जवाफ प्राप्त हुनसक्छ । समकालीन साम्राज्यवादी व्यवस्थाको प्रारम्भिक इतिहास विश्लेषण गर्दा हामीलाई अघिल्लो ऐतिहासिक चरणहरूमा असमान विकासको प्रकृति र अर्थबारे बुझ्न उत्साहित गर्दछ ।
एउटा उत्पादनको चरणबाट अर्को उत्पादनको चरणसम्मको सङ्क्रमणको तुलनात्मक इतिहासले सामान्यतः सङ्क्रमणको चरणमाथि सैद्धान्तिक प्रश्न उठाउने गर्दछ । त्यसकारण ऐतिहासिक भौतिकवादमा विश्वास नगर्ने केही इतिहासकारहरू आजको अवस्था र रोमन साम्राज्यको अन्त्यको युगबीचको समानतालाई औँल्याएर दुई परिस्थितिबीच समानान्तर रेखा खिच्न खोज्छन् । अर्कोतिर माक्र्सवादको केही निश्चित कोरा सिद्धान्तवादी व्याख्याले यो विषयमा थप चिन्तन नै बन्द गर्न पनि ऐतिहासिक भौतिकवादको शब्दावली प्रयोग गर्ने गरेको छ । तसर्थ, सोभियत इतिहासकारहरूले ‘रोमको विघटन’ को कुरा पनि गरे साथै पुँजीवादी उत्पादन सम्बन्धको विकल्पको रूपमा सोभियत क्रान्ति’ लाई एउटैमात्र विकल्पको रूपमा पनि अघि सारे । उत्पादनको सापेक्षमा प्राचीन र पुँजीवादी सङ्कटको रूप र सारबारे तुलनात्मक अध्ययन गर्ने तलको विश्लेषणले मात्र यो विषयको सम्बोधन हुन सक्दछ । के यी दुई सङ्कटलाई एउटाको लागि ‘विघटन’ र अर्कोको लागि ‘क्रान्ति’ शब्द प्रयोग गरेर न्याय हुनसक्छ ?
मेरो मुख्य तर्क के हो भने यी दुई सङ्कटबीच निश्चित समानान्तर प्रवृत्ति अस्तित्वमा छ । दुवै सन्दर्भमा प्रणाली सङ्कटमा परेको छ किनभने दुवैले जम्मा गरेको धन सञ्चयको अत्यधिक केन्द्रीकरण भएको छ । यसरी धन सञ्चयको अत्यधिक केन्द्रीकरण दुवै बन्दोबस्त उभिएको उत्पादनसम्बन्ध भन्दा अघि छ । त्यसकारण, प्रणालीको परिधिमा उत्पादक शक्तिको विकासले त्यो प्रणालीको विघटन अपरिहार्य बनाउँछ । अनि अतिरिक्त नाफाको सङ्कलन र उपयोगका लागि विकेन्द्रीकृत प्रणालीले यसलाई विस्थापन गर्दछ ।
२.
ऐतिहासिक भौतिकवादभित्र पनि सबैले स्वीकार गर्ने सिद्धान्त भनेको उत्पादनको तीन चरणको क्रम होः दास चरण, सामन्तवादी चरण र पुँजीवादी चरण । यो ढाँचामा रोमको विघटन भनेको दास बन्दोबस्तबाट भूदास बन्दोबस्ततर्फको सङ्क्रमणमात्र हो । हामीले पुँजीवादी र समाजवादी क्रान्तिको विषयमा जति कुरा गर्छौँ, ‘सामन्ती क्रान्ति’ को विषयमा हामी किन त्यत्ति कुरा गर्दैनौँ भन्ने बुझाउन अझै बाँकी नै छ ।
मैले यसलाई पश्चिमकेन्द्रित व्याख्याको रूपमा लिएको छु । पश्चिमकेन्द्रित व्याख्याले पश्चिमको इतिहासको विशिष्ट चरित्रलाई नै सामान्यकरण (अर्थात् सबैतिर लागू हुने) गर्ने गर्दछ । साथै अरू विशेषता भएका जनताको इतिहासलाई यसले उपेक्षा गर्ने गर्दछ । यो अवधारणाभन्दा भिन्न, विश्वभरिको अनुभवमा आधारित ऐतिहासिक भौतिकवादको नियमको अध्ययन गर्ने बाटो मैले चुनेँ । त्यसैकारण, पुँजीवादी व्यवस्थाभन्दा अघि एउटैमात्र उत्पादनको चरण हुन्छ भन्ने कुराको मैले वैकल्पिक तर्क प्रस्तुत गरेको छु । मेरो वैकल्पिक प्रस्ताव भनेको विभिन्न शाखाहरूको चरण हो जसतिर सबै वर्गीय समाज उन्मुख छन् । पश्चिमको इतिहास भनेको उदाहरणको लागि रोमन सभ्यताको उदय, त्यसको विखण्डन, सामन्ती युरोपको स्थापना र अन्ततः व्यापारिक युगको अधिनायकवादी राज्यहरूको विकास हो । अर्थात्, पश्चिमको इतिहास समान आधारभूत धारमा अघि बढेको देखापर्दछ । तर, अन्यत्रको सन्दर्भमा अलि फरक छ । यसको सबैभन्दा उपयुक्त उदाहरण हो चीन । पुँजीवादी र सामन्ती उत्पादन चरणजस्तै दास व्यवस्था विश्वभरि सबैको इतिहासमा थिएन । यो उत्पादन सम्बन्धको विस्तारसँग गहिरो गरी जोडिएको विशिष्ट चरण हो ।
यो अवधारणाले रोमको स्थापना र पछि त्यसको विघटनलाई सामन्ती निर्माणको अपरिपक्व प्रयत्नको रूपमा हेरेको छ । उत्पादक शक्तिको विकासको अवस्थाले रोमन साम्राज्यको पालामा सामन्ती केन्द्रीकरणको आवश्यकता भएन । यो पहिलो असफल प्रयासपछि सामन्ती विखण्डनमार्फत जबरजस्ती सङ्क्रमण भयो । त्यसैको आधारमा फेरि एकपल्ट पश्चिममा अधिनायकवादी राजतन्त्रको ढाँचाभित्र केन्द्रीकरण लागू भयो । त्यसपछि मात्र पश्चिमको उत्पादन सम्बन्ध पूर्णतः सामन्ती उत्पादन सम्बन्धमा फेरियो । त्यही अवस्थादेखि मात्र पश्चिममा उत्पादन शक्तिको विकास भएको थियो । त्यस्तो उत्पादन शक्ति चीनमा अगाडि नै भइसकेको थियो । यी दुईबीच त्यसबेला कुनै सम्बन्ध भने थिएन ।
रोमको अपरिपक्वता र सामन्ती विखण्डनले पश्चिमको पछौटेपना देखाउँछ । यो पछौटेपनाले नै पश्चिमलाई उसका ऐतिहासिक लाभ पनि दिएको छ । प्राचीन सामन्ती उत्पादन चरण र बर्बर मानव समुदायको चरण मिलेर सामन्तवादलाई परिभाषित गर्यो र त्यसले पश्चिमलाई लचकता पनि प्रदान गर्यो । त्यसैकारण युरोपमा पूर्ण सामन्ती चरण तीव्रगतिमा पार भएको थियो । पश्चिममा उत्पादन शक्तिको विकासको चरण तीव्रगतिमा पार गर्नुको कारण पनि त्यही हो । त्यसकारण पश्चिमा देशहरू चाँडै पुँजीवादमा पुग्न सफल भए । पश्चिमा देशको यो लचकता र गतिकै कारण तुलनात्मकरूपमा कडा र धिमा गतिमा रहेका पूर्वी देशहरू पछाडि परेका हुन् ।
निःसन्देह रोमन– पश्चिम सभ्यता अपूर्ण सामन्ती निर्माणको एउटैमात्र उदाहरण होइन । हामीले त्यस्तै प्रकृतिका अरू तीन वटा उदाहरण प्रस्तुत गर्नसक्छौँ । जसका आ–आफ्नै विशेषता छन् ः बेजानटिन– अरब अट्टोमन सभ्यता, भारतीय सभ्यता र मङ्गोल सभ्यता । यी सबै सभ्यताको उदाहरणमा उत्पादनशील शक्तिको विकास आवश्यकताभन्दा निकै अघि थियो । सबै सभ्यताको सन्दर्भमा केन्द्रीकरणको रूप भनेको राज्य, अर्ध सामन्तवाद र वस्तुको अर्थको भिन्नभिन्न विशिष्ट संयोजन भएको छ । उदाहरणको लागि इस्लामिक राज्यको सन्दर्भमा वस्तुको केन्द्रीकरणले प्रभावशाली भूमिका खेलेको थियो । त्यसपछि भारतीय सभ्यताको असफलताको कारण हिन्दू दर्शन हो । मैले हिन्दू दर्शनलाई कन्फुसियसवादबाट अलग राख्ने गरेको छु । जहाँसम्म चङ्गेस खाँको साम्राज्यको कुरा छ, त्यसको आयु ज्यादै छोटो भएको सर्वविदित कुरा हो ।
३.
समकालीन साम्राज्यवादी प्रणाली आफै नाफाको केन्द्रीकरणको बन्दोबस्त हो । यो विश्वव्यापी प्रकृतिको बन्दोबस्त हो । केन्द्रीकरणको यो प्रणाली पुँजीवादी उत्पादन सम्बन्धको आधारभूत नियमअनुसार चल्ने गर्दछ । पुँजीवादी बन्दोबस्तको प्रारम्भिक विकासको चरणमा रहेको परिधि (पेरिफेरी) माथि दमनमा साम्राज्यवादी प्रणाली चलेको हुन्छ । मैले विश्वव्यापीरूपमा– पुँजीको सञ्चयको सिद्धान्तलाई विश्वव्यापी मूल्यको नियमको अभिव्यक्तिको रूपमा प्रस्तुत गरेको छु । मूल्य केन्द्रीकरणको लागि साम्राज्यवादी बन्दोबस्त धन सञ्चयको गति र प्रणालीको केन्द्रमा उत्पादनशील शक्तिको विकासको रूपमा परिभाषित हुने गर्दछ । परिधिका देशहरूमा भने उत्पादनशील शक्तिको विकास पछाडि पर्नुका साथै निराकार छ । विकास र अल्पविकास एकै सिक्काका दुई पाटा हुन् ।
परिधिका देशहरूमा उत्पादनशील शक्तिको चप विकासका लागि नाफाको केन्द्रीकरण गर्ने साम्राज्यवादी प्रणालीको विघटन आवश्यक पर्दछ । पृथ्वीमा बनाउन सम्भव वर्गविहीन समाज निर्माणको लागि इँटा साबित हुने उच्चस्तरको विकासवधि विकेन्द्रीकरणको आवश्यक चरण, देशहरूभित्रै समाजवादी रूपान्तरणको स्थापना आवश्यक पर्दछ । यो मूल सिद्धान्तअन्तर्गत समाजवादी रूपान्तरणका सिद्धान्त र रणनीतिका अनेकन प्रभाव रहने गर्दछ ।
परिधिका देशहरूमा समाजवादी सङ्क्रमण राष्ट्रिय मुक्तिभन्दा भिन्न हुने गर्दैन । राष्ट्रिय मुक्ति स्थानीय पुँजीपति वर्गको नेतृत्वमा सम्भव हुँदैन भन्ने कुरा प्रस्ट भइसकेको छ । तसर्थ, मजदुर र किसानको नेतृत्वमा चरणबद्ध तरिकाले दीर्घकालीन क्रान्तिको प्रक्रियामा प्रजातान्त्रिक चरण स्थापना हुनुपर्दछ । राष्ट्रिय मुक्ति र समाजवादको लक्ष्यबीचको एकीकरणले नयाँ समस्याहरूको जन्म गराउँछ । ती समस्याहरूको हामीले विश्लेषण गर्न आवश्यक छ । एउटा सामाजिक चरणबाट अर्को सामाजिक चरणमा फड्को मार्दा समाजको वास्तविक गति भने कहिले प्रगतितिर त कहिले पश्चगमनतिर, कहिले एकतातिर त कहिले विखण्डनतिर तलमाथि हुने गर्दछ । विशेषतः राष्ट्रवादको नाममा यस्तो हुने गर्दछ । यहाँ पनि हामीले रोम साम्राज्यप्रति बर्बर समाजको मनसाय तुलना गर्नसक्दछौँ । बर्बर समाजको रोम समाजसँग विरोधाभासपूर्ण सम्बन्ध थियो । उनीहरू रोमनप्रति आक्रामक पनि थिए, साथै उनीहरूले खेदो खनिरहेको रोमन प्रणालीको नक्कल पनि गर्थे ।
यही समयमा केन्द्र (सेन्टर) को समाजमा परजीवी प्रवृत्ति अझ बाक्लो बन्दछ । कुनै कुनै समाजमा साम्राज्यवादले आफ्नै देशका मजदुर वर्गलाई भ्रष्ट बनाएर क्रान्ति रोक्ने गरेका छन् । साम्राज्यवादी केन्द्रको समाजमा अनुत्पादक रोजगारीमार्फत आफ्नो जनतालाई फाइदा दिलाएर सुविधासम्पन्न स्थानमा राख्ने गरेका छन् । यो दुवै सुविधा उसले असमान अन्तर्राष्ट्रिय श्रम विभाजनबाट दिन सकेको हो । त्यसकारण साम्राज्यवादी प्रणालीबाट अलग्याएर प्रभुत्ववादी मोर्चालाई पराजित गर्नसक्ने साम्राज्यवादविरोधी मोर्चा बनाउन र समाजवादतिरको सङ्क्रमण आरम्भ गर्न सजिलो हुने गर्दैन ।
४.
उत्पादनको नयाँ सम्बन्ध सुरू गर्न आजको विश्व बन्दोबस्तअन्तर्गत केन्द्र (सेन्टर) मा भन्दा परिधि (पेरिफेरी) मा केही सजिलो देखिन्छ । रोमन साम्राज्यको पालामा सामन्ती सम्बन्धले गाउल  र जर्मनीमा तीव्रगतिमा जरा गाड्यो तर इटाली र पूर्वमा निकै सुस्त गतिमा मात्र त्यो सम्बन्धको विस्तार भयो । दासप्रथाको ठाउँमा भूदासप्रथा थालनी गर्ने रोम नै थियो । तर, सामन्ती सत्ताको विकास भने रोममा भएन, अन्यत्रै कतै भयो । इटालीमा सामन्ती सत्ताको पूर्ण विकास कहिल्यै भएन ।
वर्तमान विश्व बन्दोबस्तको केन्द्रमा पुँजीवादी उत्पादन सम्बन्धविरूद्ध अप्रकट क्रान्तिको भावना खँदिलो छ । तर, त्यस्तो भावना शक्तिहीन छ । ‘केन्द्र’ मा बसेका जनता ‘आफ्नो जीवनमा परिवर्तन चाहन्छन् ।’ तर, उनीहरू आफ्नो देशको सरकार बदल्न असमर्थ छन् । त्यसकारण, परिवर्तनका भावना, उत्पादन र राज्यका संरचनामा भन्दा सामाजिक जीवनमा मात्र प्रस्ट देखिएको छ । जीवनशैलीमा मौन क्रान्ति, परिवारमा विखण्डन, पुँजीवादी मूल्यमान्यताको विसर्जन आदिले पुँजीवादी उत्पादन सम्बन्धप्रतिको कमजोर असन्तोषको विरोधाभासलाई प्रदर्शन गरेको छ । ‘परिधि’ का देशमा परम्परा र विचार प्रायशः धेरै पछाडि रहेको हुन्छ तर पनि त्यहाँ समाजवादी राज्यहरू स्थापना भएका छन् ।
पथभ्रष्ट माक्र्सवादी परम्पराले सामाजिक परिवर्तनको द्वन्द्ववादको यान्त्रिक अवमूल्यनलाई प्रभावित बनाएको छ । उत्पादनका पुराना सम्बन्धलाई उन्मूलन गर्ने र नयाँ उत्पादन सम्बन्ध स्थापना गर्नु नै उत्पादन शक्तिहरूको थप विकासको पूर्वसर्त हो र यो नै वास्तवमा क्रान्ति हो । क्रान्ति प्राकृतिक नियममा आधारित हुन्छ । परिमाणात्मक परिवर्तन गुणात्मक परिवर्तनमा रूपान्तर हुने प्राकृतिक नियमको सामाजिक संस्करण नै क्रान्ति हो । यो वस्तुगत आवश्यकतालाई वर्गसङ्घर्षले उजागर पारिदिएको हुन्छ । सैद्धान्तिक र साङ्गठनिक स्खलनभन्दा माथि रहेको अग्रदस्ता अर्थात् राजनीतिक पार्टीले मात्र इतिहास निर्माण गर्न र इतिहास निर्माणमा प्रभाव पारिरहन सक्छ । इतिहास निर्माणको काम अरू कसैलाई सुम्पिन मिल्ने कुरा होइन । क्रान्तिलाई परिभाषा गर्ने राजनीतिक समय भनेको त्यो समय हो, जब अग्रदस्ता पार्टीले राज्यमा कब्जा जमाउने गर्दछ । लेनिनवाद आफैँ दोस्रो अन्तर्राष्ट्रियको माक्र्सवादको सरल व्याख्याभन्दा निकै भिन्न भने छैन ।
(अमिनले यो अन्तिम वाक्यमा ‘पोजिटिभ रिडक्सनिज्म’ शब्दावलीको प्रयोग गरेका छन् । यो शब्दावलीको सम्भावित अनुवाद सकारात्मक खण्डीकरण हुनसक्छ । यसको भाव कुनै पनि विचारधारालाई टुक्रा टुक्रामा खण्डीकरण गरी त्यसका अन्तर्वस्तुका आधारमा परिभाषित गर्नु हो । सहज बुझाइको लागि यहाँ सरल व्याख्या भन्ने शब्दावलीको प्रयोग गरिएको छ । –अनु.)
अग्रदस्ता पार्टीलाई वर्गबाट अलग बनाउने सिद्धान्त विगतका (समाजवादी क्रान्तिभन्दा अघिका पुँजीवादी) क्रान्तिमा काम लागेनन् । पुँजीवादी क्रान्तिले त्यो रूप लिएन, पुँजीवादी क्रान्तिमा पुँजीपतिवर्गले सामन्ती महाराजाविरूद्ध किसानहरूको सङ्घर्षसँग सहकार्य गरे । पुँजीपतिवर्गलाई उनीहरूसँग भएको विचारधाराले त्यसो गर्न दियो । विडम्बना ¤ आज उनीहरूसँग भएको त्यो विचारधारालाई नै उनीहरूले पराइ बनाइदिएका छन् । त्यसकारण खासमा पुँजीवादी क्रान्ति’ भन्ने केही कुरा छैन । ‘पुँजीवादी क्रान्ति’ भन्ने शब्दावली त पुँजीवादी विचारधाराको उत्पादनमात्र हो । पुँजीवादी क्रान्ति भनेको अरू केही नभई पुँजीपतिवर्गले । नेतृत्व गरेको वर्गसङ्घर्षमात्र हो । अझ प्रस्टरूपमा भन्नुपर्दा पुँजीपतिवर्गसँग सहकार्यमा भएको किसान विद्रोहलाई नै पुँजीवादी क्रान्ति भनिएको हो । ‘सामन्ती क्रान्ति’ को विषयमा त अझ हामीले कमैमात्र भन्न सक्छौँ । किनभने त्यतिबेलाको सङ्क्रमण नै नजानिँदो पाराले भएको थियो ।
भविष्यमा हुने समाजवादी क्रान्ति भिन्न तरिकाबाट हुनेछ । किनभने त्यो क्रान्तिले सबै शोषणको उन्मूलनको कुरा पहिलोपटक गरेको छ । समाजवादी क्रान्तिले पुरानो शोषणका तरिकाको सट्टामा नयाँ शोषणको तरिकाको कुरा गर्ने गर्दैन । तर, समाजवादी क्रान्ति त्यतिबेलामात्र सम्भव हुनेछ, जब समाजवादी क्रान्तिको विचारधारा उत्पादनशक्तिको विकासका आवश्यकताको चेतनाभन्दा भिन्न हुनसक्नेछ । समाजवादी विकासको लागि शोषणका नयाँ तरिकाका यथास्थितिवादी उत्पादन सम्बन्धको कुनै आवश्यकता हुने गर्दैन ।
५.
मानिसले मात्र आफ्नो इतिहास बनाउन सक्छ । मानिसबाहेक अरू प्राणी वा निर्जीव वस्तुले आफ्नो विकासक्रम आफ्नो वशमा राख्नसक्दैन । मानिस इतिहासको निर्माता हो । नियतिवाद र मानवीय हस्तक्षेपको संश्लेषणको अभिव्यक्तिको रूपमा समाजमा रीतिरिवाजको अवधारणा चलेको हो । आधार र उपरिसंरचनाको द्वन्द्वात्मक सम्बन्ध पनि समाजमा स्थापित छ र त्यसको प्रकृतिमा कुनै समानता छैन । यस्तो सम्बन्ध एकपक्षीय सम्बन्ध होइन । उपरीसंरचना भनेको आधार संरचनाको आवश्यकताको प्रतिबिम्ब होइन । यदि आधार संरचना उपरिसंरचनाको मागको प्रतिबिम्ब हुँदो हो त समाज जहिल्यै पनि अलग हुने थियो । त्यस्तो अवस्थामा हामीले यो समाजलाई कसरी मुक्त गर्न सकिन्छ भन्ने विषयमा कसरी सोच्न सक्छौँ र ¤
त्यही भएर मैले एउटा उत्पादन सम्बन्धबाट अर्को उत्पादनसम्बन्धमा सङ्क्रमणका दुई भिन्न गुणात्मक तरिकाबारे छुट्टाछुट्टै हेर्नुपर्ने बताउँदै आएको छु । जब सङ्क्रमण अचेतरूपमा हुनेगर्दछ वा कुनै अज्ञात चेतनाबाट हुनेगर्दछ । अथवा जब वर्गमा आधारित विचारधारालाई परिवर्तनको प्रक्रियामा नेतृत्व गर्न दिइँदैन, पछिल्लो उत्पादन चरण प्राकृतिक परिवर्तनजस्तो देखापर्दछ । विचारधारालाई पनि प्रकृतिकै हिस्साको रूपमा लिन थालिन्छ । यस्तो प्रकारको सङ्क्रमणका लागि हामीले ‘विघटनको नमुना’ भन्ने शब्दावली प्रयोग गर्नु उपयुक्त हुनेछ । त्यसको विपरीत, यदि विचारधाराले इच्छाएको परिवर्तनलाई पूर्ण र वास्तविकरूपमा अभिव्यक्त गर्नसके मात्र हामीले क्रान्तिको कुरा गर्नसक्छौँ ।
हाम्रो युगको समाजवादी क्रान्तिले विघटनको प्रकृति देखाएको छ वा क्रान्तिकारी बाटो हिँडेको छ ? निःसन्देह हामी अहिले यो प्रश्नको उत्तर यकिनका साथ दिनसक्ने अवस्थामा छैनौँ । केही निश्चित अर्थमा आधुनिक विश्वको रूपान्तरणमा माथि परिभाषित गरेजस्तै अभूतपूर्व क्रान्तिकारी चरित्र छ । पेरिस कम्युन र रूसी तथा चिनियाँ क्रान्तिहरू (विशेषतः चिनियाँ सांस्कृतिक क्रान्ति) मा गहिरो सामाजिक चेतना थियो । त्यसो भए के हामी अर्को थरीको सङ्क्रमणमा लागेका छैनौँ त ? आजको समयमा कहीँ पनि साम्राज्यवादी देशहरूको असंलग्नता सोच्नु एउटा गान्हो काम हो र त्यही कारण समाजवादी बाटोमा अघि बढिरहेका ‘परिधि’ का देशहरू (पुँजीवादी पुनस्र्थापनाको सम्भावना, यथास्थितिको चरणमा फसेको, प्रतिगमन, राष्ट्रवादी विचलनमा फसेका देशहरू) मा आज पुरानो बोल्शेविक मोडलमाथि प्रश्न उठ्ने गरेको छ ।
केही मानिसहरू आजको समय समाजवादी सङ्क्रमणको समय नभई पुँजीवादी व्यवस्थाको विश्वव्यापी विस्तारको समय भएको विश्वास गर्दछन् । ‘युरोपको सानो कुना’ बाट सुरू भएको पुँजीवादी बन्दोबस्त आज दक्षिण र पूर्वमा पनि विस्तार भइरहेको उनीहरूको भनाइ छ । यो रूपान्तरण पुँजीवादको उच्चतम र अन्तिम बिन्दु साम्राज्यवादी चरणमा नभई विश्वव्यापी पुँजीवादमा पुगेर टुङ्गिने उनीहरूको भनाइ हो । यदि कसैले साम्राज्यवादसम्बन्धी लेनिनवादी सिद्धान्तमाथि विश्वास गरेमा, राष्ट्रिय मुक्ति सङ्घर्षलाई पुँजीवादी क्रान्तिको हिस्साको रूपमा नभई समाजवादी क्रान्तिको हिस्साको रूपमा मानेमा अपवादबाहेक उनीहरूले नयाँ पुँजीवादी केन्द्र सम्भव भएकोमा विश्वास गर्दै छन् । यो सिद्धान्तले पूर्वी देशहरूमा यथास्थितिवादी उत्पादन सम्बन्धको विकास वा पुनस्र्थापनालाई जोड दिने गर्दछ । यसले पुँजीवादी व्यवस्थाको विस्तारको वस्तुगत प्रक्रियालाई मात्र चित्रण गर्दछ, त्यो वास्तवमा नक्कली समाजवादी क्रान्तिमात्र हो । उनीहरूको बुझाइमा यहाँ माक्र्सवाद एउटा अलग विचारधाराको रूपमा देखापरेको छ, जसले विकासका वास्तविक चरित्रलाई छोपिरहेको छ ।
यो विचार बोक्नेहरू ‘केन्द्र’ को उत्पादन शक्तिको विकासको स्तर पूरा विश्वमा फैलाउन सक्षम नहुञ्जेलसम्म हामीले वर्गउन्मूलनको प्रश्न उठाउनुहुन्न भन्ने मान्यता राख्दछन् । उनीहरूको भनाइमा पहिले युरोपेलीहरूले युरोपलाई उपरीराष्ट्र (कगउभचलबतष्यल) को रूपमा विकास गर्न दिनुपर्दछ । त्यसो गर्दा राज्यको उपरीसंरचनालाई उत्पादनशक्तिसँग मिलाउन सकिनेछ । यसको अर्थ उत्पादन शक्तिको स्तरका आधारमा एउटा विश्वस्तरीय राज्य बन्ने समयको प्रतिक्षा गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र त्यो उत्पादन शक्तिलाई ध्वस्त बनाउन सकिने वस्तुगत परिस्थिति बनाउन सकिन्छ ।
उनीहरूभन्दा अरू (जसमा म समेत पर्छ) यो विषयलाई फरक रूपमा हेर्ने गर्छिन् । चरणबद्धरूपमा अविछिन्न क्रान्ति अझै पनि ‘परिधि’ का देशहरूको मुद्दा हो । समाजवादी सङ्क्रमणको क्रममा पुनस्र्थापना नहुने कुरा होइन । केन्द्रको कमजोर सम्बन्धका कारण साम्राज्यवादी मोर्चामा विखण्डन अवश्यम्भावी छ ।
यो लेख मन्थली रिभ्युमा पहिलो पटक सन् २०१८ को मे १ का दिन प्रकाशित भएको हो ।
स्रोतः मन्थली रिभ्यु
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *