भर्खरै :

जलवायु परिवर्तनबारे पुँजीवादी विचार

जलवायु परिवर्तनबारे पुँजीवादी विचार

विश्वले चरम हावापानीको सामना गर्दै छ । ठुला आँधीबेहरी, भूकम्प, बाढी, पहिरो, तापलहर आदिको मार झेल्दै छ । अर्थात, जलवायु परिवर्तन तीव्र बन्दै छ; मानव जीवन र जगतको यथार्थ तथ्य बन्दै छ । अब यसलाई अस्वीकार गर्न मिल्दैन ।
जीवाश्म इन्धन कम्पनी र राजनीतिक नेतृत्व भने अर्कै धुनमा छन् । उनीहरू जमिनबाट भरसक बढी तेल र ग्यास उत्खनन गर्दै छन्† जलवायु परिवर्तनको मारलाई चर्काउँदै छन् । कार्बन उत्सर्जन बढ्दै जाँदा पृथ्वीमा बाँच्नलाई झन्झन् दुस्कर हुने पक्का छ ।
पुँजीवादले हामीलाई सङ्कटको डिलमा धकेल्दै गर्दा प्रश्न उठ्छ, जलवायु परिवर्तनलाई पुँजीवादीहरूले कसरी हेर्छन् ? तिनको नाफा थुपार्ने तलतलले विनाशकारी दुष्परिणाम ल्याउँदै गर्दा पुँजीवादका पक्षधरहरूले यसलाई कसरी हेर्छन् ? आफ्ना जमघटहरूमा पुँजीवादीहरूले जलवायु परिवर्तनबारे के कुरा गर्छन् ? मानव जातिको सम्मुख आइलागेको खतरालाई कसरी चित्रण गर्छन् ?

जलवायु अपराधीहरू
विश्वका शासकहरूबीच डोनाल्ड ट्रम्पजस्ता जलवायु परिवर्तनलाई ठाडै अस्वीकार गर्ने मानिसको कमी छैन । तर, यसको अर्थ विश्वका ठुला पुँजीपतिहरू र तिनका धनाढ्य कर्मचारीहरू जलवायु परिवर्तनका दुष्परिणामबारे बेखबर छन् भन्न मिल्दैन । त्यसैले उनीहरूलाई जलवायु अपराधी भन्नु स्वाभाविक हो । आफ्नो कुकर्मले जलवायु विपत्ति ल्यारहेको छ भन्ने जान्दाजान्दै पनि आफ्नो धन्दा नरोकेको हुनाले उनीहरूलाई जलवायु अपराधी भन्नुपर्छ ।
सन् २०१५ मा ‘इन्साइड क्लाइमेट न्युज’ मा एउटा रिपोर्ट छापियो । सो रिपोर्ट पढ्दा विश्वका ठुला बहुराष्ट्रिय कम्पनीमा गनिने ‘एक्जोन कर्पोरेसन’ जलवायु परिवर्तनको कुप्रभावबारे धेरै अघिदेखि जानकार रहेको थाहा हुन्छ । त्यस कम्पनीका वरिष्ठ वैज्ञानिक सल्लाहकार जेम्स ब्ल्याकले सन् १९७७ मा आफ्ना वरिष्ठ कर्मचारीहरूलाई एउटा विस्तृत प्रस्तुति दिएका थिए । त्यसबेला चेतावनीको स्वरमा उनले भनेका थिए, “विश्वले जीवाश्म इन्धनको प्रयोग गर्दा त्यसबाट उत्सर्जन हुने कार्बन डाइआक्साइडका कारण पृथ्वी तात्नेछ र त्यसले मानव जातिलाई खतरामा पार्नेछ ।”
यसपछि एक्लोन कर्पोरेसनले जलवायु परिवर्तनको मुद्दामा थप छानबिन गर्ने समूह गठन ग¥यो । त्यसले ब्ल्याकको निष्कर्ष सही भएको ठहर ग¥यो । यसपछि कम्पनीले छानबिन बन्द ग¥यो र यससम्बन्धी सूचनाहरू दबाउने नीति लियो । कम्पनीले आफ्नै वैज्ञानिकहरूले कुनै बेला पुष्टि गरेको विश्वव्यापी तापक्रम वृद्धिको तथ्य लुकाउन आफ्नो दलबल लगायो । पछिपछि अरू कम्पनीका पनि पोल खुल्न थाले । तिनले जीवाश्म इन्धनका असरहरूलाई सकेसम्म लुकाएको वा नगन्य देखाउन खोजेको भेटियो ।
तेल र ग्यास कम्पनीहरूको यो धन्दामा सहयोग गर्ने सरकारहरूलाई पनि जलवायु परिवर्तनबारे धेरै अघिदेखि जानकारी थियो । जलवायु परिवर्तनले ल्याउन सक्ने खतराहरूको छानबिन गर्न सक्ने सबै संयन्त्र यी सरकारको हातमा थियो ।
जलवायु परिवर्तनलाई राम्ररी बुझ्ने कतिपय नेता पनि नभएका होइनन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्ने एक उदाहरण हुन् । उनको कार्यकालमा जीवाश्म इन्धनको उत्पादनमा ठुलो तीव्रता आयो । राष्ट्रसङ्घको जलवायुसम्बन्धी विशेष दूत हुनाले यसका दुष्परिणामको उनलाई जानकारी छ ।
पर्यावरणमा दखल राख्ने धेरै समाजवादी लेखकहरूले पुँजीवादी व्यवस्थासँग जोडिएको जीवाश्म इन्धनको नाफाजस्ता मुद्दाका विभिन्न पक्ष केलाएका छन् । कसरी यो नाफाको लोभमा पुँजीवादले जलवायु परिवर्तनमार्फत जीवनलाई धरापमा पारेको छ भनेर विश्लेषण गरेका छन् । ‘एन्थ्रोपोसिन युगमा पुँजीवाद’ नामक आफ्नो पुस्तकमा जोन बेलामी फोस्टरले पुँजीवाद, जीवाश्म इन्धन र जलवायु परिवर्तनका विभिन्न पक्ष खोतलेका छन् । छोटो समयमै अकूत नाफा कमाउने र लगातार धन सङ्ग्रह गरिरहने लोभले झूटो र भ्रामक (पुँजीवादी) विचार र प्रणालीलाई मलजल गरिरहेको उनको तर्क छ ।
यो त विरोधी खेमाको तर्क भयो । तर, पुँजीवादका दलाल र बुद्धिजीवीहरूले नै जलवायु परिवर्तनको मुद्दालाई कसरी हेर्छन् भनी जान्नु यहाँनिर उपयोगी हुन सक्छ । जलवायु परिवर्तनले ल्याएका दुष्परिणामलाई कसरी तिनले ढाकछोप गर्न खोजे भन्ने कुरा हामीले चर्चा गरिसकेका छौँ । त्यो सङ्कटलाई बेलैमा रोक्न सार्थक पाइला चाल्नुपर्छ । पुँजीपतिहरूले कसरी यस्तो प्रयासलाई रोक्न खोजेको पनि देखियो । लाग्छ, सङ्कट एकदम चरम अवस्थामा पुगेपछि र त्यसले असाध्यै गम्भीर असर पार्न थालेपछि मात्र पुँजीवादीहरू केही गर्न बाध्य हुनेछन् । स्थिति त्यहाँ पुगिसकेको छ ।
छोटो समयमै अकूत नाफा कमाउने तलतलले गर्दा जलवायु परिवर्तनमा तिव्रता आएको छ । यसको रौद्र रूपले गर्दा पुँजीवादीहरूले ठुलो जोखिम झेल्दै छन् । लगानीका कतिपय क्षेत्रमा चाँडै विकराल असर पर्ने देखिन्छ ।
‘ग्रिन सेन्ट्रल ब्याङ्किङ’ पुँजीवादलाई स्वीकार्य हुने जलवायु समाधानको पक्ष लिने संस्था हो । सो संस्थाले चेतावनी दिँदै भन्यो, “जलवायु परिवर्तनले बीमा बजारमा प्रभाव पार्ने छ । यो प्रभावलाई संस्थागत रूपमै कम आँकिएको छ । तर, यसले वित्तीय स्थिरता र (बीमा प्रणालीमा आधारित) जोखिमपूर्ण सेवामा गहिरो असर पार्नेछ ।” चरम हावापानी, डढेलो, बाढीलगायत क्षेत्रमा गरिने बीमा अहिले जोखिममा पर्ने देखिन्छ । घरजग्गा कारोबार, पर्यटनलगायत क्षेत्र पनि अछूतो छैन । वातावरणीय विपत्तिका कारण जीवाश्म इन्धन उत्खनन गर्ने भौतिक पूर्वाधार पनि जोखिममा पर्न थालेका छन् ।
पुँजीवादी स्वार्थमा पुगेका यस्ता धक्काका धेरै उदाहरण पढ्न पाइन्छ । झिनो स्वरमा सही यस्ता चेतावनी सुनिँदै छ । तर, कार्बन उत्सर्जन घटाउन लागि तर्कसङ्गत योजनाहरू कार्यान्वयन गर्ने प्रयास उति देखिन्न । त्यसका लागि आवश्यक स्रोतसाधनको चाँजो मिलाएको पनि पाइन्न । यसको अर्थ नाफामा आधारित (पुँजीवादी) व्यवस्थाले विश्व तापक्रम वृद्धिका अनिवार्य असरलाई कम गर्ने ल्याकत राख्दैन ।
लगानीका अवसरहरू
पुँजीवादी तप्काबाट संयम अपनाउनुपर्ने निम्छरा सुझाव पनि नसुनिएका होइनन् । तर, यस्ता सुझावलाई एकातिर पन्छ्याएर लगानीका अवसरहरू खोज्ने प्रवृत्ति बढ्दै छ । जब कि यो प्रवृत्तिले पृथ्वीमा झन् ठुला खतरा ल्याउने स्पष्ट छ । गत अगस्ट महिनामा ‘इन्भेस्टोपेडिया’ मा एउटा लेख छापियो । लेख भन्छ, “आँधीबेहरी जस्ता विनाशकारी घटनाहरू बढ्दा व्यक्ति र विभिन्न कम्पनीले करोडौँ डलरको क्षति व्यहोर्नुपर्ने हुन सक्छ । तर, केही व्यवसाय लाभमा जान पनि सक्छन् ।”
त्यस लेखमा ठुलो सङ्ख्यामा मानिसहरू मर्दा र विकराल विनाश निम्तिँदासमेत फाइदा लिन सकिने लगानीका अनेक क्षेत्रबारे चर्चा गरिएको थियो । छिटो निर्णय गर्नसक्ने लगानीकर्ताको मनोदशा बदल्न र कम्पनीको सेयर मूल्य बढाउन सकिने सम्भावनाबारे लेखमा उल्लेख थियो ।
जलवायु सङ्कट बढेको खण्डमा सबैभन्दा बढी नाफा लिन सकिने क्षेत्र जलवायु परिवर्तनको प्राविधिक समाधान हुन सक्छ । उच्च प्रविधि कम्पनीले ‘हरित पुँजीवाद’ को नाममा वातावरण जोगाउन सकिने झूटो आश्वासन बेच्न सक्छन् । क्यानडाको एक संस्था ‘एन्भाइरन्मेन्टल डिफेन्स’ ले भनेको छ, “जीवाश्म इन्धन उद्योगले कुनै गतिलो काम गरिहाल्यो भने पनि त्यो आफैले सिर्जना गरेको समस्याको झूटो समाधान बेच्ने काम हुनेछ ।”
लेखमा कार्बन संश्लेषण तथा भन्डारण प्रविधि (सिसिएस) बारे चर्चा गरिएको थियो । यो प्रविधिले एउटा झूटो वाचा गर्छ । ‘कार्बन उत्सर्जनलाई कुनै भ्याकुमले सोस्ने र गहिरो स्थलमा लगेर गाड्ने’ लोभ देखाउँछ । ‘इन्भाइरन्मेन्ट डिफेन्स’ को तर्क छ, “यो एकदम घातक भ्रम हो । जनताको अरबौँ डलर हसुरेर झन् बढी प्रदूषण गर्ने र अझ पनि दशकौँसम्म जीवाश्म इन्धनको व्यापार गर्ने खेल हो ।”
जलवायु सङ्कटको प्राविधिक समाधान दिने ‘सिसिएस’ को खेल विफल भइसकेको छ । सन् २००० यता क्यानडामा हुने उत्सर्जनको जम्मा ०.०००४ प्रतिशत उत्सर्जनमात्र प्राविधिक रूपमा संश्लेषण गर्न सकिएको छ । अझ ‘सिसिएस’ प्रविधिबाट भण्डारण गरिएको कार्बनको झन्डै ८० प्रतिशत हिस्सा फेरि पनि इन्धन उत्पादन गर्न प्रयोग भइरहेको छ । यस्तो कार्बनलाई पुनः तेलखानीहरूमा भण्डारण गरिन्छ । तेल र ग्यास उद्योगहरूले ठुल्ठुला दाबी गर्छन् । जलवायु सङ्कट समाधान गरिरहेको डिङ हाँक्छन् । तर, स्थिति उल्टो छ । यो प्रविधिले जीवाश्म इन्धन उद्योगको आयु लम्ब्याउनेबाहेक अर्को काम गरेको छैन ।
कार्बन उत्सर्जन घटाउन नसकेको मात्र होइन, जलवायु सङ्कट झन्झन् बढाइँदै छ । जनताको पैसाजति ठुलो प्रविधि कम्पनीहरूलाई खुवाइँदै छ । तर, असर घटेको होइन । झन् कष्टकर बन्दै छ । जलवायु सङ्कट टार्ने नाममा महँगा समाधानको पैरवी गर्दै उनीहरू जलवायु अपराधीहरू झन् ठुला धनकुवेर बन्दै छन् ।
सन् २०२४ मा ‘सिबिसी’ मा एउटा रिपोर्ट छापियो । रिपोर्टमा ‘विलासी बङ्करहरू’ को चर्चा थियो । संसारका ठुला धनकुवेरहरूले विलासी बङ्करहरू बनाउँदै छन् । जलवायु सङ्कट खप्नै नसक्ने स्थितिमा पुग्दा आफू बाँच्नका लागि उनीहरूले जमिनमुनि यस्ता पूर्वाधार बनाइरहेको खबर छ । रिपोर्ट भन्छ, “मार्क जुकरबर्ग ‘मेटा’ कम्पनीका कार्यकारी प्रमुख हुन् । विश्वका ठुला धनकुवेरमध्ये एक हुन् । उनले प्रशान्त महासागरमा पर्ने हवाइ टापुमा १० करोड डलर खर्च गरेर आफ्नो लागि विपत्तिमा बाँच्ने आवास बनाउँदै छन् । त्यहाँ एउटा भूमिगत बङ्कर पनि छ । यो बङ्करले ५ हजार वर्गफिट क्षेत्रफल ओगट्छ । भित्ताहरू कंक्रिटका छन् भने भाग्नलाई एउटा गुप्त बाटो पनि बनाइएको छ ।”
जुकरबर्गको यो तामझाम अनौठो छ । तर, यो काममा उनी एक्ला छैनन् । ‘विलासी बङ्कर’ निर्माण गर्नु धनकुवेरहरूको प्रवृत्ति बनिसकेको छ । सन् २०२३ को वर्ष यो ट्रेन्ड ह्वात्तै बढेको थियो । क्यालिफोर्नियामा रहेको ‘भिभोस’ यस्तै ‘बङ्कर शरण’ दिलाउने कम्पनी हो । ‘सिबिसी’ को रिपोर्ट भन्छ, “यसप्रकारको समाधानमा रुचि लिने र पैसा लगाउनेहरूको सङ्ख्या प्रतिवर्ष २ हजार प्रतिशतका दरले बढ्दै छ ।”
पुँजीपति, तिनका पुँजीवादी सङ्घ–संस्था र कारिन्दाहरूले जलवायु परिवर्तनलाई भित्रभित्र स्वीकारेको देखिन्छ । तर, समाधानको सवालमा भने तिनले नाफा आउँछ कि आउँदैन भनी हेरिरहेको पाइन्छ । उनीहरूको यही नग्न लोभले आजको समाजलाई गाँजेको छ । आत्मघाती बौलाहटको रजाइँ छ । मानव जातिको आवश्यकता भने यसको ठिक उल्टो छ । पुँजीपतिहरूको यो अमानवीय रुचि रन्थनाउने खालको छ ।
विश्वका कामदार जनता भागेर लुक्नका लागि संसारमा कहीकतै ‘विलासी बङ्कर’ छैन । अर्कोतर्फ जलवायु सङ्कटलाई रोक्न उति ठुलो पाइला पनि चालिएको छैन । बरु सङ्कट चर्काउने खेलो चल्दै छ । हाम्रो अस्तित्व हाम्रो सामूहिक सङ्घर्षका भरमा छ । त्यसैले पुँजीवादको जलवायु मास्ने खेलोविरुद्ध सङ्घर्ष गर्नुपर्छ । एउटा न्यायपूर्ण र दिगो समाजवादी समाजको निर्माण गर्नुको विकल्प छैन ।
(लेखक जोन क्लार्क ‘गरिबीविरुद्ध ओन्टारियो हातेमालो’ नामक संस्थामा सक्रिय छन् । यो संस्था सन् १९९० मा स्थापना गरिएको थियो । पुँजीवादले तारो बनाएका गरिब समुदायहरूको हितार्थ यो संस्था क्रियाशील छ ।)
स्रोत : एमआर अनलाइन । सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *