भर्खरै :

विश्वविद्यालय शिक्षाको नयाँ संरचनाबारे नेपाल क्रान्तिकारी विद्यार्थी संघको धारणा

-नीरज लवजू
१. संघीय विश्वविद्यालय संघीय सरकार र प्रादेशिक विश्वविद्यालय प्रादेशिक सरकारको लगानीमा स्थापना गरिनुपर्दछ । विश्वविद्यालय शिक्षामा निजी वा विदेशी पूँजीको प्रवेशले शिक्षालाई विभेदकारी बनाउने संसारको अनुभवले देखाएको छ । विश्वविद्यालय स्वंय राज्यका लागि आवश्यक जनशक्ति तयारी गर्ने प्राज्ञिक थलो भएका कारण विश्वविद्यालयलाई स्वायत्तता दिने नाममा राज्य निरपेक्ष बन्नु गलत हो । राष्ट्रिय योजना आयोग र प्रादेशिक योजना कार्यालयले बनाएको योजनाका निम्ति आवश्यक विषयको जनशक्ति तयार गर्नु नै विश्वविद्यालयको कार्यसूची बन्नुपर्दछ ।राज्यलाई धेरै संख्यामा आवश्यक जनशक्ति तयार गर्न राज्य आफैले लगानी गरी धेरै जनशक्ति उत्पादन गरिनुपर्दछ भने देशको लागि कम मात्र आवश्यक पर्ने जनशक्ति तयार गर्ने विषयलाई राज्यले निरुत्साहित गरिनुपर्दछ । तर कुनै पनि विषयलाई बन्दै गर्ने अवस्था भने आउन दिनु हुँदैन । अर्थात उच्च शिक्षा मूलतः राज्यको लगानीमा सञ्चालन हुनु पर्दछ ।सरकारी कलेजको गुणस्तर वृद्धि र बिस्तारलाई प्राथमिकतामा राखिनुपर्दछ । नयाँ नयाँ विषयहरूको शुरुवात सरकारी कलेजहरूबाटै गर्नु पर्दछ । निजी कलेजहरूलाई जथाभावी सम्बन्धन दिने वा नयाँ विषयहरू पढाउन दिने परिपाटीको अन्त्य गरिनुपर्दछ । विदेशी विश्वविद्यालयलाई मलजल गरी नेपाली विश्वविद्यालय सुकाउने अभ्यास अन्त्य गर्न पहल गर्नुपर्दछ ।
२. संघीय विश्वविद्यालयको संख्या कम मात्र हुनु उपयुक्त हुनेछ । नेपालको कुल जनसंख्याको अनुपातमा २–३ वटाभन्दा बढी संघीय विश्वविद्यालय हुनुहुन्न । भारतमा २ करोड  ८२ लाख जनसंख्या बराबर एउटा केन्द्रीय विश्वविद्यालय छ भने चीनका सी९ विश्वविद्यालय समूहले चीनको विश्वविद्यालय शिक्षा हाँकिरहेको छ । विश्वविद्यालय धेरै संख्या हुनुलाई मात्र विकासको मापण मान्न सकिन्न । भारतको उत्तरप्रदेश त्यहाँको सबभन्दा बढी विश्वविद्यालय भएको प्रदेश हो तर त्यहाँको आर्थिक वृद्धिदर, मानव विकास सूचकाङ्क र शैक्षिक जनशक्तिले त्यो संख्याको कुनै माने राखेको देखिंदैन । प्रदेश सरकारले आफ्नो प्रदेशको विशेषता र आवश्यकतालाई केन्द्रमा राखी विशिष्टीकृत विश्वविद्यालय स्थापना गर्न उपयुक्त हुनेछ । नेपालको जनसंख्याको अनुपातमा एउटा प्रदेशमा बढीमा दुई वटासम्म प्रादेशिक तहको विश्वविद्यालय स्थापना गर्नु उपयुक्त हुनेछ । सक्षम स्थानीय तहलाई पनि विश्वविद्यालय वा प्रतिष्ठान(Institute) स्थापनाको अधिकार दिइनुपर्दछ । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापनाको लागि अभ्यास गरिरहेको छ । स्रोत,साधन, इच्छाशक्ति र प्रष्ट योजना भएका स्थानीय तहलाई भिन्न भिन्न विशेषतायुक्त विश्वविद्यालय स्थापना गर्न दिनुपर्दछ । निजी विश्वविद्यालयको अवधारणा पूर्ण रुपमा खारेज हुनुपर्दछ । विश्वविद्यालयमा विदेशी पूँजी लगानी बन्द गरिनुपर्दछ ।सबै किसिमका विश्वविद्यालयहरूमा नेपाल, नेपालका विभिन्न राष्ट्रिय सभ्यता र इतिहास तथा एसियाली सभ्यता एवं संस्कृतिको अध्ययन गरिने विषयहरू राखी विभिन्न देशका विद्यार्थीहरूलाई शोध अनुसन्धानको बन्दोबस्तलाई अनिवार्य गर्नुपर्दछ । त्यस्ता शोधको सम्बन्धित सरकारले विकास निर्माण र राज्यको नीतिमा भरपुर प्रयोग गर्ने संरचना तयार गर्नुपर्दछ ।
३. संघीय र प्रदेशमा विभिन्न विशेष विषयको अध्ययन अनुसन्धानको लागि अर्धस्वायत्त प्रतिष्ठान र अनुसन्धान केन्द्र स्थापना हुनुपर्दछ । सबै सरकारी कार्यालयले आफ्नो क्षेत्रअन्तर्गतका अनुसन्धान र सर्वेक्षणको लागि विश्वविद्यालयका अध्ययन अनुसन्धान केन्द्रलाई जिम्मा दिइनुपर्दछ । विश्वविद्यालयले सोका लागि आफ्ना विद्यार्थीको परिचालन गर्नुपर्दछ । यस्ता कार्यमा एनजीओ र आईएनजीओको संलग्नता निषेध गर्नुपर्दछ ।
४. विश्वविद्यालय अनुदान आयोगले कुनै पनि बहुराष्ट्रिय वित्तीय संगठनबाट आर्थिक अनुदान, सहयोग वा ऋण लिने र तिनकै शर्तअनुसारका पाठ्यक्रम तयार गर्ने, शैक्षिक बन्दोबस्त र संरचना बनाउने काम बन्द हुनुपर्दछ । नवउदारवादी शैक्षिक मोडलको खारेजीले नै नेपालको आत्मनिर्भर र देश सुहाउँदो शैक्षिक बन्दोबस्त बन्न सक्दछ ।
५. कुनै पनि तहमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज वा शिक्षालय नेपालमा स्थापना पूर्णतः निषेध गर्नुपर्दछ ।
६. भाषासँग सम्बन्धित विषयहरूबाहेक विश्वविद्यालयका पाठ्यपुस्तकहरू नेपाली भाषामा तयार गर्दै लाने संघीय विश्वविद्यालयको प्राथकितामा पर्नुपर्दछ र स्थानीय भाषामा आधारभूत पाठ्यपुस्तकको विकासको क्रम शुरु गर्नुपर्दछ । यद्यपि अंग्रेजी भाषाको शिक्षणलाई निरन्तर र गुणस्तरीय पनि बनाउँदै जान आवश्यक छ ।
७. शिक्षालाई उत्पादन श्रमसँग जोड्नु सबै विश्वविद्यालयको नीति हुनुपर्दछ । शिक्षा शैक्षिक बेरोजगार उत्पादन गर्ने, विदेशी पूँजीवादी बजारको लागि उपयुक्त जनशक्ति तयार गर्ने र एउटा विषयको प्रमाणपत्र बोकेर अर्को काम गर्नुपर्ने तथाकथित विद्वानहरु उत्पादन गर्ने माध्यम हुनुहुन्न । विश्वविद्यालय शिक्षा हासिल गरेका विद्यार्थीहरूको काम मात्र कक्षा कोठामा विद्यार्थीलाई अध्यापन गर्नेमा सीमित हुनुहुँदैन । शैक्षिक तथा प्राज्ञिक अनुसन्धान र उत्पादन र समग्र विश्व र मानव जातिका लागि उपयुक्त नयाँ ज्ञानको आविस्कार नै विश्वविद्यँलयबाट तयार भएका जनशक्तिको आधारभूत काम हुन जरुरी छ । उत्पादनमूलक शिक्षाले विश्वविद्यालय र प्रतिष्ठानहरूलाई अरू दातृनिकायसँग आर्थिक भीख माग्नुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्त गर्नेछ ।
८. सबै विश्वविद्यालयको स्तर निर्धारण, नियमन, पाठ्यक्रमको स्तर मापण, विदेशी विश्वविद्यालयसँग समकक्षता, परीक्षाको स्तरीकरण आदिको लागि विश्वविद्यालय अनुदान आयोग को नाम परिवर्तन गरी कार्यक्षेत्र व्यवस्थित र व्यापक गरिनुपर्दछ । विश्वविद्यालय अनुदान आयोगको सट्टा विश्वविद्यालय शिक्षा आयोग वा परिषद् नामाकरण गरिनुपर्दछ ।
९. सबै विश्वविद्यालयहरूका विधानमा विद्यार्थी युनियन, कर्मचारी तथा प्राध्यापक युनियनको बन्दोबस्त गरिनुपर्दछ । त्यस्ता संगठनहरू ट्रेडयुनियनको रूपमा नभई विचार र दर्शनको आधारमा आफ्नो नेतृत्व चयनको बन्दोबस्त भएको प्राज्ञिक केन्द्र बनाउनुपर्दछ ।
१०. हालको सीटीईभीटीलाई संघीय प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गरिनुपर्दछ र प्रत्येक प्रदेश र स्थानीय तहमा प्राविधिक शिक्षा दिने एक–एक वटा शिक्षालयको स्थापना अनिवार्य बनाउनुपर्दछ ।
११. विश्वविद्यालय पदाधिकारी, डिन, क्याम्पसप्रमुख र शिक्षक मनोनय शासक दलीय भागवण्डाको आधारमा गर्ने विकृति पूर्ण रुपमा बन्द गर्नुपर्दछ । विषयगत विज्ञता र विश्वविद्यालय अघि बढाउने कार्यक्रमको आधारमा पदाधिकारीको मनोनयन गरिनुपर्दछ ।
१२. विश्वविद्यालय र क्याम्पसहरूमा आवश्यक आधारभूत पूर्वाधार व्यवस्थित कक्षाकोठा, साधनस्रोत पुग्दो पुस्तकालय, छात्रावास, विद्यार्थी पार्क, खेलकुद केन्द्र, अनुसन्धान केन्द्र, क्यान्टिन आदिको अनिवार्य गरिनुपर्दछ । सिटी विश्वविद्यालयको अवधारणाबारे थप अध्ययन गरी नेपालको सन्दर्भमा त्यसको उपयोगिताबारे बुझ्न जरुरी छ ।
(सोमबार राजधानीको हिमालय होटेलमा विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालय शिक्षाको नयाँ संरचनाबारे विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूसँग भएको अन्तरक्रियामा नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष नीरज लवजूले प्रस्तुत गर्नुभएको धारणा पत्र)
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *