भर्खरै :

चुनावी वातावरण कसले बनाउँछ ?

एमालेले दाबी गर्दै आएका धेरै ‘लालकिल्ला’हरू स्थानीय निर्वाचन – २०७९ मा गल्र्यामगुर्लुम ढले । एमालेको मुख्य आधार मानिएको लुम्बिनी, अनि लुम्बिनीको केन्द्र बुटवल उपमहानगरपालिका पनि एमालेले जोगाउन सकेन । एमाले पार्टीलाई मात्र होइन, देशलाई नै बुटवलबाट राजनीतिक दिशा दिने गरेको दाबी गरिरहेका एमाले नेता–कार्यकर्ताहरू स्थानीय निर्वाचनको परिणामबाट स्तब्ध बने । दिल्लीमा गरिएको गोप्य बाह्रबुँदे समझदारी सार्वजनिक नगर्दै २०६२ मंसिर ४ गते बुटवलमा ‘शक्ति प्रदर्शन’ गरेको एमालेका कार्यकर्ता–बुद्धिजीवीहरूको परिभाषामा बुटवल र एमाले पर्यायवाची शब्द थियो । तर, यसपटकको निर्वाचनमा बुटवलमा एमालेको लज्जाजनक हार भयो । २०७४ को स्थानीय निर्वाचनमा बुटवल उपमहानगरका १९ वटा वडामध्ये ३ वटा वडाबाहेक सबै वडा र प्रमुख तथा उपप्रमुख समेत जितेको एमालेले यसपालि ५ वटा वडाबाहेक सबै वडा र प्रमुख पदसमेत भारी मतान्तरमा गुमाए । प्रदेशमा पनि लुम्बिनीका १०९ वटा पालिकामध्ये ४३ वटा पालिकाको नेतृत्व भएको एमाले २७ वटा पालिकामा खुम्चिनु पर्दा ‘नचिताएको क्षति’ व्यहोरेको एमालेका कार्यकर्ताहरू अनेक कोणबाट निर्वाचनको समीक्षा गर्दै छन् । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा विभिन्न टीकाटिप्पणी सार्वजनिक गर्दै छन् ।
बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी दाङमा सारेको, लखनचोकदेखि गोलपार्कसम्मको राजमार्ग हिलाम्य र धुलाम्य बनाइराखेको, सुकुमवासीहरूलाई लालपुर्जा वितरण गर्न नसकेको, तिनाउ–दानव करिडोरबाट सुकुमवासीलाई हटाउन लागेको र विष्णु पौडेलले हतारमा औद्योगिक क्षेत्रको शिलान्यास गरेको आदि कारण मतदाताहरू एमालेसँग रिसाएको हल्ला फैलाए पनि ती त सबै बाहिर देखाउने बहानामात्र भएको बताइन्छ । पाँचदलीय गठबन्धनविरुद्ध लडेको एमालेले ‘छ दलीय मोर्चा’ सामना गर्नु पर्दा अनपेक्षित चुनावी नतिजा आएको स्थानीय कार्यकर्ताहरू बताउँदै छन् । तिनीहरूका अनुसार एमालेभित्रकै ‘अन्तरघातीहरूको दल’ पनि पाँचदलीय गठबन्धनमा मिसिएपछि ‘छ दलीय मोर्चा’ बन्यो । एमालेभन्दा पनि बलियो एमालेको ‘अन्तरघातीहरूको दल’ ले धोका दिएको पुष्टि गर्दै एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले ‘नेपालखबर’ सँगको अन्तर्वार्तामा ‘एमाले कार्यकर्ताले टिकटक बनाए, भोटचाहिँ अन्तै हाले’ भनी प्रस्ट पारेका छन् । दिनभरि एमालेको चुनावी प्रचार ¥यालीमा हिँड्ने, राति राति विपक्षी दललाई एमालेको रणनीति बताउने र चुनावमा विपक्षी दललाई मतदान गर्ने एमालेभित्रकै अन्तरघातीहरूको कारण नै एमालेको अस्तित्व नै सङ्कटमा पर्ने गरी पराजय भोग्नु परेको उनीहरूको दाबी छ । सङ्गठनात्मक शक्ति सुदृढ भएको एमालेजस्तो पार्टीमा अन्तरघात हुनु धेरैका लागि आश्चर्यको विषय बनेको छ । स्वयम् एमालेका अध्यक्ष केपी ओलीले ‘काङ्ग्रेस र माओवादीमा पनि नभएको तर एमालेमा लाजमर्दो अन्तरघात भएको’ आफ्ना सांसदहरू सामुने स्वीकारेका छन् । लाभ र पदलाई अन्तिम सत्य मान्ने पुँजीवादी व्यवस्थामा र पुँजीवादी पार्टीमा एक अर्काप्रति घात–प्रतिघात हुनु सामान्य घटना हुन् । ‘कम्युनिस्ट’ नाम गरे पनि पुँजीवादी पार्टी, भाइ काङ्ग्रेस एमालेभित्र पनि एकले अर्कोलाई धोका दिनु कुनै अनौठो घटना थिएन र हुँदैन । यद्यपि, वैशाख ३० को निर्वाचनमा अन्तरघातकै कारण पार्टीले क्षति व्यहोर्दै छ भन्ने सूचना एमाले अध्यक्ष केपी ओलीले नपाएकै होला भन्न सकिन्न । चुनावको सङ्घारमा पनि अरू शासक दलहरू एक एक किलो किलोको ढकमात्र हुन् र आफ्नो पार्टी एक्लै क्विन्टल (सय किलो) भएको यथार्थ प्रदर्शन गर्ने केपी ओलीलाई आफ्ना नेता तथा कार्यकर्ताले पानीमा आँखा खोल्न लगाएको थियो’ र ? फेरो समातेर हिँड्ने नेता–कार्यकर्ताहरूले नै के ओलीलाई कुहिरोमा हराएको काग बनाएको थियो कि ? गम्भीर आङ्शका उत्पन्न भएको छ । सिद्धान्तहीन र सही उद्देश्य नभएको दलको यही दशा भोग्न समयमात्र पर्खनुपर्ने हुन्छ ¤
वैशाख ३० गते मतदान क्रम जारी रहेको बेलामा नै एमालेका एक जना पूर्व बुटवल नगर अध्यक्ष भन्दै थिए, हिजोको एमालेको जस्तो एकमनको जोस काङ्ग्रेसीमा देखियो । हिजोको काङ्ग्रेसको जस्तो अनुशासनहिनता एमालेमा देखियो । बुटवलमा मतगणना नहुँदै एमालेले हार स्वीकार गरिसकेको यो एउटा मनोवैज्ञानिक उदाहरण हो । बुटवलको नगर प्रमुख पदमा हारे पनि वडाध्यक्षहरूमा त एमाले नै आउनेमा एमालेजनहरू ठूलो विश्वासमा थिए तर वडा नं १ को मतगणनासँगसँगै एमालेजनहरूको त्यो विश्वास भङ्ग हुँदै गयो । यसपालि एमाले हार्ने अनुमान बुटवल उपमहानगरपालिकाका कर्मचारी नेतृत्वले पनि गरिसकेको थियो । २०७४ सालमा जस्तो मतगणनास्थलमा कुनै झिलिमिली थिएन । मतगणनाको नतिजा सार्वजनिक गर्दा सञ्चारमाध्यमसँग समन्वय गर्न कतै न्युज डेस्क राखिएन, सार्वजनिक नतिजा प्रसारण भइरहने सूचना पाटी ((लिडको डिस्प्ले बोर्ड) पनि राखिएन । उत्सुक मतदाताहरूको लागि जुन सुविधा २०७४ को स्थानीय निर्वाचनमै उपलब्ध थियो । बुटवल उपमहानगरपालिकालाई पेपर लेस बनाउने, स्मार्ट सिटी बनाउने भन्न नथाक्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कस्तो उपमहानगर छोडेर गए भन्ने चर्चा व्यापक छ । उत्सुकता जाग्नु स्वाभाविक हो । एमालेकालमा भर्ती भएका कर्मचारीहरूले एमाले हार्ने भएरै मात्रै ‘अल्छि’ गरेको त पक्कै होइन होला ।
प्रचार संयन्त्र परिचालनमा यसपटकको निर्वाचनमा एमाले सुरुदेखि नै पछाडि प¥यो । एमालेका पूर्व नगर अध्यक्षले भनेजस्तै पहिला कहिल्यै नभएजस्तै काङ्ग्रेस पक्षीय सङ्गठित प्रचार छाइरह्यो । काङ्ग्रेसका उम्मेदवार खेलराज पाण्डेको बुटवलमा मात्र होइन, देशभरि नै कतै पनि घर नभएको, पाण्डेले निर्वाचनमा पैसा खर्च गर्न सक्दैन र गर्दैन, २०७४ को चुनावमा हारेका पीडित उम्मेदवार, चुनावमा हारे पनि जनताको दुःखसुखमा सधैँ साथ रहेको, मर्दापर्दा जहाँ जसकोमा पनि पुग्ने गरेको एकहरो चर्चा चलाउन काङ्ग्रेसी प्रचारकहरू सफल रहे । साथै एमालेका उम्मेदवार बाबुराम भट्टराई राजनीति छोडेर व्यवसाय गरिरहेको, अथाह सम्पतिवाला, चुनावमा जति पनि खर्च गर्नसक्ने, एमालेका महासचिव शङ्कर पोखरेलको गुटमा गएपछि मात्र नगर प्रमुखको लागि पार्टी टिकट पाएको, बुटवल क्षेत्रमा ‘महान् नेता’ मानिएका विष्णु पौडेलको पार्टीभित्रै कमजोर बनिसकेको, रुपन्देही जिल्लामै विष्णु पौडेलको कुनै वडा सदस्य पनि उम्मेदवार उठाउन नसकेको हल्ला मच्चाउन काङ्ग्रेसी प्रचारकहरू सक्रिय थिए । काङ्ग्रेसीहरूको प्रचारको प्रतिवाद गर्न एमालेजन उत्साहहीन थिए । बरु एमालेका वरिष्ठ पत्रकार डीआर घिमिरेले लेखेको ‘काङ्ग्रेसका उम्मेदवार खेलराज पाण्डेले २०७४ सालको निर्वाचनकै रु. ४० लाख चन्दाको हिसाब नबुझाएको’ अपुष्ट समाचार आफैमा विवादमा प¥यो र अन्ततः आफ्नो प्रचार माध्यममा समाचार नै हटाउन बाध्य भए । ‘सर्वहारा’ भनी प्रचार गरिएका काङ्ग्रेसी उम्मेदवार खेलराजको नाममा अर्को नगरमा दुई करोडको जग्गा रहेको एमालेको ‘खोजपूर्ण लालपुर्जासहित’ को समाचारको प्रतिवाद गर्दै काङ्ग्रेसीहरूले राज्यको लुटेको भन्दै विष्णु पौडेलको बालुवाटारको लालपुर्जा र बाबुबाट पाएको भन्दै खेलराज पाण्डेको लालपुर्जासँगै राखेर प्रचार गरे ।
एमालेको सूचना र सूचनास्रोत पनि कमजोर देखियो । निर्वाचनको शुन्य समयमा बिरामी भेट्न भन्दै आएकी एमालेबाट नगरप्रमख उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई सुकुमवासी बस्तीमा पैसा बाँड्न आएको भन्दै काङ्ग्रेसीहरूले घेराबन्दीमा पारे । हो–हल्लाको बीचमा प्रहरीले उम्मेदवारकी श्रीमतीलाई पक्राउ वा उद्धार गरी सक्दासम्म एमालेको कुनै सक्रियता देखिएन । ठाउँ–ठाउँमा एमालेले पैसा बाँड्न गएको तर काङ्ग्रेसी कार्यकर्ताहरूको गस्तीको कारण पैसा बाँड्न नपाएको खबर प्रसार भइरह्यो । विगतमा एमालेको पकड रहेको सुकुमवासी बस्तीमा एमाले नेताहरू पस्न नपाएको सन्देशले पनि काङ्ग्रेसीहरूलाई ठूलो राहत दियो । २०६४ सालको संविधानसभाको निर्वाचनको बेला एमालेले माओवादीको हतियार समातेको थियो । २०७० सालको संविधानसभाको निर्वाचन प्रचारको क्रममा ‘जनताको घरमा खाना र बास’ भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुग्दा उक्त घर नै खाली गरी सबै परिवारका सदस्यहरूलाई होटलमा लगेको थियो । तर, यसपटक एमाले आफै किन रणभुल्लमा प¥यो ? सर्वत्र चर्चा चलिरहेको छ । विगतमा एमालेले मात्र गरिरहेको प्रचारयुद्धका संयन्त्र र सूचना केन्द्रहरू यसपटक कसरी काङ्ग्रेसको खल्तीमा डेरा सर्न गयो, एमालेलाई थाहा भएन । पत्रकारिताको लागि मोफसलको राजधानी भनिएको बुटवलमा वर्षौंदेखि एकछत्र सञ्चारजगतमा राज गरिरहेको एमाले यो स्थानीय निर्वाचनमा किन निरीह बन्यो खोजकै विषय हो । निर्वाचनको परिवेश नै बदल्ने गरी व्यक्तिवादी चरित्र भएका काङ्ग्रेसी प्रचारयन्त्रलाई कसले जिम्मेवार र सङ्गठित बनायो भन्ने जस्ता धेरै प्रश्नहरू बुटवलमा स्थानीय निर्वाचन – २०७९ ले छोडेर गयो ।
सैद्धान्तिक र उद्देश्यबिनाको राजनीतिले नागबेली बाटो लिनु स्वाभाविक छ । सैद्धान्तिक राजनीतिकरूपले के कुन विषयमा नेपाली काङ्ग्रेस र एमाले फरक छ भन्ने प्रश्नको उत्तर कहिल्यै आएन । काङ्ग्रेसको जीत र एमालेको हार भनिए पनि एमसीसीबारे सारमा दुवै त्यसको निम्ति सक्रिय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *