भर्खरै :

बझाङमा घरदैलो र चुनावी सभा

बझाङमा घरदैलो र चुनावी सभा

बझाङ, ८ वैशाख । वैशाख १५ गते हुन गइरहेको बझाङ क्षेत्र नं. १ (क) को प्रदेशसभाको उप निर्वाचन प्रचार प्रसारको क्रममा नेपाल मजदुर किसान पार्टीले चुनावी अभियान तीव्र गरेको छ । यसै क्रममा जय पृथ्वी नगरपालिका वडा नं. ८ र १० वडाका विभिन्न स्थानहरूमा नेमकिपाले सभा एवं घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले हत्या–हिंसा, बलात्कारजस्ता जघन्य अपराध गर्नेहरूलाई संविधान संशोधन गरेर भए पनि मृत्युदण्ड दिनुपर्ने बताउनुभयो ।
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरुद्ध नेमकिपाले स्थापनाकालदेखि सङ्घर्ष गर्दै आएको र नेपाल विकास नहुनुमा भारतीय विस्तारवाद प्रमुख बाधक भएको उहाँले बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले कामदार जनताको जीवन सुनिश्चित गर्न समाजवादी व्यवस्था स्थापना गर्नु अनिवार्य रहेको चर्चा गर्दै नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रुपमा उपयोग गर्दै आएको बताउनुभयो ।
नेमकिपा बझाङ क्षेत्र नं. १ (क) का उम्मेदवार खगेन्द्रबहादुर शाहीले प्रदेशसभाको निर्वाचन पार्टी घोषणापत्रको लडाइँ भएको चर्चा गर्दै मादल चिन्ह्मा मतदान गर्न आह्वान गर्नुभयो ।
सभा तथा कोणसभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य बिजुकला राना, नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *