भर्खरै :

जनप्रतिनिधिहरूले आ–आफ्नो जिम्मेदारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने

स्थानीय तहको सबै नतिजा झन्डै सार्वजनिक भयो । निर्वाचनमा विभिन्न दलका उम्मेदवारहरू निर्वाचित भए । दलका हरेक उम्मेदवारहरूले पार्टीको घोषणापत्रअनुसार काम गर्ने वाचा गरेका थिए । अब दलको प्रतिबद्धता या घोषणापत्रलाई एक एक पाइला गरेर कार्यान्वयन गर्नुपर्ने बेला हो । निर्वाचनताका दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले गरेका प्रतिबद्धता अक्षरसः पालना गर्ने विश्वास दिलाएका थिए । स्थानीय तह जनताको दैनिक कार्य गर्ने थलो हो, विकास जनताको घर आँगन पु¥याउने थलो हो । जनतासँग भिज्ने र जनताको सुख–दुःख बुझ्ने थलो हो । यसरी जनतासँग भिज्ने, जनताको दैनिकी कार्य र विकास गर्ने स्थानीय तहमा भ्रष्टाचार र अनियमितता हुनु या त्यसको कारण बदनाम हुनु राम्रो सङ्केत होइन ।
निर्वाचित जनप्रतिनिधिहरू इमानदार हुनुपर्छ । आ–आफ्नो प्रतिबद्धता पूरा गर्न अघि सर्नुपर्छ या आफ्नो दायित्व पूरा गर्नुपर्छ । जनप्रतिनिधिहरू कसैलाई काखा–पाखा नगरी जनताको सेवामा जुट्नुपर्छ । नगर र गाउँपालिकाको बजेटलाई सुदपयोग गर्नुपर्छ । विकासको कुरा फुकेर पैसा कमाउने या कमिसन खाने प्रवृत्ति अन्त्य हुनुपर्छ । कुनै पनि जनप्रतिनिधिले पदको दुरूपयोग नगरी जनताको सेवा र विकास कार्यमा इमानदारीपूर्वक लागे भ्रष्टाचार हुने थिएन, कमिसनमा भुल्ने थिएन । भ्रष्टाचार र कमिसनको कारण कुनै पनि स्थानीय तह र जनप्रतिनिधिहरूको बदनाम हुनेछैन ।
विगतमा जनप्रतिनिधिहरू भ्रष्टाचार र कमिसनमा फसेको समाचार प्रकाशित भयो । विकासमा व्यापक चुहावट भएको जानकारी प्रकाशमा आयो । विकासको नाउँमा पैसा खाएको या कमाउनकै निम्ति विकासको योजना तय भएको समाचार आएको थियो । यसरी स्थानीय तहमा भइरहेको भ्रष्टाचारकै कारण एक मन्त्रीले त विकास योजना उपभोक्ता समितिमार्फत नगर्न स्थानीय तहमा पत्राचारसमेत गरेका थिए । स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरू इमानदार भएमा विकासमा कुनै किसिमको चुहावट हुने थिएन । तर, स्थानीय तहमा कति जनप्रतिनिधि र कर्मचारीहरूसँग ठेकेदारको मिलेमतो हुन्छ । ठेकेदारमार्फत काम हुन्छ । त्यही ठेकेदारले जनप्रतिनिधि र कर्मचारीहरूलाई कमिसनको भाग बाँडेको हुन्छ । कति ठाउँमा त जनप्रतिनिधिहरू नै आर्थिक अनियमितता र कमिसनमा पल्केका हुन्छन् । यसकारण जनताबाट निर्वाचित जनप्रतिनिधि र जनताको सेवामा जुटेका कर्मचारीहरू सचेत हुुनुपर्छ ।
देशभरिका प्रत्येक जनप्रतिनिधिहरूको अब काम गर्ने बेला हो, प्रतिबद्धताअनुसार काम गर्ने समय हो । कुनै पनि जनप्रतिनिधिहरू आर्थिक अनियमितता र कमिसनमा नफसून, आ–आफ्नो इज्जत र प्रतिष्ठानमा दाग लाग्ने काम नगरून् । आ–आफ्नो जिम्मेदारी इमानदारीपूर्वक पालना गरून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *