सरकारभन्दा कालाबजारी शक्तिशाली ?
- जेष्ठ २५, २०८३
जनतालाई सैद्धान्तिक, राजनैतिक, वैचारिक र सांस्कृतिकरूपले सचेत पार्ने काम राजनीतिक दलको हो । तर, सत्तासीन र ठूला राजनीतिक दलहरूले आफ्नो जिम्मेवारी पूरा गरेनन् । दलले सिद्धान्त र विचारको राजनीति नगरेको कारण एउटै दलका प्रमुख, उपप्रमुखहरूको मत झन्डै दोब्बर फरक देखियो । काठमाडौँ महानगरपालिकामा एमालेका प्रमुख उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ प्राप्त गरे भने उपप्रमुख सुनिता डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गरिन् । एउटै दलका प्रमुख, उपप्रमुखको मत यसरी धेरै कसरी फरक भयो ? एउटै पार्टीले प्रमुख र उपप्रमुखलाई किन फरक–फरक दृष्टिले हे¥यो ? एउटै दलको दुई उम्मेदवारको फरक मत २८ हजार कसरी हुन गयो ? यसले थाहा हुन्छ, एमाले आफ्ना कार्यकर्ता र जनतालाई राजनीतिकरूपले प्रशिक्षित र सङ्गठित गर्दैन ।
प्रमुखका उम्मेदवार केशव स्थापितले निर्वाचनताकाको विभिन्न कार्यक्रममा कहिले पनि सैद्धान्तिक र वैचारिक कुरा गरेनन् । निर्वाचन नहुँदै आफूले आफूलाई जितेको दाबी गर्ने प्रमुखका उम्मेदवार स्थापितमा राजनीतिक चरित्र देखिएन, राजनीतिक कुराकानी या राजनीतिक व्यवहार देखिएन । गफै गफ गरेर कार्यक्रममा समय बिताए पनि अरू दलका नेता तथा कार्यकर्ताले आलोचना गर्ने काम पनि गरेको देखिएन । कुनै नेताले सुझाव दिएका भए उनको कुराकानीमा केही सुधार भएको देखिनुपर्ने हो । कार्यक्रममा उनी कहिले ह्विस्कीको कुरा गर्थे, कहिले अन्य उम्मेदवारभन्दा दोब्बर मत ल्याउने त कहिले एक लाख २० हजार मत ल्याउने दाबी गर्थे । तर, परिणामले अर्का प्रमुख उम्मेदवारको मतभन्दा झन्डै दोब्बर कम आयो । उनको हरेक कार्यक्रम गफजस्तै हुन्थ्यो । गफ पनि ढङ्ग पुगेको हुँदैन । आकाश पातालको गफमा कुनै निष्कर्ष या सार हुँदैन । निर्वाचनताका उनले व्यक्त गरेको अभिव्यक्ति सुनेर स्रोताहरूले अप्ठेरो महसुस गरिरहेका हुन्छन् ।
कोही उखान–टुक्का भिडाउने, कोही गफ हाँक्ने त कोही झूटको खेती गरेर भ्रम फैलाउने । त्यस्ता नेता तथा कार्यकर्ताहरूलाई जनताले कसरी विश्वास गर्ने ? राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले आश्वासन बाँड्ने, भ्रम फैलाउने र लोभलालच देखाउने गरेकै कारण उनीहरूप्रति जनताको विश्वास गुम्दै गएको हो कि भन्ने आभास गर्नु अस्वाभाविक होइन । चर्काचर्का कुरा गर्दा, तथानाम गाली गर्दा ताली त पिट्छ, सुरु सुरुमा जनताले विश्वास पनि गर्छन् । तर, जनता सधैँ झुक्दैनन्, चुक्दैनन् या कसैको लोभलालचमा फस्दैनन् । राजनीतिक कार्यकर्ताले जथाभावी बोल्ने होइन, गफ छोड्ने होइन, काम गरेर देखाउने हो, व्यवहारिक कुरा गर्ने हो । विगतको कमजोरी सच्याउँदै अघि बढ्ने हो । जनताको सेवा गर्नु बाहेक अर्काे उद्देश्य छैन भनी जनप्रतिनिधिहरूले व्यवहारले देखाउने हो । त्यो नै सफलताको सूचक हो ।
Leave a Reply