भर्खरै :

कम्युनिस्टहरूले जनतालाई केन्द्र बनाएर काम गर्नुपर्ने

कम्युनिस्टहरूले जनतालाई केन्द्र बनाएर काम गर्नुपर्ने

बझाङ, ११ वैशाख । सुदूरपश्चिम प्रदेशसभाको उपनिर्वाचनमा बझाङ क्षेत्र नं. १ ‘क’ को लागि नेमकिपाले आफ्नो प्रचारप्रसारलाई तीव्र पारेको छ । यसैक्रममा मङ्गलबार खप्तड छान्ना गाविसका कालुखेती, पसलबगर, कटराइलगायतका स्थानमा चुनावी सभा तथा प्रचारप्रसार सम्पन्न भयो ।
उक्त सभामा नेमकिपाका केन्द्रिय सदस्य अनुराधा थापामगरले नेमकिपाले घोषणापत्रबमोजिम काम गर्दै आएको बताउनुभयो ।
कृषिप्रधान देशमा खाद्यान्नसमेत आयात गर्नुपर्ने स्थिति आउनु विडम्बना भएको उल्लेख गर्दै उहाँले लोकतन्त्र र गणतन्त्रपछि पनि नेपाली जनता मारमा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मतदाताले मतदान गर्ने हो मत बेच्ने होइन । नेमकिपा सदन र सडकमा देश र जनताका लागि सधैँ बफादार सिंपाही भएर आवाज बुलन्द गर्छ । बहुदल र गणतन्त्रले नेपाली जनताको सेवा गर्न सकेनन् ।”
कम्युनिस्टहरूले जनतालाई केन्द्र बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले खोल मात्र लगाएका कम्युनिस्टहरूले देश बनाउँदैनन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं उम्मेदवार खगेन्द्रबहादुर शाहीले चुनावको एउटा मुख्य उद्देश्य विचार प्रचार हो, कामदारवर्गको शासन व्यवस्था भनेकै समाजवादी शासन व्यवस्था हो भन्नुभयो ।
बझाङवासीहरूको हकहितमा सधैँ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताका सारा समस्याको कारण पुँजीवादी व्यवस्था हो भन्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले प्राकृतिक स्रोत साधन संरक्षण गर्नु राजनैतिक दलको पनि कर्तव्य हो भन्नुभयो ।
उहाँले संविधानमा उल्लेख भएर पनि सरकारले स्वास्थ्य शिक्षा निःशुल्क गर्न सकेको छैन भन्नुभयो ।
रमेशकुमार रावलले पनि बोल्नुभएको सो कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य बिजुकला राना र देउडा गायक हस्तबहादुर कुँवरले प्रगतिशील देउडा गीत प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *