भर्खरै :

मौलिक पर्व सिथि नखःबारे सङ्क्षिप्त चर्चा

चन्द्रमाको गतिअनुसार प्रत्येक १५/१५ दिनको अन्तरमा पूर्णिमा र औँसी आउँछ । पूर्णिमाको दिन आकाशमा पूरा चन्द्रमा देखा पर्छ । त्यसपछि, क्रमशः प्रतिपदा, द्वितीया, तृतीया, चौथी, पञ्चमी, षष्ठी, सप्तमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी हुँदै औँसी आइपुग्छ । सुरुको १५ दिन शुक्ल पक्ष हुन्छ भने पछिको १५ दिन कृष्णपक्ष हुन्छ । बा¥ह महिनामा बा¥हचोटि नै यसरी शुक्लपक्षको षष्ठी तिथि आउँछ । यसमा ज्येष्ठ शुक्ल पक्ष तिथिको षष्ठीको दिन सिथिले प्रख्यात छ । नेवार समाजले प्रत्येक वर्ष मनाउँदै आएको सिथि ज्येष्ठ शुक्ल षष्ठीको दिन पर्छ । यसबाट पनि षष्ठीको अपभ्रंश सिथि हो भन्ने स्पष्ट हुन्छ । यस दिन कुमार षष्ठीले पनि चिनिन्छ ।
काठमाडौँ उपत्यकामा बस्ने आदिवासी नेवाःहरूको वर्षभरि विभिन्न जात्रा, चाडपर्व, उत्सव आदिले भरिएको हुन्छ । त्यसमा पनि वर्षभरिको पहिलो चाड घण्टाकर्ण पर्व (गाथामोग च¥हे) लाई लिने गरिन्छ । सबैभन्दा अन्तिम चाड ज्येष्ठ शुक्ल षष्ठीको दिन मनाउने कुमार षष्ठी अर्थात् सिथिलाई लिने गरिन्छ । यसरी नेवाःहरूको वर्षदिनको सबैभन्दा अन्तिम चाड भएर सिथिलाई यहाँ धुमधामसँग मनाउने गरिन्छ । यस पर्वबारे हाम्रा वंशावली एवं विभिन्न पुराणहरूमा समेत उल्लेख गरिएको छ । यसमध्ये मार्कण्डेय पुराणअनुसार ज्येष्ठ शुक्ल षष्ठीको दिन देवादिदे महादेवको ज्येष्ठपुत्र कार्तिकेय कुमारको जन्मदिन भएको मानी उक्त दिन कुमारको विशेष पूजाआजा गरिन्छ र कुमारकै नामबाट उक्त दिनलाई कुमार षष्ठी भनिएको पाइन्छ । यस दिन घर र वरिपरि सरसफाइ गरी कार्तिकेय कुमारको पूजाआजा गर्नाले घरमा सुख, शान्ति कायम हुने, कार्यसिद्धि प्राप्त हुने र सुस्वास्थ्य लाभ हुने पुराणमा उल्लेख छ । त्यस्तै ऐतिहासिकरूपमा सिथि पर्वको उल्लेख भएको संवत् ३० को हाँडीगाउँको अभिलेख हो, जुन लिच्छवी राजा अंशुवर्माले राख्न लगाएको अभिलेख हो । यो अभिलेख संवत् ३० ज्येष्ठ शुक्ल षष्ठी अर्थात् सिथिकै दिन राखिएको अभिलेख हो । यो अभिलेखमा उल्लेख भएको कुलदेव र षष्ठीदेव शब्द अत्यन्त महत्वपूर्ण शब्दहरू हुन् । कुलदेवले दिगुद्यःलाई जनाउँछ भन्ने षष्ठीदेवले सिथि देवता भन्ने जनाउँछ । यसबाट आजभन्दा १४५० वर्षअगाडि नै नेपालमण्डलमा सिथि पर्व मनाउने चलन भइसकेको पुष्टि हुन्छ ।
नेवार समाजमा सबैभन्दा पहिले पुजिने देवता गणेश भए पनि त्योभन्दा पहिले कुमारलाई पूजा गर्नुपर्ने गरी प्रत्येक घरको मूलढोकाअगाडि क्षेत्रपालको रूपमा कुमारको प्रतीकात्मक मूर्ति स्थापना गरिएको हुन्छ । यसमा ६ वटा कमलको फूलको पातअङ्कित हुन्छ । त्यस्तै सिथिको दिन कागजमा ६ वटा कमलको फूलको पातअङ्कित गरी झ्याल वा कौशीमा झुन्डाउने चलन छ । त्यसअघि कुमारको उक्त प्रतिकात्मक मूर्तिमा ६ विभिन्न थरीका अन्नबाट बनेको चटामरी, ६ थरीका दालबाट बनेको वो (बारा) र ६ थरीका सागसब्जीका तरकारी चढाई पूजा गर्ने गरिन्छ । यसरी षष्ठीको दिन ६ टाउको भएको कार्तिकेय कुमारलाई ६ थरीका चटामारी, वो र तरकारी चढाउनुको पछाडि ६ अङ्कको ठूलो महत्व रहिआएको छ ।
यता कुमारकै छुट्टै विशेषता भएको मूर्तिमा काठमाडौँ हाँडीगाउँको ६ टाउके मूर्ति, धुलिखेलको पार्वती मन्दिरमा रहेका मूर्ति, काठमाडौँको जैशीदेवलको मूर्ति, भक्तपुरको तिलमाधव नारायण मन्दिरमा रहेको मूर्ति कुमारका प्रसिद्ध मूर्तिहरू हुन् । यसमा सिथिको दिन काठमाडौँ जैशीदेवलभित्रको कुमारको मूर्ति बाहिर ल्याई पूजाआजा गर्ने चलन छ । सिथि सुरु हुनु तीन दिनअगाडि नै कुमारको मूर्ति बाहिर ल्याई सफा गरेपछि रङ्ग रोगन र श्रृङ्गार गरी बाहिर प्रदर्शनमा राखिन्छ र सिथिको दिन विभिन्न खाद्य पदार्थहरूसहित पूजाआजा गरिन्छ । भोलिपल्ट उक्त मूर्ति एउटा विमान खटमा राखी बाजागाजाका साथ नगर परिक्रमा गराउने काम हालसम्म पनि थानकोट भेगका नगरकोटी र बलामीहरूले गर्दै आएका छन् । त्यस्तै ने.स. ७९२ को एउटा गीतिग्रन्थमा ‘कुमार खुपात ख्वाल किजां थुव’ भनी स्पष्टरूपमा कुमारका ६ वटा शिर हुने उल्लेख छ । यसबाहेक कुमार देवगणका सेनापति भएको नाताले सिथिको दिन नक्कली युद्धाभ्यास हुन्थ्यो । जुन मध्यकालमा प्रशस्त सेना नहुँदा बाहिरी शक्तिले आक्रमण गरिरहेको समयमा यहीकै स्थानीयलाई युद्धाभ्यास गर्ने हेतुले सिथिको दिन नक्कली युद्धको अभ्यास हुन्थ्यो । यसमा नगरको तल्लो भेग र माथिल्लो भेगका मानिसहरूबीच एक आपसमा नक्कली युद्ध हुन्थ्यो । युद्धमा हारेका वा समातेकालाई नरबलि दिन्थ्यो । कान्तिपुर राज्यको एउटा उदाहरण यहाँ दिन सकिन्छ । कान्तिपुर राज्यको माथिल्लो र तल्लो भेगका बिच विष्णुमती, कंकेश्वरी र इन्द्रायणीनेर युद्ध हुँदा समातेकालाई आआफ्नो राज्यका देवी कहाँ बलि दिन्थे । अन्धविश्वासको कारण शत्रुको हातमा परेकालाई माथिल्लो टोलकाले इन्द्रायणीमा र तल्लो टोलकोले कंकेश्वरीमा बलि दिने गथ्र्यो । यो चलन धेरैपछिसम्म चल्यो । यो चलनलाई राणा प्रधानमन्त्री जङ्ग बहादुरले बन्द गरे । यस्तो चलन बनेपामा समेत रहेको देखिन्छ । तल्लो र माथिल्लो भेगको बिच इँटाले हान्ने चलन पछिसम्म पनि सिथिको दिन थियो । जुन अचेल छैन ।
प्रत्येक नेवार घरको पहिलो वास्तुसूचक पिखालाकी हो । घरअगाडि स्थापित यो गोलो ढुङ्गाले नेवार समुदायको वास्तुको परिचय दिन्छ । घर तयार भइसकेपछि मूलढोकाअगाडि राखिने पिखालाकीको पूजा गृहप्रवेशको क्रममा छानाबाट योमरी गुडाउने र पानी बर्साउने क्रमसँग जोडिन पुग्छ । जुन प्रत्येकपल्ट घर बाहिर पूजा गर्ने क्रममा पिखालाकीको पूजा अनिवार्यरूपले गर्नुपर्छ र प्रत्येक दिन निःल (शुद्ध जल) ले छर्किनुपर्छ । त्यतिमात्र होइन, ईही (बेल विवाह) गरेकी छोरी घर भित्र्याउन अघि यहाँ घरकी मुली नकींले विधिपूवर्क पूजा आजा गरी स्वागत गर्ने ठाउँ उही पिखालाकी हो । त्यस्तै विवाहको क्रममा छोराबुहारीलाई यही पिखालाकी अगाडिबाट विधिपूर्वक पूजा गरी घर भित्र्याइन्छ । लक्ष्मीपूजाको दिन पिखालाकी देखि घरको ढुकुटीसम्म गोबर र रातोमाटोले लिप्ने चलन छ । जन्मरथारोहण, जन्मदिनदेखि हरेक शुभकार्यमा मात्र हैन, मृत्यु संस्कारमा समेत पिखालाकीको ठुलो महत्व छ ।
धार्मिक मतले पिखालाकीलाई जे जस्तो व्याख्या गरे तापनि यो आफैमा शुद्ध नेपालभाषाको शब्द हो । जुन पिखालखुबाट आएको हो । यहाँ पिखाले घरको छानालाई सिमाना बनाई सीधा जमिनसम्मको भाग जनाउँछ । छानाबाट भित्र परेको भागलाई पाखा दुने (पाखाभित्र) र बाहिरको भागलाई पाखा पिने (पाखा बाहिर) भनी स्पष्ट पार्ने क्रममा यहि छानाबाट सीधा मुनितिर मूलढोका अगाडि स्थापित गोलोढुङ्गा पिखालाकी बनेको भाषा वैज्ञानिक दृष्टिकोणले धेरै नजिक हुन आउँछ । त्यस्तै लखुको अर्थ पानी हो भन्ने तथ्य ने.सं. ५९१ मा लेखिएको अमरकोशबाट थाहा हुन्छ  । ने.सं. ५०० मा नेपालमण्डलको राजधानी भक्तपुरमा पानी नपरी समयमै धान रोप्न नपाउँदा तत्कालीन राजा जयस्थिति मल्लले लवंख्यात (पानी माग्ने जात्रा) सम्पन्न गरेको गोपाल राजवंशावलीमा उल्लेख छ । यहाँ लखु शब्दले पानीसँग सम्बन्ध राख्ने अर्काे महत्वपूर्ण विश्लेषण जोड्ने हो भने छानाबाट झरेको पानी पर्ने ठाउँ ढुङ्गा नै पिखालखु वा पिखालाखी हो भन्ने स्पष्ट हुन्छ ।
हाम्रा धार्मिक ग्रन्थहरूले कुमार अर्थात् पिखालाकीलाई एकजना वास्तुकलाविद् पनि मानेको सन्दर्भमा वास्तुकलाको अर्काे महत्वपूर्ण ग्रन्थ प्रतिष्ठा सार सम्मुचयमा समेत कुमारको जिकिर हुनु र उनै वास्तुशास्त्रले कुमारलाई क्षेत्रपालको संज्ञा दिएको विचारणीय पक्ष हो । तर, नेवाः समुदाय पिखालाकीलाई क्षेत्रपालभन्दा कुमारकै रूपमा पूजा गर्न रुचाउँछ र आप्mनो मूलढोका अगाडि स्थापना गरी दिनहुँ पूजा गर्नेदेखि शुभ अशुभ हरेक कार्यमा संलग्न गर्ने चलन छ  । ज्येष्ठ शुक्ल षष्ठी अर्थात् सिथि नखाको बिहान नेवार समुदायले आ–आफ्नो घरको मूलढोकाअगाडि स्थापित गोलाकार ढुङ्गामा वो (बारा) चटामारी (चामलको पिठोको रोटी) सहित पूजा गर्ने चलन छ । त्यसो त प्रत्येक दिन यसमा पूजा गर्ने चलन नभएको होइन । तर, विशेषरूपले पुजिने दिन सिथि नै हो । यसदिन पूजा गरिने कुमार देवतालाई सिथि द्यः भन्ने गरिन्छ । सिथि द्यः पूजा गर्ने क्रममा बनाउने मन्दलाई सिथि मन्द भनिन्छ । यसदिन विशेषरूपले खाने वो अर्थात् बारालाई सिथि वो भन्ने चलन छ । यस दिन सिथि द्यःलाई चढाउने फूललाई सिथि स्वां भनिन्छ । जसमा भुइँचम्पा फूल, दुबो र जयन्ती फूल पर्छ ।
परापूर्वकालमा कैयाँै नगरबस्तीमा उक्त दिन सम्पूर्ण नगरवासी अनिवार्यरूपमा सम्मिलित भई ठाउँठाउँमा बिग्रेका गढ, किल्ला बनाउने, मठमन्दिर, सत्तल पाटीमा उम्रेको घाँस उखेल्ने तथा पोखरी, इनार, कुवा, धारा आदि सफा गर्ने कार्य हुन्थ्यो । यसैअनुरूप आजसम्म पनि सिथिको दिन यस्ता कार्य हँुदै आएको र सिथिलाई यहाँ सयौँ वर्ष अगाडिदेखि देश रक्षा, स्वास्थ्य एवं सुख, शान्तिको पर्वको रूपमा लिँदै आएको छ । यस्तो चलन यहाँ परापूर्वकालदेखि नै चलिसकेको प्रमाण ने.सं. ५७३, वि.सं.१५१० मा तत्कालीन राजा यक्ष मल्लको भक्तपुर दरबार क्षेत्रमा रहेको एक अभिलेखबाट स्पष्ट हुन्छ । भक्तपुर नगरको शोभा बनेको स्वर्णद्वारको पश्चिमाभिमुख उक्त अभिलेखअनुसार आजभन्दा ५७० वर्षअगाडि नै यस पर्वलाई सिथि भनी उल्लेख गरेबाट यसको महत्व अझ बढेको छ । यक्ष मल्लको समयसम्म नेपालको राजधानी भक्तपुर रहेको सन्दर्भमा उनले भक्तपुरलाई चारैतिर अग्ला अग्ला पर्खालले मोडी नगर पस्ने द्वारहरू ठाउँठाउँमा बनाउन लगाएका थिए । यसरी बनाएको गढ वा किल्लाको मर्मत गर्ने कार्य सिथिको दिन तोकिएको उक्त अभिलेखबाट थाहा हुन्छ ।
ज्येष्ठ शुक्ल षष्ठीको बिहानदेखि नै घर लिपपोत गरी घरभरि गोबर र रातोमाटोले लिप्ने गर्छ । अघिल्लो दिनमै जुठो भाँडा सबै सफा गरिएको हुन्छ । यस दिन देवाली गर्नेहरूले यो कार्य तदारुकताका साथ सम्पन्न गरेको हुन्छ । देवालीको साथै आफू खानको लागि वो चटामारी पकाइन्छ । सबैको घरघरमा वो चटामारी पाकेपछि आफ्नो नजिकैको त्वः गणेद्य लगायत पिखालाकी र अन्य देवदेवीलाई वो चटामारी चढाइन्छ । घरमा सबै परिवारसँगै बसी वो चटामारी खाइन्छ । दिउँसोदेखि आफ्नो बस्तीभित्र रहेको पानीको भण्डार जस्तैः इनार, पोखरी, कुवा, जलद्रोणी, ढुङ्गेधारा आदि सफा गर्न टोलवासी सबै मिली जनश्रमदानमा जुट्छ । यसमा इनारलाई बढी महत्व दिएको हुन्छ । इनार सफा गरी चार दिनसम्म कसैले पानी लिन मनाही गरिएको हुन्छ । देवाली हुनेको त्यो दिन ठूलो भोज नै हुन्छ । देवालीको अन्तिम दिन मानिने भएकोले यसदिन देवाली गर्न बाँकी भएका सबैले दिगु पूजा गरेको हुन्छ । साँझ स्यु काय् भोज खाइन्छ । यस दिन काठमाडौँ जैशीदेवलमा कुमार कार्तिकेयको जात्रा हुन्छ । यता भतmपुरमा भगवतीको जात्रा हुन्छ । यस दिनदेखि भतmपुरको प्रसिद्ध नवदुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ ।
नेवार समाजमा मनाउने विभिन्न चाडपर्वमा वर्षको अन्तिम चाडको रूपमा सिथिलाई लिने सन्दर्भमा सिथिपछि यहाँका अधिकांश किसानहरू रोपाइँको लागि लागिपर्ने भएकोले सिथि वर्षभरिका चाडपर्वमा अन्तिम गन्तव्यको रूपमा चिनिन्छ । सिथिको दिन चामलको पिठोले बनेको चटामारी र मास तथा मुगीले बनेको वो (बारा) खाने चलनले नेवाः परिकार खाने विशेष दिनको रूपमा सिथिलाई लिने गर्छ । यो सिथिको एउटा महत्वपूर्ण पक्ष हो । सिथिको दिन देवालीको अन्तिम दिन मानी जसको देवाली बाँकी छ, सकाउने परम्परा रहेबाट सिथि पर्व आफैँमा महत्वपूर्ण पर्व हो भन्ने बुझ्न सकिन्छ । सिथिको दिन कुमार तथा पिखालाकीको विशेष पूजा तथा जात्रा गर्ने परम्परा रहेबाट धार्मिक दृष्टिकोणले सिथि महत्वपूर्ण छ । वो र चटामारी नेवार परिकार हो । सिथिको दिन वो र चटामारी खाने चलन त छँदैछ । यो परिकार अरूबेला पनि खान सकिन्छ भन्ने भावना सबैमा जगाउन नेवाः समुदायबाहेक अरूलाई पनि वो र चटामारीको महत्वबारे जानकारी दिई अरू बेला पनि वो र चटामारी खाने चलन बसाल्न सकिन्छ । सिथि पछि वर्षायाम आउने हुँदा हावापानीमा ओसिलोपना बढन गई घरमा सञ्चय गरेको अन्नमा ढुसी पर्ने, कीरा लाग्ने समस्या आईपर्छ । यसको निदानको लागि भकारीमा भएको चामल तथा दलहनलाई पिँढेर वो र चटामारी खाने चलन आफैमा वैज्ञानिक हो ।
सिथिको दिनलाई वातावरण दिवसको रूपमा मनाउने चलन विकास भएको छ । यसले एकातिर हाम्रो संस्कार पर्वको महत्व पनि बढ्ने अर्कोतिर वर्तमान समयानुकूल दिनको रूपमा यस पर्वको महत्व बढेको छ । यो पर्व पानीसित सम्बन्धित एक पर्व पनि हो । यस दिन पानीको मुहान सफा गर्ने गरिन्छ । मानव जीवनको लागि अति आवश्यक पानीको स्रोत सफा गर्ने दिनको रूपमा सिथि महत्वपूर्ण पर्व हो । सिथिपछि वर्षायाम सुरु भई पानी पर्ने हुँदा यसदिन पानीको स्रोत सफा गरे वर्षभरि पानीको स्रोत सफा हुन्छ भन्ने मान्यतालाई वैज्ञानिक तथ्य मान्न सकिन्छ । पानी मानव जीवनको लागि अति महत्वपूर्ण भएकोले सिथि एक दिनमात्र पानीको स्रोत सफा गरेर अरू दिन फोहोर गर्ने भए सिथिको महत्व हामीले बुझ्न नसकेको अर्थ लाग्छ । पानीको स्रोत सफा गर्न सिथि नै कुर्नुपर्ने बाध्यता हटाई सधैँ पानीको स्रोत सफा गर्ने बानी बसाल्नुपर्छ । इनार, पोखरी, जलद्रोणी, ढुङ्गेधाराजस्ता पानीको स्रोत सफा गर्दा निस्केको फोहोर व्यवस्थित तवरले व्यवस्थापन गर्नु अर्को आवश्यकता हो । नत्र पानीको स्रोत सफा गरी वातावरण फोहर भए त्यसको केही अर्थ रहँदैन ।
यसरी सिथि एक मौलिक नेवारी परम्परा हो, जुन पूर्णतया ऋतु तथा मौसमसित सम्बन्धित छ । ऋतु तथा मौसमअनुसार विभिन्न खाना खाने चलन सिथिमा पनि भएको कारण हाम्रा पूर्वजहरूको दूरदर्शिताबारे थाहा पाउन यस पर्वले धेरै मद्दत गर्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *