भर्खरै :

नवनिर्वाचित जनप्रतिनिधिहरूलाई केही सुझाव

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को ‘सय वर्षपछिको भक्तपुर’ बनाउने ध्येय पूरा गर्न भक्तपुर नगरपालिका लागिपरेको छ । भक्तपुर नगरपालिकाले ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेजलगायतका शैक्षिक संस्था स्थापना गरी देशका ७६ जिल्लाका विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको छ । स्वास्थ्य सेवा, सम्पदा संरक्षण र सरसफाइको क्षेत्रमा भनपाले गरेको काम एक विकसित देशभन्दा कम छैन । व्यवस्थित बस्ती, बाल बगैँचा र औषधि उपचारको बन्दोबस्तले यहाँका कामदार जनताको जीवनमा परिवर्तन भएको देखिन्छ ।
कामहरू गर्दै जाँदा समस्याहरू पनि आई पर्छन् । पछिल्लो समयमा भक्तपुरमा रोजगारी तथा र उच्च शिक्षाको निम्ति भक्तपुरमा प्रवेश गर्नेको सङ्ख्या वृद्धि हुँदै छ । मानिसको बसाइ बाक्लो बनेपछि फोहर तथा प्रदूषण बढेको पाइन्छ । स्थानीयले मानव बस्तीबिचमा फर्निचर सञ्चालन गर्ने, व्यापारीहरूले सामानको प्रचारको निम्ति कर्कश आवाज निकाल्ने रेष्टुराँ तथा बरगर हाउसमा ‘फ्राइडे नाइट’ को नाममा होहल्ला गर्ने, भोजको समयमा ठूलो आवाजले गीत सङ्गीत बजाउने, बाटोमा बालुवा गिट्टी डिपो राख्ने, रात्रिको समयमा घर थर्किने गरी टिप्पर गुडाउने, कुकुर भुकेको आवाजले भक्तपुरका केही क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, वृद्ध, बिरामीलाई असर गरेको पाइन्छ । हामीलाई मनोरञ्जन चाहिन्छ । तर, आफ्नो कामबाट अरूले दुःख भोग्न नपरोस् भन्नेतर्फ विचार पु¥याउनु पनि आवश्यक छ ।
व्यापारको नाममा ध्वनि प्रदूषण गर्नु आफ्नो फाइदाको निम्ति अरुलाई दुःख दिनु हो । यस्तो समस्या सानो देखिए पनि यसले समाजमा गम्भीर नकारात्मक असर परेको छ । काठमाडौँको सहरी क्षेत्रमा बाटोमा हिँड्ने ठाउँ नै हुँदैन । त्यसैले समयमै भक्तपुर नगरपालिका र वडा अध्यक्षहरूको अगुवाइमा समयमै यस्ता समस्या समाधानको लागि आवश्यक कदम चालेमा भक्तपुर नमुना नगर बन्न सक्दछ ।
केटाकेटी तथा देश – विदेशका प्रौढ मानिसको लागि व्यवस्थित मनोरञ्जन स्थल सञ्चालन गर्न सकेमा युवाहरूको लागि रोजगारीको अवसर खुल्नेछ । उत्तर कोरिया, चीन, जापान, अमेरिकामा पनि यस्तो स्थल निर्माण गरी समय र श्रम खेर नजाने गरी लाखौँ युवाहरूलाई रोजगारी प्रदान गरेको पाइन्छ । सभ्य र सुसंस्कृत तरिकाले काम गर्नु असल नागरिकको कर्तव्य हो । उदाहरणको लागि डिज्नील्यान्ड, डिज्नीसीजस्ता व्यवस्थित स्थललाई लिन सकिन्छ । यसको लागि निजी खाली जग्गालार्ई उपयोग गरौँ !
धर्मको नाउँमा ठग्ने प्रवृत्ति रोक्नु आवश्यक
नगरमा केही सार्वजनिक र व्यक्तिको खाली जमिन छ । खाली जमिनमा त्यस वरिपरि बस्ने मानिसले फोहोर फाल्ने गरेको पाइन्छ । वर्षात्को समयमा जमेको पानीको कारण लामखुट्टेको प्रकोप बढेर डेङ्गुजस्ता रोग फैलिने खतरा छ । भक्तपुर नगर सफा छ तर रोगको खानी पनि हो भन्ने पर्न सक्छ । खाली जग्गामा झारपात र फोहर थुप्रिनाले नगरवासीको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । त्यसैले भक्तपुर नगरपालिका र सम्बन्धित जग्गा धनीको समन्वयमा खाली ठाउँमा गाडी पार्किङको व्यवस्था गर्नु जरुरी छ । सडकमा गाडी तथा मोटरसाइकल पार्किङ गर्नाले पैदल हिँड्ने ठाउँ छैन । यसो भएमा सडकका पेटीहरूमा हिँड्नेलाई सजिलो हुनेछ र दुर्घटना पनि कम हुन्छ । खाली जग्गामा समय–समयमा सरसफाइ गरी फिनेल तथा चुन छर्ने काम गर्नुपर्दछ । यदि समयमै यस्तो कार्य नगरेमा मुद्दा लगाउन मिल्ने कानुन बनाउनुप¥यो भन्ने जनताको माग छ । कानुन बनाउने जिम्मेवारी तथा अगुवाइ वडाअध्यक्षले लिनुपर्दछ । यस्तो खाली जग्गा प्रयोग गरेबापत शुल्क लिने गरेमा आम्दानी पनि हुन्छ ।
विशेषगरी अहिले नेवार बस्तीहरूमा ज्योतिषीको नाममा ठूला ढ्वाङहरू राखी आवाज ठूलो बनाई कमाउने धन्दा गरिरहेका छन् । धर्मको नाममा ठग्नेलाई समयमै कारबाही गर्नुपर्दछ । जुन जोगीको मन्त्र वा ज्ञान नै छैन त्यसले बढी खरानी घस्ने भनेझैँ जो पढेलेखेकै छैन, ज्ञानी तथा इमानदार छैन तिनीहरू अरूलाई पाठ सिकाउँदै हिँड्छन् । धार्मिकरूपमा चन्दा उठाउने, दान माग्ने कार्य आवश्यक छ । धर्मको नाममा ठग्ने प्रवृत्तिलाई रोक्नु पर्दछ । त्यस्तो ठाउँमा इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने पढेलेखेका ब्राह्मण ल्याउनु जरूरी छ । नक्कलीलाई बन्देज लगाउनु पर्दछ । त्यस्तो व्यक्ति अपराधी पनि हुनसक्छन् ।
योग्यताअनुसारको काम, कामअनुसारको ज्याला
कोभिड– १९ को महामारीको बेला विभिन्न देशबाट फर्केका मानिसहरू घर–घरमै बसे । सरकारले क्वारेन्टिन बस्नुपर्छ भन्दा पनि बिनाजानकारी नै लुकीछिपी बसेकोहरूले गर्दा कोभिड–१९ को प्रकोप बढेको देखियो । त्यसमध्ये अस्थायीरूपमा भक्तपुर बसोबास गर्नेहरू पनि थिए । कोठा भाडामा बस्नेहरूले घरभेटीलाई जानकारी नै नदिएको हो वा यहाँनभएको जस्तो गरेको ? थाहा भएर पनि चुप लागेर बस्नु भनेको आफ्नै खुट्टामा आफूले बञ्चरो हान्नु हो । केही रोगी मान्छेले अरूलाई रोग सार्ने र त्यस्तो अवस्थामा आफ्नै ज्यान खतरामा पारी चुप लाग्नु हो । यस्तो अवस्थामा प्रहरी प्रशासन, नगरपालिका, वडा अध्यक्षलाई सूचना दिनुपथ्र्यो । यदि समयमा जानकारी नदिएमा भक्तपुर अपराधीहरू लुक्ने थलो बन्ने देखिन्छ । लुक्ने अपराधीहरूलाई खोज्ने काम पनि गर्नुपर्याे । यसरी बसेका यदि सङ्क्रमित भएका भए तिनको उपचार गर्नुपर्छ । तिनीहरू अपराधी खालका भए नगरपालिका, प्रहरी प्रशासन, वडाअध्यक्ष र स्थानीय लागेर आवश्यक कारबाहीतिर लाग्नुपर्दछ ।
प्रधानमन्त्री कोषको रकम बेरोजगारीहरूलाई रोजगारी दिने नाममा आफ्नो कार्यकर्ता पोस्ने काम भइरहेको छ । त्यस्तो गर्नु अनैतिक कार्य हो । त्यसकारण, त्यस्तो कोषको पैसा सही ठाउँमा उपयोग हुनुपर्दछ । हरेक बेरोजगारीहरूलाई आफ्नो क्षमता तथा योग्यताअनुसारको काम दिने काम सही ढङ्गमा भयो भएन रेकर्ड राख्नुपर्छ । काम नगर्दा पनि पैसा पाउने भएपछि हाम्रा युवाहरू अयोग्य र अल्छी हुन्छन् । चिप्लो घस्नेले मात्र पुरस्कार पाउने योग्य, इमानदार र कर्तव्यपूर्वक काम गर्नेको कदर नभएमा समाजमा गलत व्यक्तिको हालीमुहाली बढ्नेछ । बसी–बसी खान पाइने भएपछि मानिसले परिश्रम गर्न छोड्छन् ।
वडाध्यक्षहरूको अगुवाइ आवश्यक
स्वास्थ्य उपचार हरेक नागरिकको नैसर्गिक अधिकार हो । मानिस सन्चो नभएपछि उपचारको निम्ति अस्पताल जान्छ । अस्पताल पुगेपछि आफ्नो दुखाइ, पीडा कम हुनुपर्नेमा त्यहाँको हुल र लाइनले नै बिरामीलाई बढी कमजोर बनाइदिन्छ । यस्तो अवस्था आउनुमा शासक दलहरू नै जिम्मेवार छन् । आफ्नो देशको जनतालाई सहुलियतमा उपचार दिन नसक्नु नै शासक दलको कायरता हो । काठमाडौँमा हुल हुनुको कारण त्यहाँका अस्पतालहरूमा औषधि उपचारमा सहुलियतको व्यवस्थाले गर्दा नै हो । प्रदेश र जिल्लामा सहुलियत भएको भए त्यस्तो सास्ती व्यहोर्नुपर्ने थिएन । शासक दलका मन्त्री र प्रधानमन्त्रीले २–३ करोडको गाडी चढ्ने होइन । त्यो रकम अस्पताल खोल्न प्रयोग गर्नुपथ्र्यो । मोटर, डोजर किन्ने पैसाले सबै प्रदेश र जिल्लामा सहुलियतमा उपचारको बन्दोबन्त गर्ने अस्पताल खोल्नुपथ्र्याे । काम नगरी विदेशीको पैसा खाई मोज गर्नेहरूलाई आउँदो चुनावमा भोट दिनु भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *