भर्खरै :

पश्चिम : जहाँ सत्य बोल्नु नै अपराध बन्छ

जुलियन असान्ज, एलिना लिप र एन–लरे बोन्नेल पश्चिमी विश्वमा सत्य बोल्दा ठूलो मूल्य चुकाएका तीन पत्रकार हुन् । उनीहरूलाई आयआर्जनको स्रोत सुकाइयो, उनीहरूमाथि सेन्सरसिप लगाइयो, कैद गर्ने धम्की दिइयो वा कैद गरियो र असान्जको हकमा त भौतिक र मानसिक यातना नै दिइयो । यी तीन मुद्दाले पश्चिमी ‘लोकतन्त्र’ को यथार्थ छर्लङ्ग देखाउँछन् ।
जुलियन असान्जलाई हालै बेलायती अधिकारीहरूले संरा अमेरिकालाई सुपुर्दगी गर्ने फैसला गरेका छन् । उनको बहुप्रचारित मुद्दाले पश्चिमी देशमा सत्य बोल्न हिम्मत गर्ने पत्रकारहरूले केकति भोग्नुपर्छ भनेर भनी देखाउँछ ।
सन् २००६ मा जुलियन असान्जले विकिलिक्सको स्थापना गरे । यो एउटा गैरसरकारी र गैरनाफामूलक संस्था हो । यसले विसलब्लोअरहरूले पठाउने गुप्त दस्तावेजहरूलाई आफ्नो वेबसाइटमार्फत प्रकाशित गर्छ । त्यसयता यो वेबसाइटले मानव अधिकार उल्लङ्घन, भ्रष्टाचार काण्ड र युद्ध अपराधहरूसँग सम्बन्धित लाखौँ दस्तावेजहरू प्रकाशित गरेको छ ।
सन् २०१० मा विकिलिक्सले इराक युद्धका दस्तावेजहरू प्रकाशित गर्न के लागेको थियो स्वीडेनले जुलियन असान्जलाई काम गर्ने र बसोबास गर्ने अनुमति दिन अस्वीकार ग¥यो । पत्रकारहरूको सुरक्षामा स्वीडेनमा कडा कानुन हुनाले उनले स्वीडेन रोजेका थिए । तर इराक र अफगानिस्तानमा अमेरिकाले गरेको युद्ध अपराध बाहिर ल्याउनु वासिङटन र अमेरिकी सेना–उद्योग साँठगाँठको कोपमा पर्नु हो । त्यहीँबाट जुलियन असान्जको नर्कको यात्रा सुरू भयो ।
सन् २०११ मा विकिलिक्सलाई आर्थिक रूपमा टाट पल्टाउने खेल सुरू भयो । भिजा, मास्टरकार्ड, ब्याङ्क अफ अमेरिका, पेपल र वेस्टर्न युनियनले विकिलिक्सविरूद्ध आर्थिक नाकाबन्दी लगाए । सो संस्थाको आम्दानी ९० प्रतिशतले घटाइदिए । आर्थिक टाटपल्टाइबाट जोगिन विकिलिक्सले क्रिप्टोकरेन्सीहरूको सहारा लिन थाल्यो ।
सन् २०१२ पछि यो साइटमा सेन्सरसिप लगाउन कम्प्युटरहरूको फौज सक्रिय भयो । यसको उद्देश्य सो साइटले जारी गर्ने लाखौँ दस्तावेजहरूसम्म सर्वसाधरणको पहुँच बन्द गर्ने थियो । विकिलिक्सले नै एडवर्ड स्नोडेनलाई हङकङबाट बाहिर निस्किने र रूसमा राजनीतिक शरण लिने काममा सघाएको थियो ।
सन् २०१०–२०१२ ताका नै अन्य घटना पनि भइरहे । सन् २०१० मा स्वीडेनमा यौन हिंसा गरेको आरोपमा जुलियन असान्जलाई बेलायतमा प्रतिबन्ध लगाइयो । असान्जले यसलाई फर्जी आरोप भने । यसको एउटै उद्देश्य उनलाई स्वीडेन पठाउने र त्यहाँबाट सिधै अमेरिका सुपुर्दगी गर्ने थियो । बेलायतको सर्वोच्च अदालतले उनलाई स्वीडेन सुपुर्दगी गर्ने अर्जी अस्वीकार गरेपछि उनले २०१२ जून १९ मा लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिए । त्यहाँ उनी स्कटल्यान्ड वार्ड र सिआईएको निगरानीमा ७ वर्ष एकान्तबास बसे ।
सन् २०१७ मा सिआईएले जुलियन असान्जलाई इक्वेडरको दूतावासमै आरामले मार्ने सोचेको थियो । तर, यसले अन्तर्राष्ट्रिय काण्ड मच्चिने जोखिम थियो । त्यसैले सिआईएले त्यो सोच लागू गरेन र अझ सावधानीपूर्ण र पत्यारिलो योजना बनाउन थाल्यो ।
२०१९ अप्रिल ११ मा जुलियन असान्जले २ वर्षअघि पाएको इक्वेडरको राष्ट्रिय परिचयपत्र गुमाए । त्यससँगै उनले इक्वेडर दूतावासमा शरण लिने हक पनि गुमाए । त्यसपछि उनलाई बेलायती प्रहरी अधिकारीहरूले जबर्जस्ती दूतावासबाट निकाले । त्यहाँबाट उनलाई बेलमार्श जेल पठाइयो । जब कि उनलाई पक्राउ गरेको केही महिनापछि नै सबुतको अभावमा स्वीडेनले बन्द गरेको ‘यौन हिंसा’ को मुद्दा बन्द गरिएको थियो । यसबाटै सो मुद्दा बहाना मात्र थियो भन्ने पुष्टि हुन्छ ।
तीन वर्षसम्म जुलियन असान्ज र उनका वकिलहरूले उनलाई अमेरिका सुपुर्दगी नगरियोस् भनेर सङ्घर्ष गरे । तर काम लागेन । अमेरिकामा उनलाई १७५ वर्षसम्म कैद हुनसक्छ ¤ यस अवधिमा असान्जलाई बन्दीलाई जस्तै व्यवहार गरियो । यो कैद यातनाकारी थियो । उनलाई अरूबाट अलग्याइयो । जाडोमा कोठालाई न्यानो बनाइएन । उनको राम्रो हेरविचार भएन । यस्तो स्थितिमा उनको अवस्था झन्झन् खस्कियो । अनेक विज्ञ र डाक्टरहरू यसबाट रूष्ट भए र उनीहरूले बेल्मार्श जेलमा उनीमाथि गरिएको ज्यादती यातनाभन्दा कम नभएको बताए ।
संरा अमेरिका पठाए जुलियन असान्जलाई ग्वान्टानामो वा अन्य जेलमा पठाइने र अन्य कैदीलाई जस्तै यातना दिइने सम्भावना छ । उनको उदाहरण देखाएर अन्य पश्चिमा पत्रकारहरूलाई असहज सत्यहरू उजागर गर्नबाट निरूत्साहित गर्ने देखिन्छ ।
असान्जको मुद्दा धेरै समय अपवाद रहनेछैन । जर्मनीकी एलिना लिप र फ्रान्सकी एन–लरे बोन्ने स्वतन्त्र पत्रकार हुन् । उनीहरूले डोनबासमा भइरहेका घटनाहरूबारे मुखर भएर बोल्दै छन् । अहिले पश्चिमा सेन्सरसिप औजारहरू उनीहरूविरूद्ध खनिँदै छन् ।
एलिना लिपले सन् २०२२ मा डोनबसमा ६ महिना बिताइन् । त्यसबीच उनले मारिउपोल घटनालगायत युक्रेनी सेनाका अन्य युद्ध अपराधबारे सत्यतथ्य बाहिर ल्याइन् । ती समाचारहरूले पनि सेन्सरको सामना गर्दै छन् ।
‘टेलिग्राम’ मा उनको अन्तर्वार्ता २ खण्डमा प्रकाशित छ ।
सन् २०२१ मा पहिलो भ्रमणपछि उनी युक्रेनी सेनाले डोनबासका नागरिकहरूमाथि गरेका युद्ध अपराधहरू देखेर आहत बनिन् । २०२२ को आरम्भमा उनी फर्किन् र ६ महिनासम्म डोनबासमै बसिन् । उनी खुलेर युक्रेनी सेनाले गरेका युद्ध अपराधहरूबारे रिपोर्टिङ गर्छिन् । जस्तो मारिउपोलका नागरिकहरूमाथि युक्रेनी सेनाले गरेका ज्यादतीबारे उनले खुलेर बोलिन् ।
यस्तै असहज सत्य बर्लिनबाट पनि उजागर हुँदै छ । त्यसैले एलिना लिपको पेपल अकाउन्ट ब्लक गरियो । त्यसपछि उनको र उनको बुबाको बैङ्क खाता पनि बन्द गरियो । उनको खातामा १६ सय युरो थियो । जर्मन सरकारले बिनाकारण उनको धन जफत ग¥यो । असान्जको मामिलामा जस्तै असन्तुष्टहरूको मुख थुन्न आर्थिक घाँटी थुन्ने उपाय अपनाइयो । त्यसपछि सेन्सरसिप लगाइयो । एलिनाको युट्युब अकाउन्ट बन्द गरियो । उनले युट्युब च्यानलमार्फत् रिपोर्टहरू प्रसारण गर्दै आएकी थिइन् ।
जुलियन असान्जको मामिलामा जस्तै त्यसपछि एलिना लिपलाई धम्क्याउन कानुन अघि स¥यो । अपराधलाई समर्थन गरेको आरोपमा ती पत्रकारमाथि फौजदारी अभियोग लगाइयो । युक्रेनले डोनबासमा जातिसंहार गरिरहेको सत्य बोल्ने हिम्मत गरेकैले रूसले हस्तक्षेप गर्नुपरेको, विशेष सैन्य कारबाही गर्नुपरेको र आफूले चिन्ने दोनेत्स्कका सर्वसाधारणले मस्कोको हस्तक्षेपको स्वागत गरेको एलिनाले बोलिरहिन् । यसरी सत्य बताएकै र आफ्नो विचार राखेकै कसुरमा एलिना लिपलाई तीन वर्षसम्मको काराबास सजाय हुनसक्छ !
अझ वाहियात कुरा त के भने अभियोगपत्रको पुछारमा एलिना लिपलाई सुनुवाईमा नबोलाइने र उनलाई आफ्नो बचाउ पनि गर्न नदिने लेखियो । यसले छानबिन प्रक्रियामा भाँजो हाल्ने दलिल दिइयो ¤ निश्चय नै जुलियन असान्जकै दीनदशा भोग्न एलिना जर्मनी फर्किने छैनन् ।
एलिना लिपले भोगेजस्तो फ्रान्समा कसैले भोग्नुपर्दैन भनेर सोचिन्छ भने गलत हुन्छ । यस्तो सोच्नेहरूले एन–लरे बोन्नेलमाथि के भइरहेको छ, हेर्नुपर्छ । यी फ्रान्सेली स्वतन्त्र पत्रकार सन् २०१५ र २०२२ मा डोनबास आएकी थिइन् । उनले डोनबासमा युक्रेनी सेनाले गरेका युद्ध अपराधहरूबारे खुलेर बोलेकी पनि थिइन् ।
उनले एलिना लिप र मसँगै आफूलाई पाउनु नौलो भएन । ‘रग ले मोँदे’ मा प्रकाशित एक ‘लेख’ मा हामी तीनजनाको नाम ‘खतरनाक रूसपक्षधर प्रचारक’ भनिएको थियो । वास्तवमा यो लेख ‘आइएसडी’ को संयोजनमा भएका धेरै आक्रमणमध्ये एक हो । आफूलाई विभिन्न पश्चिमा मुलुकहरूमा हुने गलत सूचना सम्प्रेषणविरूद्ध लड्ने सङ्गठन दाबी गर्ने ‘आइएसडी’ ले व्यवहारमा सेन्सरसिपको पक्ष लिन्छ । ‘आइएसडी’ ले लगाएको ‘रूसपक्षधर प्रचारक’ को आरोप टपक्क टिपेर फ्रान्स, जर्मनी, संरा अमेरिका र अन्य देशका मिडियाले प्रचार गरे । (विश्वका अन्य मुलुकको मिडियामा हामीबारे के भनिँदै छ, त्यो थाहा पाउने उपाय मसँग छैन ।)
एन–लरे बोन्नेलमाथि विभिन्न फ्रान्सेली मिडियाहरूले प्रत्यक्ष र व्यक्तिगतरूपमै आक्रमण गरेका छन् । तिनले उनलाई बदनाम गर्दै छन्, चरित्र हत्या गर्दै छन् । जुलियन असान्ज वा एलिना लिपको मामिलामा जस्तै अधिकारीहरूले उनको मुख थुन्न आर्थिक घाँटी थिच्दै छन् । एलिना लिपको मामिलामा जस्तै एन–लरे बोन्नेलको बैङ्क खाता केही समयका लागि उनको बैंक ‘सोसियते जेनेराली’ ले बन्द ग¥यो । सोर्बोन विश्वविद्यालयसँगको उनको करार नवीकरण गरिएन ।
डोनबासकै व्यक्तिविरूद्ध पनि यही उपाय अवलम्बन गरिएको थियो । उनको बेट्रियन खाता र टिपी खाता रोक्का गरिएको थियो । कारण उही थियो– मुख थुन्ने प्रयास ।
यद्यपि एलिना लिप र एन–लरे बोन्नेले अझैसम्म जुलियन असान्ज परेजस्तो कहालीलाग्दो स्थितिको सामना गर्नुपरेको छैन । असान्जको उदाहरणबाट सबैले एउटा कुरा मनन गर्नुपर्छ, पश्चिमी मुलुकहरू नामले मात्र लोकतान्त्रिक वा प्रजातान्त्रिक हुन् । आज यी पत्रकारमाथि जे हुँदै छ त्यो छिट्टै असहज सत्य बोल्ने सबैमाथि हुनसक्छ । यसकारण असान्जलाई संरा अमेरिका सुपुर्दगी गर्नबाट रोक्नका निम्ति हामीले सङ्घर्ष गर्नुपर्छ । सत्य बोल्नुलाई ‘अपराध ग¥यो’ भन्न दिनुहुँदैन ! मार्टिन निमोलरले चोटिलो पारामा भनेका छन् :
“तिनले सुरूमा समाजवादीहरूलाई लिन आए
मैले केही भनिन, म समाजवादी थिइन
अनि तिनले ट्रेडयुनियनका मान्छेलाई लिन आए
मैले केही भनिन, म ट्रेड युनियनवादी थिइन
अनि तिनले यहुदीहरूलाई लिन आए
मैले केही भनिन, म यहुदी थिइन
त्यसपछि तिनले मलाई लिन आए
मेरो रक्षा गर्ने अब कोही बाँकी थिएन ।”
आज तिनले जुलियन असान्ज, एलिना लिप, एन–लरे बोन्नेल वा मलाई लिन आएका छन् । तर एक दिन तिनीहरू तपाईँलाई लिन आउनेछन् । त्यसैले अहिलै मैदानमा उत्रौँ ! जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्नुहुँदैन भनेर माग राखौँ ! सत्यलाई अपराध ठान्ने समाज हामीलाई चाहिँदैन भनेर हाँक हालौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *