नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
बिहीबारबाट राजधानीमा बिमस्टेकको परराष्ट्र मन्त्रीस्तरीय बैठक शुरु भयो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास(बिमस्टेक) मा नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार र श्रीलंका सदस्य छन् । बैठकमा व्यापार, लगानी, यातायात तथा सञ्चार, उर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण,जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तन जस्ता चौध विषयमा छलफल हुने बताइएको छ ।
आज दक्षिण एसिया र पूर्वी एसिया विश्व राजनीतिको केन्द्र बन्दैछ । संरा सङ्घले यो शताब्दीलाई एसियाली शताब्दी घोषणा गरेको छ ।
तसर्थ आज एकातिर एसियाली देशहरू चीन, भारतआदि देशहरू विश्व अर्थतन्त्रका उदयीमान शक्तिका रूपमा उदाइरहेका छन् भने अर्कोतिर एसियामा चौथौं विश्व युद्ध थोपर्ने अनेकन कुटिल राजनीति शुरु भएका छन् । एसियाली देशहरूलाई एकअर्कासँग भिडाएर संसारमा आफ्नो राजनीतिक, आर्थिक तथा सैनिक प्रभुत्व कायम राख्ने संरा अमेरिकी र पश्चिमा शक्तिको षड्यन्त्रको परिणामस्वरुप आज एसियामा युद्धको सम्भावना क्रमशः बलियो बन्दै गएको छ । यस्तो अवस्थामा पूर्वी तथा दक्षिण एसियाका स–साना देश र भूगोल समेत युद्धका कारण र शिकार बन्न सक्छन् । विश्वको यो बद्लिंदो परिस्थितिमा बिमस्टेकको भूमिकालाई अझ परिपक्व र व्यापक बनाउन जरुरी छ । एसिया अर्को युद्धभूमि बने बिमस्टेकको आर्थिक तथा प्राविधिक सहकार्य गर्ने लक्ष्यको सार्थकता हुनेछैन । तसर्थ बिमस्टेकले आज एसियालाई पश्चिमा योजनाअनुसारको युद्धभूमिबाट कसरी जोगाउने भन्ने विषयमा चिन्तन गर्न जरुरी छ ।
मध्यएसियामा आज साम्राज्यवादले आतङ्कवादी भनी परिभाषित गरेका सशस्त्र समूहहरूको उद्गम निसन्देह साम्राज्यवादी लडाई नै हो । साम्राज्यवाद नै कथित आतङ्कवादको जननी भएको तथ्य इराक, अफगानिस्तान, लिवियालगायतका देशको वर्तमानले प्रष्ट देखाएको छ । बिमस्टेक आतङ्कवादविरुद्ध लड्न सहकार्यको पक्षमा छ भने बिमस्टेकले एसियामा साम्राज्यवादी हमला र हस्तक्षेपको विरोधमा उभिन जरुरी छ ।
बिमस्टेक गोजीमा सजाउने नक्कली गुलाफ मात्र होइन । एसियामा बिमस्टेक देशहरूको सामरिक, आर्थिक, राजनीतिक महत्व विशिष्ट छ । तसर्थ बिमस्टेकको काठमाण्डौ बैठक मात्र औपचारिकतामा सीमित हुन हुन्न । ओछ्यान नबिगारी कोल्टे फेर्ने ढोङ्ग पनि बिमस्टेकले देखाउन हुन्न । काठमाण्डौ बैठक पछिल्लो समय एसियाली देशहरूमा भएका पश्चिमा हस्तक्षेपको प्रतिरोधमा बलियो सन्देश दिनसक्ने आशा गरौं ।
Leave a Reply