भर्खरै :

भ्रष्टाचारविरोधी अभियान अहिले पनि आवश्यक

भ्रष्टाचार आर्थिक मामिलासित मात्र होइन, यो व्यक्तिको चरित्र या आचरणसित पनि सम्बन्धित छ । खराब चरित्रको व्यक्ति भ्रष्ट हुन्छ । नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम भ्रष्टाचार हो । भ्रष्ट मनसायको काम भ्रष्टाचार हो । भ्रष्टाचार गर्ने आचरण भएको, नैतिक र भौतिक दुवै रूपमा आचरणको पतन भएको व्यक्ति भ्रष्टाचारी हो । कानुनतः समाजको मूल्य र मान्यताअनुसार भ्रष्टाचार, ढिलासुस्ती गर्न र घुस खान पाउँदैन । भ्रष्टाचार, ढिलासुस्ती गर्नु र घूस खानु सामाजिक अपराध हो, तिनीहरू सजातगी हुन्छन् । यस्ता सामाजिक आपराधिक क्रियाकलाप अधिकांश ठाउँमा भइरहेका छन् । गाउँपालिका, नगरपालिका र मन्त्रालयहरूमा भ्रष्टाचारको लेखाजोखा गरेर साध्य छैन । कति नेता, मन्त्री, सांसद, जनप्रतिनिधिहरू आफ्नो पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउँछ्न्, कति कार्यकर्ताहरू पैसा कमाउनकै निम्ति राजनीति गर्छन् । सत्तासीन र ठूला दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता, समर्थक, शुभेच्छुक, आबद्ध कर्मचारीहरू इमानदार भएका भए देशमा ७०÷८० प्रतिशत भ्रष्टाचार अन्त्य हुन्थ्यो । भ्रष्टाचार, घूस, अनियमितता, कमिसन आदि सत्तासीन र ठूला दलका नेता वरिपरि नै केन्द्रित हुन्थ्यो । यसले स्पष्ट गर्छ, सत्तासीन र ठूला दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता र समर्थक कर्मचारीहरू इमानदार छैनन् । उनीहरू तलब पनि लिन्छन्, अन्य अनियमित स्रोत पनि जुटाउँछन् ।
सबै राजनीतिक दलहरू इमानदारीपूर्वक किन राजनीति गर्दैनन् ? इमानदारीपूर्वक राजनीति गर्न सत्तासीन र ठूला दलहरू किन पहल गर्दैनन् ? सत्तासीन र ठूला दलका नेताहरू नै भ्रष्टाचार, अनियमितता र कमिसनमा मुछिएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष पद्मिनी प्रधानाङ्ग न्यायाधीशलाई कारबाही नहुने र न्यायालय बाहिरबाट नियुक्त गर्ने परिपाटीले भ्रष्टाचार मुद्दामा सफाइ पाइरहेको बताउँछिन् । वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल दर्ता भएका ९० प्रतिशत मुद्दा फेल भएपछि अख्तियारले समीक्षा गर्नुपर्ने तर्क राख्छन् । भ्रष्टाचार अन्त्य गर्न र कारबाहीको प्रक्रिया अघि बढाउन गठित अख्तियार दुरूपयोग अनुसन्धानमाथि नै शङ्काले हेरिन थालेको छ । त्यसको अर्थ अख्तियारले दाबी गर्ने बित्तिकै सबै दोषी हुन्छन् भन्ने होइन ।
सरकारले भ्रष्टाचारविरोधी अभियान छेड्नुपर्छ । हरेक राजनीतिक दलले भ्रष्टाचारको विरोध गर्नुपर्छ । भ्रष्टाचारीहरूमाथि कारबाही गर्नुपर्छ । कुनै पनि भ्रष्टाचारीहरूलाई सरकार र दलहरूले छुट दिनु हुँदैन । नेमकिपाले २०२६ सालमै भ्रष्टाचारविरोधी अभियान छेडेको थियो, भ्रष्टाचारीहरूमाथि कारबाही गरेको थियो । पार्टीले हरेक राजनीतिक कक्षा, गोष्ठी, अन्तरक्रिया, भेला र अन्य कार्यक्रमहरूमा भ्रष्टाचार नगर्न सचेत गराउँदै आएको छ । नेक्राकिसङ्घले हरेक वर्ष असार १९ लाई भ्रष्टाचारविरोधी दिवसको रूपमा मनाउँदै छ ।
पुँजीवादी व्यवस्थामा भ्रष्टाचार, अनियमितता र कमिसन छायासरि हुन्छ । भ्रष्टाचार, कमिसन र अनियमितता गरेरै पुँजीवादी पार्टी टिकेको हुन्छ, कार्यकर्ता पालेको हुन्छ । सरकार, सत्तासीन दल र ठूला दलहरू भ्रष्टाचारविरोधी अभियानमा लागेर भ्रष्टाचारीहरूमाथि कारबाही गरेर अघि नबढेसम्म भ्रष्टाचार घट्ने छैन । अतः पुँजीवादी व्यवस्था अन्त्य गरेर देशमा समाजवाद स्थापना गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published.