भर्खरै :

जोनसनलाई पुटिनको गतिलो जवाफ

तुर्कमेनिस्तानमा पत्रकारहरूसँग कुरा गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलायती प्रम बोरिस जोनसनका पछिल्ला अभिव्यक्तिहरूबारे सोधिएका प्रश्नहरूको जवाफ दिए । जी ७ को पछिल्लो सम्मेलनमा बेलायती प्रमले जिस्किँदै ‘पुटिनभन्दा गठिलो’ छौँ भनी देखाउन आफ्ना मित्रहरूले लुगा खोलेर फोटो खिचाउनुपर्ने बताएका थिए ।
“उहाँहरूले कम्मरसम्म लुगा खोल्ने हो कि कति खोल्ने हो, मलाई थाहा छैन । जति खोले पनि मलाई लाग्छ अरूचिकर दृश्य हुनेछ ।” कटाक्ष गर्दै रूसी राष्ट्रपतिले भने । “मान्छेको शरीर र आत्माको समान विकास हुनुपर्छ । तर, सबैथोक मिलेको हुन व्यक्तिले अत्यधिक मदिरापान त्याग्नुपर्छ र गलत आनीबानी छोड्नुपर्छ, व्यायाम गर्न थाल्नुपर्छ र खेलकुदमा भाग लिनुपर्छ ।”
त्यस्तै हालसालै जोनसनले “पुटिन महिला होइनन्, हुन्थे भने” युक्रेनमा “हमलाकारी पुरुषार्थ” देखाउन्नथे भने ।
पुटिनले भने : “म यहाँहरूलाई आधुनिक इतिहासको घटना सम्झाउन चाहन्छु । मार्गरेट थ्याचरले अर्जेन्टिनाको फकल्यान्ड टापुमा सैन्य कारबाही गर्ने निर्णय गरेकी थिइन् । सैन्य कारबाही गर्ने निर्णय महिलाले गरेकी थिइन् । फकल्यान्ड टापु कता छ, बेलायत कता छ ? यसको मूल कारण साम्राज्यवादी महत्वाकाङ्क्षा थियो । त्यसैले वर्तमान बेलायती प्रधानमन्त्रीबाट आएको यो अभिव्यक्ति आज जे हुँदै छ त्यसको सही मूल्याङ्कन होइन ।”
बुधबार भ्लादिमिर पुटिनले तुर्कमेनिस्तानको अश्गाबात भ्रमण गरे । युक्रेनमाथिको सैन्य कारबाहीयता यो उनको पहिलो विदेशयात्रा हो । उनी छैटौँ क्यास्पियन शिखर सम्मेलनमा सहभागी भए । बैठकमा उनले अजरबैजान, इरान, कजाखस्तान र तुर्कमेनिस्तानका नेताहरूलाई भेटे । त्यसअघि उनी ताजिकिस्तान भ्रमणमा थिए र त्यहाँ उनले राष्ट्रपति इमोमली रामोनलाई भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *