भर्खरै :

पूर्वी युक्रेनका बन्दीसँगको कुराकानी

‘युक्रेनी अन्तर्राष्ट्रिय दस्ता’ को लागि लड्ने दुई अमेरिकीहरूलाई दोनेत्स्क जनगणतन्त्रको सेनाले समातेको खबर आयो । पूर्वी युक्रेनमा पर्ने यो नयाँ देश हाल रूससँग मिलेर लड्दै छ । ३९ वर्षे अलेक्जेन्डर जोन रोबर्ड ड्रयुएक र २७ वर्षे एन्डी ताई गोक हुएन दुवै अलाबामाका बासिन्दा हुन् । खारकोभको बाहिरी भागमा लड्दै गर्दा उनीहरू समातिएका थिए । अहिलेसम्म अमेरिकी सञ्चार जगतसँग तिनको सम्पर्क भएको छैन ।
एक साँझ म गाडीमा पूर्वी लङ टापुस्थित घर फर्किँदै थिए । मोबाइलमा रूसी कलर आईडी भएको फोन बज्यो । यही नम्बरबाट पहिले बेलायती बन्दी एडेन एस्लीनले मसँग सम्पर्क गरेका थिए । म पहिले डोनबासबाट रिपोर्टिङ गर्थेँ । त्यति बेलादेखि नै दोनेत्स्क सरकारलाई मेरो जानकारी छ । एस्लीन बेलायती नागरिक थिए र युक्रेनमा सपरिवार बस्थे । उनी युक्रेनी जलसेनामा सक्रिय थिए । उनलाई दोनेत्स्क सरकारले भाडाको सिपाही भएर अपराध गरेको र सर्वसाधारणको हत्या गरेको कसुरमा मृत्युदण्ड सुनाएको थियो । कैदी साटासाट हुने भए उनी रिहा हुने थियो । उनले कैदी आदानप्रदान पर्खेर बस्दै छन् । तर पछिल्लो स्थिति हेर्दा यस्तो सम्भावना न्यून छ । दोनेत्स्क सरकारले रूसले जस्तो मृत्युदण्डमाथि प्रतिबन्ध लगाएको छैन । एस्लीनसँगको कुराकानीबाट उनलाई साट्ने विषयमा युक्रेनी र बेलायती अधिकारीहरूले प्राथमिकता दिएका छैनन् ।
यसपालि फोन उठाउँदा उताका व्यक्तिले आफ्नो नाम अलेक्जेन्डर जोन रोबर्ट ड्रयुएक बताए । उनीसँग दोनेत्स्क सरकारले उपलब्ध गराएका वकिल पनि थिए । उनी दोनेत्स्कको बन्दीगृहबाट फोन गर्दै थिए । अलेक्जेन्डरको घर अलाबामाको तुस्कालुजमा पर्छ । उनले अमेरिकी सेनाको जगेडा सेनामा १२ वर्ष काम गरेका छन् । दुईचोटि इराकमा खटिएका छन् । तैपनि उनी नियमित लडाकु होइनन् । सबैभन्दा ठूलो कुरा उनी पनि कैदी आदानप्रदान कहिले होला भनी पर्खिबस्दै छन् । तर, उनले आफू कसरी अहिलेको दशामा पुगे भनी वर्णन गरे र वर्तमान परिदृश्यबारे केही धारणा पनि राखे ।
यो वर्षको आरम्भमा उनले युक्रेनमा विकसित हुँदै गइरहेको द्वन्द्वबारे अमेरिकी र पश्चिमा सञ्चार माध्यममा आएका मनग्गै समाचारहरू हेरेका थिए । युक्रेनीहरूले घरबार छोडेर भागेको देखेर उनी मर्माहत भएका थिए । उनी अवकाशप्राप्त सैनिक हुन् । पेन्सनको रकमले जीवन धान्दै थिए । तैपनि उनले ‘सहयोग गर्न केही गर्नुपर्ने, लड्नैपर्छ भन्ने छैन, बरू जे सकिन्छ गर्नुपर्ने’ महसुस गरे । यो वर्ष अप्रिल १२ मा एटलान्टाबाट पोल्यान्डको वार्सा पुग्दा युक्रेनी सेना वा सरकारसँग उनले कुनै तारतम्य मिलाएका थिएनन् । उनले सजिलै युक्रेनमा स्वागत पाउने आस गरेका थिए ।
अप्रिल १५ मा बसमा चढेर पोल्यान्डको सीमाबाट युक्रेनको लेभोभ सहर गए । त्यहाँ ‘युक्रेनी अन्तर्राष्ट्रिय दस्ता’ ले उनीसँग कुराकानी ग¥यो र उनलाई लेभोभस्थित एक युनिटमा प्रशिक्षक बनाउने एउटा कागज ग¥यो । यसमा उनले जम्मा ८ दिन काम गरे । अलेक्जेन्डर सो युनिटसँग ‘असन्तुष्ट’ थिए । यसको कारण खुलाउन छुट नभएको उनले बताए किनभने उनले सही गरेको कागजमा ‘गोपनियताको बन्दोबस्त’ थियो । जूनको आरम्भतिर उनले एउटा रेकी युनिटमा स्थानान्तरण हुने कागज गरे । यो युनिट युक्रेन छिचोल्दै खारकोभ जाँदै थियो । यस युनिटलाई युक्रेनी गुप्तचर निकाय ‘एसबीयु’ ले निरीक्षण गरेको हुनुपर्छ । अलेक्जेन्डर र उनका साथी हुएन जून ७ मा खारकोभ पुगे । पर्सिपल्ट उनीहरूलाई लडाइँ गर्ने टोलीमा पठाइयो । यस्तो होला भन्ने अलेक्जेन्डरले चिताएका थिएनन् । यसरी उनीहरू आफ्नो युनिटबाट अलग्गिए । ती दुवैलाई दोनेत्स्क सेनाको गस्तीले समात्यो र बन्दी बनाउन दोनेत्स्क पु¥यायो । उनीहरूमाथि कानुनीरूपमा कुनै आरोप लगाइएको छैन । तर, उनीहरूलाई भाडाको सिपाही बनेको आरोप लगाइने अलेक्जेन्डरले बुझेका छन् । यसको लागि मृत्युदण्डसम्मको सजाय हुनसक्छ । यद्यपि उनीहरूमाथिको आरोप तिनका बेलायती साथीहरू जत्तिको कठोर छैन ।
ड्रयुएकको बन्दी जीवन उनले भने अनुसार शान्त छ । माहोल असहज भए पनि आफूसँग राम्रो व्यवहार गरिएको उनले बताए । उनलाई नियमित खाना र पानी दिइएको छ । आफ्नो अमेरिकी साथी पनि बन्दीगृहमा हुनाले उनी र अन्य व्यक्तिसँग सम्पर्क छैन । उनले आफ्नी आमा लुइ ड्रयुएकसँग पनि कुराकानी गर्न पाएका छैनन् । प्रत्येक दिन वकिलसँग मात्र कुरा हुन्छ । आमासँग उनको गहिरो सम्बन्ध छ र यस मामिलामा उनकी आमा निरन्तर खटेको देखिन्छ । उनकी आमालाई सन्देश पठाएको छु, जवाफ पाएको छैन ।
दोनेत्स्कका अधिकारीहरू अलेक्जेन्डरको मामिलामा कैदी साटासाट गर्न अत्यन्त इच्छुक छन् । उनीहरू आफ्ना मान्छेहरूलाई सुरक्षित घर फर्काउन चाहन्छन् । अलेक्जेन्डरले अमेरिकी विदेश मन्त्रालयसँग पनि सम्पर्क गरेका छन् । त्यहाँ उनले माइकल एबोटसँग सम्पर्क गरेको बताए । तर, मैले खोज्दा त्यो नामको कुनै व्यक्ति भेटिएन । अमेरिकी सरकारले अलेक्जेन्डर र उनकी आमालाई ‘आफूले सकेको गर्ने’ बताएका छन् रे । अमेरिकी सरकारले “प्राविधिक रूपमा अमेरिका यस लडाइँमा छैन र दोनेत्स्कसँग कैदी साटासाट गर्न कोही व्यक्ति छैन, त्यही भएर किभ सरकारलाई दबाब दिनसक्ने बाहेक अर्को उपाय छैन” भनेको अलेक्जेन्डरले बताए । युक्रेनी अधिकारीहरूले यस विषयमा कुनै पाइला चालेको छन् वा छैनन्, उनलाई स्पष्ट थाहा छैन । उनी समातिएयता किभ सरकारको कुनै पनि व्यक्तिसँग उनको सम्पर्क छैन ।
तब मैले उनलाई युक्रेन जाने निधो गर्ने बेला र अहिले जारी द्वन्द्वबारे उनको धारणामा केही फरक आएको छ कि भनेर सोधेँ । अलाबामामा छँदा आफूलाई ‘अत्यन्त झूटो सूचना दिइएको’ र आफूले पश्चिमी मिडियाले बुनेको भाष्यमा विश्वास गरेकोमा उनले बारम्बार जोड दिए । उनले भने, “म गएका सबै प्रमुख युक्रेनी सहरहरूमा जीवन सामान्य थियो । त्यहाँ प्रायः सबै महिला र बालबालिकाहरू आ–आफ्ना घरमा देख्दा म चकित भएँ । यहाँ दोनेत्स्कमा हिरासतमा आएपछि पहिलोचोटि मैले रूसी भाषा बोल्ने मान्छेसँग कुराकानी गरेँ । कथाको अर्को पाटो पनि रहेछ । अमेरिकामा हामीलाई यसबारे थाहा छैन ।” दोनेत्स्कस्थित आफ्नै कोठाबाट पनि आफूले दैनिकजसो बम विष्फोटको आवाज सुनेको उनले बताए । युक्रेनीहरूले सहरमा निरन्तर बमबारी गरिरहेको उनले कहिल्यै अनुमान गरेका थिएनन् रे । उनले थपे, “कुनै पनि पश्चिमा मिडियाले तपाईँलाई यो एउटा गृहयुद्ध हो भन्दैनन्, तर यो लामो समयदेखि चलेको गृहयुद्ध हो ।” उनले युक्रेन सरकारको बद्ख्वाइँ गरेनन्, न त रूसी विशेष कारबाहीलाई सह¥याए । तर बारम्बार भने, “यदि मलाई यहाँ के भइरहेको छ भन्ने साँचो कुरा थाहा हुन्थ्यो भने मैले कहिल्यै यहाँ आउने निर्णय गर्ने थिएन । यसको मलाई पछुतो छ ।”
जीवन–मरणको दोसाँधमा बसेको एक व्यक्तिप्रति सहानुभूति भयो । सरसर्ती हेर्दा उनले झुक्किएर युक्रेन जाने निर्णय लिएको बुझ्न सकिन्छ । दोनेत्स्कतिर उनी र उनीजस्ता बन्दीहरूको निम्ति आँसु झार्नेहरू धेरै छैनन् । सन् २०१४ देखि दोनेत्स्कको सेनामा योगदान गरिरहेका अमेरिकी रसेल ‘टेक्सस’ बेन्टलीले ड्रयुएक र उनीजस्ता मानिसहरूबारे मसँग यस्तो विचार राखे ः
“हो, यस्ता धेरै लठैतहरू आफूलाई ठूलै ठान्छन् र यसलाई माफ दिन पनि सकिन्छ । तर उनीहरूले यहाँ आएर मान्छे मार्न चाहेका हुन् । कुरा यो हो । उनीहरूको मुठ्ठी द¥हो हुन्थ्यो भने उनीहरू हिच्किचाउन्नथे । म दुईचोटि युक्रेनी सीमारेखामा गएको थिएँ । दुवैचोटि गोली हानिनँ । जतिचोटि लडेँ, रक्षात्मक लडाइँ लडेँ । हामीले स्थान लियौँ र युक्रोपहरूले हामीमाथि हमला गरे । सकेको भए तिनले हामीलाई सोत्तर पार्ने थिए । त्यसैले यो तिनीहरूको लागि शैक्षिक अनुभव लिने ठाउँजस्तो हो । हेरौँ अर्को जुनीमा तिनको होस ठेगानमा आउँछ कि ¤”
अमेरिकी विदेश मन्त्रालय र युक्रेनी सेनाको प्रेस विभागमा मैले बुझ्न खोजेको छु तर प्रतिक्रिया आएको छैन । दोनेत्स्क सरकार आफूलाई छोड्न तत्पर रहेको अलेक्जेन्डरले बताए । आफ्नो देशको सरकारले यसमा सहजीकरण गर्ने उनले आशा पनि लिए । साथै उनले थपे पनि, “समय घर्किँदै छ ।” म दोनेत्स्कमा छँदा पोर्चुगलका पत्रकार ब्रुनो कारभाल्होसँग काम गरेको थिएँ । कामको सिलसिलामा उनी त्यहाँ छन् । दोनेत्स्क सरकारसँग कैदी साटफेरमा विदेशी सरकारले गरेको ढिलाइको एउटा कारण उनले खुलाए । बेलायत वा अमेरिकाजस्ता देशले यस्तो साटफेर गरेको खण्डमा दोनेत्स्क जनगणतन्त्रलाई मान्यता दिएको अर्थ लाग्ने हुन्छ । यस्तो साटफेरले कुटनीतिक तहमा ठूलो तरंग ल्याउन सक्छ । दोनेत्स्क र लुगान्स्क जनगणतन्त्रहरूलाई रूसले मान्यता दिनाले नै पछिल्लो घटनाक्रमले तीव्रता पाएको थियो । पछिल्लो भीडन्तलाई धेरैले रूसविरूद्ध पश्चिमा मुलुकहरूको छद्म युद्ध भनेका छन् ।
कुरा टुङ्गाउनुअघि मैले हाम्रो संवादबारे सकेसम्म थोरै कुरा बाहिर ल्याउनेछु भनी अलेक्जेन्डरलाई आश्वस्त तुल्याएँ । अमेरिकी प्रचारबाजीको लहैलहैमा लागेर उनीजस्तै समुद्र पार गरेर युक्रेनको पक्षमा लड्न नाम लेखाउन चाहनेहरूलाई के भन्नुहुन्छ भनेर अन्त्यमा उनलाई सोधेँ ।
उनले भने, “मैले भनिसकेँ, मलाई स्थितिको पूरा जानकारी थिएन । हुन्थ्यो भने मैले यो निर्णय गर्ने थिइन । अरूलाई म के भनूँ ? अध्ययन गर्नुस्, पश्चिमी मिडियाभन्दा बाहिर पनि हेर्नुस् । सुसूचित हुनुहोस् ।”
(मेरा सर्बियाली मित्र मियोद्राग जुरकोभिच अहिले दोनेत्स्कमा हुनुहुन्छ । उहाँले ड्रयुएक र उनका अमेरिकी साथी एन्डी हुएनसँग लामो अन्तर्वार्ता लिनुभएको छ । इच्छुक पाठकले उहाँको युट्युब च्यानल ‘हेल्मकास्ट’ मा गएर ती अन्तर्वार्ताहरू हेर्नसक्नुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *