भर्खरै :

बनारसमा बिकेकी बहिनी !

रेनुका, ‘गोरखापत्र’ को सम्पादकमार्फत नेपाली समाजलाई तिमीले धुकेको थुकको छिटा एक नेपालीको नाताले मेरो अनुहारमा पनि पथ्र्यो । परचक्रीले गर्दा र परस्थितिवश परदेशमा बिक्नु परेर सडिरहेका अनेकौँ नेपाली दिदी–बहिनीहरूको लज्जा र लाञ्छना बोकेको तिम्रो त्यो चिट्ठीले हाम्रो समाजको बहिरो कान फुटाउन खोजेको छ भने ‘नेपाली हौँ’ भन्ने हामीहरूको धुकधुकी पनि छामेको छ !
हुन त पिर पोख्ने चेष्टामा तिमीले रीस पनि ओकलेकी रहिछ्यौ । ‘तपाईँलाई जन्म दिने आमा नेपाली थिइन् या विदेशी ?’ भन्ने सम्पादकलाई सोधिएको तिम्रो प्रश्नमा पनि यसैले रीस बोलेको छ, जो विवेकको शत्रु हो । नत्र आमा जे थिइन् – थिइन्, के फरक ?
तर, यो रीस पनि तिमीलाई क्षम्य छ । तिम्रो मार्मिक जीवन कथा पढेपछि त्यसको सहायक हुने तथाकथित आमा–बाबु तथा दाजु–भाइ र समाजलाई मुखभरिको गाली गर्न पाउने पनि हक तिम्रो छ । यसरी मुख नफोरेकी भए गो.प.का सम्पादकले ‘केही सोच्न पर्ने स्थिति’ आएको स्वीकार गर्ने थिए–थिएनन्, शङ्कै छ ! नेपाली छोरीहरू किन सयौँको सङ्ख्यामा विदेशीको हातमा पर्छन् ? भन्ने प्रश्नको (तिम्रो चिठीले मेरो मनमा उठाएको मुख्य प्रश्न यही हो ) उत्तर एउटै हुनसक्तैन । कुनै आफूखुसी विदेशी रोजेर जानेहरू छन्, कुनै जालीफटाहाहरूद्वारा बहकाइएर बेचिन्छन् (खासगरी पहाडतिरका वा छोटे जनजातिवर्गका) र कुनै ‘चुच्चे टोपी र शेरवानी लाएकालाई ज्वाइँ बनाउन’ मा गर्व ठान्ने आमा–बाबुका ‘शिकार’ हुन्छन्, तिमीझैँ । तर, जुनसुकै कारणबाट विदेशिएका र बेचिएका भए पनि, विदेशमा यिनको साधारणतः दुईमात्र स्थिति हुनजान्छ कि बुहारी कि वेश्या ! दुवै हेपिएका !
‘के तपाईँलाई थाहा छ, बनारसमा नेपालका छोरी बुहारी कति बेचिन्छन् ?’ भन्ने तिम्रो प्रश्नले यी दुवै थरीको स्थितिमा परेका नेपाली चेलीहरूलाई नै मुछेको छ । तर, सम्पूर्ण संसारकै सामु घृणित सामाजिक समस्या–स्वरूप खडा भएको ‘सबैभन्दा पुरानो पेशा’ का दयनीय पासोमा जेलिएका दिदी–बहिनीहरूको उद्धारको निम्ति नेपाली समाजले के गर्नसक्छ – सक्दैन, यो विवादास्पद छ । सम्पूर्ण विश्वमा सामाजिक–आर्थिक (socio-economic) र राजनीतिक हजारौँ प्रश्नहरू बोकेर सभ्यताकै घृणित घाउको रूपमा खडा भएको यो समस्यालाई मेरो यो चिट्ठीले गर्नसक्ने छलफलको परिधिभन्दा धेरै बलियो र मापाको पनि बनाएको छ ।
साथै, तिम्रो अवस्था चाहिँ ती हजारौँ नाम–गोत्रहीन बिक्रीका वस्तु हुनपुगेका ‘कोठी’ का असहायहरूको झैँ नभई कुनै औधि कट्टर, अत्याचारी, विदेशी परिवारमा पुगेकी एक बुहारीको रहेछ भन्ने म ठान्दछु ।
माथि एक ठाउँमा इसारा गरेझैँ तीन थरीका विचारधारा भएका मानिस म नेपाली समाजमा पाउँछु । एक थरी, जो भारतीय राजा रजौटाहरूलाई छोरी चेली दिने राणाकालीन सामन्ती – संस्कारवादी (हुन त, भाग्यवश, आज न त्यो राणाकालीन नेपाल नै रह्यो, न भारतमा नै राजा–रजौटा र जमीनदारहरू रहे । तैपनि, अघिका रजौटाहरूको स्थान आधुनिक मिल मालिक र मारवाडीले ओगटेका ‘उच्च’ ठाउँमा पुग्नलाई राणाकालीन ‘हिङ’ नभए पनि हिङको टालो देखाउन खोज्ने नवधनाढ्य नेपालीहरू ‘योग्य’ वर खोज्न कलकत्ता र बम्बई नै धाउन छोडेका छैनन् ! )
अर्को एक थरी नेपाली छ, जो आफूलाई ‘राष्ट्रवादी’ ‘नेपालवादी’ ठान्दछ र आफ्ना छोरी–चेली आफ्नै समाज वा जातवर्गमा दिनुपर्छ भन्ने चाहन्छ । हुन त धेरैजसोमा यो ‘राष्ट्रियता’ पनि खोक्रो र परिस्थितिजनित मात्र छ । बम्बई, कलकत्ता र दिल्लीमा छोरी पु¥याउन तिनलाई दुई कुराले मात्र रोकेको हुन्छ– एक आर्थिक कमीले, अर्को तथाकथित धर्मले । जहाँ आर्थिक पक्ष कमजोर हुन्छ, त्यहाँ धर्मले त बाधा दिने नै भयो ! विदेशीलाई छोरी दिन जाँदा समाजसँग टक्कर लिनुपर्छ र त्यो लिनको निम्ति चाहिने ‘चाँदीको लात’ आफूसँग नभएपछि ‘जातैको’ वर खोज्न करै लाग्छ र तिनीहरू । जबरजस्ती नै भनौँ, ‘राष्ट्रवादी’ भएका वा भई टोपलेका हुन्छन् । बलियालाई केको जात, केको धर्म ?
अर्को तेस्रो एक थरी नेपाली छ, जो आधुनिक शिक्षा, पश्चिमी सभ्यता र विदेशी छात्रवृत्तिको उपज हो । त्यसैले यो ‘नयाँ’ छ । जवानी र जोशमा यसले आमा बुबाको पुरानो विचारलाई लत्याएर आफ्नै मुटुको अह«ावटलाई मान्दछ, मान्न चाहन्छ । तर, आधुनिक प्रेमलाई आधुनिक वातावरण चाहिने हुनाले क्लवहीन, ‘डेटहीन’, साँगुरो काठमाडौँमा यो प्रेम हत्तपत्त फस्टाउन पाउँदैन । त्यसैले यो भरसक प्यारिस र हङ्गकङ्गकै नाइटक्लवको सपना देख्तछ, नभए पनि कलकत्ताको ‘क्याप्री’ वा काश्मीरको ‘हाउसबोट’ सम्म त कतै नजाओस् ! नेपाली ज्वाइँबाट त्यसको खर्च नठेलिने भएपछि यो प्रेम बहिर्मुखी र ‘अन्तर्राष्ट्रिय’ भई खोक्रो प्रगतिशील हुनखोज्दछ !
तर रेनुका (? ), यी केवल मेरो बुद्धिमानी भइखाँदो मगजका उद्दन्ते लहरहरूमात्र हुन् । तिमी न ‘तिलक’ बोकेर विदेशिएको हो न त प्रेम–पीडाले नै बहकिएकी, त्यसैले तिम्रो अवस्था झन् मायालाग्दो छ, किनभने तिमी आफैलाई बिकेकी ठान्दछौ, जस्तो हजारौँ ‘पहाडे’ चेलीहरूले ठान्नुपरेको छ । यो एक तीतो वास्तविकता हो ।
साथै, केवल सैतानी सासू वा लात भकुर्ने लोग्नेका विरूद्धको मात्र तिम्रो चित्कार पनि होइन । किनकि, मेची–महाकालीभित्र देवी सासू र देवता लोग्ने, मेची–महाकाली तर्नासाथ नर्कै–नर्क, राक्षस र बोक्साबोक्सीमात्र हुन्छन् भन्ने छैन । विदेशीका हातमा परेकी रेनुका (?) भन्दा नेपालीकै घरमा परेकी रेनुका बढ्ता सुखी (पारिवारिक दृष्टिले) हुने थिई भन्ने ग्यारेन्टी पनि छैन, छन् त !
तर, गो.प. मा प्रकाशित तिम्रो पत्रलाई ‘छली स्वास्नीमान्छेले पछुताएपछि नेपालीहरूको सद्भावना जगाउनको निम्ति फोस्रो राष्ट्रियतालाई बलिको बोको बनाएकी’ भन्ने दलमा चैँ म छैन । मेरो दृष्टिकोणमा तिमी एक सताइएकी बुहारीमात्र होइनौ, एक धोखा खाएकी, विदेशमा बेचिएकी नेपाली चेली हौ । “सपनामा पनि नदेखेको, नसुनेको भेष र भाषामा टाउकादेखि पैतालासम्म घुम्टो काढेर अर्धमुर्दा भएर बस्नु परेको”– तिमीलाई देखेर एक स्वतन्त्र नेपाली सामाजिक वातावरणमा हुर्केकी (जनजातीय ?) आत्मा घुम्टो (बुर्का ?) को पिँजडामा तड्फडाएको हृदय विदारक दृश्य मेरो आँखाअघि नाच्तछ । त्यस्तै ‘तपाईँँहरू आफ्नै मुलुकमा आफ्नै राजाका छत्रछायामा बस्न पाएर भाग्यशाली बन्नुभयो’ भन्ने शब्दमा तिम्रो मर्मव्यथा छर्लङ्गिन्छ भने परिबन्द र परिस्थिति मिलेदेखि तिमी उडेर नेपाल–आमाको विशाल काखमा आउँदी हौ भन्ने अडकल पनि काट्न मलाई कर लगाउँछ । झन् ‘आफ्नो जातिलाई लाञ्छित गर्ने शब्द कति दिन सुनौँ, त्यसै प्राण पनि जाँदो रहेनछ’ – जस्ता मार्मिक र हृदयविदारक शब्दहरूबाट त तिम्रा खरीदारहरूले ‘मोल मुताबिक माल’ नपाएका कसाईको पश्चात्तापमा सधैँ ‘साला नेपाली’ को गाली बकेका होलान् भन्ठान्दछु !
तिमीले यसरी नेपालीको छाती छामेकी छ्यौ, ‘राष्ट्रवादी’ बनेर रूपियाँ पुज्ने नेपालीलाई हाँक दिएकी छ्यौ । ‘रेनुका, तिमीलाई स्वदेशमा अझ ठाउँ छ, भाउ’ भनेर कुर्लिनसक्ने नेपालीको खोज गरेकी छ्यौ ! रानीमैयाँको मुक्तिको निम्ति कलकत्तामा चालीस वर्षअघि मारवाडीलाई खुकुरीले ठुन्क्याएर कलकत्ता हाइकोर्टमा ‘मेरी एक बहिनीको इज्जत रक्षा गर्नको निम्ति मैले नै त्यो हत्या जानी जानी गरेको हुँ’ भनेर डुक्रन सक्ने सिक्किमे नेपाली वीर खड्गबहादुर विष्टको रगत आजको नेपालीमा रहेछ– रहेनछ भन्ने छाम्न खोजेकी छ्यौ ! तर दुःख छ, आजको नेपालीको नसामा पानीमात्र पाउली !
यता मैले बहादुरी देखाउन खोज्दै तिमीलाई वरण गर्न निम्त्याएको झैँ देखेर केही पाठकहरू अवश्य हाँस्लान् र भन्लान्– ‘कस्तो बेबकूफ रहेछ ? सस्तो भावुकतामा हेर बगेको ?’ हुन पनि व्यवहारिक दृष्टिले हेरे स्पष्टै यो निम्तो अर्थहीन पनि छ । भावुकता नै हो भन्ने पनि म मान्छु । तर, यो त्यही भावुकता हो, जसले गर्दा सूर्य–चन्द्राङ्कित एउटा रातो तुलको रक्षार्थं हजारौँ नालापानीका नेपालीले तथा एउटा ‘युनियन ज्याक’ नामक टालोको रक्षार्थ अङ्ग्रेजहरूले आफ्नो प्राण खुसीसाथ तिलाञ्जलि दिन्छन् ! नत्र (केवल व्यावहारिक दृष्टिले हे¥यौ भने !) त्यस्ता तुल र टालो सूचीकारले रूपियाँमा पाँचवटा सिएर दिइहाल्थ्यो नि । तर, यस्तो कुरामा मानिस व्यावहारिकतामा बाँधिएको हुँदैन ! भावनाका यी र यस्ता कुरोमा व्यावहारिकता छैन भने मेरो कुरामा पनि छैन !
हुन त, रेनुका (?), तिम्रो हातमा यो ‘गोरखापत्र’ पर्ला वा यो पत्र तिमीले पढौली – यस कुरामा शङ्कै छ । पढिहाल्यौ भने तापनि मेरो यो भावुकताले तिम्रो पीडित र पश्चाताप जर्जरित हृदयमा केही असर पनि नगर्ला । यसको लक्ष्य त्यो होइन पनि । केवल तिम्रो पत्रमाथिको एक पुच्छ«े टिप्पणीमात्र हो । तिम्रा सरापिएका आमा–बाबु (ज्यूँदै छन् भने ! ) पनि तिमीजस्तै पछुताएका हुँदा हुन् । तर, तिम्रो उदाहरण अरूको निम्ति पथ–प्रदर्शक बन्नेछ र हाम्रा आँखा उघ्रिएछन् भने भोलिका कानपुरे कोठाहरूमा यस्ता पहाडिया बहिनीहरूको कन्दन सुन्नु नपर्ला, यत्ति कामना गर्नु छ, बस् !
बनारसमा बेचिएकी बहिनीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *