सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भोलोदिमिर जेलेन्स्की युक्रेनमै जन्मे । उनका पिता पनि युक्रेनमै जन्मेका थिए । तर, यहुदी मूलका थिए । अमेरिका युक्रेनमा आफ्नो प्रभुत्व जमाउन एकजना उपयुक्त पात्रको खोजीमा थियो । अमेरिकाले सबैभन्दा उपयुक्त पात्रको रूपमा जेलेन्स्कीलाई नै देख्यो । जेलेन्स्कीलाई नै रोज्नु कुनै आश्चर्यको विषय पनि थिएन । किनकि, विश्व राजनीतिलाई नियालेर हेर्ने हो भने अमेरिकाप्रति सबैभन्दा बफादार र घनिष्ट सम्बन्ध राख्न यहुदीहरू नै पूर्णरूपमा सफल देखिन्छन् ।
युक्रेनको राष्ट्रपति हुनुपूर्व जेलेन्स्की चलचित्र र टेलिभिजन दुनियाँका एक लोकप्रिय र सफल हास्य कलाकार (नायक) थिए । उनका चलचित्रहरूमा प्रत्यक्ष र परोक्षरूपमा अमेरिकाको हलिउडका प्राविधिकहरूको संलग्नता हुन्थ्यो । एक दिन यस्तो आयो कि उनी एउटा यस्तो टेलिभिजन शृङ्खलामा अनुबन्धित भए जसको नाम थियो ‘सर्भेन्ट अफ द पिपोल’ । उक्त टेलिशृङखलामा उनी एक साधारण शिक्षकबाट राष्ट्रको राष्ट्रपति प्रमुख बनेको देखाइन्छ र देशमा व्याप्त भ्रष्टाचार एवं कुशासनको अन्त्य गर्ने अभियानमा लागेको देखाइन्छ । यो टेलिशृङ्खलालाई सुनियोजित ढङ्गले अति लोकप्रिय बनाइन्छ, ठ्याक्कै भारतीय चलचित्र ‘नायक’ का हिरो अनिल कपुरजस्तै गरी । युक्रेनमा यस्तो वातावरण सृजना गराइन्छ कि जेलेन्स्की नै सच्चा देशभक्त हुन्, उनले मात्र युक्रेनलाई भ्रष्टाचार र कुशासनबाट मुक्त बनाउन सक्छन् । यसरी उनको व्यापक प्रचारप्रसार गराइन्छ । युक्रेनका प्रमुख मिडियाहरू र बुद्धिजीवीहरूमाथि अमेरिकाको डलरको वर्षा हुन थाल्छ । फेसबुक, ट्विटर, वाट्सएप, टिकटक सबैमा जेलेन्स्कीमात्र सबैभन्दा उपयुक्त देखाइन्छ मुलुकको राष्ट्रपतिका निम्ति । जेलेन्स्कीलाई युक्रेनको राष्ट्रपतीय चुनावमा उम्मेदवार बनाइन्छ ।
भ्रष्टाचार र कुशासनबाट आक्रान्त युक्रेनका सीधासाधा जनता मिडिया प्रोपागान्डा र पब्लिसिटी स्टन्टको सिकार बन्न पुग्छन् । युक्रेनको सच्चा मुक्तिदाता जेलेन्स्कीलाई ठान्दछन् । उनलाई अत्यधिक मतले राष्ट्रपतीय चुनावमा जिताउँछन् । सन् २०१९ मा यहुदी मूलका भोलोदिमिर जेलेन्स्की युक्रेनको छैटौँ राष्ट्रपतिमा नियुक्त हुन्छन् ।
युक्रेनलाई भ्रष्टाचार र कुशासनबाट मुक्त बनाउने कसम खाएर राष्ट्रपतिको गरिमामय र सर्वशक्तिशाली पदमा पुगेका जेलेन्स्की सुरु–सुरुमा असाध्यै राम्रो काम गर्न लागेको अभिनय गर्छन् । राष्ट्रपति बनेको केही समयपछि उनी युक्रेनका सबैभन्दा धनाढ्य मिडिया टाइकुनसँग धेरै हिमचिम बढाउँछन् । अन्य धनाढ्यहरूसँग पनि उनको सामीप्यता बढ्दै जान्छ । तर, युक्रेनमा कुनै चमत्कार हुँदैन । भ्रष्टाचार र कुशासनको जालो झन् बढ्दै जान्छ । सन् २०२१ अक्टोबरमा पान्डोरा पेपर्सको सूचीमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नाम सार्वजनिक हुन्छ । पान्डोरा पेपर्सलेले राष्ट्रपति जेलेन्स्कीको कालो धनको पर्दाफास गरिदिन्छ । युक्रेनका सीधासाधा जनतालाई थाहा हुँदैन कि उनीहरूका राष्ट्रपति भित्रभित्रै अमेरिकाको लागि काम गर्दै छन् भनेर । राजनीतिक र कूटनीतिक ज्ञानविहीन एउटा हास्य कलाकार राष्ट्रपति त भए तर सँगसँगै अमेरिकाको कठपुतली पनि बन्दै गए । अमेरिकाको दलाली गर्ने क्रममा उनले एउटा ठूलो भूल गर्न पुगे । अमेरिकाको इसारामा युक्रेनलाई उत्तरी एट्लान्टिक सन्धि सङ्गठन (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन्स– एनएटीओ) को सदस्य राष्ट्रमा सम्मिलित गराउने दिशातर्फ अग्रसर हुन थाले ।
नाटो अमेरिकी नेतृत्वको एउटा यस्तो सैन्य सङ्गठन हो जुन ४ अप्रिल, १९४९ मा स्थापना भएको थियो । यो सैन्य सङ्गठनको मूल उद्देश्य तत्कालीन सोभियत सङ्घ (हालको रुस) को शक्तिलाई रोक्नु नै हो । नाटोको पहिलो महासचिव लर्ड इस्मेले नाटोको मूल उद्देश्य भनेको ‘रुसीहरूलाई बाहिर, अमेरिकीहरूलाई भित्र र जर्मनीहरूलाई तल राख्ने’ नै हो भनेर टिप्पणी गरेका थिए । फेब्रुअरी ९, १९९० मा तत्कालीन सोभियत सङ्घ र अमेरिकाको बिचमा जर्मनीको एकीकरण भएबापत नाटोले युरोपको पूर्वी भागतिर विस्तार नगर्ने मौखिक सम्झौता भएको थियो । तर, यसको ठीक विपरीत नाटोले युरोपको पूर्वी भागतिर पनि आफ्नो विस्तार गर्ने क्रम झन्झन् बढाउँदै गयो । पहिलेको सोभियत रुसका राज्यहरू लात्भिया र एस्टोनियालाई पनि नाटोमा संलग्न गर्दै युक्रेनलाई पनि सामेल गर्न अग्रसर भयो । यसले रुसको राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भयो । यसैको फलस्वरूप रुसले फेब्रुअरी २४, २०२२ का दिनदेखि आजसम्म युक्रेनमाथि सैन्य कारबाही जारी नै राखेको छ ।
युक्रेनसँग रुसको २२ ९५.०४ कि.मि. लामो सिमाना छ, जसमा १९७४.०४ कि.मि. जमिनसँग जोडिएको र ३२१ कि. मि. समुद्री सिमाना छ । त्यसैले युक्रेन नाटोको सदस्य बन्न भनेको रुसमाथि ठाडोरूपमा अमेरिकी सैन्य खतरा मडराउनु हो भन्ने कुरा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राम्ररी बुझेका थिए । त्यसैले पुटिनले बारम्बार युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई नाटोको सदस्य नबन्न आग्रह गरिरहे । तर, अमेरिकी उक्साहटमा जेलेन्स्कीले पुटिनको प्रस्तावलाई वास्तै नगरी नाटोमा संलग्न हुने प्रक्रिया अगाडि बढाउँदा रुस–युक्रेनबीच २४ फेब्रुअरी २०२२ बाट युद्ध सुरु भयो, जुन अहिलेसम्म चलिरहेको छ ।
अहिले युद्धको कारणले हजारौँ मानिसले ज्यान गुमाइरहेका छन् । करिब १.५ करोड युक्रेनी नागरिकहरू आफ्नो देशबाट विस्थापित भएर शरणार्थी जीवन बिताउन बाध्य भइरहेका छन् । सहरहरू खरानी र भग्नावशेषमा परिणत भइरहेका छन् । खाना र पानीको अभावमा मानिसहरू मरिरहेका छन् । जताततै विनाश, रोदन, क्रन्दन, आगो, धुवाँको बादल र मृत्युको ताण्डवमात्रै देखिन्छ । रुसले कालासागरको बन्दरगाह रोकेको कारणले युक्रेनको २ करोड ५० लाख टन अन्न निर्यात हुन सकेको छैन । युक्रेनको करिब २० प्रतिशत भूभागमा अहिले रुसको नियन्त्रण हुन पुगेको छ ।
युक्रेनको दुःखद त्रासदीको प्रमुख कारण भनेको त्यहाँका जनताको गलत निर्णय नै देखियो । युक्रेनी जनताले गलत व्यक्तिलाई राष्ट्रपतिको रूपमा छनोट गर्नु उनीहरूको ठूलो भूल हुन पुग्यो । त्यसैले देशको प्रमुख छनोट गर्दा त्यस देशका जनताले आफ्नो स्वविवेक र ज्ञानलाई गम्भीरतापूर्वक प्रयोग गर्नुपर्दछ ।
युक्रेन त्रासदीबाट नेपालले पनि थुप्रै कुराहरू सिक्नु नितान्त जरुरी देखिन्छ । अहिले हाम्रो देशमा पनि विदेशी शक्तिहरूले आफ्ना नङ्ग्राहरू गाड्न सुरु गरिसकेका छन् । स्वदेशी खोल ओढेका विदेशी शक्तिहरूका दलालहरू नेपाली राजनीतिको आकाशमा देखा परिसकेका छन् यस्ता विदेशी दलालहरूले राष्ट्रभक्तिको आडम्बरी खोल ओढेर सीधासाधा जनतालाई पटमूर्ख बनाउन महारथ हासिल गरेका हुन्छन् । यस्ता विदेशी महाशक्तिहरू आफ्ना दलालहरूलाई सत्ताशक्तिमा पु¥याउन त्यस देशका मिडिया र बुद्धिजीवीहरूलाई नै आर्थिक प्रलोभन देखाई किनिदिन्छन् । यस्ता नव जेलेन्स्कीहरू हामीमाझ एउटा लोकप्रिय गायक, प्यापर, पत्रकार, बुद्धिजीवी, फिल्मी नायक आदि पात्रहरूको छद्मभेषमा हामीलाई लोभ्याउन प्रस्तुत हुन सक्छन् । पैसाको खोलो बगाएर झूटो प्रचारप्रसार गरी आफ्ना एजेन्टहरूलाई सच्चा राष्ट्रभक्तको रूपमा प्रस्तुत गराई सत्तामा पु¥याउने प्रयत्नमा हरहमेसा लागिरहेका हुन्छन् ।
हाम्रो देशमा पनि अहिले नव जेलेन्स्कीहरूको उत्पादन हुन थालिसकेको छ । समयमै हामी नेपाली जनताले बुद्धि पु¥याएनौँ भने हाम्रो प्यारो मातृभूमि पनि युक्रेन नहोला भन्न सकिँदैन । त्यसैले नेपालले अहिलेसम्म मान्दै आइरहेको असंलग्न परराष्ट्र नीतिलाई कायम राख्नुपर्दछ । दुई विशाल छिमेकी महाशक्ति राष्ट्रहरू भारत र चीनसँग सधैँ सुमधुर समदूरीको सम्बन्ध कायम गर्नुपर्दछ । एक चीन नीतिलाई कायम राख्नुपर्दछ । कुनै पनि छिमेकी राष्ट्रलाई चिढ्याउने वा उक्साउने कार्य गर्नुहुँदैन ।
स्रोत : नेपाल समाचार पत्र, १७ असार, २०७९
Leave a Reply