सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
आन्विका गिरीले लेख्नुभएको ‘आमाले सक्नुहुन्छ’ पुस्तक चेतना उकास्ने सिर्जना हो । समाजमा महिलाको स्थिति, लैङ्गिक विभेद, पारिवारिक जिम्मेवारीमा महिलाको महत्वपूर्ण भूमिकाबारेमा बताउने यस पुस्तकले असमानताको खाडल पुर्ने प्रयत्न गरेको छ । लेखिकाले सरल भाषा, रोचक र आकर्षक शैलीमार्फत गाउँघरका साधारण परिवारदेखि सहरका सम्भ्रान्त परिवारमा हुने चालचलन, व्यवहार, छोराछोरीबिचको विभेद र समाजमा रहेका कुसंस्कारलाई जस्ताको तस्तै उतार्नुभएको छ ।
कथामा माधवी उनको दाइ प्रकाश, भाइ रमेश र आमाबुबा गरी ५ जनाको परिवार छ । यसमा उनीहरूको जीवनशैली झल्काइएको छ । प्रकाश, माधवी र रमेश क्रमशः ५, ४ र २ कक्षामा अध्ययन गर्छन् र उनीहरूका आमाबुबा खेती किसानी गर्छन् । आमाबुबा डेढ घण्टाको बाटो हिँडेर तरकारी बेच्न बजार पुग्छन् । उनीहरू बजार पुग्दा ढिलो भइसकेको हुन्छ । उनीहरूको आयआर्जनको माध्यम तरकारी खेतीबाहेक अरू केही हुँदैन ।
एक दिन अनौठो घटना घट्छ । एकाबिहानै माधवीका आमाबुबा र दाइले तरकारी लगेर बजार जाने बेला अपरिचित व्यक्तिहरूले तरकारीजति नालीमा फ्याकिदिन्छन् र उनीहरूसँग भएको पैसा लुटेर लिन्छन् । उनीहरू निराश भएर घर फर्किन्छन् । कसरी तरकारी बजार पु¥याउने ? कसरी समयमा बजार पुग्ने ? जस्ता प्रश्नको उत्तर खोज्दै उनीहरू केही दिन तरकारी बेच्न जाँदैनन् । हाम्रो दैनिकी चलाउने आधार नै तरकारी हो, तरकारी नबेची कसरी बालबच्चाको पेट भर्न सक्छौँ भनेर साइकल किन्ने योजना बनाउँछन् । समयमै बजारमा तरकारी पु¥याउनका लागि माधवीका बुबाले साइकल किनेर ल्याउँछन् । घरमा साइकल ल्याउँदा सबैजना खुसी हुन्छन् तर बुबाले साइकल चलाउन सक्दैनन् । केही दिन घरमा त्यत्तिकै साइकल थन्किन्छ । उज्यालो नहुँदै झिसमिसेमा आमाले साइकल चलाउने अभ्यास गर्छिन् । अभ्यासपश्चात् आमाले सररर साइकल चलाउँछिन् । आमाले साइकल चलाएको देख्दा छोराछोरी आमाले सक्नुभयो भनेर खुसी हुन्छन् । अन्ततः आमाले साइकल चलाउने अठोट गर्दै हरेक दिन उज्यालो भएपछि साइकलमा तरकारी बोकेर बजार पुग्छिन् ।
एक दिन हुरीले माधवीको खरले छाएको घरको छाना उडाउँछ । पानीले माधवीका सबै किताब भिजाउँछ । किताब भिज्दा उनी एकदम दुःखी हुन्छिन् । छाना छाउन खर हुँदैन र जस्तापाता किन्न पैसा पनि हुँदैन । जस्तापाता लगाउने उद्देश्यले बुबाले पैसाको जोरजाम गर्छन्, तर पैसा पुगेको हुँदैन । अपुग पैसा आमाले बुबालाई दिएर घरको छाना लगाउने कुरा गर्छिन् । त्यो पैसा आमाले तरकारी बेचेर थोरै थोरै गरी समूहमा बचत गरेको हुनाले घरको छाना लगाउन सफल हुन्छन् ।
माधवीका आमाबुबा घरको काम मिलेर गर्छन् । भान्साको काम, छोरीको कपाल कोर्ने काम माधवीको बुबाले गर्छन् भने आमाले गाडा चलाउने, तरकारी बेच्नेदेखि लिएर घरको व्यवहार मिलाउने काम गर्छिन् । माधवीका साथीहरू उनका आमाबुबाको काम देखेर बुबालाई आमा जस्तो र आमालाई बुबा जस्तो भन्छन् । नभनून् पनि कसरी ? भान्साको काम सबै छोरीहरूले गर्नुपर्छ भन्ने संस्कार हाम्रो समाजमा अझै जीवित नै छ । कुनै पनि काम गर्न र सिक्नका लागि यो महिलाले र यो पुरुषले गर्ने हो भनेर पहिल्यै विभेद गर्नुहुँदैन भनेर यस कथामा जोड दिइएको छ । छोराछोरी दुवैलाई सानैबाट घर व्यवहार सिकाउनुपर्छ भनेर समानतामा आधारित समाजको तस्बिर देखाउन खोजिएको छ ।
माधवी र प्रकाश आमासँग बजार गएको दिन तरकारीको हिसाब मिल्थ्यो तर आमा एक्लै बजार गएको दिन तरकारीको हिसाब मिल्दैनथ्यो । एक दिन आमाले मलाई सन्चो छैन, तिमीहरू तरकारी बेच्न जाओ भन्छिन् । सन्चो नभए डाक्टरकोमा जानुहोस् भन्दा आमाको मुखबाट फुत्त निस्किन्छ, “डाक्टरले हिसाब सिकाउँछन् र ?” कान्छो छोराले सिकाउँदैनन् भन्छ । उसले भन्छ, “डाक्टरले त हिसाब जानेन भनेर सुईमात्र हान्छ ।” यो सुनेर सबैजना हाँस्छन् । हिसाब नजानेर आमालाई सन्चो नभएको ठानेर माधवीले आमालाई गुणा सिकाउँछिन् । आमालाई सिकाउँदा भाइ र बुबाले पनि जोड, घटाउ, गुणन र भाग सिक्छन् । यसबाट के प्रष्ट हुन्छ भने सिकाइलाई आवश्यकता अनुसार प्रयोग गर्दा सिकाइलाई जीवनपर्यन्त लम्ब्याउन सकिन्छ ।
माधवी र उसको दाइ सधैँ सँगै विद्यालय जान्थे तर एक दिन बहिनीलाई छोडेर दाइ एक्लै विद्यालय जान्छन् । माधवी भाइलाई लगेर दौडिँदै विद्यालय पुग्छिन् । अर्को दिन पनि दाइले त्यस्तै गर्छन् अनि माधवी दुःखी हुन्छन् । आमाले ल्याएको फूटबलको लागि पनि झगडा गर्छन् । त्यतिबेला आमाले तीनैजना भाइ बहिनीलाई बराबरी पालो लगाउँछन् । सुरुमा दिदी र भाइसँगै खेल्छन्, दाइ एक्लै हुन्छ भने पछि दाजुभाइ एकातिर हुन्छन् र माधवी एक्लै हुन्छिन् । विद्यालयमा दशैँ आउनै लाग्दा जिल्लास्तरीय फूटबल हुने सूचना कक्षा कक्षामा आउँछ । माधवी म पनि खेल्ने भनेर खुसी हुन्छिन् । तर, उनी केटी भएकोले खेल्न सक्दिनन् भनेर छनौट गर्दैनन् । छनोट भएका केटाहरू खेलिरहेको बेला बल माधवीको टाउकोमा लाग्छ । त्यतिबेला माधवीले बललाई खुट्टाले हान्दा गोल हुन्छ । सरहरू अचम्म मान्छन् अनि माधवीलाई छनोट गर्छन् । माधवी छनोट भइसकेपछि समुहले खेल जित्छ र माधवीले बेस्ट प्लेयर जित्छिन् । बेस्ट प्लेयर भनेर नाम बोलाउँदा सबैभन्दा धेरै खुसी हुने दाइ नै थिए । अवसर पाउँदा महिलाले खेलकुदमा अब्बल हुनुका साथै समाज र देशको लागि उदाहरणीय काम गर्नसक्छन् ।
रश्मी मिन्स हुँदा एउटा अँध्यारो कोठामा राखेका हुन्छन् । माधवीलाई त्यो कुरा नरमाइलो लाग्छ । उनको मनमा अनेक प्रश्न खेल्छन् । नभन्दै केही दिनपछि माधवी मिन्स हुन्छिन् र आमालाई भन्छिन् । “आमा मलाई नलुकाउनुहोस् ल !” त्यो कुरा सुनेपछि आमा हाँस्छिन् र अर्को कोठामा गई कपडा ल्याएर छोरीलाई कपडा राख्ने तरिका सिकाउँदै तिमी लुक्नुपर्दैन भनेर हौसला दिन्छिन् । आमाको कुराले माधवी खुसी हुन्छिन् । वास्तवमा समाजमा रहेको कुसंस्कारलाई माधवीकी आमाले हटाउने प्रयत्न गर्छिन् । हाम्रो समाजमा यस्ता कुसंस्कारहरू जरा गडेर रहेका छन् । हिमालका दुर्गम झुपडीदेखि सहरका ठूलाठूला महलमा बस्ने परिवारमा अझै पनि यी समस्या उस्तै छन् । यसको अन्त्य गर्न आमा भनेको माधवीको जस्तो हुनुपर्छ ।
गाउँकै विमला काकी र इन्दिरा ठूली आमाको घरमा रङ्गीन टीभी आउँछ । उनीहरू ठूली आमाको घरमा सधैँ टीभी हेर्न जान्छन् । माधवीका भाइबहिनीको पढाइ बिग्रिँदै जान्छ । आमाबुबाले पढाइ बिगारेर टीभी हेर्न नजाऊ भन्दा टीभी चाहियो भन्छन् । आमा पसल गर्न जम्मा गरेको पैसाले छोराछोरीको लागि टिभी किन्ने सुरमा हुन्छिन् । एक दिन सन्तोष दाइले पसल गर्दा उनीहरूलाई पढ्न सहज हुने कुरा गरेपछि तिनै भाइबहिनी टीभी चाहिँदैन बरु पसल गर्नुहोस् भन्छन् । अनि खुसी हुँदै आमाले पसल खोल्छिन् । माधवीका दाजु बहिनीले सघाउँछन् । पुस्तक पढ्नेलाई अरूको देखासिकी गर्नुभन्दा आफ्नो क्षमताले सक्ने काम गर्न अभिप्रेरित गराउँछन् ।
अन्तमा, यस पुस्तकले विद्यालय तहमा पढ्दै गरेका विद्यार्थीहरूलाई उत्साहित र सचेत बनाउँछ । उनीहरूलाई आफ्ना अभिभावकप्रतिको जिम्मेवारी, दातइ र दिदीबहिनीसँगको आत्मीयता बढाउन सिकाउँछ । घर, विद्यालय र समाजमा हुने लैङ्गिक असमानता हटाउन र सामाजिक कुसंस्कार अन्त्य गर्न यस पुस्तकले विशेष जोड दिन्छ । कथा पढेपछि मनै हरर भएर आयो र भन्न मन लाग्यो – आमाले सके समाजका हामी सबैले सक्छौँ । आ–आफ्नो परिवार फेर्न कम्मर कसेर त हेरौँ ।
Leave a Reply