भर्खरै :

मोरक्कोमा अफ्रिकी शरणार्थीहरूको आमहत्या / शान्तिका लागि अफ्रिकी एकताको अपिल

संरा अमेरिकाले आफ्नो अफ्रिकी कमान्ड (अफ्रिकम) को माध्यमबाट हतियार र तालिम दिएको मोरक्कोको सशस्त्र बलले भयावह कारबाही गरेको र स्पेनी सरकारको सेवा गरेका भिडियोहरू सार्वजनिक भएका छन् । २०२२ जून २४ का दिन ती सशस्त्र प्रहरीले अफ्रिकी शरणार्थीहरूलाई व्यवस्थित ढङ्गले कुटीकुटी मारे । शरणार्थीहरूको एउटै अपराध मोरक्कोबाट स्पेनले घेरेको मेलिला टापु हुँदै युरोप पस्न खोज्नु थियो । त्यसको लागि कम्तीमा पनि ३९ जना मानिसहरूलाई पिटीपिटी मारिएको ‘वकिङ बोर्डर्स’ नामक गैरसरकारी संस्थाले जनाएको छ । संरा अमेरिकाको आड पाएको नवउपनिवेशवादी सत्ताले यस्तो जातिवादी बर्बरता देखाउनु र अमेरिकी सरकारले स्पष्ट भत्र्सना पनि नगर्नुले फेरि पनि अमेरिकी अधिकारीहरूका आँखामा मानव जीवन र त्यसमा पनि अफ्रिकीहरूको जीवनको कुनै मूल्य नभएको पुष्टि हुन्छ ।
शरण खोजिरहेका अफ्रिकीहरूसँग अमानवीय व्यवहार गरेको र तिनको हत्यामा मिलेमतो गरेकोमा ‘शान्तिका लागि अफ्रिकी एकता’ (बीएपी, ब्ल्याक एलायन्स फर पिस) मोरक्को सरकारको सशस्त्र बल र स्पेनी सरकारको कडा निन्दा गर्छ । हामीले ध्यान दिनुपर्छ मोरक्को प्रहरीले अफ्रिकी शरणार्थीहरूलाई लछारपछार गरेर कुट्दै गर्दा अमेरिकी सैन्य कमान्ड ‘अफ्रिकम’ ले ‘अपरेसन अफ्रिकन लायन’ चलाइरहेको थियो । मोरक्कोमा भइरहेको यो सैन्य अभ्यासमा पश्चिमी देशहरू र अफ्रिकी नवउपनिवेशहरूका ७५ सत्न्दा बढी सैनिकहरू सहभागी छन् । लगत्तै नेटो देशहरू स्पेनमा बैठक बसे । (यसलाई अमेरिकी पिछलग्गूहरूको भारदारी सभा भने पनि हुन्छ ।) त्यस बैठकले पनि अफ्रिकी शरणार्थीहरूको आमहत्यालाई मान्यता दिएन ।
अफ्रिकामा आफ्नो उपस्थिति र नीति ‘क्षेत्रीय सुरक्षा, स्थिरता र समृद्धि अभिवृद्धि’ गर्नका निम्ति लक्षित छ भनेर दाबी गर्ने संरा अमेरिकी सरकारको बेरोकतोक पाखण्डको हामी निन्दा गर्छौँ । अफ्रिकम र संरा अमेरिकाले अफ्रिकामा कसैलाई सुरक्षा र स्थिरता दिएका छन् भने त्यो अन्तर्राष्ट्रिय वित्तीय पुँजीको समृद्धि र अमेरिकी स्वार्थको वर्चस्वको निम्ति दिएका छन् । हामीलाई थाहा छ, अमेरिकी सैन्यवादले अफ्रिकामा युरोपेली साम्राज्यवादको मुठी दह्रो पार्छ । मोरक्को घटनाजस्ता नवउपनिवेशवादी देशहरूका दमनकारी कारबाहीलाई ढाकछोप गर्नुको खास कारण यही हो । संरा अमेरिकी सैन्यवाद नै अफ्रिकी जनतामाथिको बढ्दो हिंसाको प्रमुख कारण हो ।
“सारा प्रमाणहरूले के देखाउँछन् भने अमेरिकी सैन्यवादले अफ्रिकाका प्रहरी र अन्य दमनकारी दस्ताहरूलाई तालिम दिएको हुनाले नै हत्याहिंसा र विनाश बढेको हो,” बीएपीको अफ्रिकी टोलीका सहसंयोजक नेत्फा फ्रिमेनले भने ।
बीएपी क्रूर जातिवादी हमलाका पीडित सम्पूर्ण अफ्रिकी शरणार्थीहरू र तिनका परिवारजनप्रति ऐक्यबद्धता व्यक्त गर्छ । हामी मोरक्को, स्पेन र संरा अमेरिकाका कारबाहीका सम्बन्धमा स्वतन्त्र छानबिन होस् र दोषीउपर कारबाही गरियोस् भनी माग गर्छौँ । फेरि पनि हामी संरा अमेरिकालाई अफ्रिका छोडेर जान भन्छौँ, नेटो र अफ्रिकम बन्द गरियोस् भनेर माग गर्छौँ ।
‘शान्तिका लागि अफ्रिकी एकता’ साम्राज्यवादविरोधी सम्पूर्ण महानुभावलाई ‘यूएस आउट अफ अफ्रिका नेटवर्क’ मा आबद्ध भएर हाम्रो यस उद्देश्यमा साथ दिन आह्वान गर्छ ।
संरा अमेरिका छोडी जा ! अफ्रिकम बन्द गर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *