भर्खरै :

गाउँ हेला चीजबीज प्यारा !

आजकल सहरिया भएका स्वदेशी धनीमानी हुन् वा विदेशतिर गएर भएका ‘विदेशी धनीमानी’ हुन् । तीमध्ये, अधिकांशको जन्मथलो गाउँ नै हो । हाम्रा उच्च पदाधिकारी, ठूला नेता, लेखक, कलाकार अधिकांशको जन्म पनि गाउँमै भएको हो । उनीहरूले बाल्यकाल गाउँमै बिताएका हुन् । आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा पनि कतिले त्यतैको विद्यालयबाट लिएका हुन् । त्यतैतिरको उकाली ओराली गरेका हुन् । त्यतैको वनजङ्गल चहारेर घाँसदाउरा गर्दै आँप, ऐँसेलु, काफल, वरपीपल, कालीअँगेरी, बेल खाएका हुन् । त्यतैको धारा पँधेरामा नुहाइधुवाइ गरेका हुन् । त्यतैको खरबारीमा घाँस काटेका हुन् । त्यतैको खोरियामा दाउरा काटेका हुन् । त्यतैको खेतबारीमा काम गरेर कपर्दी, भकुन्डो, गुच्चा खेल्दै रमाएका हुन् । त्यतैको खोलाकिनाराको बालुवामा रमाउँदै पानीमा पौडी खेलेका हुन् । टन्टलापुर घाममा पसिना बगाएका हुन् । झम्के झरीमा रुझेका हुन् । यो कुरा उनीहरूले कहिल्यै पनि बिर्सने छैनन् ।
सहरियाका लागि गाउँले जीवन ज्यादै कष्टकर हुन्छ । कोही सरकारी कर्मचारी जागिरको सिलसिलामा पहिलोपल्ट त्यहाँ पुग्यो भने, त्यहाँको उकाली ओराली र जनजीवन उसका लागि कहालीलाग्दो हुन्छ । अनि ऊ फेरि कहिल्यै पनि नआउने गरी सहरै फर्कन बेर लाउँदैन । कतिपय सहरिया स्वाँगेहरूले सत्यवादी र सहयोगी गाउँलेहरूलाई सिल्ली भनेर खिल्ली उडाउन पनि बेर लाउँदैनन् । तर, सहरमै जन्मेर सहरमै बसोबास गर्नेहरूलाई पनि विश्वासचाहिँ गाउँकै चीजबीजको लाग्छ । त्यसैले आजकल, गाउँमा उत्पादित अग्र्यानिक खाद्यान्न, फलफुल र तरकारीको माग सहरमा धेरै बढेको छ । घाँसरूपी जडीबुटी खान पाएका गाउँले गाईभैँसीको दूध, दही, घिउ मीठो, स्वादिलो र पोसिलो ¤ ‘गाउँको छोप’, ‘गाउँको गुन्द्रुक’, ‘गाउँको सिन्की’, ‘गाउँको अचार’ ‘गाउँको मह’ सबैलाई प्यारो ¤ पहिला हेला गरिने कोदो, मकै, फापर, गहतजस्ता अन्न आजकल सुगर, प्रेसर, मोटोपनको रोगी भएका सहरियाका लागि औषधि हुन थालेका छन् । मास, भटमास, बोडीजस्ता गेडागुडी र आँप, सुन्तला, अम्बा, कागतीजस्ता फलफुल पनि पाएसम्म गाउँमै फलेको स्वादिलो भनेर खुब चाह गर्ने गरिन्छ । शाकाहारीका लागि साग, इस्कुस, घिरौँला, फर्सीको मुन्टा, चुच्चेकरेलाजस्ता तरकारी पनि विषादी नहाली फलाइएको हुँदा पाएदेखि गाउँकै स्वादिलो र मीठो ¤ मांशाहारीका लागि पनि वनजङ्गल चरेका गाउँले खसीबोकाको मासु मीठो ¤ यसरी पाएसम्म जे चीज पनि गाउँकै मीठो, प्यारो र गुनिलो ¤ हुँदाहुँदा, सहरमा घरायसी कामदार राख्नसमेत इमानदार हुन्छन् भनेर सकेसम्म गाउँकै केटाकेटी खोजिन्छ । कतिपय सहरिया केटाको बिहे गर्न पनि परिश्रमी र चरित्रवान् भनेर गाउँकै केटी रोज्ने÷खोज्ने गरिएको छ । तर, विभिन्न कारणवस आजकल हाम्रा गाउँले, हाम्रै सहरियाहरूको माग आपूर्ति गर्न नसकेको मात्र होइन । ऊ आफैँ पनि आफ्नैमा फालाफाल हुने गरेका चीजबीज फलाएर होइन, किनेर उपभोग गर्न थालेको छ ।
खुसीको कुरा नै मान्नुपर्छ, पछिल्लो समयमा गाउँमा विकास हुन थालेको छ । स्थानीय जनप्रतिनिधिहरूका आफ्नै डोजर भएपछि कच्ची नै भए पनि बाटा खनिन थालेका छन् । विद्युत्को विस्तार हुँदै छ । खानेपानीका मुहान सुक्न थालेपछि उल्लेख्य लगानीका साथ खोला नदीबाट पानी ‘लिफ्टिङ’ गरी जनताका घरघरमा पु¥याउने योजना पनि यत्रतत्र सञ्चालन हुँदै छन् । चिटिक्क परेका र टिन टल्केका ‘भूकम्पे घरहरू’ जताततै देखिन्छन् । अस्पताल तथा विद्यालय भवनहरू पनि बन्दै छन् । वैदेशिक रोजगारले नपुगेपछि देखावटी रोजगारीका नाममा भए पनि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ले पनि धेरैलाई राहत दिएको हो । गाउँको स्वच्छ, सुन्दर, शान्त र कोलाहलमुक्त प्राकृतिक वातावरणबारे भन्नै पर्दैन । यस्तो भएर पनि त्यहाँको वातावरणमा खुसी र आनन्दित हुन कोही पनि सहरिया बसाइँ सर्ने गरेका छैनन् । सिँचाइको सुविधा, जनशक्ति, यान्त्रिकीकरण र बजार अभावका कारण त्यहाँको मुख्य पेसा कृषि उपेक्षित हुँदै गएको छ । सबैथोक जुटाएर धेरै दुःख गरेर लगाइएको खेतीलाई पनि जङ्गली जनावरबाट जोगाउन सजिलो छैन । त्यसैले, गाउँबाट सहरतिर बसाइँ जानेहरूको सङ्ख्या पहिलेदेखि नै बर्सेनि बढ्दै आएको छ ।
मुख्य कुरा, भौगोलिक कारणले गर्दा गाउँको बसोबास व्यवस्थित हुन सकेको छैन । त्यहाँको बस्ती पातलो छ । त्यस्तो बस्तीमा सडक, खानेपानी र बिजुलीको सुविधा विस्तार गर्न धेरै खर्चिलो हुन्छ । विद्यालयहरू टाढा छन् । जनताले सुरक्षाको प्रत्याभूति पनि गर्न पाउँदैनन् । माध्यमिक तहसम्मको शिक्षा लिएपछि उच्च शिक्षाका लागि गाउँमा कलेज छैन । कठिन र उपलब्धिविहीन पेसा कृषि कर्मबाहेक गाउँमा सुविधामूलक रोजगारीको अवसर छैन । त्यसैले सहरतिर गएर ‘ग्रामीण विकास’ विषयमा उच्च शिक्षा हासिल गरेको गाउँले पनि जागिरका लागि सहरमै भौँतारिनुपरेको अवस्था छ । माटोमा कामै नगरिकन कृषिमा स्नातक गरेको सहरिया गाउँलेले पनि गाउँमै गएर आफ्नो दक्षता र सीप देखाउने मौका पाउँदैन । यदि बस्ती छरिएको नभई बाक्लो भएको भए सायद यस्ता समस्याहरूमा कमी आउने थियो होला ।
अवस्था यस्तो हुँदा पनि सरकारले आजसम्म व्यवस्थित र सुविधाजनक बसाइसहितको बृहत् ‘स्मार्ट भिलेज प्लान’ ल्याउन सकेको छैन । २०७२ सालको भूकम्पपछि पनि गाउँको व्यवस्थित बसोबासका विषयमा कुनै योजना बन्न सकेन । त्यसको सट्टा बरु उपत्यका वरिपरि र अन्य सहरका छेउछाउ नै अझै अरू नयाँ सहर बसाल्ने ‘स्मार्ट सिटी’ को योजना बनाइएको छ । यस्तो भएपछि जागिर खान, मजदुरी गर्न र पढ्नमात्र होइन, गाउँको जग्गा बाँझै छोडेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको रोजाइसमेत उपत्यका र उपत्यकानजिकका जिल्लाहरू पर्नु स्वाभाविकै हो ।
अन्य देशमा भने सामान्य पहाडको पनि कति धेरै महत्र्वका साथ प्रचारप्रसार गरेर भाउ बढाइएको हुन्छ ¤ एउटा ढुङ्गालाई समेत रङरोगन गरेर विशेष बनाइएको हुन्छ । यहीँ नजिकै भारतको फैजाबाद जिल्लामा पर्ने अयोध्यामा अलिकति उठेको भागलाई ‘मणि पर्वत’ भनिँदो रहेछ । (यतातिर सर्पको मणि पाइन्छ भनेर हल्लासमेत गरिएको र अलिकति भएको खाली ठाउँमा पनि मान्छेलाई घुम्नै दिइँदो रहेनछ ।) मान्छेहरू त्यसैको ‘दर्शन’ गर्न जाँदा रहेछन् ¤ हाम्रो देशमा भने माल पाएर पनि चाल नपाएका कारण, प्राकृतिक सुन्दरताको महत्र्व नबुझी कतिपय अग्ला डाँडा (‘न्याचुरल टावर’) मा ठूलो लगानीका साथ ‘कन्क्रिट टावर’ ठड्याएर कुरूपता निम्त्याइएको छ । त्यस छेउछाउका सुन्दर गाउँहरू उपेक्षित बन्दै छन् ।
प्रथमतः दीर्घकालीनरूपमा व्यवस्थित बस्ती विकास गर्ने खालको थोरै बुद्धि, सोच र योजना ल्याउने हो भने हाम्रा हजारौँ गाउँहरूले काँचुली फेर्ने थिए । जनताले सुविधा बढ्ता पाउने थिए र विकास खर्च पनि भारी मात्रामा जोगिने थियो । त्यहाँका मठमन्दिर, वनजङ्गल र अनेकौँ पुरातात्विक महत्र्वका स्थलहरूले स्वदेशी तथा विदेशी पर्यटक पाउने थिए । अर्थतन्त्रको सुधार हुने थियो । बसाइँसराइमा कमी आई रोजगारीमा पनि वृद्धि हुने थियो । तर, हाम्रा हिमाली÷पहाडी उपेक्षित गाउँबस्तीलाई ‘स्मार्ट भिलिज’÷‘ब्युटिफुल भिलिज’ बनाउनेतर्फ राष्ट्रिय योजना आयोग, गाउँ थप्न बाँकी रहेको भौतिक विकास मन्त्रालय र ती तहका सरकारको ध्यान कहिले जाला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *