भर्खरै :

नेपाल र नेपालीलाई हित हुने कर्म गरौँ

यस वर्षको साउनको सोमबारे मेला साउन २ गतेबाट सुरु भयो । यो महिनामा महादेवको सृष्टि भएको मानिन्छ । यो मेला भर्न पशुपतिलगायत देशका विभिन्न शिवालय, ताल, तलाउ, त्रिवेणीमा गएर महिला दिदीबहिनीहरू व्रत बसी महादेवको पूजाआजा गर्न जान्छन् । मन, सोच र विचारलाई सिँगारपटार गर्नुपर्ने ठाउँमा महादेवलाई खुसी पार्ने नाममा विभिन्न रङ्गीचङ्गी पोशाकमा सिँगारपटार गरी निहार व्रत बस्ने गरिन्छ । यो मेलामा धेरैजसो महिला दिदीबहिनीहरू महादेवको दर्शन गर्न, पूजा गर्न, हरियो चुरा, पोते, सारीमा सजिएर आएका देखिन्छन् । यो बेला प्रकृति हरियो र सफा भई सुन्दर देखिने हुँदा त्यसको प्रभाव मानिसमा पर्नु स्वाभाविक हो ।
नेपाल आफै प्राकृतिकरूपले सुन्दर देश हो । प्राकृतिकरूपले सुन्दर भएका नेपाली दिदीबहिनीहरूलाई कृत्रिम सिँगारपटार गर्नु त्यति आवश्यक नहोला । उनीहरूले आफूलाई सुन्दर बनाउने नाममा अनुहार र ओठमा क्रिम पाउडर र लिपस्टिक दलेका होलान् । उनीहरूले कति लिपस्टिक खाए होलान् । विभिन्न रसायन मिसाएर बनाउने भएकोले त्यसले स्वास्थ्यलाई कति हानि नोक्सानी गर्छ, त्यसको कुनै लेखाजोखा छैन होला । स्वास्थ्यलाई हानि नगर्ने पाउडर, लिपस्टिक प्रयोग गर्ने दिदीबहिनीहरू कति होलान् । यसको प्रयोगले मानिसको स्वास्थ्यमा हानि गर्नुको साथै बजारको बिकाउ वस्तु बनाइदिएको जनताको गुनासो पाइन्छ ।
महादेवलाई खुसी बनाउने नाममा महिला दिदीबहिनीहरूले कृत्रिम सिँगारपटार गर्ने गरेको विकृति एकातिर छ भने अर्काेतिर सुनको तिलहरि पोतेको माला, हरियो चुरा, सारी, चोलो लगाएर सुन्दरता प्रदर्शन गर्ने अर्काे विकृति देखिएको समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हेर्न र सुन्न पाइन्छ । मानिसको सुन्दरता भनेको शरीर बाहिर होइन, प्रदर्शनमा होइन, मानिसको सुन्दरता भनेको तनभित्र, मनभित्र, हृदयभित्र, सोच अनि व्यवहारमा हुन्छ, हुनुपर्छ । तन सुन्दर, पहिरन सुन्दर तर यसको ठीक उल्टो मन, हृदय, बोली, व्यवहार, आचरण, खराब, कालो भइदियो भने त्यो सुन्दरताको केही अर्थ र महत्व हुँदैन । त्यसले परिवार, समाज र देशलाई केही फाइदा हुँदैन । हामीले महाभारत, रामायण, विभिन्न पुराण र कथाहरूमा ऋषिमुनिको तपस्यालाई परीहरूले भङ्ग गरिदिएको हेरेका र सुनेका छौँ ।
महादेवको पूजा, प्रार्थना, व्रत बसेर यदि श्रीमान्सँग राम्रो सम्बन्ध छैन, मायाप्रीति छैन, सुख, दुःखमा साथ र सहयोग छैन, समर्पण छैन भने त्यसको कुनै अर्थ हुनेछैन । केही नारीहरू महादेवको पूजा त गर्छन्, हरियो चुरा, पोते, सारी पनि लगाउँछन्, भजनकीर्तन पनि गर्छन् । तर, घरमा आफ्नो सासूससुरालाई सराप्छन्, झगडा गर्छन्, दुःख दिन्छन्, श्रीमान्लाई दुव्र्यवहार गर्छन् भने के गर्ने ?
जहाँसम्म प्रकृतिको हरियालीको प्रभाव पर्ने वा हरियालीसँग एकाकार गर्न हरियो चुरा, पोते, सारी लाउने कुरा छ त्यसले यदि प्रकृति हरियाली हुने भए, हरियाली बनाउन सघाउने भए सधैँ हरियो चुरा, पोते, सारी चोलो लगाई महादेवको जय जयकार गरे भइहाल्यो नि । यसले महादेव खुसी हुने भए आज देशभरिको जल, जमिन, जङ्गल हराभरा भई सक्थे होला । देशको आधीभन्दा बढी ठाउँ ओगटेको जङ्गल आज नाममात्रको बाँकी छ । आज त्यही हरियो चुरा, पोते, सारी प्रदर्शन गर्ने महादेवको पूजा गर्ने महिलाहरूबाटै महादेवको पवित्र क्रिडास्थल जल, जमिन र जङ्गलमा केही रुख, बिरुवा रोपे, भएकोलाई संरक्षण गरे, शिवालय, मन्दिर वरिपरि सफासुग्घर गरे, कुण्ड, पोखरी, नदी सफा गरे भने धर्म लाग्छ र पुण्य पाउँछ । यसले प्रकृति हरियाली अनि सांस्कृतिक सम्पदाको जगेर्ना हुन्छ । वातावरण संरक्षण र सफासुग्घर हुन्छ । महादेवको क्रिडास्थल मानिएको हिमाल, जल, जङ्गल, जमिन सबै नारी पुरुष मिलेर यसको अतिक्रमण र प्रदूषण हुनबाट बचाउनु आवश्यक छ । महादेवलाई पुजेर, हरियो चुरा, पोते, सारी, चोलो लगाएर धर्म गर्ने महिला नारीका श्रीमान्हरू राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर बन्दैनन् । बरु हामीले जल, जङ्गल, जमिन जोगाउनुपर्छ । अतिक्रमण गर्नबाट रोक्नुपर्छ र भएकोलाई संरक्षण गर्नुपर्छ ।
करोडपति, अरबपति व्यापारीहरूले पुँजीपतिहरूले आफ्नो सामान बिकाउन धेरैभन्दा धेरै नाफा खान, फाइदा लिन नारीहरूलाई प्रयोग गरेर, नयाँ नाम र डिजाइनको आवरणमा पहिरन प्रदर्शन गरेर, गराएर धेरै फाइदा लिन्छन् । त्यसरी नै भारतले भारतीय व्यापारीहरूले आफ्नो दूत, ऋषिमुनि भनाउँदा, जोतिष भनाउँदा विभिन्न चर्चित कलाकारमार्फत प्रकृतिसँग सुन्दरतासँग जोडेर पाप, धर्मसँग जोडेर, इच्छा कामनापूर्तिसँग जोडेर, भाग्यसँग जोडेर नेपालमा यो साउने सोमबारे मेलामा हरियो चुरा, पोते, सारी लगाएको र लगाउन आकर्षित गरेका छन् । यसबाट नेपालको अरर्बौँ रूपैयाँ भारतले व्यापारको नाममा लगिरेहको छ । यदि सरकार, शासक दल र त्यसका नेताहरूलाई देशको माया छ भने उनीहरूमा देशभक्ति भावना भएको भए काठमाडौँको पद्मकन्या कलेजलगायतका अन्य कलेजका छात्रा विद्यार्थीहरूलाई नेपाली सुती धागो कपडाको हरियो सारी वा अन्य रङ्गको नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको रगत पसिनाले बुनेको सारी, चोलो युनिफर्मको रूपमा लागू गरेको भए, लगाउन दिएको भए देशकै निम्ति फाइदा हुन्छ । यसले देशमा कपास खेती, धागो, कपडा कारखानाहरू खुल्नेछ । यसले थुप्रै दिदीबहिनी र दाजुभाइहरूले रोजगारी पाउनेछन् । यसले देशको आम्दानी बढ्नेछ र नेपाली रूपैयाँ विदेशिनबाट जोगिनेछ । कृषि, रोजगारी, उद्योग, कारखाना सबैको आम्दानी हुनेछ अनि हाम्रो नेपाली संस्कृति र सम्पदा पनि जोगिनेछ । यसरी सरकारले आफ्नै खुट्टामा उभिने, आत्मनिर्भर हुनेखाले उद्योगहरू, कारखानाहरू खोल्दै गएमा देशले श्रीलङ्काको जस्तो सङ्कट भोग्नुपर्ने छैन ।
केही वर्षअगाडि भएका शिवालय, अन्य देवगणहरू रहेको घाट, तीर्थस्थलहरू र बाग्मती सरसफाइ आन्दोलनको काम पवित्र थियो । आज त्यो कहाँ पुग्यो ? विदेशीले गर भनेपछि गर्ने, विदेशीले ठेलुञ्जेलसम्म अगाडि बढ्ने, विदेशीको सहयोग भएसम्म मात्र बाग्मती सफाइ आन्दोलन हुने हो ? शासक दल र नेताहरू पनि विदेशीले ठेलेपछि मात्र अगाडि बढ्ने हो ? अनि देशलाई श्रीलङ्का बनाउने हो ? बाग्मती सफाइमा सरकारले पातमात्र टिप्ने काम गरेको छ, सरकार जरासम्म पुगेको छैन । सरकारले देशको सन्तुलित विकास र जनसङ्ख्या वितरण वा बसाइँसराइको व्यवस्थापन योजना नै बनाएको छैन । त्यसलाई लागु गर्ने आँट गरेको छैन । काठमाडौँ उपत्यकाको प्राकृतिक क्षमताभन्दा बढी यहाँको जल, जमिन, जङ्गल र कृषि आदिको बहन क्षमताभन्दा बढी देशभरबाट जनसङ्ख्या ओइरिरहेका छन् । यहाँ मुखले जन्मभूमि प्यारो, गाउँ प्यारो, गाउँको विकास गर्नुपर्छ भन्ने देशभरका शोषक, सामन्त, जमिनदार, पुँजीपति, भ्रष्टाचारीहरू बस्न आएका छन् । जबसम्म गाउँमा रहने वातावरण, बाटोघाटो, कलेज, अस्पताल, कृषि उद्योगको विकास गरिँदैन तबसम्म काठमाडौँको फोहर हटाउँछु भने पनि बाग्मती सफा गर्छु भने पनि सम्भव हुनेछैन । चार–पाँच पटक प्रधानमन्त्री बने पनि, मन्त्री बने पनि केही अर्थ र मूल्य हुनेछैन । किनकि, सिस्नु रोपेर तुल्सी कहिल्यै उम्रँदैन ।
अतः हामीले मनलाई हरियो बनाउन, विदेशी होइन देशको उत्पादन प्रयोग गरी सबैलाई रोेजगारी हुने र हाम्रो धर्मको नाममा विदेशिने अर्बौँ रूपैयाँ नेपाली माटो, नेपाली जनताको हितमा प्रयोग गरौँ । यसो भएमात्र श्रावणे सोमबारे मेलाले सबैको कल्याण गर्नेछ । त्यसैले विदेशीको होइन नेपाली र नेपाली जनताको हित हुने धर्म र कर्म गरौँ ।

                        सन्दर्भ : साउनको सोमबारे मेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *