भर्खरै :

कम्युनिस्ट पार्टीले वर्गीय राजनीति गर्छ

सत्तासीन दलका नेताहरूले सिद्धान्त र विचारको ख्याल नगर्दा देश र जनताप्रति जिम्मेवार नहुँदा देशले दुर्गति भोगिरहेको हो, समाजवादउन्मुख देश संविधानमा मात्र सीमित भइरहेको हो । संविधानतः देश समाजवादउन्मुख छ । नेमकिपाले नेपाललाई व्यवहारमै समाजवादउन्मुख देश बनाउन सरकारको ध्यानाकर्षण गरिरहेको छ । तर, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा फलाक्ने न नेका समाजवादउन्मुख दिशामा लागेको छ न त कम्युन्स्टि भनिने सत्तासीन दल माओवादी केन्द्र र एकीकृत समाजवाद नै त्यसतर्फ लागेका छन् । सत्तासीन दलका नेताहरू सिद्धान्त र विचारमाथि आँखा चिम्लेर दलगत र व्यक्तिगत स्वार्थमा लागेकै कारण देशले विकास गर्न नसकेको हो, देश झन्झन् परनिर्भर बन्दै गएको हो ।
पञ्चायत अन्त्य भयो, प्रजातन्त्र हुँदै देशमा गणतन्त्र स्थापना भयो । यति लामो समयदेखि राजनीति गरेर अनुभव बटुले पनि ती सत्तासीन दलका नेताहरूले सिद्धान्त र विचारको राजनीति भुले, राजनीतिक संस्कार, आस्था र निष्ठा छोडे, मूल्य र मान्यता छोडेर सत्ताको राजनीतिमा हामफाले । देशमा सिद्धान्त र विचारको राजनीति होइन बलको राजनीति भयो, धाक धम्कीको राजनीति भयो, लोभलालच देखाउने, सामान र पैसा बाँड्ने राजनीतिको विकास भयो । अझ नेपालको राजनीतिमा विदेशी राजनीतिको घुसपैठ भयो । नेपालका सत्तासीन नेताहरू विदेशी शक्ति राष्ट्रको लहैलहैमा लागे, विदेशी शक्ति राष्ट्रको पछि दगुरे । यो सत्तासीन राजनीतिक दलका नेताहरूको वैचारिक विचलन हो । सिद्धान्त र विचारमा अडान नहुँदा देश र जनताप्रति जिम्मेवार नहुँदा संसारका कति मुलुकमा आर्थिक सङ्कट देखिए, कति शासकहरू सत्ताच्युत भए । श्रीलङ्कामा त्यही भयो । युक्रेनको राजनीतिक परिस्थिति पनि त्यति सहज छैन ।
बढी सीट जित्नको लागि विचार र सिद्धान्तको कुनै ख्याल गरिएन । ती दलका नेताहरू खाली निर्वाचनमा जित्ने ध्येयले गठबन्धन गर्न पुगे । तिनीहरूले सत्ताको लागि कम्युनिस्ट र काङ्ग्रेस भनेनन् । तर, दलले सिद्धान्तको राजनीति छोड्नु हुँदैनथ्यो । आफ्नै दलभित्र र एक दल र अर्काे दलहरूबिच पद, सत्ता र शक्तिको होडबाजी चलिरहेको छ । गठबन्धनको कारण सीटको भागबन्डाको राजनीतिले कहिल्यै छोडेन । अहिले हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि हाल कायम रहेका गठबन्धनका दलका नेताहरूबिच भागबन्डाको चर्चा भइरहेको छ । टाउकाको मोल तोक्ने नेकाकै अगाडि माओवादी केन्द्र झुकेको छ । कुनै दलसँग विचारमा मतभेद हुँदैमा, कुनै दलले गरेको काम चित्त नबुझ्दैमा वर्ग शत्रुसँग मिलेर साथीलाई पछार्ने कामले कम्युनिस्ट पार्टी बलियो हुँदैन, कम्युनिस्ट आन्दोलन अघि बढ्दैन ।
कम्युनिस्ट पार्टीले वर्गीय राजनीति गर्छ, वर्ग शत्रुको विरोधमा जनतालाई सचेत पार्छ । शत्रुको पृष्ठपोषण गरेर मित्र शक्तिलाई कमजोर पार्ने काम गर्दैन । त्यस्तो काम गर्नु मित्रघातमात्र होइन, आफ्नो सिद्धान्त र विचार आफैले उल्लङ्घन गरेको सङ्केत हो । माक्र्सवाद–लेनिनवादलाई दलको मार्ग निर्देशक ठान्ने दलका नेताहरू किन पुँजीपति वर्गको पक्ष लिएर कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्छन् ? सरकारमा गएर कुनै पार्टी ठूलो होला, धनी पार्टी बन्ला तर परिवर्तन हुँदैन । कम्युनिस्ट पार्टीका नेताहरू पटक–पटक प्रम भए पनि या देशको नेतृत्व गरे पनि मौलिक परिवर्तन केही भएन । अतः सिद्धान्त र विचारको राजनीति नगरेसम्म, त्यसमा अडान नराखेसम्म दल जति ठूलो भए पनि जति पटक सरकारमा गए पनि केही हुनेवाला छैन । यो देशको यथार्थ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *