भर्खरै :

क्वाती संस्कृति र जनैपूर्णिमा

क्वाती संस्कृति र जनैपूर्णिमा

अर्थ :
क्वाती नेपालभाषा (नेवारी) बाट परिभाषित शब्द हो । पर्वतेहरू ‘क्वाँती’ भन्दछन् । नेवारी जनजीब्रोले क्वाती भन्ने गर्छन् । ‘क्वा’ भनेको तातो र ‘ती’ भनको झोल अथवा यसको शाब्दिक अर्थ हो ‘तातो झोल’ ।
हिजोआज काठमाडौँ उपत्यका क्वातीमय बनेको छ । के हिन्दू, के मुस्लिम, के इशाई, के बौद्ध धर्मावलम्बी, के बाहुनक्षेत्री, के आदिवासी जनजाति, के दलित, काठमाडौँ उपत्यका होस् वा सहर बजार, अनेकतामा एकता भएको छ । सम्पूर्णले झुराउने एक अर्काका प्रथापरम्पराको अपनत्व सावित भएको छ, आत्मीय र लोकप्रिय रहेको छ ।

गेडागुडी अङ्कुरण तरिका :
क्वाती बनाउनको लागि घरायसीरूपमा बारीमा उब्जने ‘दलहन’ हुन्छ । राजमा, केराउ, मुसुरो, चना, सिमी, बोडी, भटमास, मस्याङलगायत गेडागुडीहरू प्रमुखरूपले क्वातीमा पर्दछन् ।
अङ्कुरण प्रक्रियालाई सफलीभूत पार्नको लागि सर्वप्रथम गेडागुडीलाई राम्रोसँग केलाएर सफा पानीमा धोइपखाली गरी गहिरो भाँडोमा शुद्ध खानेपानीमा हालेर भिजाउनुपर्छ । ९–१० घण्टाजति भिजाएपछि त्यसलाई एउटा सफा गिलो सुती कपडामा बाँधेर झुन्डयाउनुपर्छ । गेडागुडी राम्रोसँग टुसाओस् भन्ने हेतुले बेलाबखतमा खानेपानीले त्यसमा छर्किँदै गर्नुपर्छ । कुनै सफा बाटामा राखे पनि आफसेआफ आँकुरा पलाउन थाल्छ । तर, यस्तो अङ्कुरण बढीमा ४ दिनभन्दा बढी राख्न नहुने मान्यता छ । किनकि, लामो समयसम्मको अङ्कुरणमा पौष्टिक तत्व नाश हुनुको साथै ठुस्स गन्हाउन थाल्छ । साथै, अङ्कुरणमा ब्याक्टेरिया वा किटाणु उत्पन्न हुने आशङ्का हुन्छ । त्यसकारण अङ्कुरित गेडागुडीलाई हल्कातवरले पकाएर झोलसहित खानु स्वस्थकर मानिन्छ ।
आँकुरा पलाएका गेडागुडीमा मिनरल्स (खनिज तत्व) र भिटामिनको मात्रा बढी हुन्छ । विभिन्न तथ्यबमोजिम टुसा आएको गेडागुडीमा भिटामिन ‘सी’ १० गुनासम्म वृद्धि हुन्छ भने भिटामिन ‘बी’ को मात्रा दोब्बर हुन्छ । अङ्कुरण पद्धतिले गर्दा गेडागुडीमा हुने आइरन सरल योगिकमा रूपान्तरित हुन्छ । जसमा भएको फुक्टोज, ग्लुकोज र सुक्रोजमा रूपान्तरित हुन्छ । माल्टोजसमेत बढी मात्रामा बनेपछि पाचन शक्तिमा सघाउँछ ।
गेडागुडीमा टुसाउने प्रक्रियालाई अङ्कुरण भनिन्छ । जसमा सानो जरा निस्केर जीवित बोटको रूपमा परिवर्तित गर्छ । कम खर्चमा सरल उपायद्वारा बढी पौष्टिकता प्राप्त गर्न सकिन्छ ।
अमेरिकन हार्ट एसोसियसनका अनुसार गेडागुडीमा मासुमा भन्दा बढी शरीरलाई नभई नहुने पोषकतत्व पाइन्छ । उम्रेको गेडागुडीमा बोसोविनाको सन्तुलित मिनरल र फाइवर (रेसा) उच्च मात्रामा पाइन्छ । गेडागुडी खानाले कोलेस्ट्रोलमा सुधार गर्न सकिन्छ र यसको वृद्धिलाई रोक्छ । मुटु रोगीको अक्सर हुने ‘हर्ट आटाय्क र स्ट्रोक’ बाट बचाउँछ । गेडागुडीबाट पाइने विशेष तत्व मासुमा दुर्लभ हुन्छ । मासु खानुभन्दा शाकाहारी भोजन, गेडागुडीमा दीर्घायु र शरीर स्वस्थकर हुन्छ । बजारमा अखाद्य पदार्थ तथा रोगी पशुपन्छीहरू मासुको लागि वध गरिन्छ । तर, दुःखको कुरा अनुगमन, सजाय÷पुरस्कारको व्यवस्था छैन । त्यसैले, कालाबजारिया र बिचौलियाहरूको मनोबल बढेको हो ।
वरिष्ठ बालरोग तथा कान्ति बाल अस्पतालका पूर्वनिर्देशक प्रा. डा. चन्दे्रश्वर महासेठ तथा प्रा. डा. मणिन्द्ररञ्जन बरालका अनुसार यसले सबै उमेर समूहका लागि कायदाजनक भए पनि बालबालिकाको लागि कुपोषणबाट बचाउने अमृततुल्य हुन्छ ।
विज्ञहरूको मतानुसार गेडागुडीमा पाइने भिटामिन ‘बी ६’ ले न्यूरो ट्रान्समिटरको निर्माण एवम् हार्माेन उत्पादनमा सकारात्मक भूमिका खेल्छ । यो पौष्टिक परिकारले बुढ्यौली उमेरलाई केही हदसम्म रोक्छ । यसमा निहित ‘फाइटो केमिकल्स’ ले धेरै रोगबाट हामीलाई बचाउँछ । मधुमेहका बिरामीहरूको लागि पनि यो परिकार अपरिहार्य छ । किनकि, गेडागुडीमा ‘ग्लाइसेमिक इन्डेक्स’ न्यूनमात्रामा पाइन्छ ।
भक्तपुर अस्पतालका कल्सलट्यान्ट डा. देवेन्द्र भट्टराईका अनुसार प्रोटिन, हर्माेन र न्युरो ट्रान्समिटर बनाउनको लागि ‘एमिनो एसिड’ आवश्यक पर्छ, जुन २०/२२ किसिमका हुन्छन् । तीमध्ये ९ वटा तत्वहरू शरीरलाई जरुरी हुन्छ । बोटबिरुवामार्फत पाइने प्रोटिन अपूर्ण हुन्छ । किनकि, ९ वटै एमिनो एसिड पाइँदैन । मासुबाट प्राप्त हुने प्रोटिन पूर्ण प्रोटिनभित्रै पर्छ । तर, भट्मास, सिमी, राजमा आदिमा ९ वटै एमिनो एसिड पाइन्छ । डा. भट्टराईका अनुसार प्रोटिन प्राप्त गर्ने कम खर्चिलो र गुणकारी व्यञ्जन क्वाती नै हो ।
गेडागुडीमा बोसो हुँदैन । बरु, प्रशस्तमात्रामा म्याग्नेसियम, फोलेट, आइरन, पोटासियम आदि पाइन्छ । यसमा हानि नगर्ने बोसो र घुलनशील । अघुलनशील रेसा पाइन्छ । गेडागुडी, कोलेस्ट्रोलयुक्त र अत्यधिक बोसो भएको मासुको विकल्प मान्न सकिन्छ ।
बाल स्वास्थ्य तथा खोप शाखा, परिवार कल्याण महाशाखाअन्तर्गतका शाखा प्रमुख डा. झलक गौतमको भनाइमा साधारण गेडागुडीभन्दा टुसा उम्रेको क्वातीमा ३० प्रतिशतभन्दा बढी प्रोटिन, भिटामिन ‘सी’ र भिटामिन ‘के’ पाइन्छ । ‘क्वाती’ खनिज पदार्थको उपयुक्त स्रोत हो । क्वातीमा रेसा (फाइबर), भिटामिन फोलेट, थाइमिन, कार्वाेहाइड्रेड, चिल्लो, भिटामिन बी–६, प्यान्थोमिक एसिड आदि पाइन्छ । एन्टिइन्फलामेट्री (सङ्क्रमण) रोक्ने मूलतः आन्द्राको काम पनि गरेको पाइन्छ । क्वातीमा सेलिनियम प्रोटिन, कपर, आइरन, जिङ्क, म्यागानिज, म्याग्नेसियम, फोस्फोरस, पोटासियमजस्ता हितकारी र पोषक तत्वहरू पाइन्छ ।
क्वातीजस्तो लाभदायक खाद्य पदार्थको वैज्ञानिक सोच हाम्रै पिता–पुर्खाले गरेका हुन्, जुन अहिले विभिन्न जातजातिमा देशव्यापी भएको छ । प्रायः सबैको भात भान्सामा पाक्ने अभिन्न सांस्कृतिक अङ्ग बनेको छ ।
अन्त्यमा, क्वाती खाने पर्व अथवा जनैपूर्णिमा सबैले हर्षाेल्लासका साथ मनाउँछन् । ब्राह्मण क्षेत्रीले नयाँ जनै फेर्छन् भने अन्य जातजातिले रक्षाबन्धन बाँध्ने चलन चल्दै आएको पाइन्छ । छिमेकबाट आउने काँचो धागोले रक्षाबन्धन र जनैको भोक मारेको छ । यसरी, समृद्धि आउँछ सरकार ? आयात व्यवस्थापनको भड्कालो कहिले पुरिएला ? साउन लाग्न पाएको छैन, हरियो चुरा–पोते र मेहन्दीमा रनभुल्ल छन् हाम्रा आधा आकाश । अरूको रीतिरिवाजलाई सम्मान गर्ने भन्दैमा धार्मिक आस्थाको नाममा विदेशी संस्कृतिले अतिक्रमण गरेको कहिले बुझ्ने होलान् नेपालीले । कहिले बुद्धि फिर्ने होला हाम्रो !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *