भर्खरै :

स्वदेशमै रोजगारीको व्यवस्था कहिले ?

स्वदेशमै रोजगारीको व्यवस्था कहिले ?

राज्यले योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको व्यवस्था गर्नुपर्ने हो । रोजगारीको व्यवस्था भएको भए लाखौँ नेपाली युवाहरू विदेशिनुपर्ने थिएन । राज्यले स्वदेशमै रोजगारीको व्यवस्था गर्न नसकेको कारण युवाहरू विदेशिएका हुन्, विदेशिरहेका छन् । कामको खोजीमा विदेश पुगेका कति युवाहरू काम नपाएर अलमलिरहेका छन् । कति युवतीहरू शारीरिक र मानसिक यातनाका कारण पीडा पोख्दै नेपाल फर्कन चाहिरहेका छन् । मालिकको कुरा मान्नैपर्ने, भनेको काम गर्नैपर्ने बाध्यता एकातिर छ भने अर्काेतिर युवा युवतीहरू कष्टकर जीवन बिताउन बाध्य छन् । सरकारकै बेवास्ता या लापरबाहीले कति नेपालीहरू चोर बाटो प्रयोग गरेर विभिन्न मुलुकमा छिरेका छन्, कति विनाभिसा काम गरिरहेका छन् । नेपाली युवाहरूलाई विदेश पठाउने सरकारको गलत निर्णय र नियतले देश पराधीन बन्दै छ । तर, पनि स्वदेशमै रोजगारीको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान पुगेको छैन ।
घरखेत बेचेर, ऋण लिएर विदेश पुगेका नेपाली युवाहरूको हालत कस्तो छ भन्ने कुरा सरकारले बुझ्ने प्रयास गरेको छैन । सरकारले जिल्ला – जिल्लामा पर्याप्त अस्पताल खोलेको भए डाक्टर र नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूले काम पाउँथे । जिल्ला – जिल्लामा सरकारी कलेज र विश्वविद्यालय पर्याप्त स्थापना गरेको भए प्राध्यापक र शिक्षकहरूले काम पाउँथे । देशको लागि आवश्यक आधारभूत वस्तुहरू उत्पादन गर्न उद्योग, कारखाना स्थापना गरेको भए एकातिर स्वदेशको रकम विदेशिँदैन भने अर्काेतिर आ–आफ्नो सीप, अनुभव र योग्यता भएका विषयविज्ञ र मजदुरहरूले काम पाउँथे । खेतीपातीको लागि आवश्यक रासायनिक मल, कृषिऔजार, नयाँ नयाँ बीउबिजन, सिँचाइ, तालिम आदिको व्यवस्था भए सबैले काम पाउनेछन्, देशको उत्पादन बढ्नेछ, किसानहरूको जीवनस्तर बढ्नेछ ।
विज्ञान, साहित्यको क्षेत्रमा पनि सरकारले खासै ध्यान दिन सकेको छैन । जलस्रोतको धनी देशमा खानेपानीको उचित व्यवस्था भइरहेको छैन । देशको स्रोत र साधन उपयोग गरी खनिज पदार्थको अध्ययन, अनुसन्धान र खोजी गरेर उत्पादन गरे देशको आम्दानी बढ्नेछ, नेपालीले काम पाउनेछन् र देशले काँचुली फेर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशमा कति रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेतर्फ लेखाजोखा गर्दैन । न त विदेश पसेका नेपालीहरूले कहाँ के काम गर्दै छन्, क–कसले अनाहकमा दुःख पाइरहेका छन् भन्ने कुराको न कुनै लेखाजोखा नै हुन्छ । कति युवा युवतीहरू मानव तस्करीको फन्दामा परेका छन् । कति युवाहरूको प्राविधिक कारण देखाएर हत्या भइरहेको छ । कतिको कारणवस मरे पनि लासको व्यवस्थापन राम्रो भइरहेको छैन । कतिको बेवारिसे अवस्था हुन्छ भने कतिको पैसा नभएर लाससमेत परिवारले पाइरहेका छैनन् । कति जेलमा थुनिएका छन्, कति बन्धकमा राखिएका छन् त कति कामबाट निकालिएका छन् ।
यो कहालीलाग्दो नेपालीहरूको मूल्याङ्कन कसले गर्छ ? कसले गरिरहेको छ ? आकर्षक रोजगारीको प्रलोभनमा परेका कति युवाहरू नक्कली कागजको कारण समस्यामा परेका छन् । के सरकार वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको रेमिट्यान्सले देश चलिरहेको छ भनेर मख्ख पर्ने ? गौरवको अनुभूति गर्ने ? यसबारे सरकारले सोच्नुपर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *