भर्खरै :

किसानको समस्या नबुझ्ने सरकार !

किसानको समस्या नबुझ्ने सरकार !

जनता अभाव र महँगीबाट पीडा भोगिरहेकै बेला बिहान ५ बजेदेखि लाइन बस्दा पनि रासायनिक मलको अभावले किसानहरू छट्पटिँदै छन् । सरकारको अकर्मण्यताको कारण किसानहरूमा निराशा छाएको छ । कृषिमा निर्भर किसानहरूको समस्या कसलाई भन्ने र कसलाई सुनाउने भनी सम्बन्धित निकाय वा व्यक्तिको पर्खाईमै खेतीपातीको सिजन बितेको बताउँछन् उनीहरू । किसानहरूलाई खेतीयोग्य जमिन बाँझो राखेमा लाखौँ जरिवाना गर्ने भन्ने सरकार प्रधानमन्त्री र कृषिमन्त्रीले समयमै रासायनिक मलको व्यवस्था नगरेकोमा सरकारलाई कति लाख जरिवाना लाग्ने हो भनी किसानहरूले प्रश्न गरेका छन् ।
आफ्नो देशको उत्पादन वृद्धि नगरी आयातलाई कटौती गरी निर्यात बढाउने भनी चर्काे भाषण दिने मतदातालाई झुक्याउनको लागि र आफ्नो हैकम जमाइराख्नमात्र बोलेको भन्ने सचेत कामदार जनताले बुझिसकेका छन् । कुन समयमा कुन खेतीपाती हुन्छ भन्ने थाहा नपाउने शासक दलका मन्त्री र प्रधानमन्त्रीले गर्दा अहिले देशले खाद्यान्न सङ्कट व्यहोर्नुपर्ने अवस्थाको सिर्जना भएको देखिन्छ । समयमै रासायनिक मलको व्यवस्था गर्न नसकिने कृषि मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने किसान र कामदार जनताको माग छ ।
जलवायु परिवर्तनसँगै रोजगारको निम्ति विदेशिएका युवा जनशक्तिको अभावले उत्पादन योग्य जमिन नाङ्गो पहाड र फाँटमा परिवर्तन भइरहेको छ । त्यसमाथि रासायनिक मलको अभावले गर्दा लहलहाउँदो बाली उत्पादन हुने जमिनमा फसल नै नलागी धान र कोदोका बिरुवा पहेँलो भएको छ । वर्षाको समयमा धान, मकै उत्पादनका लागि समयमै रासायनिक मलको अभाव झेलेका किसानहरू अहिले नगदे बालीको निम्ति पनि मलको अभाव झेल्नु परेपछि आफूहरू सरकारविहीन भएको महसुस गरेको बताउँछन् ।
अहिलेको सिजनमा आलु, तोरी, कोदो, फापरजस्ता नगदे बालीको निम्ति रासायनिक मलको अभावले गर्दा देशको खाद्यान्न उत्पादनमा मात्र ¥हास होइन यसले चरम अभाव भई भोकै बस्नुपर्ने हो कि भन्ने नेपाली जनताको चिन्ता छ । वस्तुको उत्पादन नै नभएपछि विदेशी आयातमा निर्भर हुनुपर्नेछ । गरिब जनताले कहाँबाट विदेशी सामान किन्न सक्लान् ? अनि के कामदार जनताको जीवन कष्टकर बन्दैन ? शासक दलका मन्त्री र प्रधानमन्त्रीको उदासिनताले नै किसानले यस्तो समस्या भोग्नुपरेको हो ।
अकर्मण्य व्यक्तिहरूको सरकारमा हालीमुहाली रहेसम्म कामदार जनताले सुख पाउने छैनन् । रासायनिक मल नभएकै हो कि किसानलाई लुट्नको लागि किस्ता – किस्तामा वितरण गरेको हो भन्ने किसानको प्रश्न छ । १२ सय पर्ने मल कालाबजारियाले रासायनिक मल लुकाई ३ हजारमा बिक्री गरेको व्यापक चर्चा छ । यता प्रतिव्यक्ति ५ देखि १० केजी मलको लागि रातिदेखि लाममा बस्नुपर्ने कृषकहरू बताउँछन् । किसानहरूको समस्या नबुझ्ने यो कस्तो सरकार !

Leave a Reply

Your email address will not be published.