भर्खरै :

पाकिस्तानको विध्वंसकारी बाढी कसरी जलवायु परिवर्तनसँग जोडिन्छ ?

पाकिस्तानको विनाशकारी बाढी विश्वका लागि जलवायु परिवर्तनको जोखिमसम्बन्धी चेतावनी भएको विज्ञहरूले बताएका छन् ।
त्यति विघ्न वर्षाले गरिब मात्र नभई विश्वका कुनै पनि देशमा विध्वंस मच्चाउने एक जलवायु वैज्ञानिकले बीबीसीलाई बताएका छन् । दैनिक हजारौँ मानिसहरूलाई बाढीको पानीबाट उद्धार गर्नुपरेको छ ।
देशको आधा अन्न बाढीले बगाएपछि मन्त्रीले खाद्य सङ्कटको चेतावनी दिएको अवस्थामा यसको मानवीय मूल्य स्पष्ट छ । पाकिस्तानमा अन्याय भएको भावना देखिन्छ ।

पाकिस्तान किन जोखिममा छ ?
पृथ्वीलाई तताउने हरित गृह ग्यासमध्ये एक प्रतिशत मात्रै पाकिस्तानले उत्सर्जन गर्छ तर यसको भूगोलका कारण यो जलवायु परिवर्तनको ठूलो जोखिममा छ ।
“अहिले पाकिस्तानको एकतिहाइ भाग पानीमा डुबेको छ जुन यसअघि हामीले देखेको सीमा वा प्रवृत्तिभन्दा फरक हो,” जलवायु मन्त्री शेरी रहमानले यो साता भनिन् ।
पाकिस्तान पृथ्वीको यस्तो स्थानमा छ जहाँ दुईथरी मौसम प्रणालीको असर पर्छ । एउटा प्रणालीले मार्च महिनातिर उच्च तापक्रम र खडेरी ल्याउन सक्छ भने अर्कोले मनसुन वर्षा ल्याउँछ । पाकिस्तानको ठूलो जनसङ्ख्या सिन्धु नदीको वरपर बस्छन् । यो नदीमा मनसुन वर्षाले ठूलो बाढी ल्याउन सक्छ ।
जलवायु परिवर्तन
जलवायु परिवर्तन र चरम मनसुनको वैज्ञानिक नाता साधारण छ । विश्व तापक्रम बढ्दा जमिन र समुद्रको तापक्रम बढ्छ जसले वाष्पीकरण बढ्छ । तातो हावाले धेरै बाफ बोक्छ जसले गर्दा वर्षामा धेरै पानी पर्छ ।
वैज्ञानिकहरूले भारतीय मनसुनमा वर्षाको औसत मात्रा बढ्ने आकलन गरेको पोट्सड्याम इन्स्टिट्यूट फर क्लाइमेट इम्प्याक्ट रिसर्चकी एन्या काट्जेन्बर्गर बताउँछिन् । तर पाकिस्तानलाई जलवायु परिवर्तनको जोखिम थप्ने अर्को पनि कारण छः यसका हिमनदीहरू । थर्ड पोल पनि भनिने यसको उत्तरी क्षेत्र पृथ्वीको ध्रूवीय क्षेत्रबाहिर सबैभन्दा बढी हिउँ रहेको स्थान हो ।
पृथ्वी तात्दै जाँदा हिमनदीहरू पग्लिरहेका छन् । पाकिस्तानको गिल्गिट बाल्टीस्थान र खैबर पख्तुन्ख्वाका हिमनदीहरू तीव्र गतिमा पग्लेर ३,००० भन्दा बढी तालहरू बनेको संयुक्त राष्ट्रसङ्घीय निकायले बताएको छ ।

जोखिम
तीमध्ये ३३ हिमतालहरू कुनै पनि बेला विस्फोट हुने जोखिममा रहेका छन् ।
हिमताल विस्फोट भएमा त्यसबाट लाखौँ करोडौँ लिटर पानी र लेदो नदी प्रणालीमा मिसिने र ७० लाख मानिसहरू जोखिममा पर्ने बताइएको छ । पाकिस्तान सरकार र राष्ट्रसङ्घले यस्तो जोखिम कम गर्न पूर्वचेतावनी प्रणाली जडान गर्ने र सुरक्षित पूर्वाधार बनाउने कार्य गरिरहेका छन् । गरिब राष्ट्रहरूमा बाढीविरुद्ध कमजोर पूर्वाधार हुने र ठूलो वर्षा धान्न नसक्ने घरहरू हुने गर्छन् ।
जलवायु असर वैज्ञानिक फाहद सइदले बीबीसीलाई धनी राष्ट्रमा पनि पाकिस्तानको जस्तो बाढीले विध्वंस मच्चाउने बताउँछन् । “यो नितान्त फरक प्रवृत्तिको कुरा हो। बाढीको आकार र वर्षा यति ठूलो थियो कि जति बलियो प्रतिरक्षा प्रणालीले पनि सङ्घर्ष गर्नुपथ्र्याे,” इस्लामावादबाट सइदले भने । उनले सन् २०२१ मा बेल्जियम र जर्मनीमा आएको बाढीमा दर्जनौँ मानिसको मृत्यु भएको इङ्गित गरे ।
वर्षा
पाकिस्तानले जुनदेखि अगस्टसम्म गत तीस वर्षको औसतभन्दा १९० प्रतिशत बढी वर्षा भयो । त्यो समयमा कुल ३९०.७ मिलिमिटर वर्षा भएको छ । सइदले पाकिस्तानको मौसम विभागले मानिसहरूलाई सचेत बनाउन राम्रै काम गरेको बताए ।
पाकिस्तानमा केही बाढी प्रतिरक्षा प्रणाली भएको तर त्यसलाई सुधार गर्नुपर्ने उनले बताए । डा. सइदले कार्बन उत्सर्जन सबैभन्दा कम गर्ने मानिसहरू पीडित भएको बताए ।
“पीडितहरू माटोले बनेका घरहरूमा बस्नेहरू हुन् जसले जलवायु परिवर्तन ल्याउने कुनै काम गरेका छैनन् ।” बाढीले सामान्यतया धेरै वर्षा नहुने सिन्ध र बालुचिस्तानजस्ता क्षेत्रमा समेत असर गरेको छ ।

‘मृत्युदण्ड’
बालुचिस्तानका १७ वर्षीय जलवायु विषयमा सक्रिय युसुफ बालुचले देशको असमानताले समस्यालाई विकराल पारेको बताए । उनले छ वर्षको हुँदा आफ्नो घर बाढीले बगाएको सम्झिए ।
“सहरमा बस्ने र उच्च वर्गीय मानिसलाई बाढीले सबैभन्दा कम असर गरेको छ,” उनी भन्छन् । “मानिसहरू आक्रोशित हुनु स्वाभाविक हो । बालुचिस्तानबाट अझै पनि इन्धन उत्खनन गरिँदै छ तर त्यहाँका मानिसहरूले घर गुमाएका छन् र उनीहरूसँग खानेकुरा पनि छैन ।” बालुचले सरकारले त्यहाँको समुदायलाई सहयोग गर्न चुकेको बताए ।
डा. सइदले राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा जलवायु परिवर्तनबारे विभिन्न वाचा गरेका विश्वभरका सरकारका लागि यो बाढी चेतावनी भएको बताए । “पृथ्वीको तापक्रम १.२ सेल्सीअस डिग्रीले बढ्दा यो सबै भएको छ । योभन्दा तापक्रम बढ्यो भने त्यो पाकिस्तानका मानिसहरूका लागि मृत्युदण्ड हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *