भर्खरै :

विभिन्न स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुखहरू भक्तपुर भ्रमणमा

भक्तपुर, २५ भदौ । काठमाडौँ महानगरपालिका र काठमाडौँ महानपासँग भगिनी सम्बन्ध भएका विभिन्न नगरपालिका प्रमुखलगायत पदाधिकारीले शनिबार भक्तपुरको दरबार क्षेत्र र पाँचतले मन्दिर क्षेत्रका सम्पदाहरूको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।
भ्रमण टोलीमा विराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नपा, नवलपरासीको रामग्राम नपा, सिन्धुपाल्चोकको मेलम्ची नपा, धनकुटाको पाख्रीबास नपा, डडेलधुराको अमरगढी नपाका प्रमुख, उपप्रमुख तथा नगर पार्षद्, प्रमुख प्रशासकीय अधिकृतलगायत ७५ जनाको समूह थियो ।
इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ आएका विभिन्न नपाका जनप्रतिनिधिहरूको स्वागतमा शनिबारै भक्तपुर नगरपालिकाले एक कार्यक्रमको आयोजना ग¥यो ।
भक्तपुर नगरपालिका सभाकक्षमा आयोजित कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगो अङ्कित परम्परागत खादा र महिला अतिथिहरूलाई सुर्के थैली उपहारसहित स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपामा वैज्ञानिक समाजवादप्रति आस्थावान जनप्रतिनिधि कार्यरत रहेको बताउँदै भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरूप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्यहरू गर्दै संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोतर्फ अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देख्नुभएको १०० वर्षपछिको भक्तपुरका आधारहरू निर्माण गरिरहेको विचार राख्नुभयो ।
जनप्रतिनिधिहरूबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने बताउँदै उहाँले जनतासँग नजिकमा बसेर काम गर्ने स्थानीय सरकारहरूले निर्वाचनको समयमा दिएको वचनअनुसारको काम इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
“आत्मनिर्भरतालाई जोड दिएर विदेशीको सहयोगलाई अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुरका सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार भइरहेको छ,” उहाँले भन्नुभयो ।
उहाँले जुनसुकै काम ठेक्कामार्फत गराउनुपर्ने कानुनी व्यवस्थाले राज्य कमजोर र व्यक्ति बलियो हुँदै गइरहेको बताउँदै निर्वाचन विचारको प्रतिस्पर्धा हुनुपर्नेमा धन र डनको प्रतिस्पर्धा हुनु विडम्बनाको विषय भएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको सङ्क्षिप्त प्रस्तुतीकरण देखाउँदै कला संस्कृतिमा धनी भक्तपुर नगरलाई विश्वकै हेर्नलायक सहरको रूपमा विकास गर्न नगरपालिका अग्रसर रहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाइबाट आफू निकै प्रभावित भएको बताउँदै ठेक्कापट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिहरूको नियमित अनुगमन हुनुपर्ने धारणा राख्नुभयो ।
विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने कुराको भक्तपुर ज्वलन्त उदाहरणको रूपमा रहेको बताउँदै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताका आधारभूत आवश्यकतामा पर्ने विषयहरूको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विराटनगरका महानपाका प्रमुख नागेश कोइरालाले महानपा—नपाबीचको समन्वय र सहकार्य आगामी दिनहरूमा अझ प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो । मूर्त र अमूर्त सम्पदाहरू काठमाडौँ उपत्यकाको विशेषता नै रहेको बताउँदै उहाँले भक्तपुर र विराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुखको तर्फबाट रामग्राम नपाका उपप्रमुख सम्झना चौधरी र भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
उक्त भ्रमणमा काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोल, काठमाडौँ महानपासँग भगिनी सम्बन्ध भएका जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेलधुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल र नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्षद् सदस्य मोहम्मद हुसेन सरिफलगायतको उपस्थिति थियो । भ्रमण टोलीको स्वागत कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य र कर्मचारीहरूको उपस्थिति थियो ।
भ्रमण टोलीका नगर प्रमुखहरूलाई नगर प्रमुख प्रजापतिले प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *