भर्खरै :

सहकारीहरू समुदायप्रति जिम्मेवार हुनु आवश्यक

भक्तपुर, २५ भदौ । संगम बचत तथा ऋण सहकारी संस्था लि.को १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभा उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेससभा सदस्य सुरेन्द्रराज गोसाईले सहकारी समुदायमा आधारित र समुदायप्रति जिम्मेवार हुुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सहकारीले आर्थिक कारोबारसँगै सदस्यहरूलाई सांस्कृतिक, राजनीतिक सचेतना दिनेतर्फ ध्यान दिनु आवश्यक छ । गरिब तथा निम्न पुँजीपतिको बचत ठूल–ठूला पँुजीपति वर्गको हितमा प्रयोग हुनेतर्फ सहकारी संस्था सतर्क हुनु आवश्यक छ ।”
उहाँले विदेशी बैङ्क तथा कर्पोरेट कम्पनीले देशको अर्थतन्त्रलाई विनाश गर्नेबाहेक सर्वसाधारण जनताको हितमा केही नगर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाको आर्थिक तथा लेखा समिति एवं सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले नेमकिपाको घोषणापत्रको आधारमा सहकारीलाई बचत तथा ऋणमा मात्र सीमित नगराई उत्पादन स्तर र सामाजिक दायित्वमा अगाडि बढाउने योजना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सदस्यहरूको सांस्कृतिक स्तर उठाउन विभिन्न तालिम तथा गतिविधिलाई निरन्तरता दिनु आवश्यक छ । सहकारीले शैक्षिक, स्वास्थ्य, विकास तथा उत्पादन क्षेत्रमा ऋण लगानी गर्नुपर्छ ।”
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले वडामा भइरहेको विकास कार्यबारे जानकारी दिँदै डेँगुको सङ्क्रमण फैलिरहेकोले यसको रोकथामतर्फ सजग भई सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरू न्हुछेराम भेले र राजाराम चवालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष कृष्णगोपाल छुस्याकीको अध्यक्षतामा भएको उक्त सभामा संस्थाका प्रतिवेदनहरू पारित गरिएको थियो ।
कार्यक्रममा असल खुत्रुके र असल बचतकर्ता, नियमित, ऐच्छिक, आवधिक र ऋणतर्फ उत्कृष्ट सदस्यहरूलाई पुरस्कृत गरिएको थियो ।
७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको उक्त कार्यक्रममा संस्थाको आवधिक बचत खतामा रकम जम्मा गर्ने दाफा, भजन, गुठी, जीउनीलगायतका संयुक्त आवधिक बचतकर्ताहरूलाई र संस्थाको भित्तेपात्रोका लागि पौभा चित्र प्रदान गर्ने कलाकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सभाले बलराम सिबन्जारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *