नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
महारानी एलिजाबेथ–२ बेलायती राजखलककै सबैभन्दा लामो अवधि गद्दीनसीन शासक हुन् । ९६ वर्षको उमेरमा बिहीबार स्कटल्यान्डस्थित शाही निवासमा उनको निधन भएको बकिङ्घाम दरबारले जनाएको छ ।
एलिजाबेथका छोरा ७३ वर्षीय राजकुमार चाल्र्स अब बेलायतका राजा हुनेछन् । महारानीको मृत्युमा विश्वका विभिन्न नेताहरूले श्रद्धाञ्जली व्यक्त गरे । अमेरिकी राष्ट्रपति जो बाइडेन पनि समवेदना जाहेर गरे । उनले बेलायतमा महारानी एलिजाबेथले ‘अतुलनीय गौरवको युग परिभाषित गरेको’ बताए ।
खासगरी पश्चिमी गोलार्धमा एलिजाबेथको ७० वर्षे शासनकालमा स्थिरता र कूटनीतिक सन्तुलन कायम रहेको भनियो । शाही परिवारले आफूलाई देशको राजनीति र औपनिवेशिक इतिहासबाट पर राख्न दुःख गरेको धेरैले भने ।
तर, बेलायती राजपरिवारको क्रूर औपनिवेशिक शासनको सास्ती र जातिवादी घृणा झेलेका बेलायतभित्र र बाहिरका करोडौँ जनताले एलिजाबेथको निधनमा आँसु चुहाउने छैनन् । ती हिंसाप्रति आँखा चिम्ले पनि राजपरिवारले अद्यापि ती हिंसाको फाइदा लिइरहेको छ । पीडितहरूले बेलायती राजपरिवारको विगतको हिंसा कुनै न कुनै रूपमा महसुस गरिरहनेछन् ।
राजपरिवारको पक्षमा बोल्ने धेरैले महारानी एलिजाबेथमाथि यस्तो आक्षेप लगाउन नहुने तर्क गर्छन् । विगतका कुकर्महरूबाट महारानीले राजपरिवारलाई टाढा राखेको र औपनिवेशिक विगत सच्याउँदै कमनवेल्थ भ्रमणहरू गर्ने गरेको दलिल दिन्छन् ।
आलोचकहरूले यसको खण्डन गरेका छन् । बेलायती राजपरिवारले अझै पनि इतिहासको सामना नगरेको वा दशकौँको उसको प्रत्यक्ष औपनिवेशिक शासनबाट पीडित जनतालाई क्षतिपूर्ति नतिरेको उनीहरूको भनाइ छ । राजपरिवारमाथि इतिहास लुकाउन चाहेको आरोप पनि छ । खासगरी महारानीको ७० औँ वर्षगाँठ वा हीरक जयन्तीमा यस्तो गरिएको आलोचकहरूको भनाइ छ ।
हार्वर्ड विश्वविद्यालयमा इतिहास पढाउने प्रोफेसर माया जासानोफले ‘द न्युयोर्क टाइम्स’ मा लेखिन्, “दीर्घ जीवनका कारणले भन्दा पनि नियोजितरूपमै (बेलायत र उसका पूर्व उपनिवेशहरूको सङ्गठन) कमनवेल्थ देशहरूको प्रमुखको हैसियतले महारानीले दशकौँको हिंसात्मक उथलपुथलबीच निस्पृह भावले परम्परागत मोर्चा सम्हालिरहिन् । यस अर्थमा महारानीले औपनिवेशिक शासनविरोधी रगतपच्छे इतिहास ओझेलमा पार्न सघाइन् । यसको मात्रा र विरासत राम्ररी केलाउन बाँकी छ ।”
राजतन्त्र रहुञ्जेल ऊ उपनिवेशवादी र साम्राज्यवादी शक्ति रह्यो । उसले खासगरी दक्षिणी गोलार्धका दर्जनका दर्जन देश तथा भूभागहरूलाई उपनिवेश बनायो र शोषण ग¥यो । तीमध्ये धेरै देशहरू अझै पनि पुरानै गरिबी र शोषण–दमनका घाउहरूले पिल्सिरहेका छन् ।
सयौँ वर्षसम्म बेलायतले आफ्ना उपनिवेशहरूबाट खरबौँ खरब डलरको सम्पत्ति लुटेर आफ्नो ढुकुटी भ¥यो । आफ्नो जातिवादी विगतबाट उसले आज पनि नाफा लिइरहेको छ । बेलायती राजतन्त्र दासप्रथाको जगमा उभिएको थियो । उसले दास व्यापारको बाटो खन्यो । यो बाटो हुँदै करोडौँ अफ्रिकी, उत्तर र दक्षिण अमेरिकाबासीहरूलाई अन्य देशमा पैठारी गरियो । दास व्यापार कति व्यापक थियो भने बेलायतले १९ औँ शताब्दीमा दासमोचन गर्दा दासमालिकहरूलाई तिर्न बाँकी ‘बक्यौता’ सन् २०१५ मा मात्र तिरेर भ्यायो ।
सन् १९५२ मा राजगद्दी सम्हालेकी एलिजाबेथ आफैले यी नीति लागू गरेकी थिइनन् । उनले यी कार्यमा भाँजो हाल्न धेरै गरिनन् । जस्तो, पूर्व प्रम मार्गरेट थ्याचरले दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न अस्वीकार गरिन् । त्यसमा महारानीले चासो लिइनन् ।
बेलायती साम्राज्यवादका प्रत्यक्ष पीडितहरूले एलिजावेथ गद्दीनसीन छँदा आधुनिक नीति निर्माणमा उनको प्रत्यक्ष प्रभाव रहेको बताउँछन् । उनको शासनकालमा बेलायतले थोपरेको कुन चाहिँ हिंसामा उनको हात थियो भनी यकिनसाथ भन्न नसकिने केही इतिहासकारहरूको भनाइ छ । पहिले केन्या वा आयरल्यान्डमा भएजस्तो कुन हिंसामा उनले लाहाछाप लगाएकी थिइन्, तोकेर भन्न नसकिने उनीहरूको तर्क छ । यस्ता हिंसा हुन दिनाले नै उनले जिम्मेवारी लिनुपर्ने अन्य पर्यवेक्षकहरूको जिकिर छ । राजमुकुट र देशको राजनीतिक निर्णयबीच दूरी छ भन्दैमा औपनिवेशिक शासनका पीडितहरूप्रति राजपरिवारले आँखा चिम्लिन नमिल्ने उनीहरूको तर्क छ ।
आधुनिक कालमा बेलायती राजमुकुट बेलायतभित्र हुने दमन, गोरो जातिवाद र चरम आर्थिक असमानताको प्रतीक भएको वामपन्थीहरूको तर्क छ । यद्यपि, मूलधारका वामपन्थीहरू बेलायतमा राजतन्त्र उन्मूलन गर्नुपर्ने विषयमा बोल्न आँट गर्दैनन् ।
बेलायतमा भएका र भइरहेका केही उचनीचको थोरैधेरै जिम्मेवारी एलिजाबेथको पोल्टोमा पनि जान्छ ।
हालैका वर्षहरूमा बार्बाडोस र जमाइकाजस्ता देशले बेलायती दास व्यापारका क्रममा भएको हिंस्रक र निकृष्ट शोषणको क्षतिपूर्ति मागे । राजपरिवारले यस मागमा असहमति जनायो ।
स्वदेशमै पनि दशकौँदेखि राजपरिवारको जातिवादी सोचले कीर्तिमान रचेको छ । बकिङ्घम दरबार आफैले यस्तो असमान व्यवहारलाई मलजल गरिरहेको छ । शाही सल्लाहकारहरूले सन् १९६० को दशकसम्म दरबारमा ‘गोराइतरका आप्रवासी वा विदेशी’ कामदारहरूलाई नोकरीमा राख्न निषेध गरेका थिए । एलिजाबेथको शासनकालमा लामो समयसम्म यो प्रथा चल्यो ।
बेलायती राजपरिवारको अन्तरकुन्तरमा रहेको जातिवादी सोच आज पनि जीवित छ । राजकुमार विलियमले विरोध जनाए पनि सन् २०२० मा राजपरिवारको जातिवादी रवैयाकै कारण राजकुमार ह्यारी र मेघान मार्केलले दरबार छोड्नुपरेको थियो ।
Leave a Reply