अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
आफ्ना पूर्वजहरूलाई हार्दिक सम्मान र स्मरण गर्ने प्रचलन पूर्वीय संस्कृतिको सुरुवातसँगै भएको हो । जति पूर्वीय संस्कृति पुरानो मानिन्छ, त्यति नै पुरानो हुनुपर्छ यो संस्कार पनि । हाम्रा शास्त्रहरूले जन्मपछि मृत्यु र मृत्युपछि पुनः जन्म अर्थात् ‘पुनरपि जनम पुनरपि मरण’ भन्ने मान्यतालाई विशेष प्राथमिकता दिएका छन् । त्यो, त्यतिखेरका मानिसमा उब्जेको प्रश्नले पत्ता लाएको उत्तरजन्य विश्वास थियो । फलस्वरूप सत्ययुगमा पनि आफन्तको मृत्युपछि दाहसंस्कार गरी पिण्डदान गरेको पाइन्छ । त्रेता युगमा भगवान श्रीरामले मानव जातिको मात्र नभई एउटा पन्छी जटायुको (जसलाई गिद्ध भनिन्छ र त्यसको मृत्यु रामको काखमा भएको थियो) समेत दाहसंस्कार गरी अञ्जली दिई जौ (यव)को पिण्ड दिएको प्रसङ्ग छ र वनवास छँदा आफ्ना पिता दशरथको मृत्युको खबर पाएपछि श्रीरामले जङ्गलमै श्राद्ध गरेका कुराहरू पनि उल्लेख गरिएका छन् । त्यस्तै, द्वापर युगको अन्त्यतिर महाभारतको युद्ध सकिएपछि युद्धमा मृत्युवरण गर्न पुगेका सबैको मोक्षको लागि सत्यवादी युधिष्ठिरले पितृकार्यको आयोजना गरी सामूहिकरूपमै श्राद्ध गरी तर्पण दिएको प्रसङ्ग महाभारतमा पढ्न पाइन्छ । तर, शास्त्रका कुराहरूसँग त्यति मेल नखाने, सो¥ह श्राद्धसम्बन्धी एउटा भारतीय लौकिक कथा यस्तो पनि छ :
महाभारत युद्धको करिब अन्तिम समयमा श्रीकृष्णले कर्णलाई उनको अन्तिम इच्छाबारे सोधेछन् । कर्णले भनेछन्, “म कुमारी आमाको सन्तान भएकाले मेरो दाहसंस्कार पनि यस्तो कुमारी भूमिमा गरियोस् जहाँ कुनै अपराध भएको नहोस् ।! कर्णको माग अनौठो थियो र त्यति बेला पनि त्यस्तो भूमि भेट्न निकै गाह्रो भएको थियो रे !
मृत्युपश्चात् स्वर्गमा कर्णलाई खानामा सुन, हिरा, पैसा, मोती दिइएछ । त्यस्तो देखेर,स्वर्गका राजा इन्द्रलाई उनले प्रश्न गरेछन् “मलाई भोकप्यास लागेको छ । सुन, हिरा, मोती, पैसा मलाई के काम ? मलाई अन्नपानी दिनुप¥यो ।” जवाफमा इन्द्रले भनेछन्, “बाँचुन्जेल तिमीले मानिसहरुलाई सुन, हिरा, पैसा, मोती दान ग¥यौ तर कसैलाई पनि खाना दान गरेनौ । संसारमा भोकाएका मानिस र पितृ भइसकेका आफ्ना वंशजलाई पनि भोजन दान गरेनौ । तसर्थ पहिले तिमीले उहाँ जसलाई जे दियौ अहिले यहाँ पनि त्यही पायौ ।”
यस्तो सुनेपछि कर्णले, “म त आमा र बाकै टुङ्गो नभएको मान्छे हुँ । मलाई त सुतपुत्र भनी धनुविद्यासमेत गुरूबाट सिकाइएन । म यस्तो बाआमा नै नचिनेको मान्छेले कसलाई श्राद्ध गरौँ !” भन्दा इन्द्रले “प्रकृतिमा बाआमा नभैकन त कोही जन्मदैन । यो प्रकृति र सृष्टिको नियम हो । यस्तो नियमको विपरीत तिमी त्यत्तिकै त उत्पत्ति भएका हैनौ होला नि !” भनेर कर्णको भनाइप्रति प्रश्न र शङ्का व्यक्त गरेछन् ।
इन्द्रको भनाइ सुनेपछि कर्णले “मलाई यो ज्ञान भएन र खोजी पनि गरिनँ । पहिला अन्जानवश त्यस्तो गल्ती गरेको हुँदा अब मैले त्यसलाई सुधार्ने अवसर पाउनुपर्छ” भनी आग्रह गरेछन् । निकैबेरको छलफलपछि कुन्तीका पुत्र स्वयं सूर्यबाट आशीर्वाद पाएका महावीर कर्णलाई पुनः यमराजद्वारा जीवित गराएर पृथ्वीमा गएर १६ दिन बसी वंशज पितृलाई भोजन दान गर्ने अवसर दिइएछ र सुझावअनुसार मनुष्यलोकमा आई कर्णले १६ दिनसम्म पितृलाई सम्झिएर भोजन अर्पण गरेछन् । पितृलाई अर्पण गरेपछि फेरि, छाक टार्न गा¥हो भएका धेरै सर्वसाधारणहरूलाई पनि खाना खुवाएछन् । विद्वान गुरूहरूलाई पनि ससम्मान निमन्त्रणा गरी भोजनद्वारा तृप्त पारेछन् । कर्णले उक्त कार्य गरेको सोही समयदेखि नै पितृलाई सम्झिएर सो¥ह श्राद्ध गर्ने चलन सुरु भएको मानिन्छ ।
कतिपयचाहिँ श्राद्धलाई, पृथ्वीमा बाँचुन्चेल आमाबाबुको हेरविचार र आदर सम्मान नगर्ने तर मरेर स्वर्ग गएको ठानिएका बाआमाहरूलाई चाहिं बनावटी श्रद्धा देखाउने चलन पनि भन्छन् । त्यसमा पनि तारबाट बिजुली बहेजस्तो ब्रह्माणको वचनमार्फत उहाँ पुग्ने कुरामा पनि विश्वस्त हुन सकिँदैन । तैपनि, आफ्ना पितृलाई सम्झनु राम्रो चलन हो । कतिपय राम्रा चलनसँगै स्वार्थवश नराम्रा चलन पनि मिसिनु/मिसाइनु स्वाभाविकै हो ।
जे होस्, श्राद्धको दिन सकेसम्म बढी मानिसले खाना खाइदिए हुन्थ्यो भन्ने चाहना राखिने भएकोले धेरैलाई निमन्त्रणा गरिन्छ । खानाकै आधारमा जीवन बाँच्ने भएकोले, कसैलाई खान दिनु सबभन्दा ठूलो दान र धर्म हो । जीवनमा मात्र होइन, मृत्यु भएपछि पनि खाना र पानीको महत्व उत्तिकै रहन्छ भन्ने कुरा दर्साउन पनि सो¥ह श्राद्ध सुरु भएको हुनसक्छ ।
Leave a Reply