भर्खरै :

सहकारी संस्थालाई बैङ्कको रूपमा उपयोग गरे गरिब वर्गको हित नहुने

भक्तपुर, ८ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभाको एक समारोहबीच उद्घाटन गर्नुभयो ।
आदर निकेतनको आवश्यकताबारे चर्चा गर्दै उहाँले आदर निकेतन खोल्नेबारे भक्तपुर बचत तथा सहकारी संस्थाको विचार राम्रो छ भन्नुभयो ।
सहकारी संस्थालाई बैङ्कको रूपमा उपयोग गरे गरिब वर्गको हित नहुने चर्चा गर्दै उहाँले सहकारी मूल्य र मान्यताअनुसार काम भए सहकारी संस्था विश्वविद्यालयको एक भाग हुने बताउनुभयो ।
हाम्रो कला र संस्कृति हामीले नै संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले सरकारले नगरेको, गर्न नसकेको काम हामीले गरे त्यो देश र जनताको नै सेवा हुने विचार व्यक्त गर्नुभयो ।
देश निर्माणमा मजदुर र किसानहरूको महत्वपूर्ण योगदान हुने चर्चा गर्दै अध्यक्ष रोहितले देश र जनताको सेवा गर्नु नै नेमकिपाको लक्ष्य हो भन्नुभयो ।
श्रीलङ्कामा आर्थिक सङ्कट निम्तिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले मालसामान रोक्दा चीनले सहयोग गरेन भने नेपालमा पनि हाहाकार हुन्छ भन्नुभयो ।
आपत्विपत् या कुनै समस्या आइपर्दा सरसल्लाह गरे समस्या समाधान सजिलै तरिकाले गर्न सकिने दृष्टान्त उल्लेख गर्दै अध्यक्ष रोहितले अन्यत्र समस्या पर्दा पनि भक्तपुरकै सहयोग आवश्यक हुने विचार राख्नुभयो ।
सरकारले ख्वप विश्वविद्यालय जानाजानै सञ्चालन गर्न अनुमति नदिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “ज्योतिलाई कसैले रोक्न सक्नेछैन ।”
अध्यक्ष रोहितले भन्नुभयो, “भक्तपुरले गरेझैँ काम गरे देशभर विकास हुने चर्चा चलिरहेको छ, आफ्नो ठाउँ राम्रो भए, राम्रो काम गरे अरूको निम्ति त्यो अनुकरणीय हुन्छ ।”
भक्तपुरका अधिकांश सहकारी संस्थाहरू राम्रो र उदाहरणीय भएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “यहाँ भ्रष्टाचार हुँदैन । आर्थिक पारदर्शी हुन्छ । यहाँ मिलेर काम गर्छन् । यहाँबाट सिक्न नै अन्य नपा र जिल्लाका नेता र जनप्रतिनिधिहरू यहाँको कलेज, अस्पताल र सहकारीको अनुगमन गर्न आउँछन् ।”
सहकारीले उत्पादनमूलक काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “सामानमात्र भएर हुँदैन, व्यवस्थापन पनि आवश्यक हुन्छ ।”
उहाँले भन्नुभयो, “अमेरिका अपराधीहरूको थलो हो, हत्या–हिंसा गर्ने स्थल हो ।”
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजूले भक्तपुर बचत सम्भवतः नेपालकै उत्कृष्ट संस्था हुने विचार व्यक्त गर्दै सरकारले नीति निर्देशनको नाउँमा कालाबजारीहरूलाई पोसिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले शुभकामना मन्तव्य, उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत र सदस्य विष्णुकुमार प्रजापतिले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
संस्थाका सचिव लक्ष्मीप्रसाद कुसीले आ.व. २०७८÷७९ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद प्रजापतिले वित्तीय विवरण तथा आव २०७९÷८० को अनुमानित वार्षिक बजेट प्रस्तुत गर्नुभयो भने कृष्णसुन्दर प्रजापतिले लेखा सुपरीवेक्षण समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बेला बाजाका गुरू आशाकाजी खोजु, विभिन्न कार्यक्रमहरूमा पानी खुवाएर सेवा गर्ने लतंभक्त प्रजापति र स्वास्थ्यकर्मी मैँया प्रजापतिलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *