भर्खरै :

प्रदेश नं. १ का पार्टी कार्यकर्ता भेला

भक्तपुर, ८ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनबाट समाजवाद स्थापना हुनेमा नेपाल मजदुर किसान पार्टी विश्वास गर्दैन भन्नुभयो ।
शनिबार आयोजित प्रदेश नं. १ का पार्टी कार्यकर्ताहरूको भेलामा उहाँले निर्वाचनमा बहुमत जितेर समाजवाद स्थापना हुने विचार संशोधनवाद हो र संशोधनवाद पुँजीवादी विचार भएको धारणा राख्नुभयो ।
उहाँले संसद्मा प्रखर प्रतिपक्षको भूमिका खेल्ने पार्टीको नीतिअनुरुप नेमकिपाका निर्वाचित जनप्रतिनिधिहरू सङ्घ र प्रदेश सभामा काम गर्दै आएको बताउँदै उहाँले देशघाती एमसीसी र एसपीपीको विषयमा नेमकिपाले निरन्तर विरोध गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकामा नेमकिपाका जनप्रतिनिधिहरूले कामदार वर्गको हितमा निरन्तर काम गर्दै आइरहेको विचार राख्दै उहाँले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायत विषयमा जनताका आधारभूत विषयहरूलाई नपाले जोड दिँदै आएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले निर्वाचन विचार र सिद्धान्तको आधारमा लड्नुपर्ने बताउँदै निर्वाचनमार्फत नेमकिपाका नेता कार्यकर्ताहरूले जनतालाई राजनैतिकरूपमा सचेत र सङ्गठित गर्ने काम गर्दै आइरहेको बताउनुभयो ।
कानुन अध्ययन समाजका अध्यक्ष रामप्रसाद प्रजापतिले नजिकिँदै गरेको सङ्घ र प्रदेशको निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षालाई व्यापकरूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिक्षक रमेश सुवाल र विद्यार्थी दिनेश खड्गीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *