भर्खरै :

स्मार्ट सिटी

– इ. अमोद उलक
स्थानीय तहको चुनाव २०७४ को क्रममा राजनैतिक दलहरूले स्मार्ट सिटी बनाउने सपनाहरू जनतालाई बाँडे । निर्वाचन सम्पन्न भइसकेको छ । अब जनताले स्मार्ट सिटी भनेको के हो भनेर प्रश्न गर्दा निर्वाचित मेयर तथा गाउँपालिका अध्यक्षहरू स्मार्ट सिटीबारे बताउन सकिरहेका छैनन् । उनीहरू सबै अन्योलमै छन् । यसमा सरकारसमेत अन्योलमै रहेको देखिन्छ । भएकै शहरहरू यस्ता हालतमा छन् स्मार्ट त कल्पनामात्र हुन् कि भन्ने शङ्का उठ्न सक्दछ । तर स्मार्ट सिटी बनाउन स्मार्ट नेतृत्वले के के गर्न सक्छन् त भन्ने विषयमा हामी अरु देशका उदाहरणहरू पल्टाउन सक्छौं ।
के हो त स्मार्ट सिटी ?
स्मार्ट सिटीका हरेक कुरा स्मार्ट हुने भएपछि परिभाषा पनि फरक फरक छन् । विज्ञहरूका अनुसार स्मार्ट सिटी भन्नाले सूचना प्रविधियुक्त सहरमात्र नभई सूचना प्रविधिको प्रयोगले समुदायमा सकारात्मक प्रभाव पार्दै लगेको हुनुपर्दछ ।
शहरी विकासमा सूचना प्रविधि र वस्तुहरूको इन्टरनेट प्रविधि अर्थात् आई. ओ. टी. (Internet of things) लाई समेट्ने दृष्टिकोण नै स्मार्ट सिटी हो । IoT प्रविधिअनुसार हरेक यन्त्र अर्थात् डिभाइसहरू इन्टरनेटको माध्यमबाट एक अर्कासँग जोडिन्छन् । तीमध्ये कुनै डिभाइसले सेन्सर (Sensor) को रुपमा काम गर्नेछ त कुनै डेटा प्रशोधनदेखि त्यसको भण्डारण तथा प्रस्तुति गर्ने कामसमेत गर्नेछ । तर ती सबै डिभाईसहरूले अत्याधुनिक इन्टरनेट प्रविधिमार्फत कार्य गर्नेछ । यस्ता डिभाईसहरू हातको सानो घडी पनि हुन सक्नेछ अथवा तापक्रम नाप्ने स्वचालित यन्त्र पनि हुन सक्दछ ।
स्मार्टसिटीमायस्ता प्रविधिको प्रयोग स्थानीय तहको सूचना प्रणाली, विद्यालय, पुस्तकालय, यातायात, अस्पताल, ऊर्जा केन्द्र, खानेपानीे वितरण प्रणाली, फोहरमैला व्यवस्थापन, कानुनी सूनिश्चतता तथा अन्य समुदाय लक्षित सेवाहरूको सुरक्षा तथा उचित व्यवस्थापनका लागि गरिन्छ ।
स्मार्ट सिटीमा भौतिक पूर्वाधारहरूको सुरक्षा तथा व्यवस्थापन एवं सहरीकरण र त्यसको विकासलाई प्रत्यक्ष अनुगमन गर्न सूचना प्रविधिको विकास गर्दै जनताको जीवनलाई सहज र राम्रो बनाउँदै लगिन्छ । यसका लागि विभिन्न खाले कम्प्युटर प्रोग्राम एवं सफ्टवेयर तथा भौतिक पूर्वाधारहरूमा हार्डवेयर, सञ्चारमाध्यम एवं साधनहरूको विकास हुँदैछ ।
हाल प्रविधिमा आएको विकाससँगै सहरको जनजीवनलाई गुणस्तरीय बनाउन, सेवा सुविधाहरूमा सबैको सहज पहुँच बढाउन, कम खर्चिलो एवं कम स्रोत साधनबाट धेरै लाभ लिन, सरकार र जनताबीचको सम्पर्कलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई बढाउँदै लगिएको छ । जस्तै बढ्दो शहरीकरणलाई नियन्त्रण र व्यवस्थित गर्न तथा जनताका समस्याहरू समाधान गर्न विभिन्न कम्प्युटर प्रोग्राम अर्थात् स्मार्ट सिटी एप्लिेकेशनहरूको निर्माण भएको पाईन्छ । यस्ता एप्लिकेशनहरूले सामान्य कार्य गर्नेभन्दा पनि विभिन्न स्रोत साधनको उचित व्यवस्थापन एवं प्राकृतिक चुनौतीहरू समाधानकालागि प्रयोग गरिन्छ ।
त्यसो त स्मार्ट सिटीबारेमा एउटै परिभाषा नभएपनि विभिन्न क्षेत्रमा यसको प्रयोग बढाउँदै लगिएको छ र यसको क्षेत्र पनि व्यापक हुँदै आएको छ । जनताको जिवनस्तर उकास्न, सुशासन कायम गर्न तथा सम्पूर्ण सेवा सुविधाहरूमा बहुमत जनताको पहुँच बनाउने नै स्मार्ट सिटीको अवधारणा हो । सारमा जुन शहरमा प्रविधिको प्रयोगले सवै कार्य राम्रो र चुस्त हुन्छ त्यसैलाई स्मार्ट भन्ने चलन रहेको छ ।
विश्वमा स्मार्ट सिटीका अभ्यासहरू
विश्वमा स्मार्ट सिटी निर्माणका धेरै अभ्यासहरू भएका छन् । यस सम्बन्धमा केही उदाहरणहरू यहाँ हामी चर्चा गर्नेछौं ।
युरोपियन युनियन
युरोपियन युनियनले शहरको वातावरण, जनजीवन, सक्रियता, व्यवस्थापन, अर्थतन्त्र र जनता आदि विभिन्न क्षेत्रलाई स्मार्ट बनाउन न्यूनतम कार्यक्रम तथा मापदण्डहरू निर्धारण गरेका पाइन्छ ।
जस्तै वायुमण्डलमा कार्वनडाइअक्साइड उत्सर्जन कम गर्ने, वैकल्पिक ऊर्जाको प्रयोग बढाउने, ऊर्जा खपतको अनुगमन गर्ने आदि वातावरणसम्बन्धी मापदण्डहरू छन् । त्यसैगरी मानिसको जनजीवनमा सहकार्य, सांस्कृतिक स्तरोन्नति, अनुसन्धात्मक कार्यका लागि मानववस्तीको प्रयोगशाला (Living Lab) हुने कुरा उल्लेख छ । शहरको विस्तारका लागि प्रविधिको विकास, वातावरणीय जोखिम न्यूनीकरण गर्दै जाने सक्रियता स्मार्ट सिटीमा हुनुपर्ने उल्लेख गरिएको छ । साथै सरकारले जनसरोकारका सम्बन्धमा नागरिकहरूको सक्रिय सहभागीता बढ्दै जाने कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ । त्यसैगरी सार्वजनिक तथा निजी साझेदारीलाई बढाउने, सामाजिक संस्था, साना तथा मझौला व्यवसायहरू बढाउने खाले अर्थतन्त्र आवश्यक छ । ईयूका अनुसार जनता आफैले पनि आफूसँग भएका सूचना एक अर्कामा आदानप्रदान गर्ने तथा स्रोतहरूको सुरक्षा गर्नुपर्नेछ ।
भारत
भारत सरकारको स्मार्ट सिटी मिसन प्रोजेक्टले पनि संस्थागत, भौतिक, सामाजिक र आर्थिक पूर्वाधारहरूको विकासको लागि महत्वाकाङ््क्षी योजनासहित सहरको विकास गर्ने लक्ष्य राखेको पाइन्छ । एकजना नागरिकको इच्छा, आकाङ्क्षा र आवश्यकताहरू पूरा गर्नको लागि शहरका योजनाकारहरूले त्यस्ता शहरको कल्पना गरेका छन् जसमा नागरिकहरूलाई राम्रो जिवन, सफा वातावरण र स्मार्ट एप्लिकेशनहरूमार्फत समस्याको समाधान दिइनेछ ।
भारत सरकारको स्मार्ट सिटी मिसनले निम्नानुसार पूर्वाधारहरू विकास गर्ने लक्ष्य बोकेका छन् ।

  • पर्याप्त खानेपानी वितरण
  • पर्याप्त विद्युत् वितरण,
  • सरसफाई तथा फोहरमैला व्यवस्थापन
  • आवागमन र सार्वजनिक सवारी लाई प्रभावकारी बनाउने
  • गरिबहरूको लागि सुलभ आवास
  • बलियो तथा भरपर्दो सञ्चारमाध्यम र डिजिटाइजेशन प्रविधि
  • सुशासनका लागि इ–गभर्नान्स र जनसहभागिता
  • दिगो वातावरण
  • नागरिकहरूमा विशेषतः महिला, बालबालिका तथा वृद्घवृद्घाहरूको सुरक्षा,
  • स्वास्थ्य र शिक्षा
    उक्त मिसनअनुसार उल्लेखित उपलब्धिहरू हासिल गर्नका लागि सूचना प्रविधिमार्फत विभिन्न स्मार्ट समाधानहरू हुनेछन् । भारत सरकारले भूवनेश्वर, पुने, जयपुर, कोचीलगायत २० वटा शहरहरूलाई स्मार्ट सिटी बनाउने कार्यक्रममा राखेको पाइन्छ ।

इटाली
त्यसैगरी इटालीका विभिन्न शहरहरूमा स्मार्ट सिटीको अवधारणाअनुरुप नै कला – संस्कृति तथा सांस्कृतिक सम्पदा सरंक्षणमा जोड दिएर थुप्रै प्रोजेक्टहरू भएका छन् । यस्ता प्रोजेक्टहरूले सोसल मिडिया तथा Free Open source Intelligent सिस्टमको प्रयोग गरेर पर्यटकहरूको आवागमन तथा रुचिको अध्ययन गरिन्छ । यसका लागि फेसबुक, ट्वीटरजस्ता सोसल मिडिया तथा गुगल, याहुजस्ता सर्च इन्जिनहरू प्रयोग गरिन्छ । साथै पर्यटकहरूको आवागमनलाई वृद्घि गर्न उनीहरूलाई आकर्षित गर्ने तथा उनीहरूको आवश्यकता पूरा गर्ने खालका स्मार्ट एप्लिकेशन, अनुगमनका एप्लिकेशन तयार गरिएका छन् । ती प्रोजेक्टहरूले ऐतिहासक कला र सम्पदाहरूको संरक्षण एवं पर्यटन प्रवद्र्घनमा स्मार्ट प्रविधिहरूको विकास गर्दै लाने उद्देश्य राखेका छन् । तीमध्ये केही प्रोजेक्टहरू तल उल्लेख गरिएका छन् ।
नेपल्समा सञ्चालित अर्केस्ट्रा प्रोजेक्ट (Or.C.He.S.T.R.A. (Organization of Cultural Heritage and Tourism for Real-Time Smart Accessibility) ले पर्यटकहरूको लागि स्मार्ट एप्लिकेशन उपलब्ध गराउँदछ । उक्त एप्लिकेशनमार्फत नेपल्स घुम्न आउने पर्यटकहरूलाई त्यहाँको सांस्कृतिक सम्पदाहरू चिनाउने, भ्रमणको योजना बनाउने, पथ प्रदर्शन गर्नुका साथै मौसमसम्बन्धी जानकारी गर्ने, शहरमा उपलब्ध पर्यटकहरूलाई सेवा सुविधाबारे जानकारी दिलाउने तथा शहरमा हुने गरेका विभिन्न गतिवधिहरूको जानकारी गराउँदछ । पर्यटकहरूको लागि मात्रै नभई स्थानीय जनताले समेत यसको प्रयोग गरेर आफ्नो व्यापार व्यवसाय बढाउन फाइदा लिन सक्दछ । साथै स्थानीय सरकारले पर्यटकहरूको लगत राख्ने, उनीहरूको भ्रमण तालिकाअनुसार दिनुपर्ने सेवा सुविधाहरूको बन्दोबस्त गर्ने, पर्यटकहरूको भ्रमण अवधिभर अनुगमन गर्ने तथा पर्यटकहरूको भ्रमणबाट शहरी जनतालाई लाभाम्वित बनाउन योजना निर्माणमा सघाउ पु¥याउन यसले मद्दत गर्दछ ।
The Di.C.E.T. project (Living-Lab for Culture and Technology) प्रोजेक्टले इटालीका विभिन्न ऐतिहासिक शहरहरू जस्तै लिसि, क्याटानिया , एग्रिजेन्टो, सिराक्युसा र सेन्च्यूरिप (Lecce, Catania, Agrigento, Siracusa and Centuripe)मा सम्पदा र प्रविधिको समिश्रणसहित दुवैको प्रत्यक्ष अनुभव गर्न मिल्ने जीवन्त म्युजियमको निर्माण गर्नेछ । पुरातात्विक महत्वको शहरहरूलाई प्रविधिमार्फत प्रत्यक्ष अनुभव गर्न मिल्ने जिवन्त प्रयोगशाला बनाइनेछ, जहाँ पुरातात्विक खोजहरूलाई समेट नयाँ स्वरुप दिने, 3D visualization र मोडलिङमार्फत जीवन्तता दिने उद्देश्य यो प्रोजेक्टको रहेको छ । साथै यसले शहरको भौगोलिक अवस्था, कला संस्कृति र ऐतिहासिक घटनाक्रमहरू सहितको डेटा तथा सूचना विभिन्न मोबाइल एप्स तथा Open source format मा सर्वसाधारण जनता तथा अनुसन्धानकर्ताहरूलाई सहज रुपमा उपलब्ध गराउने छ । निश्चित ढाँचामा प्रकाशित हुने Open Source format मा रहेका डेटाहरूको पुनः प्रयोग गर्ने तथा त्यसलाई आवश्यकताअनुसार उपयोग गर्न सकिन्छ ।
The In.Mo.To. project (Information & Mobility for Tourism) ले क्यालब्रिया शहरमा पर्यटन आवगमनसम्बन्धी सूचना प्रणालीको विकास गर्नेछ । यसमा त्यहाँका विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थाहरूको संलग्नतामा यस्तो प्रणालीको विकास गर्नेछ ।
In.Cul.Tu.Re. project (Innovation in culture in tourism and Restoration) ले पुरातात्विक सम्पदाहरूको अध्ययनको लागि प्रयोगशालाको निर्माण गर्नेछ ।
त्यसैगरी Smart2Museums प्रोजेक्टले शहरभित्रै नै एउटा virtual museum को परिकल्पना गरेको छ । यस्तो म्युजियम हेर्न आउने पर्यटकहरूलाई मोबाइल एप्सहरूमार्फत पथप्रदर्शन गर्ने तथा जानकारीहरू उपलब्ध गराई सहयोग गर्दछ । यस्ता एप्सहरूको प्रयोग गरेर शहर बाहिरै रहेर पनि म्युजियम घुम्न पाउनेछ ।
चीन
चीनमा पनि स्मार्ट सिटीको अवधारणाअनुरुप विभिन्न शहरहरूमा काम हुँदै आएको छ । जस्तै ः सन् २०१२ बार्सिलोना, स्पेनमा सम्पन्न स्मार्र्ट सिटी एक्स्पोसम्बन्धी विश्व सम्मेलनमा हुबेई प्रान्तको राजधानी शहर उहानका उपमेयर स्याओ विमिनले आफ्नो शहरलाई पहिलो स्मार्ट सिटी बनाउने उद्देश्य रहेको बताएका थिए । यो शहरले विश्वमा पहिलोपटक स्मार्ट सिटीको डिजाइन गराउन ग्लोबल टेण्डर पनि आह्वान गरेको थियो । सन् २०१५ सम्ममा प्राविधिक पूर्वाधारहरू तयार गर्ने र सन् २०२० सम्ममा स्मार्ट सिटी बन्ने तयारीमा रहेको छ यो शहर । जसअनुसार यसले नगरपालिकाका सम्पूर्ण प्रशासकीय कामहरू एवं जनतालाई दिने सेवा सुविधाहरूलाई चौबिसै घण्टा प्रदान गर्न थालिसकेको छ । साथै खाद्यान्नको सुरक्षा जाँचको लागि कम्प्युटर कोडको व्यवस्थापन गर्ने तथा खानेपानीको स्रोतको अनुगमन तथा परीक्षण गर्ने प्रविधिहरू सञ्चालनमा आइसकेको छ ।
त्यसैगरी सिन्च्यिाङ प्रान्तको कारमे (Karmay) शहरमा पनि स्मार्ट सिटीको विकास भइरहेको छ । त्यहाँका मेयर चेन सिन्फाले चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं राष्ट्रिय सभामा “प्रविधिमात्र प्रविधिको लागि नभई त्यसलाई शहरको हरेक जनजिवनसित जोडिनुपर्दछ र त्यसले जनताको जीवनलाई थप सहज बनाउनुपर्दछ” भनेका थिए । स्मार्ट सिटीले आफूजस्ता शहरका नेताहरूलाई शहरको व्यवस्थापन तथा आपतकालीन अवस्थामा तत्काल गर्नुपर्ने काम गर्न मद्दत गर्दछ । कारमे शहरको लागि यो भविष्य नभई अहिले वर्तमान बनिरहेको छ । उक्त शहरले सन् २०१२ अगष्ट महिनामा आई. वि. एम. कम्पनीसित मिलेर संयुक्त रुपमा स्मार्ट सिटी बनाउने कार्यक्रम घोषणा गरेको थियो ।
आई वि. एम. कम्पनीले स्मार्ट सिटीको प्रस्तावअनुसार स्मार्ट सिटीमा इन्टरनेट अफ थिङ र क्लाउड कम्युटिङ प्रविधिहरू प्रयोग गरेर शहरको यातायात, स्वास्थ्य, जनताको सुरक्षालगायत विभिन्न क्षेत्रमा प्रविधिमैत्री विकासहरू गर्न मद्दत गर्नेछ ।
मेयरका अनुसार कारमे शहरमा अहिले प्रत्येक बस स्टेशनहरूमा विद्युतीय स्क्रीनहरू राखिएका छन् । नयाँ प्रविधिसँगै यात्रुहरूले कुन बस कहिले आइपुग्छ भनी हेर्न सक्छन् र यात्रुहरूले आफ्नो मोवाईलमा समेत त्यसको जानकारी हासिल गर्न सक्छन् । त्यसैगरी वृद्घवृद्घाहरूले घरमै बसेर कुनै बटन थिचेको भरमा नजिकैको प्राथमिक उपचार केन्द्रलाई जानकारी पुग्ने र तत्काल उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी शहरमा बेरोजगारीको सङ्ख्या बढेमा स्थानीय सामाजिक सुरक्षा प्रणालीले तत्काल अधिकारीहरूलाई सूचित गर्नेछ । यसले सरकारी अधिकारीहरूलाई त्यससम्बन्धी तथ्याङ्क बनाउन, कागजात तयार गर्न, बैठकहरूमा सहभागी भइराख्ने झन्झटबाट मुक्त भएर अन्य काममा लाग्न समय प्रदान गर्नेछ ।
अहिले करामे शहरभरि नै विद्युतीय तर·को माध्यम (Wireless communication) बाट सञ्चार कार्य सुरु भइसकेको छ ।
स्मार्ट सिटीको निर्माणमा कति खर्च लाग्नेछ ?
संसारका केही विज्ञहरूका अनुसार सन् २०२५ भित्रमा संसारका ३४ वटा सहरहरूमा १ करोडभन्दा पनि बढी जनसङ्ख्या हुनेछ । तिनीहरूको लागि विश्वको सम्पूर्ण ऊर्जाको झण्डै २÷३ हिस्सा आवश्यक पर्नेछ । शहरका जनताले थप ८० विलियन मेट्रिक टन पिउने पानी माग गर्नेछन् । त्यसबेला तिनीहरूका लागि स्वच्छ वातावरण, आवगमनमा सहजता र राम्रो जीवनस्तर नै ठूलो चुनौती बन्नेछ ।
अमेरिकी स्मार्ट शहरहरूले मात्रै पनि यस्ता समस्याहरू समाधान गर्न २० वर्षभित्रमा झण्डै ४१ त्रिलियन अमेरिकी डलर खर्च गर्ने विज्ञहरूले अनुमान गरेका छन् । यति धेरै खर्च उनीहरूले वस्तुहरूको इन्टरनेट ९क्ष्यत्० प्रविधिको लागि खर्च गर्नेछन् । यो प्रविधिले स्वच्छ हावा, पिउने पानी, यातायात, ऊर्जा, सञ्चार एवं स्रोत साधनको वितरण र उपयोग व्यवस्थित गर्नेछ । त्यतिमात्रै नभई यस प्रविधिले मान्छेको जिवनशैलीमा ठूलो परिवर्तन ल्याउनेछ ।
विज्ञहरूका अनुसार स्मार्ट सिटीको लागि सन् २००५ देखि सन् २०१५ सम्ममा मात्रै अमेरिकी शहरहरूको बजेट ०.७ बाट बढेर ४.१ प्रतिशत पुगिसकेको छ । स—साना नगरपालिकाहरूले समेत यसका लागि ठूलो लगानी गरेका छन् । डिजिटल सरकारको केन्द्रले सन् २०१६ मा अमेरिकी शहरहरूले ५२.४ विलियन अमेरिकी डलर खर्च गर्ने अनुमान गरेको थियो । सन् २०१६ मा मात्रै उक्त प्रविधिका लागि सङ्घीय सरकारले ८९.८ विलयन डलर खर्च गर्ने अनुमान गरेको थियो ।
भारतमा १०० वटा स्मार्ट सिटी निर्माण गर्न सन् २०१५ देखि सन् २०२० सम्म ३१ विलियन अमेरिकी डलर खर्च हुने जिनोभ नामको कन्सल्टेन्सीको एक अध्ययनले जनाएको छ । कूल लागतको १.५ देखि २ विलियन अमेरिकी डलर नयाँ प्रविधिमा खर्च हुने र सोअन्तर्गत सबैभन्दा बढी यातायात र उर्जामा मात्रै ८७० देखि ९५० मिलियन अमेरिकी डलर अथवा कूल ३३ प्रतिशत खर्च हुनेछ । त्यसैगरी १९ प्रतिशत खानेपानी तथा सरफाइमा, सरकारी कामकाजमा १३ प्रतिशत, फोहरमैला व्यवस्थापनमा २ प्रतिशत गरि ६८५ मिलियन डलरभन्दा बढी खर्च लाग्नेछ ।
संसारमा निजी क्षेत्र र सरकार दुवैको लगानी र प्रयासमा यसको लािग आवश्यक स्रोत जुटाउने कार्यहरू भइरहेका छन् ।
नेपालमा स्मार्ट सिटी
संसारमा भइरहेको स्मार्ट सिटीसम्बन्धी केही जानकारीपछि नेपालमा पनि नयाँ स्मार्ट सिटी बनाउने या भएको पुरानो ऐतिहासिक शहरहरूलाई व्यवस्थित गर्दै स्मार्ट बनाउँदै जाने छलफल गर्नु सान्दर्भिक होला ।
नेपाल सरकारले लुम्बिनी, निजगढ र गोरखाको पालुंगटार क्षेत्रमा स्मार्ट सिटीको विकास गर्नको लागि गुरु योजना बनाउन कन्सल्टेन्टहरू हायर गर्ने समाचारहरू प्रकाशित भएका छन् । सरकारले यस आर्थिक वर्ष रु. १.४ विलियन रकम विनियोजन गरेको छ । सरकारले झण्डै रु. १४५ मिलियन रकम स्मार्ट सिटी निर्माणको लागि पूर्व तयारी गर्नमा खर्च गर्ने लक्ष्यराखेको छ । सन् २०१२ बाटै नेपालमा स्मार्ट सिटीको कुरा चले पनि सरकारले यी ३ वटा शहरहरू सन् २०३३ भित्र बनाउने लक्ष्य राखेको छ ।
त्यसैगरी काठमाडौं उपत्यकाभित्र पनि ४ वटा नयाँ स्मार्टसिटीहरू बनाउने मन्त्रीपरिषद्ले निर्णय गरिसकेको छ । यसमा सरकारले १० विलियन र निजी क्षेत्रले ४० विलियन रकम आगामी ५ वर्षमा खर्च गर्ने कुरा चलेको देखिन्छ । अहिले काठमाडांै उपत्यकाभित्र स्मार्टसिटीले समेट्ने भनिएका शहरहरू यस प्रकार छन् ।
१) मूलपानी क्रिकेट मैदानबाट साँखु जाने मूलसडक, शालीनदी पुलबाट तेलकोट, खरिपाटी सैनिक ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा भएर पुनः मूलपानी क्रिकेट मैदान ।
२) भक्तपुरकै सूर्यविनायक ज·लको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार, पुनः सूर्यविनायक ।
३) खोकना, बु·मती, सैंबु आवास क्षेत्र, बागमती झोलुंगे पुल हुँदै चोभारसम्म ।
४) तारकेश्वर जाने मूलबाटो, सिम्लेश्वर, झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्म ।
काठमाडांै शहरको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै स्रोत साधनको उचित व्यवस्थापनको लागि यी शहरहरू बनाउने सरकारको तयारी देखिन्छ । त्यसैगरी काठमाडौंमा सम्पूर्ण सुविधाहरू सहितको स्याटेलाइट सिटी निर्माण गर्ने पनि समाचारहरू पढ्न पाइन्छ । तर स्मार्ट सिटी बनाउने सरकारको काम भने कछुवाको भन्दा कम गतिमा अघि बढिरहेको छ ।
जनताको समस्या प्रमुख
काठमाडांै उपत्यकामा खाली जग्गा पाएसम्म स्मार्ट सिटी बनाउने अनि देशभरका हुनेखानेलाई काठमाडांैमा ल्याएर राख्दैमा यो शहर स्मार्ट बन्नेवाला पनि छैन । त्यसले थप जटिलता ल्याउन सक्ने र स्रोत साधनको व्यवस्थापनमा कठिनाइ बढाउँदै लाने देखिन्छ ।
नयाँ शहरहरू थप्नेभन्दा पनि यहाँका पूराना तथा ऐतिहासिक महत्वका शहरहरू व्यवस्थित गर्दै पूर्वाधारहरूको निर्माण गरिनुपर्दछ । विश्वमा भइरहेको स्मार्टसिटीको सफलता र असफलताबाट सिकेर हाम्रो देशमा पनि सर्वप्रथम जनताका आवश्यकताहरू पूरा गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।
संसारमा स्मार्ट सिटीका सम्बन्धमा भएका अभ्यासहरू सबै सफल छन् भने होइन । कति देशहरूमा स्मार्ट सिटीका नाममा खरबौं डलर खर्च भएपनि ती शहरहरू व्यवस्थित हुन सकेका छैनन् । त्यसमाथि अति महँगा यस्ता शहरहरू बहुमत गरिब जनताका पहँुचमा हुने कुरै भएन ।
त्यसैले प्रविधियुक्त शहर बन्न समय लाग्लान् तर नयाँ बन्ने तथा पुराना शहरमा बहुमत जनताको आधारभूत आवश्यकताहरू शिक्षा, स्वास्थ्य, सरसफाई, ढल निकास, स्वच्छ पिउने पानी तथा यातायातको राम्रो व्यवस्था गर्न सकेमा नयाँ प्रविधि भित्याउन वा विकास गर्न धेरै समय लाग्दैन ।
स्मार्टसिटीको लागि ठूलो लगानी आवश्यक भएपनि स्मार्टसिटी बनाउन विदेशीको लगानी कुरेर बस्नु पनि उचित होइन । विदेशी योजना र प्रविधिको आशमा बन्ने स्मार्ट सिटीहरू विदेशीहरूको लागि प्रयोगशालामात्र बन्नेछ ।
त्यसकारण हाम्रो देशमा स्मार्ट सिटी बनाउने हो भने सबभन्दा पहिला देश सञ्चालन गर्नेहरू स्मार्ट हुनु आवश्यक छ । स्मार्ट शब्द आफैले आवश्यकताअनुरुप तत्काल विवेकपूर्ण निर्णय गर्न सक्नेलाई जनाउँछ । जहिलेसम्म विदेशीले भनेअनुसार नेताहरूले काम गर्छन् त्यसले स्मार्टभन्दा पनि दिमाग नभएको रोबोट मात्रै बनाउने छ ।
अन्तमा, बहुमत जनताको आधारभूत आवश्यकताहरू पूरा गर्ने र जीवनतस्तर उकास्ने शहर नै स्मार्ट सिटी हो । राजनैतिक इच्छाशक्ति र इमानदारीता भएमा देशमा उच्च प्रविधियुक्त शहर बन्न धेरै वर्ष पनि नलाग्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *