नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
केही वर्षदेखि म काठमाडौँ उपत्यकाका नेवारहरूको धर्म, संस्कृति र रीतिरिवाज बारेका पुस्तकको अध्ययन नगरी बाहिरी गतिविधिबाट केही बुझ्न कोसिस गर्दै छु । दुई चार वर्षको अध्ययनले नेवार कुनै एक जाति नभई विभिन्न जातजाति र भाषाभाषी मिलेर बसेको विविधतायुक्त समुदाय भनियो भने बढी उचित देख्छु । त्यसका केही आधारहरू निम्न हुन् –
एक, नेवारहरूमा धर्ममाथि ठूलो आस्था हुँदाहुँदै हिन्दू धर्मालम्बीहरूले बुद्धको पूजा गर्छन् र बुद्ध धर्म मान्नेहरूले पनि हिन्दू परम्पराको चाडपर्व पनि मानेको देख्छु ।
दुई, नेवारलाई एक जाति मानौँ भने सामाजिक सम्बन्धमा वर्तमान नयाँ पुस्ता क्षेत्री–बाहुन, मधेसी–पहाडी, क्रिश्चियन र मुसलमानहरूसँग पनि बिहावारी गरेको देखिएको र सुनिएको जानकारी छ । पहिले अर्थात् २०–३० वर्षसम्म नेवारहरूकै माझमा आपसमा विभिन्न पेशा र सामाजिक स्तर एवम् धर्मको कारण युवाहरूको समेत आपसमा विवाह हुन्नथ्यो । अब त्यो परम्परा भनूँ वा कट्टरतामा परिवर्तन आएको छ ।
तीन, यसमा विद्यालय शिक्षा वा विश्वविद्यालयको नेपाली भाषा नीतिले धेरै काम गरेको देखिन्छ । अङ्ग्रेजी र अन्य विदेशी भाषा र साहित्यले सुसंस्कृत परिवारमा जातको पर्खाललाई खुकुलो पारेको अनुभव हुन्छ । यसलाई विदेशमा गएर काम गर्ने भएको कारण नयाँ पुस्ता पुराना घर–घरमा समेत सबै धर्म, संस्कृति र रीतिरिवाजमा ‘सर्वत’ जस्तै सबै मिसिएको देखिन्छ । फरिया, चोलो र पछ्यौरी महिलाहरूका पहिरनमा पूरै पश्चिमी शैलीको पहिरनले काठमाडौँ उपत्यका छ्यासमिस भएको देखियो । हिजोको एकरूपता सबै समाप्त भई ‘बहुरूपी’, ‘झिलीमिली’ र ‘विविधतायुक्त’ देखियो ।
चार, श्रेष्ठ र शाक्य, बाहुन र क्षेत्री, मध्यम वर्ग र किसान, मानन्धर र किसान, प्रजापति र भौकाजी (मध्यम वर्ग), ब्राह्मण र किसान, खत्री (केसी) र श्रेष्ठ आदि सबै बिच सामाजिक सम्बन्ध जोडिँदै छ । तर, पृथ्वीनारायण शाहले ‘मित’ माथि हमला गरेको इतिहासलाई ‘विश्वासघात’ को रूपमा लिएको हुँदा नेपाली काङ्ग्रेस, एमाले, समाजवादी (माधव नेपाल र झलनाथ खनाल), एमाओवादी, राप्रपा, मधेसवादी दलका नेता र कार्यकर्ताहरूबिच विवाह भए पनि त्यसलाई परम्परागत नभई ‘प्रेम विवाह’ भनियो । त्यो पनि सा¥है कम १० हजार परिवारमा एक जोडी पनि मुश्किलले होला । यसको अर्थ ‘विश्वास’ र ‘विश्वासघात’ को राजनीतिको तिक्तता पुस्तौँसम्म रहँदै छ । तर, आर्य र खस शासक जातिमा त्यस संवेदनशीलतालाई ‘अचानोको चोट खुकुरीलाई के थाहा’ भन्ने उखानको अनुभव गर्छन् – नेवारहरू । हत्या गर्ने बगरेको पेसा हो धोका खाने प्राणीले त्यसलाई बुझ्ने गर्दैन ।
अन्तरजातीय सामाजिक सम्बन्धको कारण विद्यालय, कलेज र विश्वविद्यालय, कार्यालय र अस्पताल एवम् प्रवासको अध्ययन र जीवनको कारण सामन्ती संस्कारलाई पुँजीवादी समाजले विजय पाएको भन्नु बढी उचित हुन्छ । त्यसमा पुरानो संस्कार भन्दा भौतिक कारण र बस–उठ बढी उचित हुन्छ ।
नेवारहरू व्यापारी हुनुको कारण तिनीहरू सबैसँग बस–उठ भएकैले सामाजिक सम्बन्धमा सबैसँग महत्वपूर्ण मानौँ भने नेवारहरू २०–३० वर्षदेखि व्यापारमा कमजोर हुँदै आएको, जिल्ला–जिल्ला र महत्वपूर्ण नगरहरूमा पनि स–साना व्यापारमा सीमित हुँदै गए । राष्ट्रिय स्तरको व्यापार व्यवसायमा मारवाडी, क्षेत्री, बाहुन, थकाली आदि जाति अगाडि बढेको प्रस्ट छ ।
त्यस्तै बैङ्क, परराष्ट्र क्षेत्र, सरकारी कार्यालय, शिक्षा र साहित्यमा पनि नेवारहरू निख्रिँदै छन् भनिन्छ । आजकल उपत्यका र बाहिरका युवा नेवारहरू टीभी, रेडियो वा अन्य क्षेत्रका दोस्रो दर्जा र तेस्रो दर्जाका प्राविधिक क्षेत्रमा सीमित देखिए । काठमाडौँ उपत्यकामै नेवारहरू अल्पमतमा पुगे ।
यस्तो स्थिति देखिनुमा व्यवहारमै नेवारहरू एक जातिको नभई विविध भाषा–भाषीहरू र धर्मालम्बीहरू काठमाडौँ उपत्यका आई बसोबास गरे । त्यसबेला नेवारी भाषा त्यहाँको प्रचलित भाषा भएको हुँदा सबै जातजातिका जनताले नेवारी भाषा बोल्थे । तर, संस्कृति, रीतिरिवाज, धर्म र भाषामा समिश्रण हुँदै गर्दा मौलिकता हराउँदै नेवार समुदायमा जाति, भाषा, धर्म एवम् पेसाले अर्थात् श्रम विभाजनले जातमा रूपान्तरण भयो । पोडे, गाइने (गन्धर्व), खड्गी, कुसले दिवाकर (चालं) आदि भारतबाट आएका राजा महाराजाहरूसँगै पुगेका थिए । चित्रकार, ताम्राकार, शिलाकार, शिल्पकार आदि पनि लिच्छवी र मल्ल राजाहरूसँगै आएको अनुमान गर्छन् । त्यस्तै तलेजु वा मल्ल राजाका दरबारहरूसँग सम्बन्धित कर्मचारीहरू पनि कामअनुसारको नाम वा ‘श्रम विभाजन’ सँग जातमा मेल खान्छ ।
पहाडी गाउँका दमाई, सार्की र दर्जीजस्तै तराईका गाउँमा श्रम विभाजनका जातहरू काठमाडौँ उपत्यकामा थिएन । तराईमा डोम, दुसाद, चमार, मुसहर, खतबे, धानुक, बरही आदि श्रम विभाजनको रूपमा जातिको नाम देखिन्छ । तराईको ‘डोम’ काठमाडौँको च्यामे र पोडेसँग मिल्दोजुल्दो छ । पानी नचल्ने र खेती गर्ने, बाँध बनाउने र माटोको काम गर्ने मुुसहर जाति तथा ‘खतवे’ र ‘चेतमा’ पनि त्यही श्रेणीमा आउँछ । चमार (सार्की) ले मरेको गोरु वा पशु फ्याक्न जाने, ढोल बजाउने र जुत्ता बनाउने काम गर्छन् । नेपाल तराईका यी जातिहरू भारतका सीमाका जातिहरूसँग एकरूपता देखिन्छ ।
यसरी नेवार अब एक निश्चित जाति नभई एक समुदाय देखियो । तर, एउटा प्रश्न उठ्छ– नेवार के हो त ?
जुन ठाउँको विषयमा चर्चा गर्छौँ, त्यस ठाउँको भाषा र स्थानबारे अवश्य ध्यान दिनु जरुरी हुन्छ । नेवारी भाषामा आफ्नो देशलाई ‘नेपा दे’ भन्ने गर्थे । ‘ने’ को अर्थ ठाउँलाई सङ्केत गर्छ । ‘थने’ ‘कोने’ अर्थात् ‘माथिल्लो ठाउँ’ वा ‘तल्लो ठाउँ । ‘पॉ को अर्थ – पालुगु अर्थात ‘भिरालो’ । ‘नेपा’ को अर्थ ‘भिरालो ठाउँ’ र ‘दे’ को अर्थ देश, नगर वा ठाउँ हो । यसरी ‘नेपा’ लाई नेपाली र अन्य भाषामा ‘ल’ थपेर नेपा ं ल . नेपाल भनियो ।
नेवारी भाषामा ‘प्वाल’ र ‘दुलो’ लाई ‘प्वा’ शब्द प्रयोग हुन्छ । ‘ल’ जोडिँदा ‘झ्याल’ तथा ‘सुकु’ को अर्थ गुन्द्री जस्तो भुइँमा ओछ्याउने परालले गुन्द्रीलाई नेपाली भाषामा ‘सुकुल’ भनियो । ‘तोन सिं’ लाई नेपाली भाषामा ‘टुँडाल’ भनियो । एवम्रितले ‘बैग’ लाई बैगल ‘लुखा’ लाई ‘ढोका’ भनियो र ‘कौसी’ लाई ‘कौसी’ नै भनियो ।
तामाङ भाषामा आज पनि भक्तपुरलाई ‘ख्वप’ र ‘खोपृङ’ भनिन्छ भने काठमाडौँ र पाटनलाई ‘ये’ र ‘यल’ भन्ने गरिन्छ । साथै तामाङ भाषा र तामाङ भाषाका अन्य शब्दहरू र व्याकरणमा समेत समानता देखिन्छ । त्यस्तै नेवारहरूमध्ये बोलीचाली भाषामा ‘ज्यापु’ भनिने समुदायको अनुहार पनि तामाङ र अष्ट्रो–एसियाली अर्थात् इन्डोनेसिया, मलेसिया, फिलिपिनीजस्तै दक्षिण–पूर्वी एसियालीहरूसँग मुखाकृतिमा समानता देखिन्छ । जस्तैः नाक, ओठ, आँखा र गालाको हाड एवम् आकारप्रकार र छालाको रङ्ग आदिमा समानता देखिन्छ ।
पोखरीरुपी काठमाडौँ उपत्यका पानी घट्दै गएसँगै तिब्बती, मङ्गोली र चिनियाँ समूहरूसँग स्थानीय नेवारहरूको समिश्रण इतिहासभन्दा पहिले नै भएको हुनुपर्दछ । यसकारण, नेवार जातिमा विविध वर्गका मानिसहरूको दर्शन हुन्छ । ऐतिहासिक कालमा भारतीय मूलका राजा–महाराजाहरू विभिन्न कारणबाट काठमाडौँ उपत्यका प्रवेश गरी भक्तपुर, काठमाडौँ, ललितपुर आदि पर्खालले घेरिएका सहरहरूको निर्माण गरेकोमा दुईमत नहोला । लिच्छवी र मल्ल राजाहरू विस्तारै नेवारहरूका राजाहरूको रूपमा स्थापित भए ।
यसरी नेवार ‘जाति’ एक जाति नभई विविध जातिमा एक समुदाय भन्नु उचित हुन्छ ।
Leave a Reply