भर्खरै :

असल नीति र नेतालाई नछानी विकासको आश्वासन माग्नु गलत

असल नीति र नेतालाई नछानी विकासको आश्वासन माग्नु गलत

आमनिर्वाचन २०७९ नजिकिएको छ । देशभर नै निर्वाचनको प्रचारप्रसार र चर्चा परिचर्चा भइरहेका छन् । निर्वाचन असल, सही उम्मेदवार र पार्टी छान्ने अवसर हो । तर, जानीबुझिकनै कतिपय राजनीतिक पार्टीहरूले निर्वाचनलाई विकासको आश्वासन बाँड्ने होड बनाएका छन् । राजनीतिको सही अर्थ नबुझेका मतदाताहरूले पनि मत माग्न आउने नेता–कार्यकर्ताहरूसित विकास र रोजगारको उधारो आश्वासन माग्ने मौका सम्झेका छन् । कतिपय पत्रकार र सञ्चारकर्मीहरूले जानीनजानी सांसदसित नीति र कार्यक्रम माग गर्नुभन्दा स–सानो विकासको मागलाई जनताको आवाज भनी प्रचारप्रसार गरिरहेका छन् । यसले देशमा गलत राजनीतिक प्रवृत्तिलाई प्रोत्साहित गर्ने देखिन्छ ।
शासक दलहरूले चुनावका अगाडि दिएका आश्वासनहरू केही प्रतिशत पनि पूरा गरिदिएका छैनन् । चुनाव जितेर सरकारमा पुगेका र प्रमुख प्रतिपक्षमा रहेका पार्टीहरूले पनि आफ्नो चुनावी घोषणापत्रअनुसारको नीति र ऐन कानुन बनाउन अलिकति पनि पहल गरेका छैनन् । बरू तिनीहरूले देश र जनताको हितविपरीत केही व्यापारीहरूको फाइदा हुने अनेक निर्णय गरेका छन् । निर्वाचनको यस मौकामा मतदाताहरू सचेत बनी कुन राजनीतिक पार्टीले आफ्नो निर्वाचन घोषणापत्रअनुसार भूमिका निर्वाह गरे र कुन कुन पार्टीले गरेका छैनन् राम्ररी मूल्याङ्कन गर्नुपर्छ र त्यसअनुसार कुन पार्टी र उम्मेदवारलाई मतदान गर्ने भन्ने कुरा तय गर्नुपर्छ ।
असल नीति भएको पार्टी र असल नेतालाई छानेमा गाउँठाउँको विकासमात्र होइन, सिङ्गो देशमै परिवर्तनको अनुभूति हुनेछ । दल होइन, उम्मेदवार रोजौँ भनी गरिएको प्रचार निर्दलीय व्यवस्थाका पक्षपातीहरूको मनशान्तिको लागि गरिएको प्रचारमात्र हो । आफ्नो पछाडि राजनीतिक दल वा सङ्गठित शक्ति नभएको उम्मेदवार जितेर पनि प्रतिनिधिसभा र प्रदेशसभामा सही भूमिका निर्वाह गर्न राम्रो काम गर्न कठिन हुन्छ । समाज र देशको परिवर्तनका लागि सही नीतिसहितको राजनीतिक दलकै उपस्थिति जरूरी छ । स्वतन्त्र उम्मेदवार भोलि जितिहालेमा स्वतन्त्र सांसदको मन र अडान बदलिन बेर लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *