भर्खरै :

के निर्वाचनलाई शैक्षणिक उपयोग गर्न मिल्दैन ?

के निर्वाचनलाई शैक्षणिक उपयोग गर्न मिल्दैन ?

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुनै पनि राजनीतिक दलले चुनाव प्रचारमा विद्यार्थीहरूलाई प्रयोग नगर्न निर्वाचन आयोगले चेतावनीसहित अनुरोध गरेको छ ।
एमालेबाट उम्मेदवार बनेकी कोमल ओली दाङको एउटा स्कूलमा गएर विद्यार्थीलाई चौरमा भेला गरी चुनाव प्रचार गरेको फोटोसहितको समाचार प्रकाशित भएपछि ओलीसित आयोगले स्पष्टीकरण लियो भन्ने समाचार पनि पढ्न पाइयो । आचारसंहिताको दृष्टिले त्यो कारबाही ठिक्कै हो । तर, निर्वाचनको वर्तमान वातावरण हेर्न विद्यार्थीलाई आगामी पाँच वर्ष कुर्नुपर्छ । विद्यालयीय पाठ्यक्रमको सामाजिक विषयअन्तर्गतका कतिपय पाठहरूको ज्वलन्त उदाहरण अहिले निर्वाचनमा प्रत्यक्ष देख्न सुन्न पाइन्छ । यो वातावरण त्यो शैक्षिक दृष्टिले सा¥है उपर्युक्त छ । यसलाई सामाजिक विषय शिक्षकहरूले उपयोग गर्नुपर्ने देखिन्छ ।
निर्वाचनको यो वातावरणलाई उपयोग गर्दा कुनै पनि राजनीतिक दलको पक्षधरता नलिई दलहरूको घोषणापत्र सङ्कलन गर्ने, घोषणापत्रहरूको अन्तरक्रिया गर्ने जस्ता क्रियाकलापहरू विद्यार्थीहरूबिच गराउँदा पाठ समसामयिक मात्र नभई प्रयोगात्मक पनि हुने देखिन्छ ।
विभिन्न दलका उम्मेदवारलाई बोलाई निश्चित नियमहरूको पालना गरी विद्यार्थीसँग साक्षात्कार गराए विद्यार्थीहरू अझ बढी शिक्षित हुने थियो । यस्तो अन्तरक्रिया गर्दा आ–आफ्नो दलको विचार शिष्टतापूर्वक प्रस्तुत गर्नुपर्ने हुन्छ । एउटा टीभीले सार्वजनिक स्थलमा उम्मेदवारहरूबिच झगडा गराउने धमलाको जस्तो हुनुहुँदैन बरु दिलभूषण पाठकको जस्तो हुनुपर्छ । कार्यक्रम विषय राजनीतिक भए पनि उद्देश्य शैक्षणिक हुनुपर्छ ।
एउटा टेलिभिजनले विद्यार्थीसँग मेयरको साक्षात्कार कार्यक्रम नियमितरूपमा गर्दै आएको छ । त्यो कार्यक्रममा निर्वाचन जितेर आएका एक मेयरसँग मात्र साक्षात्कार गराइयो । अहिले विभिन्न दलका उम्मेदवारहरूसँग साक्षात्कार गराउन पाए विद्यार्थीहरूमा तर्क, क्षमता र आलोचनात्मक दृष्टिकोणको विकास हुने थियो ।
यहाँ विद्यार्थी भन्नाले कम्तीमा कक्षा ८ देखि १२ सम्मका लाई उपर्युक्त देखिन्छ ।
कतिपय सामाजिक शिक्षकहरूले विद्यालयमा निर्वाचनको अभ्यास गरेको पनि देखिन्छ भने विद्यार्थीहरूलाई घोषणापत्र तयार गर्न लगाउनुपर्ने, वडाध्यक्ष, मेयर, उपमेयर, गापा अध्यक्ष–उपाध्यक्ष भएमा तपाईँ के गर्नुहुन्छ भन्ने जस्ता प्रश्नहरू परीक्षामा नसोधिएको पनि होइन । यस्तो प्रश्नको उत्तरमा केही कृत्रिमता पाइन्छ भने अब त्यस्तो अन्तरक्रिया गराइयो भने व्यवहारिक ज्ञान प्रत्यक्ष रूपमा सिक्न सिकाउन पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *