भर्खरै :

देश र जनताको पक्षमा नेमकिपा संसद्मा प्रखर प्रतिपक्ष हुने

देश र जनताको पक्षमा नेमकिपा संसद्मा प्रखर प्रतिपक्ष हुने

भक्तपुर, ८ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ अन्तर्गत भक्तपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले संसद्मा नेमकिपाले प्रखर प्रतिपक्षको भूमिकालाई निरन्तरता दिने बताउनुभएको छ ।
उहाँले संसद् र सडकमा देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयकको सशक्त विरोध गरेको स्मरण गर्दै फेरि ती र त्यस्ता देशघाती सम्झौता खारेज गराउन नेमकिपाले सङ्घर्ष गर्दै जाने बताउनुभयो ।
मतगणनास्थल नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाबाट बिहीबार प्रमाणपत्र ग्रहण गरेपछि मतदातालाई धन्यवाद ज्ञापन गर्दै निस्केको विजय ¥याली कमलविनायक, च्याह्मासिंह हुँदै नेमकिपाको केन्द्रीय कार्यालय गोल्मढीमा पुगी सभामा परिणत भएको थियो ।
नेमकिपाले देशभरका निमुखा कामदार जनता र पीडितहरूको पक्षमा निरन्तर आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दैै उहाँले फेरि जनताको सल्लाह, सुझाव र नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार इमानदारीपूर्वक जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
संसद् भनेको देशको नीति निर्माण र कानुन बनाउने थलो भएको बताउँदै उहाँले शासक दलहरूले संसद्मा छलफल नै गर्न नदिएर कुनै विधेयकमा हुन्छ वा हुँदैन भनी हात उठाउन लगाउनेविरूद्ध नेमकिपाले कानुनी सङ्घर्ष गरेको बताउनुभयो ।
सांसद सुवालले नेमकिपाप्रतिको जनविश्वासलाई कायम गर्दै जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसद्बाट मावि तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन, खाद्यान्नमा आत्मनिर्भर बनाउन, ऊर्जामा आत्मनिर्भर बनाउन हामीले आवाज उठाउने छौँ ।”
राष्ट्रिय पुँजीलाई उत्साहित गर्ने, विदेशी पुँजीलाई निरूत्साहित गर्ने तथा युवालाई स्वदेशमै रोजगारी दिलाउन नेमकिपाले संसद्मा आवाज उठाउने सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरूविरूद्ध सम्झौताहीन सङ्घर्ष गर्नेछौँ र ठूला भ्रष्टाचारी, चेलीबेटी बेचबिखन गर्ने गल्लावालहरू, महिला बलात्कारपछि हत्या गर्ने र मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने अपराधीहरूलाई मृत्युदण्ड दिने कानुन बनाउन सङ्घर्ष गर्नेछौँ । नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि र नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती खारेज गराउन सङ्घर्ष गर्नेछौँ ।”
सांसद सुवालले भन्नुभयो, “अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने, अमेरिकी सैन्य मोर्चा र नेपालको बिजुली भारत हुँदै सिङ्गापुरसम्म लैजाने एमसीसी सम्झौता र अमेरिकी सेनालाई नेपाली सैनिक ब्यारेक कब्जा गराउने एसपीपी सम्झौता खारेज गराउन सङ्घर्ष गर्नेछौँ ।”
“नेपालको सिमाना सुरक्षा र सार्वभौमिकता रक्षाको लागि सधैँ पहरेदार भएर जिम्मेवारी निर्वाह गर्नेछौँ† नेपाली भूमि कालापानीबाट भारतीय सेना फिर्ता पठाउन सङ्घर्ष गर्नेछौँ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य, भक्तपुर जिल्ला अध्यक्ष एवं भक्तपुर क्षेत्र नं. १ (ख) बाट बाग्मती प्रदेशसभा सदस्य निर्वाचित सुरेन्द्रराज गोसाईले बाग्मती प्रदेशसभामा गएको ५ वर्षको अवधिमा नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरेको र प्रदेश सरकारका कैयौँ जनविरोधी विधेयकहरूलाई फिर्ता लिन बाध्य पारेको बताउँदै देश र जनताको हितविपरीतका कार्य हुन नदिन सङ्घर्ष गर्दै जाने बताउनुभयो ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षले प्रतिपक्षको धर्म निर्वाह नगर्दा सरकार र सत्तापक्ष जनताका समस्याप्रति उदासीन रहेको चर्चा गर्दै उहाँले सुतेर बसेको सरकारलाई जगाउने र अनियमितता र कमिसनमा डुब्न लागेको सरकारलाई सजग बनाउने काम नेमकिपाले गरेको बताउनुभयो ।
मतदाताहरूप्रति धन्यवादज्ञापन गर्दै उहाँले मादल चिह्नमा अत्यधिक मतदान गरेर भक्तपुरका जनताले देशको राजनीतिक स्थिति बुझेका सचेत जनताको परिचय स्थापित गरेको बताउनुभयो ।
त्यस्तै भक्तपुर क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र (क) का उम्मेदवार मीनबहादुर बाटाले आफू केही सय मतले पराजित भए पनि जनताले दिएको ८ हजार बढी मतले आफूलाई निरन्तररूपमा देश र जनताको पक्षमा सङ्घर्ष गर्दै जान उत्प्रेरणा मिलेको बताउनुभयो ।
उहाँले मतदाताहरूप्रति धन्यवादज्ञापन गर्दै मत खेर नगएको बरू नेमकिपाका कार्यकर्ताहरूलाई अझ जनताको सेवा गर्न हौस्याएको बताउनुभयो ।
सभामा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपाको मादल चिह्नमा मतदान गर्नुहुने सबै मतदाता, सहयोगी र शुभेच्छुकहरूमा धन्यवाद ज्ञापन गर्नुभयो ।
मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्न शुक्रबार बिहान ९ः३० बजे चाँगुनारायण नपा वडा नं. ९ ताथली र वडा नं. ८ सुडाल तथा शनिबार भक्तपुर नगरमा धन्यवाद ¥याली हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *