भर्खरै :

अनुत्तरित जिज्ञासा

अनुत्तरित जिज्ञासा

गौरी कार्की र हरि शर्मा निजी विद्यालयका विद्यार्थी थिए । तिनीहरूले एउटै कलेजमा समाजशास्त्र पढे । विद्यालयमा पढ्दै गर्दा हरिको आमा बिरामी भएको कारण दुई–तीन वर्षसम्म उनको पढाइमा निरन्तरता रहेन । कलेज पढ्ने बेला हरि २६ वर्षका भए र गौरी २२ वर्षकी थिइन् । ती दुवैका आमाबुबा काठमाडौँ आएपछि सरकारी सेवाबाट अवकास प्राप्त भए । ती दुई परिवारको घरको दूरी पाँच मिनेटको थियो ।
गौरी र हरि धेरैजसो एकै साथ कलेज पुग्थे, एकै साथ फर्कन्थे पनि । सहपाठीहरू तिनीहरूलाई ‘एक परेवाको जोडी’ सम्झन्थे । चौथो वर्षको समय थियो, तिनीहरू कहिले गौरीको कोठामा बसेर पढ्थे त कहिले हरिको कोठामा । दिउँसो चार बजेतिर गौरीकी आमाले छोरीलाई बोलाउँथिन् र गौरी चिया र केही खानेकुरा एक सानो किस्तीमा लिएर आउँथिन् । हरिको कोठामा पढ्दा समेत ४–५ बजेतिर गौरीकी आमा चिया लिनू भन्दै हरिकी आमा चिया र खाजा किस्तीमा लिएर आउँथिन् । तिनीहरू कोठाको ढोका थुनेर चिया–चमेना गर्थे ।
उमेरअनुसार तिनीहरू मौसमी लुगा लगाउँथे । तिनीहरूको बाहिरी व्यक्तित्व तथा शृङ्गारमा कुनै खोट लगाउने ठाउँ थिएन । दुवै हँसमुख र फरासिला थिए । गौरी मृदुभाषी र हरि हाजिरीजवाफमा एक नम्बरका थिए । यस मानेमा ती जोडी कक्षाका चर्चित पात्रहरू थिए ।
दुवै परिवारका अभिभावकहरू छोरा–छोरीको जोडीमा ब्राह्मण र क्षेत्रीको बाधाबाहेक कुनै बाधा देख्दैनथे । तैपनि, तिनीहरू समाजमा पुरानो संस्कार गई नसकेको र काठमाडौँको नेवार टोल र चोकको प्रभावको पनि ख्याल राख्थे ।
साँच्चै तिनीहरू परेवाको एक जोडीजस्तै थिए – कक्षामा होस्, कलेजको सभा र कार्यक्रमहरूमा होस् । गौरी गीत गाउँथिन् र हरि गितार बजाउँथ्यो । वक्तृत्वकला प्रतियोगिता र साहित्य गोष्ठीमा पनि तिनीहरू छुट्दैनथे । साँच्चै त्यो जोडी कक्षामा मात्रै होइन कलेजकै एक शृङ्गार पनि थियो ।
रोमानी स्वभावका ती दुईको जोडी जाडो याममा एउटै सिरकमा गुटमुटिएर बस्थे । अभिभावकहरूलाई पनि त्यो व्यवहार पाच्य भइसकेको थियो । एक दिन साँझको ७ बजेको थियो, अचानक बत्ती निभ्यो । हिजोअस्ति जस्तै गौरी हरिको अँगालोमा थिइन् । दुवैले एक आपसमा चुम्बन साटासाट गरे । हरि उत्तेजित भयो र गौरीले ‘नाइँ हरि दाइ नाइँ’ भन्दै फुत्किन खोजिन् । हरि झस्कियो । ‘सरी, सो सरी भन्दै’ हरि उठ्यो । ‘मलाई माफ गर’ भन्दै हरि ढोका खोलेर बाहिरियो । बत्ती बल्यो तर हरि कोठामा फिर्ता आएन । एक घण्टापछि मुख धोएर गौरी पनि घर फर्किन् । त्यो अप्रत्याशित घटनाले उनी स्तब्ध थिइन् ।
लज्जाबोध तथा आफ्नो नियन्त्रण बाहिर गएको आफ्नै व्यवहारले हरि गल्दै थियो । १२ बजे रातिमात्रै ऊ घर फक्र्याे र आमाले ‘खाना खानुपर्दैन, किन ढिलो’ भनी अस्वाभाविक ढङ्गले प्रश्न गरिन् । ‘एउटा काममा गएको थिएँ, मैले बाहिरै खाना खाएर आएँ, आमा’ भन्दै हरिले ढोका थुन्यो र खाना नखाई सुत्ने कोसिस ग¥यो । गौरीले ओछ्यान र सिरक मिलाएर गएको देख्यो तर हरिले आफूलाई बत्तीको अगाडि उभिन मन लागेन, ऐनामा आफ्नो मुख हेर्न साहस गरेन । पश्चातापले गर्दा बत्ती निभाएर सुत्यो ।
भोलिपल्ट हरि बिहान पाँचै बजे घरबाट बाहिर निस्क्यो । ६ बजेभन्दा पहिले नै गौरीको घरमा पुग्ने हरि त्यो दिन कहीँ अन्तै गयो, कलेज पनि गएन । गौरी हरिलाई पर्खिँदै थिइन् । तर, ढिलो भयो भन्दै उनी पनि कलेज गइनन् । दुवैको भेटघाट भएन । दुवैलाई एक्लै कलेज जान अप्ठेरो लाग्यो होला । कक्षामा दुवैको हाजिरी देखिएन । सहपाठीहरू भने तिनीहरू परीक्षाको गम्भीर तयारी गर्दै गरेको अनुमान गर्दै थिए । “गौरी किन केही दिनदेखि देखिन नि ?” भन्ने आमाको प्रश्नको उत्तरमा हरिले उत्तर दिन्थ्यो, “उनी परीक्षाको तयारीमा छिन् ।” आमाको यस्तै प्रश्नमा गौरी उत्तर दिन्थिन्, “हरि लोकसेवा आयोगको परीक्षाको तयारीमा लागेका छन् ।”
२.
दुई महिनाभित्र कक्षामा गाइँगुइँ चल्यो– परेवाको जोडीको बारेमा । “हरि अमेरिका हान्यो रे, उता गौरी आफ्ना मामाकी छोरीहरूसँग अस्ट्रेलियामा छिन् ।” हल्ला सत्य साबित भयो । कारणबारे सबै अनभिज्ञ थिए । अनेक अड्कल एक महिनापछि सेलायो । सबै परीक्षामा लागे, कहिलेकाहीँ आपसमा चिया र चमेनागृहमा ‘परेवाको जोडी’ को कुरो उठ्थ्यो र सेलाउँथ्यो । बिस्तारै ‘परेवाको जोडी’ एकादेशको कथा बन्यो । हरेक दिन बज्ने मोबाइलको घण्टी पनि ४ महिनादेखि बन्द थियो ।
हरि अमेरिका पुगेको ठीक दुई महिनापछि एउटा नेपाली समाचारपत्रमा छापियो– ‘अमेरिकाको एक समाचारको सूत्रअनुसार २६ वर्षका हरिप्रसाद शर्मा नामका एक नेपाली युवकले आत्महत्या ग¥यो । प्रहरीले कारण पत्ता लगाउन छानबिन गर्दै छ ।’
त्यस घटनाको १५ दिनपछि अस्ट्रेलियाको एक समाचारलाई उद्धृत गर्दै एक नेपाली समाचारपत्रले लेख्यो– ‘२२ वर्षकी एक छात्राले सिडनीको एक पार्कमा दिउँसै आत्महत्या गरेको अनुमान छ । लास जाँचबाट उनको जीउमा कुनै नीलडाम र दुर्घटनाको कुनै खोट र प्रमाण छैन र कारण पत्ता लगाउन प्रहरीले सक्रियता बढाएको छ ।’
दुवै परिवारले शोकको बाढी खपे । रुँदै छर–छिमेकसँग हरिकी आमा भन्छिन्, “तिनीहरूको आत्माको शान्तिको निम्ति हरेक दिन दुइटा स–साना कपमा चिया र बिस्कुट कौसीमा राख्ने गरेकी छु ।” गौरीकी आमा कथा हाल्दै रुन्थिन्, “मेरी फूलजस्तै छोरीलाई के ताप आइलाग्यो भगवान्, कुन पापले आमाभन्दा छोरी पहिले गइन् .. ।”
टोल–छिमेक र कलेजमा पनि पुनः ‘परेवाको जोडी’ बारे चर्चा चल्यो र छात्र–छात्राहरू फरकफरक टोलीले आ–आफ्नो अड्कल काट्न लागे ।
३.
एक टोली विद्यार्थी दुवैको घरमा गएर बुबा–आमालाई सान्त्वना दिँदै ‘केही डायरी छ कि’ भन्दै दराजका पुस्तकहरू ओल्टाइपल्टाइ हेर्दै र टिपोट गर्दै बिदा लियो ।
त्यस टोलीको निष्कर्ष थियो– गौरी र हरि तिनीहरूको जन्मदिनमा आपसमा पुस्तकहरू उपहार दिने गर्थे । त्यसमध्ये बेलायती पुँजीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सेली राज्य क्रान्तिका चर्चित विद्वान र नेताहरूका जीवनीहरू थिए । पुस्तकहरू नेपाल प्रज्ञा प्रतिष्ठानका प्रकाशनहरू थिए । पहिलो र दोस्रो विश्वयुद्धका वैज्ञानिक, अर्थशास्त्री र चर्चित कूटनीतिज्ञ र नेताहरूको जीवनी थियो ।
विद्यार्थीहरूको दोस्रो टोलीले २–४ वर्ष पहिलेदेखि कै पुस्तकालयबाट गौरी र हरिले लगेका पुस्तकहरूको सूची तयार ग¥यो । त्यसमा धेरैजसो पुस्तकहरू ग्रीस, रोम र शेक्सपियरका दुःखान्त नाटकहरू एन्टोग्नी, राजा, इडिपस, जुलियस सिजर, म्याकवेथ, रोमियो र जुलियट, फ्रान्सेली र रुसी लेखकहरू बाल्जाक, चेखव, गोर्की दोतोस्वस्की आदिका नाटक, कथा र उपन्यासहरू थिए । ती सबै पुस्तकहरू पनि नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनका थिए ।
विद्यार्थीको तेस्रो टोलीले विश्वविद्यालयहरूको पाठ्यक्रममाथि नै आलोचनात्मक टिप्पणी ग¥यो । टोलीले परीक्षालाई नै केन्द्रित गरिएको भूगोल, इतिहास, अर्थशास्त्र, राजनीतिशास्त्र र नागरिकशास्त्रलाई बेवास्ता गरिएको र साहित्यलाई हेला गरिएको हुनाले विद्यार्थीलाई समाज र मनोविज्ञानबारे जानकारी नहुनु प्रमुख समस्या देखिएको निष्कर्ष निकाल्यो ।
विद्यार्थी युनियनले एक शोकसभाको आयोजना ग¥यो । तर, वक्ताहरूले दुई चार औपचारिक वाक्यबाहेक केही बताउन सकेनन् र कारण स्वयम् एक जिज्ञासा थियो । १५ मिनेटभित्र शोक सभा बिसर्जन भयो ।
तर, त्यो बिहानको शोकसभापछि एक दुई जनाबाहेक सबै विद्यार्थी चिया पसलमा नगई अँध्यारो र शोकको मुहार घर लिएर फर्कँदै थिए । मिल्ने छात्र र छात्राका जोडीहरू पनि कारण र जिज्ञासाबारे चिन्तित हुँदै निराश र गम्भीर देखिन्थे । मानौँ, त्यो कुनै मलामीबाट फर्केका लाम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *