भर्खरै :

हामी सोझा नेपाली

कथा
चुनावको हो–हल्लाको सिलसिलामा ‘स्वतन्त्र’ र ‘परतन्त्र’ तथा ‘राष्ट्रिय’ र ‘अराष्ट्रिय’ का अनेक शब्द र लाञ्छनाहरूमात्र लगाएर नपुगी प्रचारको बाहनमाथि समेत लात–जुत्ता र ढुङ्गा–मुढा गरेको तथा उम्मेदवार र उसका समर्थकहरूमाथि हातपातको घटनासमेत सुनियो । धम्कीको त कुरै भएन…. ।
अनेक राजनैतिक दल र तिनीहरूका प्रतिनिधिहरूले पञ्चायत कालमा ‘पञ्च’ र ‘मण्डले’ कल्गी पाएका थिए भने पछि काङ्ग्रेस, एमाले, एमाओवादी, मधेसवादी आदि भए । जसको जसको सरकार आयो, उसका उसका कार्यकर्ता भए । तिनीहरू नै सक्कली ‘प्रजातन्त्रवादी’, ‘समाजवादी’ र ‘कम्युनिस्ट’ भनिए ।
हिजो पार्टी प्रवेश गर्न आएका जतिलाई टीको लाएर प्रजातन्त्रवादी र कम्युनिस्ट बनाएका नेताहरू नै आज ती पार्टीहरूमा छैनन् । २०४६ सालमा केही पार्टीका नेताहरू जेलमै थिए र मौका पाएर खाँटी कम्युनिस्टहरू ती जिल्लाहरू पुगेर ‘पार्टी, जनता र कार्यकर्ताहरू नेताविहीन भएर बस्नु हुँदैन’ भनेर गोहीको आँसु झारे । सरल जनता र कार्यकर्ताहरूले तिनीहरूको कुरा पत्याए । जनसभामा ती नेताहरूले मञ्चबाट बोले, “हामी सबै वाम मोर्चाका हौँ, हामी सबै एकै हौँ ।”
ताली बज्यो । जनता र कार्यकर्ता खुसी भए, मेलमिलाप त राम्रै हो । एक दुई हप्ताभित्र त्यस्तै अर्काे मञ्च बन्यो । तिनीहरूले भाषण गरे– ‘हामी सबै वामपन्थी हौँ । यसकारण, हामी सबै वामपन्थी एमाले हौँ र एमाले सबै वामपन्थी हौँ ।’ सरल र छिटो समाजमा परिवर्तन चाहने अन्य वाम पार्टीका सोझा कार्यकर्ताहरूको नाम बोलाउँदै, टीका लगाउँदै र फूलको माला लगाउँदै उपस्थितिमा हस्ताक्षर गराए । ती छिटो क्रान्ति चाहने जनता र कार्यकर्ताहरूले कागजको व्यहोरा पढेका थिएनन् । त्यसमा अर्कै एक ‘वामपन्थी’ पार्टीको सदस्यता भएको व्यहोरा थियो । सानो पार्टीबाट ठूलो पार्टीमा गएकोमा कोही खुसी भए । तर, टीका लगाउने नेताको नाम त मन्त्री भएको समाचारमा सुने । कार्यकर्ता मुखामुख गरे ।
नेताहरू जिल्ला–जिल्लामा गएर सम्झाए– संसारमा ठूलो परिवर्तन आयो, खु्रश्चेभ र गोर्भाचोभ व्यावहारिक नेताहरू हुन् । पैसा बाँडेपछि र गाउँ तथा जिल्लाका पार्टीका पदाधिकारीहरू बनाएपछि कार्यकर्ता मख्ख परे । कति नेताहरू आएर विदेशमा गएर काम गर्दा ‘डलर’ ज्याला पाउने बताए । एक ‘डलर’ को सय रूपैयाँ पाएपछि सबै नेपाली समृद्ध हुने मन्त्र सुनाए । आमाबाबु पनि खुसी भए ।
कार्यकर्ताका बूढो बाबुलाई नेताले सम्झाए– ‘काका, पिर मान्नुपर्दैन हामी छौँ, जानलाई पाँच लाख रूपैयाँ चाहिन्छ, हामी चार लाखमा मिलाउँछौँ र सानो टुक्रो त्यो खेत बैङ्कमा धितो राखेर हामी सबै मिलाउँछौँ ।’
राणाको पालामा पहिलो विश्वयुद्ध र दोस्रोयुद्धमा मर्न तयार हुने हामी ‘बहादुर’ नेपालीहरूलाई हाम्रा नेताहरूले सम्झाउँदा एउटा कागजमा सही छाप लगाउँदा के पो बित्ने हो के थाहा, त्यो ‘काका’ लाई ।
त्यसरी जनतालाई समृद्ध बनाउने नेता मन्त्री भए र आज त्यस्ता नेताहरू पनि एमालेमा छैनन् । कहाँ गए पत्तो छैन, गाउँ जाँदैनन्, तर काठमाडौँमा ठूला घर छन् तिनका । तिनीहरूले काठमाडौँकै नयाँ बुहारी लिएर बसेका छन्– छोराछोरीलाई माथि माथि पु¥याउने काममा सफल भएका छन् ती नेताहरू ।
तर, विदेश गएका कार्यकर्ताका बूढो बाबुले नेतासँग ‘खोइ छोरोको खबर त आएन नेता जी’ भन्दा ती नेता भन्छन्, “काम गर्दै होलान्, खबर पठाउन धेरै पैसा लाग्छ, काका पिर मान्नुपर्दैन । बरु सो खेत व्यक्तिको नाममा नामसारी गर्नुपर्छ, यहाँ सही गर्नुहोला ।” सोझो काकाले नयाँ कागजमा सही गर्छन् र खेत पूर्वमन्त्रीको नाममा नामसारी हुन्छ ।
१० वर्षदेखि कार्यकर्ताको खबर नआउँदा नेताले भने, पिर नमान्नुस् काका, मैले म्यानपावर कम्पनीलाई भनिसकेको छु, केही महिनामा घर फर्कला । बरु, अहिले चुनावमा ‘घण्टी’, ‘लौरो र छातामा छाप हाल्नु होला ।’ एक बटुको खुवाएपछि भनेको चिह्नमा छाप हाल्ने भयो । हामी नेपाली सरल, सोझा र बहादुर छौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *