नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
कुन राजनीतिक दलले कुन वर्गका जनताको सेवा गरिरहेको छ भन्ने कुरा व्यापक जनताले राम्ररी थाहा नपाएसम्म या सही मूल्याङ्कन नगरेसम्म देशको राजनीति सङ्लो हुनेछैन, बहुमत जनताको पक्षमा सरकारले काम गर्नेछैन । व्यापक जनता सचेत नभएकै कारण संसद्मा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल र दलका उम्मेदवारहरू जितिरहने छन् । तिनीहरू दलगत र व्यक्तिगत स्वार्थमा मात्र लाग्दैनन्, अल्पमतले बहुमतमाथि रजाइँ गरिरहेको हुन्छ । अहिलेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि पुँजीपति वर्गकै प्रतिनिधित्व गर्ने दलका उम्मेदवारहरू बढी जितिरहेका छन् । यसले व्यापक जनतामा अझै राजनीतिक चेत नभएको प्रस्ट पार्छ । देश र जनतालाई घात गर्ने, बहुमत जनतामाथि रजाइँ गर्ने, अरूलाई होच्याउने, जनतालाई विश्वासघात गर्ने दल र दलका उम्मेदवारहरूलाई जनताले किन बारम्बार जिताउँछन् ? समीक्षा गर्नु आवश्यक छ ।
प्रजातन्त्र, स्वतन्त्रता, अधिकार, सुख र समृद्धिको दुहाइ दिएर स्वार्थसिद्ध गर्ने या दलगत र व्यक्तिगत स्वार्थमा पल्कने दल र दलका नेता र उम्मेदवारहरूले जनतालाई छकाइरहेका छन् या झूटको खेती गरिरहेका छन् । देशको सार्वभौमिकता बचाउने र मुलुकका लागि मरिमेट्ने या सडक र सदमा सङ्घर्ष गर्ने दल र दलका उम्मेदवारहरूलाई जिल्ला–जिल्लाबाट निर्वाचित गराउनुपर्छ, निर्वाचित गर्न जनता लाग्नुपर्छ । यस्ता उम्मेदवारलाई धेरै सीटमा जिताउन जनता अझै चुकेका छन् । देशको मुहार फेर्न, भ्रष्टाचार, कमिसन नियन्त्रण गर्न देश र जनताप्रति समर्पित दल र दलका उम्मेदवारहरूको खाँचो छ ।
जनतामा राजनीतिक चेतना बढ्दै गएको यथार्थ हो । जनताले भ्रष्टाचारी, कमिसनखोर र डनका उम्मेदवारलाई पाखा पनि लगाएका छन् । तर, त्यो सबै जिल्लामा देखिरहेको छैन । कति जिल्लामा त्यस्तै भ्रष्टाचार र कमिसनमा लागेका दलका उम्मेदवारहरू जितेका छन् । एक समय स्वतन्त्र मधेसको नारा अघि सारेर देश विखण्डनमा पु¥याउन चाहने उम्मेदवार पनि यस निर्वाचनमा जितेका छन् । यसरी जनताले मन नपराएका उम्मेदवारहरू हार्लान् भनेरै ठूला र सत्तारूढ दलका नेता, मन्त्री र कार्यकर्ताहरूले सिद्धान्त र विचारको राजनीति गर्दैनन्, गरिरहेका छैनन् । पुँजीपति वर्गको नेतृत्व गर्ने दलले देशमा रजाइँ गरिरहेसम्म श्रमजीवी वर्गका जनताको कसरी भलो हुन्छ ? देशले कसरी सुशासन पाउँछ ? देशले कसरी निकास पाउँछ ? जनताले साँच्चै देश बनाउन र बहुमत जनताको हितमा लागेका दल र दलका उम्मेदवारहरूलाई छान्नुपर्छ, छान्न अघि सर्नुपर्छ । त्यसको निम्ति व्यापक जनतामा राजनीतिक चेतनाको खाँचो छ ।
Leave a Reply