भर्खरै :

आजदेखि नवदुर्गा जात्रा सुरु : जात्रा पशुपति क्षेत्र जय बागेश्वरीमा

आजदेखि नवदुर्गा जात्रा सुरु : जात्रा पशुपति क्षेत्र जय बागेश्वरीमा

भक्तपुर नगरको ऐतिहासिक महत्व बोकेको जीवितरूपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा मङ्सिर १६ गते नवमीको दिनदेखि काठमाडौँको पशुपति क्षेत्र जय बागेश्वरी क्षेत्रबाट ङालाकेगु (माछा मार्ने) सुभारम्भ हुन्छ । वर्षको ८ महिनासम्मको मकुन्डोसहितको जात्रा हरेक वर्ष बाला चतुर्थीपछि नवमी र दशमीको दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगणको भेटघाट तथा प्रसाद आदानप्रदान हुन्छ । पशुपतिनाथका मूल पुजारीबाट नवदुर्गा भवानीलाई पूजा गरी पशुपतिको जल र मूल प्रसाद भैरवको हातमा चढाउने चलन रहेको पाइन्छ । पशुपतिको मूलचोकमा देवगणको नाचसँगै भित्रका सम्पूर्ण देवताहरूलाई भेटघाट गर्ने र पूर्वपट्टिको गुजेश्वरी देवतालाई नाचको रूपमा भेट गरी दक्षिणतर्फ रहेको शिवालय चोकमा मुः बाहाँं लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ । यसैगरी, जय बागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम माछा मार्ने जात्राको लागि खः जुयेगु (बास बस्ने) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट बिहानदेखि बाराही नाच, सिम दुमको माछा मार्ने नाचसँगै महाकाली नाच र सेतो भैरवले माछा मार्ने जात्रा गरी बेलुकासम्ममा सम्पूर्ण नाच सम्पन्न गरी पुनः भक्तपुर नपामा फर्किने चलन छ । सोही स्थानमा देवगणहरूले आफ्नो देवताको मकुन्डो, पोसाकदेखि आवश्यक सामानहरू खर्पन अथवा खमुमा राखेर बोक्दै जानुपर्ने परम्परा अहिलेसम्म छ ।
त्यसलगत्तै योमरी पुन्हिको दिनदेखि मध्यपुर नगरपालिका थिमिमा नवदुर्गाको माछा मार्ने जात्रा हुन्थ्यो । तर, २०६६ सालमा भएको अप्रिय घटनाबाट जात्रा बन्द भएको थियो । उक्त जात्रा सञ्चालन गर्न त्यसबेला पटकपटक छलफल गरे पनि सफल हुन सकेन । सहमति हुन नसक्दा जात्रा ९ वर्ष बन्द भएको थियो । मानव समाजमा आधारित दैनिक जीवनसम्बन्धी दिशाबोध गर्ने नवदुर्गाको जात्रालाई परापूर्वकालदेखि चल्दै आइरहेको संस्कृतिलाई निरन्तररूपमा अगाडि बढाउन तत्कालीन मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र सोही नपाका वडा न. ४ का वडाध्यक्ष कुमार श्रेष्ठको सक्रियता र नवदुर्गा देवगणहरूबिच जात्रासम्बन्धी व्यापक छलफल भयो । छलफलमा जात्रामा आवश्यक शान्ति, सुरक्षा र देवगणहरूलाई आर्थिक सहयोग, खाना र जलपानको साथै बास बस्न उपयुक्त स्थान व्यवस्था गरी नवदुर्गा देवगण जात्रालाई हरेक वर्ष निरन्तरता दिने सम्झौताअनुसार यस वर्षको मङ्सिर २२ गते बिहीबार योमरी पुन्हिको दिनदेखि जात्रा सञ्चालन हुने भएको छ । सम्झौतामा भनपाका जनप्रतिनिधिहरू, स्थानीय समाजसेवी, देवगण परिवार र मध्यपुर नपाका मेयर, वडा अध्यक्ष र वडाका बुद्धिजीवी तथा वडावासीहरूको रोहवरमा मध्यपुर नपामा नवदुर्गाको जात्रा सञ्चालन हुने लिखित सम्झौता भएको थियो ।
मध्यपुर नपामा नवदुर्गा जात्रा सात दिनसम्म हुने छ । पहिलो दिन योमरी पुन्हिको दिन भनपा वडा न. ९ को नवदुर्गा द्योछेँबाट देवगणहरूले सम्हेबजि ग्रहण गर्दै मकुन्डो, गरगहना र पोसाक खमुमा राखेर दिउँसो ३ बजे मध्यपुर नपा प्रस्थान गरिन्छ । ४ बजे दिगुलि स्थानमा पुगेर सम्पूर्ण देवगणहरूको आ–आफ्नो पोसाक पहिरनपछि नवदुर्गा नाच सुरु हुन्छ । दिगुलिबाट नाच प्रदर्शन गरी बेलुका मध्यपुरको बालकुमारी मन्दिर सत्तल पुगी बास बस्ने गरिन्छ ।
दोस्रो दिन बिहान ८ बजेदेखि मध्यपुरको भुलाँख्यो स्थानबाट गणेश, कुमारी र सिमदुम चार जना देवगणहरूको टोली बाजासहित प्योमा द्यो नाच प्रदर्शन हुने गरी निश्चित स्थानमा केही नाच प्रदर्शन गरिन्छ । बेलुका सम्पूर्ण देवगणहरूको लाय्कुमा खः प्याखं नाच गरिन्छ । मध्यपुरमा पनि बारको हिसाबले देवगणहरूको नाच प्रदर्शन हुन्छ । उन्नाइस देवगणहरूमध्ये खिं, बाजा, तं बाजा, कंस बाजा, भैरव, महाकाली, बाराही, कुमारी, धोमा पोमी, दातिमा पोमी, झिमा पोमी, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, नकीँ, बालकुमारी, दुम, सिम, श्वेत भैरव पर्छन् ।
तेस्रो दिन चपाचोदेखि प्योमा द्यो (चार जना देवगण) को नाच प्रदर्शन हुन्छ । नवदुर्गा देवगणको छुट्टै पहिचान रहेको जात्रा मध्यपुर थिमिमा हुने गर्दछ । सोही क्रममा भक्तजनहरूले आफ्नो क्षमताअनुसार घरमा भएको धान, गहुँ, मकै, तरकारी, खुर्सानी, मुला आदि थाल अथवा कुनै भाँडोमा राखेर चढाउने चलन छ । गणेश, कुमारी, सिम र दुम चार देवतालाई चढाएको वस्तु बोकी भाषाको तालमा नाच प्रदर्शन गरी चढाउने चलन छ । सोही स्थानमा प्रजापतिहरूले पनि आफ्नो उत्पादन भएको कुनै भाँडाकुँडा लिएर देवगणलाई नाच प्रदर्शन गरी भाषाको तालमा चढाउने चलन छ । यसो गर्दा आफूले उत्पादन गरेको वस्तुमा बढी उत्पादन हुने कुनै नोक्सान नहुने जनविश्वास छ । चपाचोमा निश्चित परिक्रमा गरी पुनः टोलहरूमा नाच प्रदर्शन सम्पन्न गरी बालकुमारी मन्दिरमा फर्केर सोही दिन वालमख बन्द हुने गर्दछ ।
चौथो दिन मध्यपुरको विभिन्न स्थानमा जात्रा गर्ने क्रममा स्थानीय वडावासीहरूले टोल–टोलमा देवगणहरूलाई द्यो बोयेकेगु कार्यक्रम रहेको छ । बिहान अथवा बेलुका बालकुमारी सत्तलमा निम्तो दिने चलन छ । सोही दिन प्रसाद ग्रहण गरी पुनः दथुटोलमा आएर बेलुका खः प्याख नाच प्रदर्शन गरी राति बालकुमारी मन्दिरमा फर्किने चलन छ ।
पाँचौँ दिन बिहानै मध्यपुरको बाखाबजार हुँदै नगदेश एरियामा पनि चार जना देवगण घुम्ने अथवा विभिन्न टोल–टोलमा नाच प्रदर्शन गरी पूजा ग्रहण गरिन्छ । मध्यपुर बोडेमा पनि चार जना देवता बेलुकातिर पुगी पुनः बोडेको लाय्कुमा नाच प्रदर्शन गरी विभिन्न श्रद्धालु भक्तजनहरूको गुठीमा देवता भित्याउने चलनअनुसार पूजा गरी सम्पूर्ण नाच सम्पन्न गरी बालकुमारी मन्दिरमै फर्किने गरिन्छ ।
छैठौँ दिन मध्यपुरकै गाँचामा चार जना देवताको टोलमा नाच प्रदर्शन गरी पुनः फर्किने गरिन्छ । सोही दिन बालकुमारीको एरिया बजिगान्जा एरियाको टोलटोलमा पूजा ग्रहण गरी बेलुका लोकेश्वर मन्दिरतिर खः जुयेगु भनी बास बस्ने गरिन्छ । देवगणको सम्पूर्ण कालरात्रि नाच प्रदर्शन गरी मुः बाहाँ लिकेगु जात्रा गरिन्छ ।
सातौँ दिन माछा मार्ने जात्राको रूपमा क्रमशः बाराहीको नाच प्रदर्शन गरिन्छ । त्यस्तै सिम दुमको नाच विभिन्न स्थान, टोलहरूमा भइसकेपछि माछा मार्ने पहिलो चरण सुरु हुन्छ । दुमको ङालाकेगु जात्रा सम्पन्न भएलगत्तै महाकाली नाच प्रदर्शन हुन्छ । महाकाली नाच एक महिषासुर वध गर्ने नाचको रूपमा लिइन्छ । नारी क्रोध र नारी सुन्दरताको भावमा गीतको बोल र बाजाको तालमा महाकाली नाच गरिन्छ । सोही नाचसँगै माछा मार्ने श्वेत भैरवको आगमन हुन्छ । भाषाको तालमा गाः तोकेगु जात्रा र कुखुराको भाले बलि दिने श्वेत भैरवको नाचसँगै माछा मार्ने सुरु गरिन्छ । भाषाको तालमा माछा खाने, पेट दुखाउने, लुगा धुने जात्रा सम्पन्न गरी सम्पूर्ण देवगणहरूको अन्तिम नाच गं दिगु नाच प्रदर्शन हुन्छ । त्यसपछि बालकुमारी मन्दिरमा पुगी देवगणहरूले आआफ्ना मकुन्डोहरू सत्तलमाथि राखेर पोसाकसहित चोकमा आएर आरति बाली नाच प्रदर्शन गरी अन्तमा बिदावारीका साथ बेलुका भनपामा फर्किने चलन छ । यस नाचमा दैनिक जीवनमा आधारित पारिवारिक भूमिका, चेलिबेतीको दुःखेसो, सहकारी भावना, पञ्च रङ्गको महत्व, केटाकेटीको भूमिका, सरसफाइको शिक्षा, असत्य माथिको नास भन्ने दिशाबोध गरिएको हुन्छ । यो नाच माघ सङ्क्रान्तिबाट भनपाको सूर्यमढी टोलदेखि दुई महिनासम्म विभिन्न स्थानमा सुरु हुन्छ ।
आशा छ, यस संस्कृतिलाई सम्बन्धित निकाय तथा सम्पूर्ण भक्तजनबाट अपार आवश्यक सहयोग प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *