भर्खरै :

देशका सबै राजनीतिक दलहरू खराब छैनन्

जहिलेसम्म देशका सबै राजनीतिक दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता, कर्मचारी, बुद्धिजीवीहरू सक्षम, योग्य, सङ्लो विचार र बुद्धिका हुँदैनन् तहिलेसम्म देश समृद्ध हुनेछैन । त्यसरी नै बहुमत जनता सचेत नभइकन योग्य, सक्षम, दूरदर्शी, कुशल र देश र जनताप्रति समर्पित उम्मेदवार बढी जित्दैनन् । जनता सचेत भएको जिल्लामा जनताका उम्मेदवारहरू या देश र जनताको सेवामा लड्ने सांसदहरू जितेका छन् । त्यस्ता जिल्लामा जनताले भ्रष्टाचारी, अक्षम, अयोग्य या असफल व्यक्तिलाई हराएका छन् । जहाँ अशिक्षित, गरिब, राजनीतिक सुझबुझ नभएका जनता छन् ती स्थानहरूमा असक्षम उम्मेदवारहरू जितेका छन्, योग्य उम्मेदवारहरू हारेका छन् । सक्षम र सफल दलले देशको नेतृत्व सम्हाल्न सक्छ । देश र जनताप्रति समर्पित दलका नेता र उम्मेदवारहरूले देश विकासको निम्ति सरकारसँग ध्यानाकर्षण गर्छ, आवश्यक सुझाव सल्लाह दिएर मार्गनिर्देश गर्ने गर्छ । देश र जनताको हितमा हुने दलको मार्गनिर्देशलाई सत्तासीन दलका नेताहरूले आत्मसात गर्नुपर्छ । यदि सत्तासीन दलले आत्मसात गर्दैन भने दल जति ठूलो भए पनि जतिपटक सरकारको नेतृत्व गर्न प्रधानमन्त्री भए पनि देश र जनताको सेवा हुनेछैन ।
देश विकास गर्न र विसङ्गति अन्त्य गर्न देशमा दुई वा तीन राजनीतिक दल भए पुग्छ भन्ने दृष्टिकोण पुँजीवादी विचारबाट ग्रसित छ भन्ने थाहा हुन्छ । राजनीतिक दल जति भए पनि देशमा बहुमत प्राप्त दलले देश सञ्चालन गरेको धेरै अनुभव छ । बहुमत प्राप्त दलमात्र होइन झन्डै दुईतिहाइ मत प्राप्त सरकार बने पनि सरकारले केही गर्न सकेन । त्यस्तो दल झन् टुक्रियो र सरकार छोड्न बाध्य भयो । दुई वा तीन दलमात्र भयो भने देशको स्वाधीनता र सार्वभौमिकतामा झनै आँच पुग्छ । अहिले नेपाली भूमि धेरै गुमिसकेको छ । सीमा अतिक्रमण भइरहेको छ । वर्षाको बेला नेपाली भूमि डुवानमा पर्छ । यी सबै घटना ठूला दलका नेताहरूकै कारण भएकोमा शङ्का छैन । सत्तासीन राजनीतिक दलहरूले जनताको भावनाअनुसार काम गरेनन् भनेर देशभरका अन्य दललाई उही ड्याङको मुलामा राख्ने काम ठीक होइन । जुन जोगी आए पनि कानै चिरेको भनी सबै दललाई एउटै नजरले हेर्ने ठीक होइन ।
देशका सबै राजनीतिक दलहरू खराब छैनन्, पद र पैसाको राजनीतिमा हामफालेका छैनन् । हो, अहिले केही नयाँ दलहरू देखिएका छन् । उनीहरूको क्रियाकलाप नहेरी उही ड्याङको मुलामा राख्नु धृष्टता हुनेछ । राजनीतिक संस्कार भएका, देश विदेशको राजनीति बुझेका, देश र जनताप्रति जवाफदेही भएका इमानदार, निःस्वार्थी नेता तथा सांसदहरू निर्वाचित भएका भए देशको स्थिति यस्तो भद्रगोल हुने थिएन । दलको विधानमा कुनै दर्शनलाई मार्गनिर्देशक मानेर, घोषणापत्र सार्वजनिक गरेर त्यसलाई देखावामात्र बनाई व्यवहारमा लागु नगर्ने दलले चाहेर पनि देशको मुहार फेर्न सक्दैन, बहुमत जनताको हितमा ऐन कानुन बनाउँदैन ।
देश र जनताको लागि महत्वपूर्ण कुरा बढी पटक सरकारको नेतृत्व गर्नु र बढी पटक प्रधानमन्त्री हुनु होइन । पटक–पटक सरकारको नेतृत्व गरेर बहुमत जनताको पक्षमा सरकारले के ग¥यो ? त्यही पार्टीका उम्मेदवारलाई बढी जिताउने जनता राजनीतिकरूपमा सचेत छन् कि छैनन् भन्ने ! राजनीतिलाई दशकौँदेखि कमाइ खाने भाँडो बनाएका दलका नेता या उम्मेदवारलाई हराउनु राम्रो पक्ष हो, यो जनतामा आएको चेतनाको फल हो । त्यस्तै चेतना देशभरिका जनतामा हुनुपर्छ । जनतामा चेतना नभएकै कारण बहुमत जनतामाथि अल्पमत वर्गको प्रतिनिधित्व गर्ने शासक पक्षले राज चलाइरहेको छ । यो नै देशको लागि दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *