साम्राज्यवादका प्रमुख हतियारहरू
- कार्तिक १६, २०८३
भक्तपुर, १५ पुस । “नेपालमा कम्युनिस्ट आन्दोलन अगाडि नबढोस् भनेर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको कम्युनिस्टविरोधी चलखेल बढ्दो छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा राख्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भारतीय विस्तारवादले नेपालका राजनीतिक दलहरूलाई एकआपसमा भिडाएर नेपालको राजनीतिमा हस्तक्षेप गरिरहेको छ भन्नुभयो ।
नेपालको राजनीतिलाई अस्थिर र कमजोर बनाउन भारतीय विस्तारवाद उद्यत छ, उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सरकारमा जाने शासक दलहरूमा विदेशी गुप्तचरहरू धेरे छन् । विदेशी पैसाले शासक दलहरूलाई परिचालित भएकै कारण देशको सार्वभौमिकता खतरामा छ ।”
“समाजवादको नारा मुसोलिनीले पनि दिन्थे, हिटलरले पनि राष्ट्रिय समाजवादी पार्टी खोलेकै हो । हिटलरको कट्टर राष्ट्रियताबाटै फासीवाद जन्मेको थियो”, उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय परिस्थितिले हाम्रो देशलाई पनि प्रभाव पार्ने भएकोले युवाहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकार हुनुका साथै चासो राख्नुपर्नेमा अध्यक्ष रोहितले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “नेक्रायुसङ्घ राजनीतिकरूपले सुसंस्कृत, व्यक्तिगत स्वार्थमा नलाग्ने युवाहरू तयार गर्र्नेतर्फ लाग्नुपर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवा उमेरले नभई विचारले हुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “युवाहरूले सत्यको पक्षमा, अन्यायको विरूद्धमा लड्ने साहस गर्नुपर्छ । बौद्धिक र भौतिक लडाइँमा पनि युवाहरू अगाडि बढ्न सक्नुपर्छ । लड्न नसक्नेहरू नेतृत्वमा पुग्न सक्दैनन् ।”
कम्युनिस्टहरूले समाजको हित हेर्ने काम गर्ने भएकाले समाजको अगाडि व्यक्तिगत स्वार्थ गौण हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “साम्राज्यवादीहरू विभिन्न देशका बुद्धिजीवीहरूलाई पैसाको माध्यमबाट हातमा लिने काम गर्छन् । त्यसको लागि एनजीओ÷आइएनजीओहरूको व्यापक प्रयोग हुन्छ । एनजीओ÷आईएनजीओ धेरै भएको देश भ्रष्टाचारको जालोमा फस्छ ।”
उहाँले भन्नुभयो, “एडीबी, विश्व बैङ्कजस्ता साम्राज्यवादी हतियारहरूको माध्यमबाट साम्राज्यवादी देशहरूले संसारकै प्राकृतिक स्रोत–साधन कब्जा गर्दै छन् । यसकारण, साम्राज्यवादविरूद्ध सम्पूर्ण देशभक्त युवाहरू लाग्नु आवश्यक छ । पुँजीवादी व्यवस्थामा कानुनी डकैती हुने भएकोले पुँजीवादी व्यवस्थालाई ध्वस्त पारेर समाजवादमा पुग्न युवा कार्यकर्ताहरू निरन्तर लाग्नु जरूरी छ ।”
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले शोषणमा आधारित पुँजीवादी व्यवस्था समाप्त गर्न समाजवादी व्यवस्था स्थापना गर्नु आवश्यक छ भन्नुभयो ।
प्रतिक्रियावादी बुद्धिजीवीहरूलाई उदाङ्ग्याउन युवा कार्यकर्ताहरू सक्रियरूपमा लाग्नु आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य कवांले भन्नुभयो, “नवउदारवादले नेपाललाई एकएक पाइला गरेर निल्न खोजेको हुँदा नवउदारवादको विकृतिबारे जनतालाई स्पष्ट पार्नु आवश्यक छ ।”
आयोजक समितिका संयोजक मिनबहादुर बाटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेक्रायुसङ्घको विधान र प्रतिवेदनबारे छलफल भएको थियो ।
कार्यक्रम शनिबार पनि चालु रहनेछ ।
Leave a Reply