भर्खरै :

सिद्धान्तलाई व्यवहारसित जोड्नुपर्छ

विश्व सर्वहारा वर्गका गुरु स्तालिनले भन्नुभएको थियो, “सिद्धान्तलाई क्रान्तिकारी व्यवहारसित नजोड्ने हो भने सिद्धान्त निरुद्देश्य साबित हुन्छ । यदि हाम्रो व्यवहारको मार्गलाई क्रान्तिकारी सिद्धान्तले आलोकित वा मार्गनिर्देश गरिँदैन भने हाम्रो व्यवहार अँध्यारोमा बाटो छामछामछुमछुम गरेसरह हुनेछ ।” हो, सिद्धान्त देखाउने दाँत होइन त्यो व्यवहारसित गाँस्ने बाटो हो । सिद्धान्त व्यवहारसित जोडिँदैन भने त्यो व्यर्थ हुन्छ । तर, विडम्बना ¤ देशका शासकहरू सिद्धान्तको ख्याल गर्दैनन्† सिद्धान्तलाई व्यवहारमा लागु गर्नेतर्फ कुनै पाइला चाल्दैनन् । दलले गलत राजनीति गरेर किन जनतालाई विश्वासघात गरिरहेको हो ?
सिद्धान्तले काम गर्ने बाटो देखाउँछ । सिद्धान्तले व्यवहारको मार्गलाई मार्गनिर्देश गर्दैन भने हरेक काम कुरा अँध्यारोमा छामछाम र छुमछुम गरेजस्तै हुनेछ । सिद्धान्तलाई व्यवहारमा लागु नगर्दाको परिणाम आज देशको स्थिति दयनीय छ । शक्ति, सत्ता र ठूलो भनी गर्व गरेर देशमा शान्ति, स्थिरता पाउँदैन, समृद्ध हुँदैन । आफूलाई पहिलो शक्ति दाबी गर्ने दल नेकाको हालत अहिले के भयो ? तेस्रो ठूलो दलको रूपमा रहेको माओवादी केन्द्र कसरी सरकारको नेतृत्वमा पुग्यो ? यो कुनै दलको सिद्धान्त र विचारको कारण भएको होइन । शक्ति र सत्ताको मातमा लागेपछि कसले कसलाई कहिले पछार्छ भन्ने थाहा हुँदैन । शक्ति र सत्ताकै कारण एमालेको नेतृत्वमा रहेको हिजोको सरकार पनि हेरफेर भयो र नेकाको नेतृत्वमा सरकार बन्यो । अहिले देशको ठूलो दल आफ्नै डम्फूले प्रतिपक्षमा बस्न बाध्य बनायो । परिणामतः पदको हिसाबले नेकालाई ठूलो नोक्सान बनायो भने सबभन्दा बढी फाइदा एमालेले पायो ।
हिजो एमालेको बहुमतलाई छोडेर नेकाको नेतृत्वमा सरकार बन्दा एमालेले नेकालाई खुब प्रहार गरेको थियो । अब त्यो विरोध गर्ने पालो नेकाको बनेको छ । पुँजीवादी पार्टीहरू, सिद्धान्त र विचारको राजनीति नगरी दलगत र व्यक्तिगत स्वार्थ खोज्ने अवसरवादी र संशोधनवादी दलहरू सत्ताको निम्ति जे पनि गर्छन् भन्ने दृष्टान्त एमालेसमेतको बनेको हालको सरकार गठन हो । यो मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम हो । यसको कारण देशले आर्थिक र नैतिक क्षति व्यहोर्नुपर्ने हुन्छ । राजनीतिक निष्ठा र नैतिकतालाई बन्धन राखेपछि ल्याउने परिणाम यस्तै हो ।
कम्युनिस्टहरूले हरेक समयमा सत्यको पक्षपोषण गरेका हुन्छन् । कम्युनिस्टहरू आफ्ना गल्ती सुधार गर्न पनि तयार हुनुपर्छ । कम्युनिस्टहरू सबभन्दा बढी दूरदर्शी हुन्छन् भनी त्यसै भनिएको होइन । उनीहरू सबभन्दा बढी दृढ हुन्छन् । वर्गहरू रहेको समाजमा वर्गसङ्घर्ष भइरहन्छ । एक वर्गविहीन समाजमा नयाँ र पुरानाका बिच, सही र गलतका बिचको सङ्घर्ष पनि अन्त्य हुनेछैन । कम्युनिस्ट पार्टीले आफ्नो उद्देश्य पूरा नभएसम्म कानुनी र गैरकानुनी सङ्घर्ष गरिरहन्छ । अनेक चुनौती र समस्यासँग जुध्दै अघि बढिरहन्छ । एक समय, एकचोटि आन्दोलन या सङ्घर्ष गरेर उद्देश्य पूरा हुँदैन, उद्देश्य पूरा भएन भनेर आन्दोलन या सङ्घर्ष रोकिँदैन । क्रान्तिकारीहरू दत्तचित भएर लागिरहन्छन् । कम्युनिस्टको उद्देश्य देश र जनताको सेवा गर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *