भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
कोरोनाकाल
हङकङलाई जस्तै ट्रम्पले ताइवानलाई असहाय छोडेकोमा बोल्टनले चित्त दुखाए । ताइवानले अमेरिकासँग खुला व्यापार सम्झौता गर्न चाहन्थ्यो । तर चीनको भाउँतोमा लागेर ट्रम्पले ताइवानको कुरा नमानेको बोल्टन आरोप लगाउँछन् । २०१८ नोभेम्बरको एक बैठकमा चिनियाँ अधिकारी याङ जेइचीले बोल्टनलाई ताइवानको विषयमा धेरै कुरा बताए । उनले आफूलाई ताइवानसँगै षड्यन्त्र गरिरहेको व्यक्तिको रूपमा हेरेको बोल्टनले महसुस गरे । ब्युनस आयर्स सम्मेलनमा पनि राष्ट्रपति सीले ताइवानको विषयमा अमेरिका समझदार बन्नुपर्ने कुरामा जोड दिए । ओसाका सम्मेलनमा राष्ट्रपति सीले अमेरिकालाई धम्की दिँदै ताइवान चीनको अभिन्न अङ्ग भएको र त्यहाँका नेता साइ इङ–वेनलाई अमेरिका भ्रमणमा नबोलाउन भनेको बोल्टन सम्झिन्छन् । त्यस्तै राष्ट्रपति सीले ताइवानलाई हतियार नबेच्न भनेका थिए र त्यसले ताइवान जलडमरुमा अस्थीरता ल्याउन सक्ने चेतावनी दिएका थिए । बोल्टन सन् १९७९ को सन्धि अनुसार ताइवानलाई आत्मरक्षाको हतियार बेच्न सकिने उल्लेख गर्छन् । चीनकै कारण ताइवानले पछिल्लोचोटि हतियार खरिद आधा घटाएको अवस्थालाई बोल्टन खतराको सङ्केत भन्छन् । युक्रेनलाई जस्तै ताइवानलाई अमेरिकाले हतियार बेच्न पाउनुपर्छ भन्ने पक्षमा उनी अर्को तर्क पेश गर्छन् । ताइवान युद्ध गर्न नहौसिएको र उसलाई हतियार बेच्दा अमेरिकी हतियार उद्योगमा रोजगारी बढिरहेको बोल्टनको तर्क छ । उनी भन्छन्, “ताइवानलाई हतियार बेच्दा अमेरिकाले अनुदान वा छुट दिन्न, बरु ताइवान आफ्नै रकमले ती हतियार किन्छ ।”
बोल्टनले धेरै जोडबल गर्दा पनि ट्रम्पले सुनेको नसुन्यै गरे । सिरियामा कुर्दहरूको साथ छोडेपछि ‘प्रजातान्त्रिक मित्र देश’ ताइवानबाट हात हटाउनु ट्रम्पको गल्ती भएको बोल्टन लेख्छन् । यसको लागि बोल्टनले कहिल्यै ट्रम्पलाई माफी नदिएको बुझ्न सकिन्छ ।
कोरोना भाइरस अमेरिकाबाटै फैलेको भए पनि बोल्टनले चीनलाई दोष दिनु स्वाभाविक थियो । चीनको ‘नियन्त्रित र स्वेच्छाचारी’ सरकारले सूचना सम्प्रेषणमा विलम्ब गरेको हुनाले भाइरस चाँडो फैलेको उनले आरोप लगाए । कोभिड भाइरस चीनबाट नफैलेको उसले बताइरहँदा पनि बोल्टनको मन मान्दैन । उनी इरानलगायत चीनका निकटस्थ देशहरूमा भाइरस देखिएको हुनाले सो भाइरस त्यहीबाट फैलेको कच्चो तर्क दिन्छन् । कोरोना भाइरसहरू अमेरिकामा देखिएको, तर त्यसलाई सामान्य फ्लू भनेर अमेरिकी चिकित्साकर्मीहरूले बेवास्ता गरेको बाहिर आइसकेको छ । अमेरिकी जैविक हतियार परीक्षण गर्ने फोर्ट डेट्रिकमा विश्व स्वास्थ्य सङ्गठनलाई किन निरीक्षण गर्न दिइन्न ? बोल्टन जानाजान कुरा चपाउँछन् र अमेरिकालाई सन्त–देश प्रमाणित गर्न जोडबल गर्छन् ।
कोरोना सङ्कटमा बोल्टनले ट्रम्प सरकारको अकर्मण्यता भने लुकाएका छैनन् । २०२० फेब्रुअरीमा अमेरिकी राष्ट्रिय अर्थपरिषद्का अध्यक्ष ल्यारी कड्लोले भने, “हामीले कोभिड भाइरसलाई रोकेका छौँ । समस्या एकदम हलुका छ ।” ट्रम्पले स्वास्थ्य संकटलाई हलुका ढङ्गले लिए र त्यसले अमेरिकी अर्थतन्त्रमा कुनै असर नगर्ने फलाकिरहे । तर, अमेरिकी अर्थतन्त्रमा कोभिडका असरहरू देखिइसकेका थिए । ट्रम्पले चीनसँगको सम्बन्धमा खलल पुग्ने भनेर यस मानेमा चीनलाई चिढाउन नचाहेको बोल्टन दाबी गर्छन् । कोरोनाकालमा बोल्टन नै अमेरिकी राष्ट्रपति भए के गर्थे होलान् ? किनभने, ट्रम्पले चीनलाई तल गिराउन कुनै कसर छोडेका थिएनन् ।
बोल्टन इबोला भाइरस प्रसार भएको सन् २०१८–१९ को घटना सम्झिन्छन् । त्यसबेला ट्रम्प प्रशासनले त्यसलाई चुस्तरूपमा रोकेको उदाहरण दिन्छन् । त्यसबेला ट्रम्पले स्वास्थ्य अधिकारीहरूलाई ‘इबोलालाई अमेरिका पस्न नदिन’ उर्दी जारी गरेका थिए । कोरोनाकालमा ट्रम्प सरकारले त्यो तदारुकता देखाउन नसकेको बोल्टन बताउँछन् । यसमा उनी अमेरिकी कर्मचारीतन्त्रलाई दोष दिन्छन् । बोल्टनको सुरक्षा परिषद्ले जनवरीमा नै अमेरिकामा महामारी फैलिन सक्ने गुप्तचरी रिपोर्ट बुझाएको थियो । तर, ट्रम्प प्रशासनलाई त्यो चेतावनीले मार्चसम्म पनि छोएन । सुरक्षा परिषद्ले भने जैविक सुरक्षाका लागि भरमग्दुर प्रयास गरेको बोल्टन दाबी गर्छन् । अमेरिका भाइरस चीनबाट फैलेको होइन भन्ने ‘चिनियाँ प्रचारबाजी’ मा रनभुल्ल भएको बोल्टन गफ दिन्छन् । अमेरिकीहरूको रगत उमाल्दै उनी अमेरिकालाई कठै भन्छन् । आणविक अस्त्र भएर पनि अमेरिकासँग जैविक र रासायनिक हतियारसँग जुध्ने जैविक प्रतिरक्षा प्रणाली नभएकोमा दुखेसो पोख्छन् । यहाँ जैविक र रासायनिक हतियारको स्वामीको रूपमा बोल्टनले उत्तर कोरिया, इरान र चीनलाई अघि सारेका छन् ।

हानोइ सम्मेलनमा अमेरिकी टोलीका साथ प्रजग कोरियाली वार्ता समूह
ट्रम्पको मन मोड्दा
सन् २०१८ को अमेरिकी संसदीय निर्वाचन सकिएपछि ट्रम्प र प्रजग कोरियाली सर्वाेच्च नेता किमबीच पुनः भेटवार्ता हुने भयो । यसपालि भियनतामको हानोइमा बैठक तय गरिएको थियो । तयारीको लागि किम यङ चोल न्युयोर्क आउने कार्यक्रम थियो । अन्त्यमा सो कार्यक्रम स्थगित भयो । त्यस्तै किम जोङ उन चीन भ्रमण गए । सन् २०१९ को जनवरी १७ र १८ मा किम चोल वासिङटन जाने भए । उनले किम जङ उनको अर्को पत्र दिए । ट्रम्पले आणविक निःशस्त्रीकरणबेगर आर्थिक प्रतिबन्ध हटाउन नसकिने बताए । ट्रम्पले सामरिक नीतिमा आधारित नभएर हावा तालले त्यसो भनेको बोल्टन लेख्छन् । जेहोस्, तयारी अघि बढ्यो । यसको लागि अमेरिकी विदेश मन्त्रालयले स्टीभ बिएगनलाई जिम्मा दियो । उत्तर कोरियाले किम ह्योक चोललाई जिम्मा दियो । उनी छोरा बुशको पालाका वार्ताकार थिए ।
बैठक फेब्रुअरी २७ र २८ मा हानोइमा हुने भयो । यसमा कुनै तमासा नहोस् भनेर बोल्टनले तयारी गर्न थाले । यसपालि ट्रम्पलाई सम्झाउने अर्कै तरिका उनले प्रयोग गरे । यसमा उनले बिएगनलाई तगारो माने । किनभने, बिएगन आफ्नो काम टुङ्गोमा पु¥याउन चाहन्थे । बोल्टन र पोम्पेओ भने वार्ता भाँड्न तल्लिन थिए । पोम्पेओ बाहिरबाट बिएगनलाई सघाएझैँ गरे पनि बोल्टनको पक्ष छोडेनन् । बिएगनको प्रयासलाई बोल्टन लोकप्रियता हासिल गर्ने खेलको रूपमा चित्रण गर्छन् ।
हनोइको बैठकको लागि फेब्रुअरी १२ मा ट्रम्पलाई तयारी कक्षामा राखियो । सुरुमा उनलाई भिडियो देखाइयो । भिडियोमा उत्तर कोरियासँग ट्रम्पले सिंगापुरमा हासिल गरेको सफलता भन्दा आफ्नो कार्यकालमा धेरै काम भएको कार्टर, क्लिन्टन, बुश र ओबामाले दाबी गरेका थिए । भिडियोको अन्त्यमा रोनाल्ड रेगनको भनाइ थियो । गोर्भाचेभसँगको सन् १९८६ को सम्झौताबारे रेगनले भनेका थिए, “खुकुलो छोड्दा भन्दा अडान लिँदा राम्रो सम्झौता हुन्छ ।” भिडियो हेरेर ट्रम्पले भने, “म हतारिनुपर्ने कुनै कारण रहेनछ । म सम्झौताबाट बाहिरिन पनि सक्छु ।” हनोइमा कुनै टुङ्गोमा नपुगे साविककै स्थितिमा रहँदा पनि हुने उनले निष्कर्ष निकाले ।
यसबीच उत्तर कोरियामाथिको नाकाबन्दी चर्किसकेको थियो । उत्तर कोरिया सम्झौताको लागि भोकाएको र किम जङ उनले देश विकासमा ध्यान दिन नसकेको बोल्टन दाबी गर्छन् । उनी कोरियालाई कुनै पनि सहुलियत दिन तयार थिएनन् । यसको लागि उनी विदेश मन्त्रालयसँग पनि लड्न तयार थिए । कोरियाले हतियार परीक्षण गर्न नछोडेको बहाना झिक्ने उनले सोचिसकेका थिए ।
दोस्रो तयारी कक्षा फेब्रुअरी १५ मा भयो । त्यो पनि पैँतालिस मिनेटको थियो । त्यसमा ट्रम्पलाई उत्तर कोरियाको एउटा भिडियो देखाइयो । उत्तर कोरियाले युद्धको तयारी नछोडेको भिडियोको दाबी थियो । ट्रम्पले भिडियोको एक प्रति मागे र ‘पूर्ण आणविक निःशस्त्रीकरण’ को परिभाषा सोधे । उनले भिडियोको एक पाना सार खिचेर दिन भने । उनले त्यो पाना किम जङ उनलाई देखाउने मन बनाएका थिए । उत्तर कोरियाले सानातिना काम गरेर नहुने बरु ‘न्यूनतम् घोषणा’ गर्नुपर्छ भनी बोल्टनले ट्रम्पलाई सम्झाए । यो कक्षा लिइसकेका ट्रम्पलाई फेब्रुअरी १९ को राष्ट्रपति मुन जे–इनसँगको फोनवार्ताले छोएन । सो वार्तापछि ट्रम्पले पोम्पेओ र बोल्टनसँग बातचित गरे । उनले भने, “हामी वार्ताबाट बाहिरिए के होला ?” उनले बिएगनलाई भने, “उत्तर कोरियालीहरूलाई म अध्यक्ष किमलाई कति मन पराउँछु भन्दिनू, तर म के चाहन्छु पनि भन्नू ।”
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्यो । त्यसमा बोल्टनले अघिकै कुरा दोहो¥याए । डनफोर्डले अमेरिकाले ‘युद्ध अन्त्यको घोषणा’ गर्दैमा केही फरक नहुने बताए । त्यसको कुनै वैधानिक आधार नहुने उनको तर्क थियो । यसैकारण अमेरिकाले ‘युद्ध अन्त्यको घोषणा’ लाई बल्छिको रूपमा प्रयोग गर्दै थियो ।
तेस्रो र अन्तिम तयारी कक्षा फेब्रुअरी २१ मा भयो । किम जङ उनले केके प्रस्ताव राख्न सक्छन् भन्ने विषयमा कक्षामा सविस्तार बताइयो र ट्रम्पलाई अनावश्यक सहुलियत नदिन सिकाइयो । त्योभन्दा अघि जापानी प्रम सिन्जो अबेसँग कुरा गराएर बोल्टनहरूले ट्रम्पको मन मोड्न अन्तिम चाल चालिसकेका थिए ।

अमेरिकाको मेरील्यान्डस्थित जैविक हतियार परीक्षणस्थल फोर्ट डेट्रिक
हनोइ बैठक
बैठकको तयारीका लागि बोल्टन फेब्रुअरी २४ मा हनोइतिर लागे । यसबीच बिएगनले उत्तर कोरियाली टोलीसँग बैठकपछि जारी गर्ने संयुक्त वक्तव्यको खेस्रा तयार गरिसकेका थिए । त्यसमा उत्तर कोरियालाई धेरै सहुलियत दिएको र बदलामा अमेरिकाले केही नपाएकोमा बोल्टनलाई चित्त बुझेन । यसलाई उनले राजनीतिक टाइम बम ठाने । अमेरिकी विभागहरूबीच उचित समन्वय नहुनाले त्यसो भएको उनको गुनासो थियो । ट्रम्पलाई पनि सो खेस्राबारे थाहा थिएन । यो सुनेर बोल्टन खुसी भए ।
यसैबीच अर्को समस्या आयो । ‘टाइम’ पत्रिकाले विदेशमन्त्री पोम्पेओबारे एउटा रचना तयार गर्दै थियो । त्यसमा पोम्पेओले आफूहरूले ट्रम्पलाई ‘तयारी कक्षा’ मा राखेर ठूलो सफलता हात पारेको बताइदिएका रहेछन् । स्रोत नखुलाएर ‘टाइम’ ले ट्रम्पलाई विभिन्न उपमा दिएर लेखेपछि ट्रम्पको पारो तात्यो । उनले गुप्तचर निकायलाई तथानाम भने र राष्ट्रिय गुप्तचर निकायका निर्देशक डान कोट्सलाई “मूर्ख” भने ।
ट्रम्प हनोइ पुगे । अमेरिकी अधिकारीहरूसँग उनको बैठक सुरु भयो । त्यहाँ पनि ‘टाइम’ सँगको रिस पोख्न छोड्नन् । रिसको झोँकमा उनले बिएगनको पनि आलोचना गरे । ट्रम्पले आफूसँग तीन विकल्प भएको बताए – ‘ठूलो सम्झौता’, ‘सानो सम्झौता’ वा ‘बहिर्गमन’ । बोल्टन र पोम्पेओ ढुक्क थिए । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको बाटो रोज्ने थिएन । त्यसैले ‘ठूलो सम्झौता’ असम्भव थियो । ‘सानो सम्झौता’ गरे ट्रम्पको इज्जतमा दाग लाग्थ्यो किनभने उनलाई जे पनि ठूलो चाहिन्थ्यो । ‘सानो सम्झौता’ ले अमेरिका हारेको अर्थ लाग्न जान्थ्यो । त्यसैले ‘केही नगर्ने वा बहिर्गमन’ नै एकमात्र विकल्प हुनेमा बोल्टन र पोम्पेओ ढुक्क भए । ट्रम्पले “हामी अझै पनि एकअर्कालाई रुचाउँछौँ, वार्ता चलिरहनेछ” भन्ने टुङ्गोमा पुगे । लगत्तै उनले पत्रकार सम्मेलनमा बोल्टनलाई बोल्न भने ।
ट्रम्प–किम वार्ता सुरु भयो । वार्ताअघि सँगै भोज खान नपाएको दोष बोल्टन उत्तर कोरियाली टोलीलाई दिन्छन् । बैठकको खबर बोल्टनलाई मुल्भानीले दिइरहेका थिए । बैठकमा उत्तरले योङब्योन आणविक भट्टी बन्द गर्ने र त्यसको बदलामा सन् २०१६ पछिका सम्पूर्ण आर्थिक प्रतिबन्ध हटाउनुपर्ने प्रस्ताव राख्यो । योङब्योनबिना पनि उत्तरले धेरै हतियार बनाउन सक्ने बताएर बोल्टनले सो प्रस्तावलाई खारेज गर्नुपर्ने विचार राखे । ट्रम्पले जापानीहरूको विषयमा कुरा उठाए–नउठाएको विषयमा बोल्टनले जिज्ञासा राखे । मुल्भानीले राखेको बताए ।
फेब्रुअरी २६ को बैठक महत्वपूर्ण रह्यो । सो बैठकअघि ट्रम्पले तयारी कक्षा लिन मानेनन् । बोल्टनहरू आत्तिए । ट्रम्पले मुल्भानी, पोम्पेओ र बोल्टनलाई सँगै बैठकस्थलतिर लगे । उनीहरूले उत्तरसँग अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल ‘आइसीबीएम’ मिसाइलको उत्पादन रोक्नुपर्ने प्रस्ताव राख्ने ट्रम्पले कतै सुनेका थिए । त्यसो गर्दैमा जापान, दक्षिण कोरियालगायत देशहरू सुरक्षित नरहने बोल्टनले बताए । ट्रम्प चिढिँदै थिए । उनी ‘ठूलो समाचार’ दिन चाहन्थे । वार्ताबाट बाहिरिए ‘ठूलो समाचार’ हुने भनेर बोल्टनहरूले ट्रम्पलाई उक्साउन थाले । ट्रम्पले सोधे, “त्यसो भए के भनौँ त ?” पोम्पेओले उत्तर दिए, “‘दुवै पक्षबीच भेटघाट भयो, प्रगति हुँदै छ, परीक्षण बन्द छ र यो बैठकमा नभए हामी अर्को बैठकमा भेट्नेछौँ’ भन्ने ।” यो कुरा मनमा खेलाउँदै ट्रम्प बैठक पस्दै थिए ।
Leave a Reply