भर्खरै :

अध्यक्ष बिजुक्छेँसँग प्रजग कोरियाका राजदूत जो योङ मानको भेट

अध्यक्ष बिजुक्छेँसँग प्रजग कोरियाका राजदूत जो योङ मानको भेट

काठमाडौँ, २४ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग प्रजग कोरियाका राजदूत जो योङ मान (Jo Yong Man) ले आइतबार भक्तपुरमा भेट गर्नुभयो ।
भेटमा अध्यक्ष बिजुक्छेँले कारियाली मजदुर पार्टीका सम्मानित नेता कामरेड किम जङ उन र सम्पूर्ण कोरियाली जनतालाई अङ्गे्रजी नयाँ वर्ष २०२३ को शुभकामना दिनुभयो ।
राजदूत जोले पनि अङ्गे्रजी नयाँ वर्ष २०२३ को अवसरमा सम्मानित नेता उन र कोरियाली मजदुर पार्टीको तर्फबाट अध्यक्ष बिजुक्छेँ र पार्टीका सम्पूर्ण कार्यकर्ताहरूलाई शुभकामना दिनुभयो ।
राजदूत जोले गएको डिसेम्बर २६ देखि ३१ सम्म भएको कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय परिषदको छैठौँ विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदनको अङ्गे्रजी प्रति हस्तान्तरण गर्नुभयो ।
सम्मानित नेता किम जङ उनले प्रतिवेदनमा प्रजग कोरिया कुन बाटोतर्फ केको लागि अघि बढ्ने उल्लेख गर्नुभएको र कोरियाली प्रायद्वीपको वर्तमान स्थितिबारे विश्लेषणसमेत भएको राजदूत जोले बताउनुभयो ।
सम्मानित नेता उनले सैन्य शक्ति विकास गरी प्रजग कोरियाको रक्षा गर्ने र यसको लागि पार्टी, जनता, सेना एक भएर अगाडि बढ्ने प्रतिवेदनमा उल्लेख गर्नुभएको राजदूत जोले चर्चा गर्नुभयो ।
डिसेम्वर ३१ को दिन ६०० मिमिको सुपर लार्ज मल्टिपल लन्च रकेट प्रणाली हस्तान्तरण कार्यक्रममा सम्मानित नेता किम जङ उनले दिनुभएको धन्यवाद मन्तव्यको प्रतिलिपि पनि राजदूत जोले अध्यक्ष बिजुक्छेँलाई हस्तान्तरण गर्नुभयो ।
सम्मानित नेता उनले साम्राज्यवादसँग लड्न र दुस्मनको प्रतिकार गर्न प्रजग कोरिया बलियो हुनुपर्ने बताउनुभएको राजदूत जोले उल्लेख गर्नुभयो ।
“सारा कोरियाली जनता, सैनिक र पार्टी कार्यकर्ता सम्मानित नेता किम जङ उनको नेतृत्वमा विजयी हुने विश्वास गर्छन् । कोरियाली जनताको साम्राज्यवादविरोधी सङ्घर्षमा नेमकिपालगायत प्रगतिशीलहरूको समर्थनको लागि धन्यवाद दिन चाहन्छु ।” राजदूत जोले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकमा प्रजग कोरियाविरूद्ध साम्राज्यवादी नीतिबारे स्पष्ट गरिएको र प्रजग कोरियाप्रति अमेरिकी शत्रुतापूर्ण नीतिबारे पनि चर्चा गरिएको हुँदा सो पुस्तकको नेपाली भाषामा अनुवाद गरी ‘मजदुर’ दैनिकमा प्रकाशित गरिएको उल्लेख गर्नुभयो ।
प्रजग कोरिया समाजवादको उदाहरणीय देश भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले अमेरिका विश्व शान्ति नचाहने बरू खतरा पैदा गर्ने भएको उल्लेख गर्नुभयो र प्रजग कोरियाको साम्राज्यवादविरोधी सङ्घर्षको नेपाल मजदुर किसान पार्टीले दृढ समर्थन गरेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँ मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा नेपाल मजदुर किसान पार्टीबाट ५८ जिल्लामा उम्मेदवार हुनुभएका साथीहरूले देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयक खारेजीको आवाज उठाएको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले राजदूत जोलाई पार्टीको प्रकाशन हस्तान्तरण गर्नुभयो भने भेटमा पार्टी सचिव पे्रम सुवालको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *