इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
ट्रम्पको ट्वीट
एक सय पचास जना इरानीहरू मारिने दुःखले ट्रम्पले इरानमाथिको हमला रोक्न लगाएकोमा बोल्टनलाई थकथकी लाग्यो । उनी राजीनामा दिने मनोदशामा पुगे । ट्रम्पले ‘चिन्ता नलिनु पछि पनि हमला गर्न सकिन्छ’ भनेको हुनाले मात्र बोल्टनले मन थामे । तर, उनले १५० जना इरानीहरू मारिन्छन् भन्ने कुरामा कहिल्यै विश्वास गरेनन् । त्यसपछि उनले १५० जनाको कुरा कसले ल्याएको रहेछ भनेर खोज्न थाले । यसको पछाडि आइजनवर्ग नामक अधिकारी थिए । उनले नै ट्रम्पलाई अन्तिम मिनेटमा गएर त्यो आँकडा दिएका थिए । आइजनबर्गले अन्य अधिकारीहरूसँग वा आफूसँग सल्लाह नै नगरी सिधै ट्रम्पको ओभल भवनमा गएर कुरा गरेकोमा बोल्टन रिसाए । प्रक्रिया नै मिचेर ट्रम्पलाई भेटेकोमा बोल्टनसँगै पोम्पेओ पनि रिसाएका थिए ।
बोल्टनले उपराष्ट्रपति पेन्सलाई पनि यो कुरा बताए । पेन्स पुनः इरानमाथि हमला गर्न सकिन्छ कि भनेर केही समय तातिए । तर, केही सीप चलेन । खासमा आइजनबर्गलाई हमलाको समय १ घन्टा पछाडि सारेको थाहा थिएन । तैपनि उनले अन्तिम क्षणमा १५० मृतकको कुरा झिकेर ट्रम्पलाई रोकेकोमा उनलाई पटक्कै चित्त बुझेन । तेहरानस्थित बेलायती दूतावासमा इरानले हमला गरेको फर्जी खबर पनि उस्तै मन बिझाउने खालको थियो । पोम्पेओ र बोल्टनले ट्रम्पको प्रशासनमा काम गर्न नसकिने निधो गरे । तर उनीहरू चटक्कै छोड्ने पक्षमा पनि थिएनन् । त्यसैले राजीनामा दिए एकैचोटि दिने कुरामा सहमत भए ।
केही दिनमा ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेट्दै थिए । त्यसअघि उनले एउटा ट्वीट गरे । ट्वीटको सार यस्तो थियो, “राष्ट्रपति ओबामाले इरानलाई आणविक हतियार उत्पादन गर्ने बाटो खोले । अमेरिकालाई धन्यवाद भन्नुको साटो इरानले अमेरिका मूर्दावाद भन्यो । त्यसैले मैले इरानमाथि नाकाबन्दी लगाएँ । पहिले तिनीहरूले समग्र मध्यपूर्वलाई सताइरहेका थिए । अहिले त्यो घटेको छ । सोमबार तिनीहरूले हाम्रो एउटा ड्रोन उडाइदिए । हामीले गएको रात इरानका तीन स्थानमा एकैचोटि प्रहार गर्ने योजना बनायौँ । मैले कतिजना मान्छे मर्लान् भनेर सोधेँ । जनरलले १५० जना भने । हमला गर्न १० मिनेट थियो । मैले हमला गर्न रोकेँ । मान्छे नै नभएको ड्रोन उडाएको बदलामा त्यस्तो हमला गर्नु बराबरीको कुरा थिएन । हाम्रो सेना तम्तयार छ । विश्वकै उत्कृष्ट छ । गएको रात नाकाबन्दी थप चर्काइएको छ । इरानले अमेरिका र सारा संसारविरुद्ध कहिल्यै आणविक अस्त्र निर्माण गर्न सक्दैन ।” यो ट्वीटलाई बोल्टनले मनमनै मूर्खतापूर्ण भने । आफ्नो पोल आफै खोलेकोमा बोल्टन रिसाएको थियो ।
यस्तैमा बोल्टनले डनफोर्डबाट अर्कै कुरा सुने । खासमा हमलाअघि डनफोर्डले ट्रम्पलाई केही मान्छे मर्ने बताएका थिए । त्यसलाई ट्रम्पले ‘यति थोरै’ भनेका थिए । पछि उनले ‘यति धेरै’ भने । खासमा ह्वाइट हाउसका केही वकिलहरूको १५० जनाको हिसाब निकालेका थिए । गैरसैनिकहरूलाई यस्तो कुरामा भरोसा गरेको थाहा पाएर बोल्टनको रिस थामिनसक्नु भयो । डनफोर्डसँगको परामर्शमा ट्रम्पले भनेका थिए, “तिनीहरूले हाम्रा मान्छे नै त मारेनन् नि । म हमला रोक्न चाहन्छु । डेढ सय मान्छे हुँदै हुन्न ।” अन्त्यमा डनफोर्डले बोल्टनलाई भने, “उहाँले हिजोको घटनाको जिम्मेवारी लिनुपर्छ । आज बिहानै उहाँले ट्वीट गर्नुभयो । उहाँले इरानीहरूलाई अमेरिकीहरूलाई नछोएसम्म जे गर्दा पनि हुन्छ भनेझैँ गर्नुभयो ।”

व्यक्तिमाथि प्रतिबन्ध
ट्वीट गरेको बिहान ट्रम्पले ‘इरानीहरू वार्ताका लागि मरिहत्ते गरेको’ बताए । उनले सिनेट सदस्य ¥यान्ड पाउललाई भित्रभित्रै इारनसँग वार्ताको तयारी गर्न लगाएको कुरा बोल्टनले पछि मात्र थाहा पाए । पोम्पेओले पनि यो खबर पाए । उनी निःशब्द भए । यसपछि बोल्टन नेतान्याहुसँग भेट्न इजरायल जाँदै थिए । बोल्टनले राजीनामा दिने सङ्केत दिए । पत्रपत्रिकामा बोल्टन र ट्रम्पबीच मनमुटाव चलेको हल्ला फैलिँदै थियो । यस विषयमा पत्रकारहरूले सोध्दा ट्रम्पले भने, “म जोन बोल्टनसँग धेरै कुरामा सहमत छैन । जोन बोल्टनको काम गजब राम्रो छ । तर उनी अलि कडा अडान लिन्छन् । मसँग अलि नरम खालका मान्छे पनि छन् । अन्त्यमा म के सोच्छु भन्ने कुराले फरक पर्छ ।”
बोल्टन इजरायल गए । नेतान्याहुले आफूहरूले इरानको आणविक अभिलेखालयमा छापा मारेको बताए । त्यहाँ मान्छेले हातैले तयार पारेको युरानियम भएको थाहा पाएको नेतान्याहुले भने । त्यो युरानियम कच्चा स्थितिमै थियो । इरानले आणविक हतियारको भट्टी बन्द गरेको भनेर झूटो बोलेको नेतान्याहुले कुरा लगाए । इरानले धेरैचोटि आणविक भट्टी बन्द गरेको दाबी गरेको थियो । बोल्टनले यसलाई ठूलो खतरा मान्दै थिए, मानौँ अमेरिकाले कहिल्यै कसैलाई धोका दिएको छैन ।
यस्तैमा ट्रम्पले इरानका सर्वोच्च नेतामाथि प्रतिबन्ध लगाउने निधो गरे । भित्रभित्र इरानसँग वार्ताका उपक्रम चलिरहेको हुनाले एस्पर र डनफोर्डले त्यस्तो प्रतिबन्ध लगाउनु प्रत्युत्पादक हुने बताए । ट्रम्पले प्रतिबन्धले वार्ता प्रक्रियामा मद्दत नै गर्ने बताए । बरु उनी कुद्स सेनाका जनरल कासिम सुलेमानी र विदेशमन्त्री जारिफमाथि पनि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा थिए । यसरी वार्तामा इरानी पक्षमाथि दबाब पर्ने उनको अनुमान थियो । उनले भने, “आखिर वार्तामा बस्न कुनै न कुनै बहाना छ चाहिन्छ नै ।” ¥यान्ड पाउलले पछि जारिफमाथिको प्रतिबन्ध ३० दिन पछि सार्न भने । यसको लागि पाउलले कसैसँग सल्लाह गरेका थिएनन् । अन्त्यमा सो प्रतिबन्ध फिर्ता लिइएको थियो । यसपछि ट्रम्पले इरानका जनताप्रति सहानुभूति व्यक्त गर्दै र नेताहरूलाई धम्की दिँदै अर्को ट्वीट गरे । ट्वीटको पुछारमा उनले जोन केरी र ओबामालाई गाली गरेका थिए ।

इरानी राष्ट्रपति हसन रूहानी र विदेशमन्त्री जावेद जारिफ
म्याक्रोँको चहलपहल
अमेरिकी ग्लोबल हक ड्रोनलाई इरानले धुलोपिठो पारेको थियो । तर, फ्रान्सका राष्ट्रपति इरानसँग कुनै न कुनै रूपमा आणविक सम्झौता कायम राख्न चाहन्थे । इरानलाई सजिलो पार्न म्याक्रोँ अमेरिकालाई नरम बन्न मनाउँदै थिए । अमेरिकाले सहुलियत नदिएसम्म इरान वार्तामा नआउने उनले देखेका थिए । त्यसैले जुलाई ८ मा म्याक्रोँले ट्रम्पलाई यी सबै वृत्तान्त सुनाउने कार्यक्रम थियो । बोल्टन र पोम्पेओले म्याक्रोँको सर्त मान्नु अर्को ओबामा र जोन केरी बन्नु हो भनेर ट्रम्पको कान भरे । ट्रम्पले भने, “हामी एकै दिनमा सम्झौता गर्न समर्थ छौँ । प्रतिबन्ध खुकुरो पार्ने कुरै हुन्न । एकचोटि खुकुलो पारेपछि कडा बनाउन त्यति सजिलो हुन्न ।” उनले २० वटा बमवर्षकले इरानलाई चोटिलो जवाफ दिन सकिने बताए । बोल्टन र पोम्पेओले एकचोटि चेतिसकेका थिए । त्यसैले उनीहरूले हुन्छ भन्न सकेनन् । खासमा ट्रम्पले अर्थमन्त्री मनुचिनलाई फ्रान्सका वित्तमन्त्री ब्रुनोले माएरसँग भित्रभित्रै सम्झौता गर्न अ¥हाएका रहेछन् । मुल्भानीले इरानसँग समझदारी भइसकेको बताएपछि मात्र बोल्टन छाँगाबाट खसेझैँ भए ।
ट्रम्प र म्याक्रोँबीच फोन वार्ता भयो । वार्तामा म्याक्रोँले ट्रम्पलाई सिधै अमेरिका इरानलाई के दिने पक्षमा छ भनी सोधे । यसको बदलामा इरानले केही दिने कुराको छिनोफानो भएको थिएन । अमेरिकाले तेल र वित्ततन्त्रमाथि लगाएको प्रतिबन्ध छोटो अवधिका लागि खुकुलो पार्ने कुरा चल्यो । इरानलाई छोटो समय पनि यस्तो छुट दिन नहुने पक्षमा बोल्टन थिए । ट्रम्पले भने, “तेलको मलाई चिन्ता छैन, यस्तो नाकाबन्दी त फेरि पनि छिनभरमै लगाउन सकिन्छ ।” यो फोनवार्ताको कुराको रेकर्ड बोल्टनले पोम्पेओलाई सुनाए । पोम्पेओले यसलाई अकल्पनीय भने र आफू जतिबेला पनि राजीनामा दिन तयार भएको बताए । उनीहरूले इरानले केही गल्ती गरिदिए हुन्थ्यो र ट्रम्पलाई कठोर बनाइदिए हुन्थ्यो भनी प्रार्थना गर्न थाले ।
ट्रम्पलाई तताउन बोल्टनले इजरायली प्रम बेन्जामिन नेतान्याहुलाई प्रयोग गरे । नेतान्याहुले जुलाई १० गते ट्रम्पसँग फोनवार्ता गरे । २ घन्टापछि ट्रम्पले इरानमाथि थप नाकाबन्दी चर्काउने भन्दै ट्वीट गरे । ट्वीटमा उनले इरानले गोप्यरूपमा हतियार बढाइरहेको दाबी गरेका थिए ।
बोल्टन इरानविरुद्ध बेलायत, युरोप, साउदी अरब र युएइलाई एकगठ गर्न चाहे । तर उनीहरू इरानविरोधी कारबाहीमा जोडिन चाहेनन् । बेलायत त्यसबेला ब्रेक्जिटको मुद्दामा अल्झिरहेको थियो । अन्य देश इरानलाई खुसी पार्ने नीतिमा मग्न रहेको बोल्टनको बुझाइ थियो । यस्तैमा जुलाई ११ मा इरान भ्रमणबाट फर्केका फ्रान्सेली समकक्षीले बोनेले बोल्टनलाई खामेनी कुनै पनि सम्झौताको पक्षमा नरहेको जानकारी गराए । राष्ट्रपति रुहानी र विदेशमन्त्री जारिफ पनि उही अडानमा थिए । उनीहरू अन्त्यमा इरानकै जीत हुनेमा विश्वस्त थिए । बोनेले म्याक्रोँको प्रस्ताव रुहानीसमक्ष राखेका थिए । बोनेले ठप्प आर्थिक कारोबार खुला गर्नुपर्ने बताए । रुहानीले त्योभन्दा पहिले अमेरिकी नाकाबन्दी हटाउन भने । यसमा सर्वोच्च नेता खामेनीको पनि सहमति थियो ।
बोनेको कुरा सुनेर ट्रम्पले इरानसामु राखेको प्रस्ताव फिर्ता गर्न भने । उनले इरानलाई ठोक्नुपर्ने बताए । अर्का वार्ताकार ¥यान्ड पाउल भने इरानी विदेशमन्त्री जारिफलाई वासिङटन बोलाउने बन्दोबस्तीमा लागेका थिए । यो देखेर बोल्टनले दुई वाक्यको राजीनामापत्र तयार गर्दै थिए । अन्त्यमा ट्रम्पको मुड फेरियो र उनले पाउल शान्तिप्रेमी भएको बताएर उनलाई जिम्मेवारीबाट हटाउने मन बनाए । बल पाएर बोल्टनले एक रेडियो प्रस्तोतालाई एउटा टिप्पणी फुक्न लगाए । त्यसमा ¥यान्ड पाउल डेमोक्र्याट संसदजस्तो भएको बताइएको थियो ।
म्याक्रोँसँगको अर्को फोनवार्ताको क्रममा अमेरिकाले एउटा युद्धपोतबाट इरानी ड्रोनलाई मार हानेर खसालेको बताए । म्याक्रोँले आफ्नो अडान फेरेनन् । म्याक्रोँले छोएपछि जे काम पनि विफल हुन्छ भन्ने ट्रम्पको विचार थियो । यस्तै प्रकारको एउटा ट्वीट ट्रम्पले गरे । उनको विचार यस्तो थियो – “इरान वित्तीय सङ्कटमा छ । ऊ अमेरिकासँग कुरा गर्न मरिहत्ते गर्दै छ । फ्रान्सका राष्ट्रपतिले हाम्रो प्रतिनिधि बन्न खोज्दै छन् । तर अमेरिकाले आफ्नो कुरा आफै राख्छ, अर्काको बैसाखी चाहिन्न ।” म्याक्रोँको प्रयास असफल हुने भयो भनेर बोल्टन र पोम्पेओ मख्ख परे ।
अगस्टको अन्त्यतिर फ्रान्सको बिएरित्स सहरमा जी–७ को बैठक बस्दै थियो । इरानी प्रम रुहानी पनि त्यसमा सहभागी हुने हल्ला थियो । ट्रम्प सो बैठकमा जान चाहन्थेनन् । यसअघि नै फ्रान्सले आफूलाई अपमान गरिसकेको उनको बुझाइ थियो । तर, गुप्तचर निकायको अर्कै रिपोर्ट थियो । त्यहाँ इरान नै मुख्य विषय बन्ने तय थियो । त्यसैले बोल्टनहरूले ट्रम्पलाई त्यहाँ जान कर गरे । म्याक्रोँ पनि उनलाई फ्रान्स बोलाउन सक्रिय भए । अन्त्यमा ट्रम्प बिएरित्स जान राजी भए ।
बैठकमा म्याक्रोँले ट्रम्पलाई इरानी विदेशमन्त्री जारिफसँग वार्ता गर्ने चाँजो मिलाउने बताए । धेरै कर गरेपछि ट्रम्प राजी भए । यो कुरा थाहा पाएर बोल्टनले ट्रम्पलाई भेट्न खोजे । यसबीच इजरायलले सिरियामाथि हमला गरेको खबर उनले नेतान्याहुबाट पाएका थिए । यसको प्रतिवाद हुने निश्चित थियो । त्यसैले नेतान्याहुले अमेरिकाको समर्थन खोजे । उनले धेरैचोटि ट्रम्पसँग फोन गर्न खोजे, तर सकेनन् । बोल्टनले ट्रम्पसँग कुरा गर्न चाहेको खबर पठाए । तर ट्रम्पका सहयोगीहरूले ट्रम्पलाई न नेतान्याहुसँग कुरा गर्न दिए, न बोल्टनसँग भेट्न दिए । ती सहयोगी कुश्नर थिए । यसको अर्थ ट्रम्प जारिफसँग भेट्न तयार थिए ।
अन्त्यमा ट्रम्पले बोल्टनलाई भेटे । बोल्टनले जारिफसँग नभेट्न भने । ट्रम्पले जारिफसँग हात मात्र मिलाउने, कुनै सहुलियत नदिने बताए । बोल्टनले राजीनामा दिने निधो गरिसकेका थिए । तर भोलिपल्टको अखबारमा ट्रम्पले कसैसँग नभेटेको खबर आयो । उनको साटो मनुचिन वा अन्य कुनै अधिकारीले जारिफसँग भेटेको हुनुपर्ने र त्यसको खबर कतै नचुहिएको, बरु पछि सम्पर्क बनाउन एउटा बाटो खनेको हुनसक्ने अनुमान बोल्टन र पोम्पेओको रह्यो । पोम्पेओले बोल्टनसँग हाम्रो विदेशनीति मनुचिन र ज्यारेड कुश्नरजस्ता ‘डेमोक्र्याटहरू’ ले तय गर्दै छन् भने । राष्ट्रपति पनि उनीहरूतिरै लागेको उनीहरूको अनुमान थियो । जेहोस्, कुनै हल्लाखल्ला भएन । बोल्टन पूर्वनिर्धारित कार्यक्रम अनुसार युक्रेनको राजधानी किभतिर लागे ।
Leave a Reply