भर्खरै :

वाम एकता केको लागि !

वाम एकता केको लागि !

कुनै पनि दलको एकता सिद्धान्त र विचारको आधारमा हुन्छ । सिद्धान्त र विचार नमिलिकन पार्टी एकता हुँदा दल ठूलो त देखिन्छ तर स्थिर हुँदैन । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबिच पार्टी एकता भयो । तर, त्यो एकता लामो समयसम्म टिकेन । सरकारको नेतृत्व गर्नेबारे पार्टीका अध्यक्षहरूबिच विवाद भयो । विवाद उत्कर्षमा पुग्यो । अन्ततः नेकपा फुटेर माओवादी केन्द्र र एकीकृत समाजवादी अलग अलग बने । यसरी नै माओवादीबाट पहिले मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दको नेतृत्वमा अलग अलग पार्टी बने । यो सिद्धान्त र विचार नमिल्दाको परिणाम हो ।
अहिले फेरि ‘वाम सरकार’ र ‘वाम एकता’ को कुरा चर्चामा छ । वाम एकताको कुरा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले गर्न थालेका छन् । बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी र माओवादी केन्द्र एकीकृत हुने कुरा अन्तिम चरणमा पुगेको समाचार प्रकाशमा आएको छ । यसरी नै एकीकृत समाजवादी र उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीबिच पनि पार्टी एकताको चर्चा छ । वाम एकताको यो चर्चा दल ठूलो बनाउन र सरकार टिकाउन रहेको छ । कुनै दललाई सरकार टिकाउने चिन्ता छ त कुनै दललाई देशको चौथो ठूलो दल बनाउने अभिलाषा छ ।
‘वाम सरकार’ अहिले सम्भव छैन । एमालेको गठबन्धनमा रहेको यो सरकारमा राप्रपा पनि सामेल हुने निर्णय भइसकेको छ । नेपाल स्वतन्त्र पार्टी सामेल भइसकेको छ भने जनता पार्टी पनि सामेल हुने बखान छ । के पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकार टिकाउन वाम एकताको प्रसङ्ग उठेको हो ? सरकार टिकाउन वाम एकता आवश्यक छ र ¤ गणतन्त्र नमान्ने र सङ्घीयता नमान्ने दलहरूको समर्थन प्राप्त यो सरकार कसरी ‘वाम सरकार’ हुन्छ ?
वाम एकता केको लागि ? के ‘वाम एकता’ कम्युनिस्ट आन्दोलन अघि बढाउन हो ? कम्युनिस्टको सिद्धान्त र विचार, गाउँ–गाउँ, बस्ती बस्ती र कुना–कन्दरामा पु¥याएर जनतालाई सचेत र सङ्गठित गर्न वाम एकता आवश्यकता महसुस गरिएको हो ? देशमा कुन आन्दोलन गर्न वाम एकताको कुरो उठेको हो ? कि दलहरू एकीकृत गर्न वाम एकताको प्रसङ्ग उठेको हो ? के वाम एकता नेकालाई तर्साउन गर्न लागेको हो ? सिद्धान्तहीन एकता लामो समय नटिक्ने कुरा वाम एकताको कुरा गर्ने स्वयम् नेताहरूले अनुभव गरेका छन् । विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सले ‘सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो’ त्यसै भनेका होइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *